समृद्धिको सांस्कृतिक नव आयाम : एक प्रस्तावना

समृद्धिको सांस्कृतिक नव आयाम : एक प्रस्तावना

प्रा.केशव सुवेदी  |  दृष्टिकोण  |  कार्तिक १३, २०७८

१. पूर्व कथन

(प्रस्तुत लेख लेखकको स्वतन्त्र चिन्तनमा आधारित छ । यसमा अभिव्यक्त विचारहरूलाई राजनीतिक अभिव्यक्तिका सङ्गठन विशेषको प्रतिनिधि विचारका रूपमा नलिन यो लेखक पाठक वर्गसँग विनम्र अनुरोध गर्दछ ।)

२. समृद्धि र संस्कृति 

‘समृद्धि’ भन्नासाथ सामान्यतया हामी सम्पन्नता भन्ने बुझ्छौँ र सम्पन्नतालाई धनसम्पतिसँग जोड्ने गर्छौँ । धन सम्पत्तिले सम्पन्न वा पुगी सरी आएकाहरू नै समृद्धि हुन भन्ने सामान्य बुझाइ रहेको र मूलतः समृद्धिको महत्त्वपूर्ण आयाम आर्थिक सम्पन्नता पनि हुँदै हो । समाजमा हरेक मानिसमा त्यो आर्थिक समृद्धि वा सम्पन्नताका अगणित आकाङ्क्षाहरू र तिनका आफ्नै सोपान क्रमहरू पनि छन् ।

दैनिक जीवनयापन गर्न कठिन सङ्घर्ष गरिरहेको वर्गदेखि सम्पन्न वर्गसम्मका सबैमा नै आआफ्नो स्तरको आर्थिक समृद्धि र सम्पन्नताको आकाङ्क्षा हुन्छ  र त्यसका निम्ति तलदेखि माथिसम्म सबै वर्गका मानिसहरू प्रयत्नहरू गरिरहन्छन् र यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । समाजका प्रत्येक मानिसहरूद्वारा गरिने यस्ता प्रयत्नहरूतर्फ दृष्टि दिँदा एउटा अनौठो र आश्चर्यजनक स्थिति हाम्रा सामु उपस्थित हुन्छ । अर्थात् समाजमा मान्छे जति जति आर्थिक समृद्धिका दिशातिर उन्मुख हुँदै जान्छ त्यति त्यति अर्थ राजनीतिक खेलमा तानाबानाहरू बुन्न थाल्छ र अन्ततः आफूभन्दा कमजोरहरूलाई झुक्क्याएर वा तिनको भाग अपहरण गरेर समेत आफ्नो समृद्धिको विस्तारलाई निरन्तरता दिने प्रयत्नहरू हुँदै जान्छन् ।

परिणामस्वरूप समाज क्रमशः बाह्य आन्तरिक द्वन्द्व र तज्जन्य हिंसाका चपेटामा पर्दै जान्छ । त्यही आर्थिक समृद्धि र सम्पन्नताको स्वाभाविक मानवीय अभिलाषा नै बिस्तारै राजनीतिक सत्ता र शक्ति सञ्चयतर्फ उत्प्रेरित हुन थाल्छ अनि समाजमा नाना थरी बाह्य द्वन्द्व र सङ्घर्षका स्थितिहरू पैदा हुँदै जान्छन् । आज दुनियाँले भोगिरहेका बर्बर हिंसा र तज्जन्य पीडाको एउटा सबल र सशक्त पक्ष मान्छेको आर्थिक सम्पन्नता वा समृद्धि पनि हो ।

सम्पन्नता मानवीय आवश्यकताका सीमाभित्र रहँदा व्यक्तिमा अन्तर्निहित ऊर्जा पैदा हुन्छ र त्यसबाट अनेक सृजनशील कर्महरू पनि सम्पन्न हुन्छन् भने समृद्धिको उच्चता बढ्दै जाँदा त्यो मानवीय ऊर्जा क्रमशः नितान्त वैयक्तिक आकाङ्क्षाको परिपूर्तिका निमित्तको जालभेल र षड्यन्त्रमा रूपान्तरित हुन्छ र परिणामस्वरूप समाजमा असन्तुलन र अर्थव्यवस्थाहरू विकसित हुन थाल्छन् ।

