हिमवत्खण्ड कला साहित्य सम्मिलन: ‘स्मारिका’ ग्रन्थ महत्त्वपूर्ण प्राज्ञिक, बौद्धिक सामग्री

हिमवत्खण्ड कला साहित्य सम्मिलन: ‘स्मारिका’ ग्रन्थ महत्त्वपूर्ण प्राज्ञिक, बौद्धिक सामग्री

डा.हरिप्रसाद सिलवाल  |  साहित्य  |  कार्तिक १३, २०७८

प्रवेश

प्रस्तुत समीक्षात्मक लेख मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५, (असार २९–३१,काठमाडौँ,) को भाषा, कला, साहित्य र संस्कृतिसम्बन्धी बृहत् कार्यक्रममा आधारित हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५, स्मारिका ग्रन्थमाथि केन्द्रित रहेको छ । 

यस ग्रन्थको खण्ड एकमा ‘कार्यक्रमको परिकल्पना र संयोजन’ नामक शीर्षक राखिएको छ । यसमा प्रा.राजेन्द्र सुवेदी र गुरु बराल गरी दुई जनाको भनाइलाई समेटिएको छ । प्रा.सुवेदी उक्त हिमवत्खण्ड कला साहित्य सम्मिलन, २०७५ को आयोजक समितिका संयोजक हुनुहुन्थ्यो भने गुरु बरालले परामर्श समितिका संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो ।

‘हिमवत्खण्ड कला साहित्य सम्मिलन : अवधारणा, क्रियान्वयन र प्रतिफल’ शीर्षकमा यो ऐतिहासिक कार्यक्रमका संयोजक सुवेदीको अवधारणात्मक लेख रहेको छ । उहाँले मानव, विश्व प्रकृति, सभ्यता, संस्कृति निर्माणमा हिमवत्खण्डको विशिष्ट सम्बन्धयुक्त भूमिकामाथि गहन चिन्तन प्रकट गर्नुभएको छ । उहाँले यस सन्दर्भलाई जोड्दै जन सांस्कृतिक महासङ्घको आयोजनामा ‘राष्ट्रको समृद्धिका निम्ति साहित्य’ शीर्षकमा सम्पन्न गोष्ठीको प्रभावले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमा साहित्य र देश निर्माण सम्बद्ध भावको गहिराई अझ बढी अभिरुचिमा परेको र उहाँकै अवधारणाअनुसार मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना, भानु जयन्तीको सन्दर्भ र साहित्य सम्मेलन मात्रै नभनेर त्यसभन्दा बृहत् बनाई कला साहित्य सम्मिलन गर्ने नामकरण पनि सुझावका रूपमा प्राप्त भई यसले मूर्त रूप लिएको उल्लेख गर्नुभएको छ (स्मारिका, पृ.११) । सम्मिलन परामर्श समितिका संयोजक एवं स्मारिका सम्पादन सल्लाहकार गुरु बरालको ‘नेपाली भाषा: हिमवत्खण्ड कला साहित्य सम्मिलनको मियो’ शीर्षक लेखमा हिमवत्खण्डको कला, साहित्य र संस्कृतिको सेतुको भूमिका निर्वाह गर्ने क्षमता नेपाली भाषामा रहेको उल्लेख छ । उहाँले नेपाली भाषा सबल हुनुमा अन्य धेरै कुराहरूका साथै भानुभक्त आचार्यको साहित्यिक भाषिक कर्मको प्रतिफल पनि रहेको धारणा प्रकट गर्नुभएको छ ।

स्मारिका ग्रन्थको खण्ड दुईअन्तर्गत ‘मन्तव्यहरू’ शीर्षकमा विशिष्ट क्षेत्रका व्यक्तित्वहरूका हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५ माथि व्यक्त मन्तव्यहरूलाई राखिएको छ । यसमा सर्वप्रथम सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीका दुई ओटा मन्तव्ययुक्त लेखलाई समावेश गरिएको छ । उहाँको पहिलो लेख ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन : हाम्रो गौरवपूर्ण इतिहासको स्मरण गर्ने थलो’मा उहाँले त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन गर्नुको कारणहरू खोतल्दै असङ्गठित भाषा र समाजलाई अनि विभिन्न जात जातिका भाषा, साहित्य, कला, संस्कृतिलाई एकताबद्ध गर्ने काममा भानुभक्त आचार्यको तत्कालीन योगदानको स्मरण गर्नुभएको छ ।

