अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल

अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

काठमाडाैं । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् । कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्राष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ । अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिन्छ । प्रहरीका लागि भने यो चिन्ताको विषय बनेको छ । द्वन्द्वग्रस्त देशहरूबाट छिरेका शरणार्थी आतंकवादी समूहबाट परिचालित हुन सक्ने सम्भावित खतराबाट प्रहरी चिन्तित छ । 

उदार भिसा नीति र खुला सिमानाका कारण नेपाल अवैध शरणार्थी (आप्रवासी)को केन्द्र बन्दै गएको छ । विगतदेखि आश्रय लिएका भुटानी र तिब्बतीबाहेक कुनै पनि देशका शरणर्थीलाई प्रश्रय नदिने सरकारको नीति भए पनि म्यानमारदेखि अफ्रिकासम्मका अवैध शरणार्थीको संख्या बढ्दै गएको छ । यसले देशको सुरक्षामै खतरा बढेको भन्दै प्रहरी चिन्तित छ । 

अहिले १० देशका हजारभन्दा धेरै अवैध शरणार्थी नेपालमा बस्दै आएका छन् । खासगरी, तेस्रो मुलुक जानका लागि द्वन्द्वग्रस्त देशका नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । तर, अवैध शरणार्थीको समस्या समाधानका लागि सरकारले कुनै योजना बनाएको छैन । आजको नयाँ पत्रिका दैनिकले खबर प्रकाशित गरेको छ ।