त्यसैले एकातिर यो आर्थिक समृद्धि जीवनको अनिवार्य आवश्यकता हो भने अर्कातिर यदि त्यो समृद्धिको आधारमा समाजलाई उत्पादन र वितरणको न्यायपूर्ण र सन्तुलित व्यवस्थापनद्वारा सँगसँगै हिँडाउन सकिएन भने समृद्ध वा सम्पन्नहरूले त्यही सम्पन्नताका आडमा विपन्न वा पछि परेकाहरूमा आफ्नो शक्ति र शासन थोपर्न खोज्छन् अनि समाजमा पुनः सम्पन्न र विपन्नका बिच द्वन्द्व प्रतिद्वन्द्व सुरु हुन्छ ।

‘म’ नसुध्रे समाज कसरी सुध्रिएला ? सिङ्गो समाज नसुध्रे कसरी समतामा आधारित समृद्धि कायम होला ! म सुध्रिनँ मैले निरन्तर ‘म’ भित्रका स्वार्थका विरुद्ध, मेरो ममताका विरुद्ध मेरा लोभी वृत्तिहरूका विरुद्ध निरन्तर निरन्तर त्यागरूपी क्रान्तिको बिगुल फुकिरहनुपर्छ र मेरो चेतनालाई सहानुभूति र समन्यायिक तथा समतापूर्ण ज्ञानले अभि सिञ्चित गरिरहनुपर्छ ।

यसबाट कस्तो निष्कर्षमा पुग्न सकिन्छ भने आर्थिक समृद्धिबाट मानवीय समस्याको समाधान पनि हुन्छ र त्यसैबाट समाजमा बाह्य आन्तरिक द्वन्द्वका समस्या पनि खडा हुन्छन् । त्यसैले समृद्धि वा सम्पन्नताको सन्तुलित र न्यायोचित व्यवस्थापन हुनुपर्छ र त्यो सांस्कृतिक दृष्टिले पनि त्यत्तिकै उन्नत हुनुपर्छ ।

सामान्यतया समृद्धि र संस्कृति एक अर्काबाट पृथक् वा भिन्न जस्ता पनि लाग्छन् तर सन्तुलित समाजको निर्माणमा यी दुई तत्त्वका बिच ज्यादै गहिरो सम्बन्ध देखिन्छ । समृद्धिले मान्छेलाई भौतिक रूपमा जिउने आधार दिन्छ भने संस्कृतिले मान्छेको जीवनमा परिष्कृति प्रदान गर्छ । मान्छे केवल पेट भरेर पशुवत भौतिक रूपमा मात्र जिउन सक्तैन । समस्त प्राणीहरूमा उच्चतम चेतना शक्तिबाट सुसज्जित मान्छे सम्पन्नताका साथै सुसंस्कृत जीवन बिताउन पनि चाहन्छ । मान्छेको यही सुसंस्कृत जीवन व्यतीत गर्ने आकाङ्क्षाले नै ऊ सम्पन्नताको खोजी गर्दै जान्छ । त्यसैले पनि मान्छेको जीवनमा समृद्धि र संस्कृति परस्पर जोडिन पुग्छन् ।

३. समृद्धि र संस्कृतिको सम्बन्ध

समृद्धि र संस्कृतिका बिचको पारस्परिक सम्बन्धलाई कसरी परिभाषित गर्न सकिन्छ ? प्रत्येक मानिसमा अभावबाट मुक्तिको चाहना हुन्छ । सहजतापूर्वक जीवन चलाउनका निम्ति मान्छेले आफ्नो क्षमताअनुसार अनेक प्रयत्न गर्छ र त्यो स्वाभाविक प्रक्रिया पनि हो । प्रथमतः मान्छे आफ्ना खाने आउने जस्ता दैनन्दिन समस्याबाट मुक्ति चाहन्छ । यसकै निम्ति उसले आफ्नो शारीरिक वा मानसिक ऊर्जाको उपयोग गर्छ ।