यस्ता सम्मिलनको भूमिकालाई स्थापित गराउनुपर्ने र देश विकासमा कुनै नेता, व्यक्ति र केही कर्मचारीको मात्रै हात नभएर सम्पूर्ण देशवासीको सहभागिता रहनुपर्ने धारणा पनि यसमा प्रकट भएको छ । आफ्नो भाषा, कला, साहित्य र विकासको समन्वयसम्बन्धी धारणालाई उहाँले लेखमा यसरी राख्नु भएको छ– “समग्र भाषाहरू र यसभन्दा अझ बढी हिमवत्खण्डका नेपाली वा नेपाललाई माया गर्ने सबै नेपाली नेपालको अहिलेको अवस्था र आकाङ्क्षालाई बुझेर यसलाई अगाडि बढाउन योगदान पुगोस् भन्ने मेरो आग्रह पनि हो, आकाङ्क्षा पनि हो” (स्मारिका, पृ.२९) । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चन्द्रागिरिबाट देखेको समृद्धिको सपना अवश्य पूरा हुन्छ’ शीर्षकको अर्को लेख उहाँले हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५ को समापन समारोहमा व्यक्त गर्नुभएको मन्तव्यको सारका आधारमा निर्माण गरेर स्मारिकामा राखिएको हो । यसमा उहाँले कला, साहित्य र संस्कृतिप्रतिको आफ्नो तीव्र रुचि र देशको मूल कार्यकारी जिम्मेवारी लिइरहेको अवस्थालाई संयोजन गर्नुभएको छ । 

यसैगरी माननीय परराष्ट्र मन्त्री एवं साहित्यकार श्री प्रदीप ज्ञवालीको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन: एक असल सुरुवात’ लेखमा उहाँले कवि भानुभक्तको सन्दर्भमा इतिहासका कुनै पनि पात्रको मूल्याङ्कन सोही समय र समाजको सन्दर्भमा हुनुपर्ने धारणा राख्नु भएको छ । तत्कालीन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ‘नदी सभ्यता, भौगोलिक सुन्दरता र सांस्कृतिक गौरवले हामीलाई युगौँ युगसम्म बचाउँछ’ शीर्षकको लेखमा नेपालको भौगोलिक, भाषिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक विविधताको सौन्दर्यमाथि चर्चा गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यूले सम्मिलनको उद्घाटन सत्रमा प्रस्तुत गर्नुभएको मन्तव्यबाट ‘हिमवत्खण्ड सांस्कृतिक सहअस्तित्वको केन्द्र बन्नुपर्छ’ शीर्षक लेख निर्माण गरिएको छ, जसमा उहाँले यति गौरवपूर्ण संगमस्थल बन्न पुगेको हिमवत्खण्ड कला साहित्य सम्मिलनले हिमवत्खण्डको सांस्कृतिक गौरवलाई माथि उठाउन, विस्तार गर्न, प्राज्ञिक बहस गर्न र सांस्कृतिक साहित्यिक क्षेत्रमा नयाँ आयाम थप्न निकै सहयोगी र ऐतिहासिक अवसर प्रदान गरेको विचार व्यक्त गर्नुभएको छ । 

यसैगरी वाङ्मय शताब्दी पुरुष श्री सत्यमोहन जोशीको ‘हिमालहरू मानव सभ्यता र सांस्कृतिक समृद्धिका सूचक हुन्’ शीर्षकको महत्त्वपूर्ण लेख शताब्दी पुरुषका रूपमा चिनिएका अन्वेषक, साहित्यकार, संस्कृतिविद् जोशीज्यूले सम्मिलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा राख्नु भएका विचारबाट तयार गरिएको छ । उहाँले आफ्नो धारणा राख्ने क्रममा परापूर्व कालदेखि नै हामी हिमवत्खण्डको अविच्छिन्न सांस्कृतिक र सभ्यताको परम्परामा बाँधिएर समृद्ध भएका छौँ भन्नुभएको छ । उहाँले व्यास, कालिदास, वाल्मीकिले साहित्यिक, सांस्कृतिक र भाषिक धरोहरको प्राचीन सभ्यता निर्माण गरेकाले त्यसबाट हामीलाई सांस्कृतिक साधनामा गौरव बोध गर्ने लाभ भएको जनाउनु भएको छ ।