फलस्वरूप उसले क्रमशः आफ्ना आवश्यकताका चुनौतीहरूलाई पन्छाउँदै जान्छ र सम्पन्नतातिर गतिशील हुन्छ । यसबाट के निचोड निकाल्न सकिन्छ भने अभावकै कोखमा समृद्धिको बिउ रोपिन्छ र त्यही बिउ हुर्किँदै र मौलाउँदै जाँदा सम्पन्नतामा पुगिन्छ । यसरी अभावका कोखबाट पैदा हुने समृद्धि र त्यसकै वृद्धि र विस्तारका शृङ्खलामा नै मान्छे आजलाई पुर्‍याउने र भोलिका निम्ति सञ्चित गर्दै जाने प्रयत्नमा लाग्छ अनि बिस्तारै सम्पन्नताबाट प्राप्त हुने ऊर्जाको दुरुपयोग गर्दै अरूलाई झुक्क्याउने फकाउने, तर्साउने र अनन्त: सम्पन्नताजन्य शक्तिको दुरुपयोग गरी जबरजस्ती अरूको भाग अपहरण गर्ने साथका नाना भाँती अपकर्महरूमा क्रियाशील हुन्छ ।

यस्ता अपकर्महरूमा क्रियाशील हुँदै जानुको मूल उद्देश्य आफ्नो समृद्धि वा सम्पन्नतालाई बढोत्तरी गर्दै लैजानु हो । मान्छेमा यस्तै अपकर्म र दुश्चेष्टाहरू समाजमा द्वन्द्वका स्थितिहरू सृजना हुँदै जान्छन् र तिनबाट सङ्घर्षको उपक्रम पनि आरम्भ हुन्छ । त्यसैले नै समृद्धिको यात्रा तय गर्दा सँगसँगै सम्पन्नताको चेतनालाई सुसंस्कृत तुल्याउँदै जानु सांस्कृतिक समृद्धिको अनिवार्य सर्त हो ।

समृद्धि वा सम्पन्नताको आकाङ्क्षालाई कसरी सुसंस्कृत तुल्याउने ? यो ज्यादै जटिल र ज्वलन्त प्रश्न हो । समाजमा प्रत्येक मान्छे समृद्धिको कुण्ठित यात्रामा  अघि बढ्न चाहन्छ । आफूसँगको विपन्नतर्फ उसको ध्यान हुँदैन । यस्तो वैयक्तिक स्वार्थपूर्ण प्रवृत्तिलाई रोक्न राजनीति र त्यसअन्तर्गत अनेक थरी कानुन, नियम र विधि विधान एवम् तिनको परिपालन गर्न गराउन अनेक निकायहरूको व्यवस्था बाँध्ने र यदि त्यस्तो व्यवस्था जनसहभागितामा आधारित छैन भने आन्दोलन र सङ्घर्षद्वारा जनअभियन्तामा आधारित पद्धतिको स्थापना गर्ने जस्ता अभ्यास गर्दै आएको पाइन्छ । यस्ता विविध प्रयत्नहरू हुँदाहुँदै पनि संसारमा स्थापित त्यसमा राजनीतिक अभ्यासहरू पनि पूर्णतः प्रभावकारी बन्न सकेको स्थिति चाहिँ देखिँदैन । 

यस पृष्ठभूमिमा समृद्धिको समानुपातिक तथा समन्यायिक यात्रा तय गर्न मूलतः व्यक्ति स्वयम्ले आफूलाई सुसंस्कृत तुल्याउँदै लैजानु आवश्यक छ । समृद्ध वा सम्पन्न समाज निर्माणका निम्ति व्यक्ति समताप्रति निष्ठावान् हुनै पर्छ । यस्तो निष्ठा आन्दोलन वा युद्धबाट स्थापित राजनीतिक पद्धतिबाट कायम गर्न सकिन्छ भन्ने एक थरी सशक्त स्थापनाहरू छन् भने यसका विपरीत मान्छेमा समता वा सहानुभूतिको चेतनाको सृजना र विस्तारको अभ्यासबाट उसलाई सुसंस्कृत तुल्याउन सक्दा समृद्धिको सामूहिक यात्रा आरम्भ गर्न सकिन्छ भन्ने अर्को थरी अभिमत पनि त्यत्तिकै सशक्त छ ।