वरिष्ठ कवि व्यक्तित्व, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको ‘हिमवत्खण्ड ज्ञानका दृष्टिले अत्यन्त व्यापक र सम्पन्न छ’ नामक लेखमा उहाँले यो गरिमामय कार्यक्रमले नेपालको साहित्यिक सांस्कृतिक र कलात्मक निधिको खोजविना सहयोग पुग्ने गरी गर्विला कार्यसूचीमा काम गरेकाले आफूलाई निकै खुसी लागेको अनुभूति प्रकट गर्नुभएको छ । 

साहित्यकार एवं संस्कृतिविद् डा.मोदनाथ प्रश्रितको ‘हिमवत्खण्ड : भूगोल, इतिहास, संस्कृति र सभ्यता’ शीर्षकको लेखमा हाम्रो पूर्वीय सभ्यताको शृङ्खला र ज्ञान, विज्ञान, कला, साहित्य, संस्कृतिको उत्पत्ति, महत्त्व, गरिमा, मानवीय भावधाराको बौद्धिक, ऐतिहासिक, सांस्कृतिक दृष्टिले विश्लेषण गरिएको छ । चन्द्रप्रसाद ढकालले ‘भानुभक्तबाट निरन्तर उद्यम मार्गमा लागेर देश समृद्ध बनाउने शिक्षा लिनुपर्छ’ शीर्षकमा भानुभक्तको भाषिक योगदानको उल्लेख गर्दै हिमवत्खण्डको सभ्यतामा यस्ता अमूल्य भाषिक, सांस्कृतिक, भौगोलिक, कला, साहित्य व्यक्त हुने अवसर यस कार्यक्रममा भएको जनाउनुभएको छ ।

कवि झमक घिमिरेले ‘हिमवत्खण्ड भनेको एउटा विराट सभ्यता हो, जसलाई जति खोतल्यो त्यति खोतल्न मन लाग्छ’ शीर्षकको लेखमा हिमवत्खण्ड सभ्यताको परिणाम नेपाली कला, संस्कृति र साहित्य मात्रै नभई समग्र मुलुकको विकासमा जोडिएको पर्यटन क्षेत्रमा पनि व्यापक प्रभाव परेको जनाउनु भएको छ

यस ग्रन्थको खण्ड तीनमा ‘अनुभूति तथा संस्मरणहरू’ शीर्षकमा केही विद्वान्हरूका अनुभूति र स्मरणहरूलाई प्रस्तुत गरिएको छ । दीनानाथ शर्माले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलनः एक अनुभूति’ शीर्षकमा आफ्ना स्मरण तथा अनुभूतिलाई व्यक्त गर्दै प्राचीन सभ्यता हिमवत्खण्डीय युग चेतना र वर्तमान युगको चेतनालाई जोडेर कला, साहित्य र संस्कृतिको आगामी बाटो तय गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना भएको उल्लेख गर्नुभएको छ ।

साहित्यकार प्रदीप नेपालको ‘राम्रो कामको थालनी: मेरो शुभकामना’ शीर्षकको अनुभूतिजन्य लेखमा खस आर्यको इतिहास सही दृष्टिकोणमा नलेखिएको विचार प्रकट गर्नुभएको छ । रमेशकुमार अधिकारीले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलनः नेपाली भाषा साहित्यको विराट महायज्ञ’ शीर्षकमा भानुभक्त र मदन भण्डारीको स्मरणमा यो सम्मिलन आयोजना हुनु र स्वदेश विदेशबाट विद्वान्हरूको जमघट हुनुको अवसर सुनौलो बन्न गएको अनुभूति प्रकट गर्नुभएको छ । प्रगतिवादी कवि राम विनयले ‘आस्था र विश्वासको सम्मिलन’ शीर्षकमा हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५ माथिका आफ्ना अनुभूतिहरू प्रकट गर्दै पृष्ठभूमिमा आफूलाई लुसुनको विचारले निकै प्रभावित गरेको र पाएको जिम्मेवारीलाई इमानदार भएर सम्पन्न गर्ने बानी भएको कर्तव्यबोधयुक्त अनुभूति पेस गर्नुभएको छ ।

शान्ता मानवीको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन र मेरा केही अनुभूतिहरू’ शीर्षक लेखमा भानुभक्तको कविता अध्ययनलाई समय चेतना र आलोचनात्मक दृष्टिले विवेचना गर्नुभएको छ । आरसी न्यौपानेको ‘हिमवत्खण्ड कला साहित्य र संस्कृति’ शीर्षक लेखमा राजनीति, साहित्य, संस्कृति, इतिहास र सामाजिक पक्षहरूलाई नजिकबाट नियाल्दै र त्यसमाथि समयानुकूल हुने गरी ठोस् र खरो धारणा दिँदै हिमवत्खण्डको पृष्ठभूमि तथा आमुख लेखन, हिमवत्खण्ड विषय विस्तार भनेर यसका आयामिक पक्षहरूको चर्चा गर्नुभएको छ । प्रा.डा.बद्रीविशाल पोखरेलको ‘भानु जयन्ती, हिमवत्खण्ड र चन्द्रागिरि समृद्धि’ लेखमा उहाँले भानु जयन्तीको सन्दर्भ पारेर हिमवत्खण्ड नामक कला साहित्यको सम्मिलन चन्द्रागिरिजस्तो विशिष्ट महत्त्व र बिम्ब बोकेको स्थानमा गरिएको विवरणलाई यस कार्यक्रमको प्रतिबिम्बसहित प्रस्तुत गर्नुभएको छ । 

देवराज घिमिरेले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलनलाई सम्झँदाको क्षण’ शीर्षकमा आफ्नो राजनीतिक, साहित्यिक, सांस्कृतिक बौद्धिकताका दृष्टिले सारगर्भित धारणालाई प्रकाश पार्नुभएको छ । रामप्रसाद पन्तले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन र कवि केपी ओली’ शीर्षक लेखमा सम्मिलनको आयोजनाका बाहिरी आशङ्काहरूको थोरै चर्चा गर्दै यस कार्यक्रममा प्रधानमन्त्रीको विशेष उपस्थितिका बारेमा आफ्नो अनुभूति राख्नुभएको छ ।

चिरञ्जीवी भण्डारीको ‘मनको भोक मेटिएन’ शीर्षक लेखमा आफ्नो जीवन कालको उतार चढाव, जागिरे जीवन र विचारको सम्बन्ध तथा साम्यवादी चिन्तन र आफ्नो अवस्थालाई जोड्दै अनुभूतिलाई प्रस्तुत गर्नुभएको छ । नेपालबाहिरबाट प्रतिनिधि भएर दुर्गाप्रसाद श्रेष्ठले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५’ शीर्षकमा आफ्ना अनुभूतिलाई मिठो गरी प्रस्तुत गर्नुभएको छ । डाकप्रसाद निरौलाले पनि नेपालबाहिरबाट नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बन्धको प्रतिनिधित्व गर्दै ‘हिमवत्खण्ड कला साहित्य सम्मिलनमा थाइ नेपाली सङ्घको प्रतिनिधित्व’ शीर्षकमा अनुभूतिहरू प्रकट गर्नुभएको छ । उहाँले हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५ ले नेपाल र बाहिर रहेका आत्मीयजनको भेटका साथै सांस्कृतिक पुनः जागरण र मिलनको पर्व मनाउन पाएकोमा खुसी लागेको अनुभूति प्रस्तुत गर्नुभएको छ ।

हेमराज पाण्डेले प्रवासी नेपालीको प्रतिनिधि स्वरमा बोल्दै ‘सिमसिमे वर्षा, मेघ बोकेको कुहिरो र घामसँग जिस्किएको चन्द्रागिरि’ शीर्षकमा आफ्ना भावुक र वस्तुगत दुवै अनुभूतिलाई व्यक्त गर्नु भएको छ । 

खगेन्द्र राईको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५: एक सर्वेक्षण’ शीर्षकको लेखमा हिमवत्खण्ड कला साहित्य सम्मिलनमाथि आफ्ना अनुभूतिहरू व्यक्त भएको छ । उहाँले हिमवत्खण्डको भौगोलिक चर्चा र सभ्यता निर्माणको शृङ्खलालाई यस कार्यक्रमको सान्दर्भिकतासित संयोजन गर्नुभएको छ । उहाँको विचारमा यो कार्यक्रमको परिकल्पनाकार प्रधानमन्त्री श्री केपी शर्मा ओली नै हिमवत्खण्डको भाषा, साहित्य, सभ्यता, संस्कृतिको मर्मज्ञ रहनु भएको छ । उहाँले यस लेखमा कार्यक्रमको औचित्य, विवरण र योगदानमाथि विवेचना गर्नुभएको छ ।