त्यसैले सभ्यताका आदिम प्रहरदेखि नै हाम्रा पूर्वजहरूले आफ्नो वैचारिक, दार्शनिक वा सांस्कृतिक चिन्तन धारामा सदैव ममता, लोभ, मोह र स्वार्थ लगायतका मान्छेमा जन्मजात पैदा हुने वृत्तिहरूका विरुद्धमा मानसिक क्रान्तिको बीज धान मात्र होइन, त्यसलाई आफ्ना साधनाशील जीवनमार्फत साक्षात्कार गर्ने प्रयत्न पनि गर्दै आए । त्यसैले समाज विकासका प्रारम्भिक चरणमा समृद्धि वा सम्पन्नताको समन्यायिक विस्तारको अवस्थामा रह्यो । तर पछिल्ला युगमा मान्छे ममता, लोभ, मोह र स्वार्थका चक्रव्यूह पस्दै गयो । पुरातन युगको समग्र सामाजिक सञ्चालनको दृष्टिकोण उत्तर वर्ती युगमा आइपुग्दा वैयक्तिक समृद्धिका बन्धनले बाँधिँदै जान थाल्यो । हुँदा हुँदा सम्पन्नताको असमानताको मूल कारक तत्त्व व्यक्ति स्वयम् हो भन्ने यथार्थसमेत ओझेलमा पर्दै गयो । 

४. समृद्धिको सांस्कृतिक नव–आयाम: एक प्रस्तावना 

वस्तुतः समृद्धि वा सम्पन्नताको असमान विस्तारका कारक तत्त्व म (व्यक्ति) मा अन्तर्निहित ममता, लोभ, मोह र स्वार्थ नै हुन् । समस्या व्यक्तिमा अन्तर्निहित छ तर त्यसलाई बेवास्ता गर्दै समस्या आफूभित्र होइन, बाहिर अर्थात् दुनियाँमा छ भन्ने भ्रमात्मक चेतनासँगै मान्छे आफू बदलिने होइन दुनियाँ बदल्नतिर लाग्यो । आजको मान्छे यहाँ दुनियाँ बदल्ने अभियानमा लागेको छ र सिङ्गो संसार यसै कर्ममा निरन्तर क्रियाशील छ तर पनि समतामा आधारित समृद्धि र सम्पन्नताको उच्च सांस्कृतिक मूल्य स्थापित हुन सकेको छैन ।

मानव समाजमा स्थापित अनेक राजनीतिक सङ्गठनहरू क्रान्तिको दुन्दुभि बजाउँदै छन् तर उनीहरू कोही पनि ‘त्याग’ को सुमधुर सङगीत श्रवण गर्न रुचाउँदैनन् । आफ्ना अभाव र कष्ठको बिस्कुन लगाउँछ मान्छे तर मबाहेक अरू के कस्ता अभाव कष्ट र पीडाबाट प्रताडित छन् भन्ने न्यूनतम मानवीय चेतना पनि उसमा जाग्रत् भएन । आजको मान्छे जान्ने सुन्ने भयो, विकसित भयो, ज्ञानी भयो तर त्यागी हुन सकेन, संयमित र सुसंस्कृत हुन सकेन, अन्ततोगत्वा सामाजिक पनि हुन सकेन ।