डा.तुलसी भट्टराईले ‘भानुभक्तको चन्द्रागिरि यात्रा’ शीर्षकमा आफ्ना अनुभूतिलाई दर्जिलिङमा भानु जयन्तीको सुरुआत भएको प्रसङ्गबाट आरम्भ गर्नुभएको छ । भानुभक्त नेपालमा भन्दा बाहिर रहनुभएका नेपाली भाषीहरूमा अति नै लोकप्रिय रहेको चर्चा गर्नुभएको छ । नर्मदेश्वरी सत्यालले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलनको उपादेयता’ शीर्षकमा यो सम्मिलनको सान्दर्भिकतामाथि आफ्ना अनुभूतिलाई प्रस्तुत गर्नु भएको छ । श्याम तमोटले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ र मेरा कुरा’ शीर्षकमा आफ्ना अनुभूतिहरूलाई सम्मिलनको उठान, भाषा, साहित्यको समृद्धि र सांस्कृतिक समन्वयको लागि यो कार्यक्रम निकै उपयुक्त भएको बताउनु भएको छ । 

प्रा.डा.कृष्णप्रसाद घिमिरेले ‘ब्रह्मज्ञानको अनुभूति’ शीर्षकमा यस्तो विद्वान् सभाको रस पहिला लिन नसकेको कुरालाई राख्नुभएको छ । लक्ष्मी निरौलाले ‘सम्झनामा हिमवत्खण्ड कला साहित्य सम्मिलन’ शीर्षकमा यस कार्यक्रमको निम्तो र सम्मिलनको महत्त्वको झल्काले आफू फुरुङ्ग भई अन्य कार्य तालिका पनि रद्द गर्न लागेको अनुभव पस्कनु भएको छ ।

यसमा साहित्य र कलाको गौरव बोध गर्ने वातावरण निर्माण भएको र आगामी दिनमा गहन सन्देश बोकेर रहने खालको विशिष्ट आयोजना भएको अनुभूतिसमेत उहाँले अघि सार्नुभएको छ । कमला पराजुलीले ‘मन रमाएको क्षण’ शीर्षकमा आफ्ना अनुभूतिलाई कला साहित्य सम्मिलन २०७५को भव्य सन्दर्भसित जोड्नुभएको छ । उहाँले चन्द्रागिरिको प्रकृति र कार्यक्रमको प्रस्तुतीकरण अति मनोहर भएको, यस्तो उत्साहपूर्ण समारोहमा संलग्न हुन पाएको र यसले स्रष्टाहरूलाई तत्काल कविता सिर्जना गर्ने वातावरण पनि निर्माण गरेको जस्ता अनुभूतिलाई प्रकट गर्नुभएको छ ।

तुलसीहरि कोइरालाले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलनको सफलता’ शीर्षकमा आफ्ना अनुभूतिलाई भाषा, साहित्य र संस्कृतिको सुन्दर, पवित्र संगम स्थल बनेको यो सम्मिलनको सफलतासित संयोजन गर्नुभएको छ । छत्रपति फुँयालले ‘भुटानी प्रतिनिधित्व र गर्वानुभूति’ शीर्षकमा भुटानी र अरु नेपालबाहिरका नेपाली भाषीहरूको समेत भाव समेट्दै यो सम्मिलनले तिनलाई न्याय गरेको र भावना पोख्ने स्थान प्रदान गरेको अनुभूति सुनाउनु भएको छ । नारायणप्रसाद होमगाईंले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन : एक संस्मरण’ शीर्षकमा नेपालबाहिर र नेपालभित्रका साहित्यकार विद्वान् स्रष्टाहरूको उपस्थितिलाई अत्यन्त सुन्दर, अपूर्व मिलन, ऐतिहासिक आयोजना र भव्य सफलताको रूपमा औँल्याउँदै आफ्नो अनुभूतिलाई पस्किनु भएको छ । 

कार्यपत्र तथा समीक्षात्मक परिपूरण खण्डको आरम्भमा विद्वान् प्रा.डा.माधवप्रसाद पोखरेलको ‘कार्यपत्र १: हिमवत्खण्डका भाषामा नेपाली भाषाको महत्त्व र वर्तमान स्थिति’लाई प्रस्तुत गरिएको छ । उहाँको बौद्धिक, अनुसन्धानात्मक भाषिक कार्यपत्रमा नेपाली भाषा र साहित्यको अवस्था तथा भाषिक समस्याको चिरफार गरिएको छ । डा.जगमान गुरुङले ‘समीक्षात्मक परिपूरण: हिमवत्खण्डका भाषा र संस्कृतिको अन्तःसम्बन्ध’ शीर्षकमा आफ्नो बौद्धिक र गहिरो विचारलाई प्रस्तुत गर्नुभएको छ । उहाँले हिमवत्खण्डको सभ्यता, भूगोल, संस्कृति र साहित्य कलाका सन्दर्भमा तथ्यपन र सत्यापन गरिएका गर्विला तर्कहरू आफ्नो समीक्षात्मक परिपूरण पत्रमा राख्नुभएको छ । डा.कविता लामाले ‘कार्यपत्र २: भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षकमा रामायणको विवेचनात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उहाँले रामायण र भानुभक्तको सम्बन्ध समस्त नेपाली भाषीहरूसित रहेको विचार राख्नुभएको छ । लक्ष्मण न्यौपानेले ‘समीक्षात्मक परिपूरण: बर्मा गए कर्मसँगै: केही सूचना, केही परिपूरण’ शीर्षक पत्रमा आदिकवि भानुभक्त आचार्यबारे उठेका सामग्रीको बौद्धिक अवलोकनयुक्त समीक्षा गर्नुभएको छ । 

प्रा.डा. जीवेन्द्रदेव गिरीको ‘कार्यपत्र ३: नेपालका भाषाहरूको साहित्यिक अवस्था र समृद्धिको यात्रा’मा नेपालका विभिन्न भाषाका साहित्यिक अवस्थाहरू जस्तै मैथिली, नेवारी, तामाङ, लिम्बू, अवधि, थारु, मगर, गुरुङ, राई र अन्य भाषाको समेत साहित्यिक अवस्था र साहित्यमा समृद्धिबारे विस्तृत प्रकाश पार्नुभएको छ ।

प्रा.डा.व्रतराज आचार्यले ‘नेपालका भाषाहरूको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ मा अघिल्लो कार्यपत्रमाथि बौद्धिक रूपमा समीक्षा गर्नुभएको छ । ठाकुरप्रसाद मैनालीले ‘कार्यपत्र ४: नेपाली कला संस्कृतिको फैलँदो आकाश’ मा कलाको ऐतिहासिक परिचय र समाजमा यसको भूमिकालाई स्पष्ट पार्नुभएको छ ।

विष्णु प्रभातले ‘समीक्षात्मक परिपूरण: हिमवत्खण्ड र कला संस्कृतिको सन्दर्भ: सङ्क्षिप्त परिपूरण’ अघिल्लो कार्यपत्रमाथि आफ्नो धारणा राख्नुभएको छ । प्रा.डा.वासुदेव त्रिपाठीले ‘समग्र समीक्षात्मक परिपूरण: सम्मिलनमा प्रस्तुत गोष्ठी पत्रमाथिको समीक्षात्मक निष्कर्ष’मा सबै कार्यपत्रमाथि बौद्धिक ढङ्गले टिप्पणी गर्नुभएको छ ।

स्मारिकाको खण्ड पाँचमा बहुभाषिक कविताहरू प्रस्तुत भएका छन्, जसमा डा.सोमबहादुर धिमाल, गौरी तमु, हेमा आले ‘बोगी’, कृष्णराज सर्वहारी, पार्वत माझी, विना थिङ, गणेश राई, छम गुरुङ, जगबहादुर बुढा, डा.रत्नावली शर्मा, हंस कुर्मी, पदम राई, गोपाल अश्क, अनिल माझी, प्रभा भट्टराई आचार्य, डा.विप्लव ढकाल, डा.मुकुन्दप्रसाद लामिछानेका कविताहरू रहेका छन् ।