‘त्याग’ भन्दा ठुलो क्रान्ति वा बलिदान अर्को छ र ! हातहतियारले मान्छेको जीवन अपहरण गरेर क्रान्ति कहिल्यै पूर्ण हुँदैन । मान्छे स्वयम्ले आफ्ना स्वार्थमाथि, आफ्ना लोभी वृत्तिमाथि, आफ्नै ममतामाथि विजय पाएका दिन क्रान्ति पूर्ण हुन्छ र त्यही आत्म क्रान्तिबाट दुनियाँ बदलिन्छ । हामीले मानव इतिहासमा घटित क्रान्तिका अनेक प्रयोगहरूका कथा पढ्दै र सुन्दै आएका छौँ र वर्तमानमा पनि भोग्दै बेहोर्दै आएका छौ ।

आज गहिरिएर त्यस्ता क्रान्तिहरूबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्न खोज्दा हात लाग्यो शून्यकै स्थिति छ । त्यस्ता बाहिरी क्रान्तिबाट कैयौँ राजनीतिक सङ्गठन बने, तिनका अनगिन्ती नेता कार्यकर्ता बने, तिनै क्रान्तिका आडमा तिनले सत्ता र शक्ति पनि आर्जन गरे तर समाजलाई समृद्ध बनाउन नसक्दा अन्ततः समय सन्दर्भमा ती निरर्थक बन्दै गए र पुनः अर्को क्रान्ति वा युद्धको तयारी भइरहेको अनुभूति हुन थाल्यो । अवश्य त्यस्ता क्रान्तिले सत्ता परिवर्तन गरे राजनीतिक व्यवस्था परिवर्तन गरे तर मान्छेको हृदय परिवर्तन गर्न सकेनन् । प्रत्येक व्यक्तिको हृदय परिवर्तन नभई मानव समाज सुध्रिँदैन ।

‘म’ नसुध्रे समाज कसरी सुध्रिएला ? सिङ्गो समाज नसुध्रे कसरी समतामा आधारित समृद्धि कायम होला ! म सुध्रिनँ मैले निरन्तर ‘म’ भित्रका स्वार्थका विरुद्ध, मेरो ममताका विरुद्ध मेरा लोभी वृत्तिहरूका विरुद्ध निरन्तर निरन्तर त्यागरूपी क्रान्तिको बिगुल फुकिरहनुपर्छ र मेरो चेतनालाई सहानुभूति र समन्यायिक तथा समतापूर्ण ज्ञानले अभि सिञ्चित गरिरहनुपर्छ ।

मैले मेरो विवेकलाई मेरै स्वार्थका निम्ति बन्धक बनाएका दिन, मैले मलाई ममताका पोखरीमा डुबाएका दिन, म लोभका लालसमा रङ्गिएका दिन स्वतः समता र समन्यायप्रतिको निष्ठा समाप्त हुन्छ वा सम्पन्नताको यात्रा त्यहीँ विसर्जित हुन्छ । समृद्धिका निम्ति आत्म क्रान्ति र त्यागरूपी बलिदानको मार्ग रोजी अत्याधुनिक हतियार बोकेर मैले क्रान्तिको दुन्दुभि त बजाउँला तर पनि सामाजिक समृद्धि र सम्पन्नताको होचो–अर्घेलो समाप्त हुने छैन किनभने हालसम्मका क्रान्तिको रक्त धाराबाट स्थापित कठोर सत्य यही हो ।

५. बिसाउनी

त्यसैले उपर्युक्त सङ्क्षिप्त प्रस्तावनाका अन्त्यमा के भन्न सकिन्छ भने हामी प्रत्येकले समतामूलक स्वास्थ्य समाज, न्यायपूर्ण समाज र उच्चतम विवेकशील समाज निर्माण गर्न आत्म क्रान्तिको मार्ग रोजौँ र समानताका आदिम कालदेखि आजसम्मका महान् चिन्तकहरूले देखेका समतामूलक समाज निर्माणका सपनालाई साकार पारौँ र त्यसैबाट मानव समाजले समता र समन्यायिकतामा आधारित समृद्धि वा सम्पन्नता हासिल गर्ने छ र यही नै हामीले निर्माण गर्नुपर्ने समृद्धिको सांस्कृतिक नव आयाम पनि हो ।