खण्ड छमा चन्द्रागिरिमा उपस्थित प्रस्तुत भएका कविताहरूको विवरण राखिएको छ, जसमा टीका आत्रेय, डी.एम.कन्दङ्वा, धीरेन्द्र प्रेमर्षि, आभाकुमारी सेतु, लक्ष्मी माली, प्रकाश चापागाईँ, नारायणप्रसाद पोखरेल, लक्ष्मी थापा, बुँद राना, हीरा शर्मा, वासुदेव पाण्डेय, उषा हमाल, तुलसी शर्मा, रघुनाथ कडरिया, डा.रामप्रसाद ज्ञवाली, रेखा सुवेदीका कविताहरू रहेका छन् । खण्ड सातमा नेपालबाहिरका नेपाली कविहरू शरदकुमार छेत्री, सुकराज दियाली, नव सावकोटा, उषाकिरण ‘सत्यदर्शी’, कालुसिंह रणपहेली, कर्ण विरह, अजम प्रधान, नारायणप्रसाद होमगाईका कविताहरू समेटिएका छन् । खण्ड आठमा चन्द्रागिरिका सिर्जना शीर्षकमा स्नेह सायमी, शम्भुकुमार मिलन, डा.विजयकुमार दत्त, गोविन्द गिरी प्रेरणा, रत्न विरही घिमिरे, श्याम तमोट, उदय श्रेष्ठ, भरत नेपाली जग पहाडीका सिर्जनाहरू समावेश गरिएका छन् ।

प्रतिवेदन लेखन समितिबाट प्रस्तुत कार्यक्रमको समग्र प्रतिवेदन लेखनमा संयोजक डा.बिन्दु शर्मा र सदस्यहरूमा आर.सी. न्यौपाने, रमेश पोखरेल, डा.भागवत आचार्य र शशी लुमुम्बुको जिम्मेवारी रहेको उल्लेख छ । तस्तै डा. देवी नेपाल, सदस्य सचिवको प्रतिवेदन : हिमवत्खण्ड कला साहित्य सम्मिलन : परिकल्पनादेखि परिणामसम्म’मा कार्यक्रमका समग्र दैनिक विवरणहरू रहेका छन् ।

चन्द्रागिरि घोषणापत्र (२०७५)मा घोषणापत्र निर्माण समितिबाट प्रस्तुत चन्द्रागिरि घोषणा पत्र २०७५, प्रा.केशव सुवेदीको संयोजकत्वमा वासुदेव अधिकारी, रमेश पोखरेल, प्रा.डा.भीम खतिवडा, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’को जिम्मेवारी र १५ बुँदे चन्द्रागिरि घोषणापत्रको पनि उल्लेख भएको छ । त्यस्तै वृत्तचित्र ‘शार्दूल’को शब्द चित्र निर्माणमा लेखन डा.देवी नेपाल, निर्देशन/निर्माण श्याम सापकोटा, उद्घोषण दिनेश डिसीको भूमिका रहेको जनाइएको छ ।

सम्मिलनको लागि गठित विभिन्न समिति र उपसमितिहरूमा रहेका व्यक्तिहरूको जिम्मेवारीलाई पनि स्मारिकामा समेटिएको छ । त्यस्तै खण्ड चौधमा कलाकारितामा चन्द्रागिरि शीर्षकमा नरेश सुन्दर सैँजुको संयोजकत्वमा अठार जना कलाकारहरू रतनकुमार राई, नरेश सुन्दर सैँजु, जीवन राजोपाध्याय, हरिबहादुर खड्का, रमेश श्रेष्ठ, सुस्मा राजभण्डारी, सागर मानन्धर, मुकेश श्रेष्ठ, लालकाजी लामा, गणेश जिसी, चन्दा श्रेष्ठ, शंकरनाथ रिमाल, डिराम पाल्पाली, केके कर्माचार्य, देवेन्द्र थुम्केली, ध्रुव प्रजापति, केशव र भवानीले स्थलगत रूपमै निर्माण गर्नुभएका चित्ताकर्षक चित्रहरू प्रस्तुत गरिएका छन् । तस्बिरमा हिमवत्खण्ड कला साहित्य सम्मिलन (२०७५) र अन्तमा मदनकुमार भण्डारीको कविता र तस्बिरलाई पनि यस ग्रन्थमा प्रस्तुत गरिएको छ ।

निष्कर्ष :

हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५, स्मारिका ग्रन्थमा उक्त ऐतिहासिक सम्मिलनको स्मृति चिन्हहरू समेटिएका ज्ञानमय, बौद्धिक, तार्किक, अनुभूतिपरक, सिर्जनात्मक, कला, साहित्य र संस्कृतियुक्त विषयवस्तुलाई संयोजन गरी प्रस्तुत गरिएको छ । यस ग्रन्थमा सम्मिलनको अवधारणादेखि यसमा भूमिका निर्वाह गर्ने स्वदेश र विदेशका व्यक्तित्वहरूको विचार, योगदानसमेतलाई तस्बिरसहित समावेश गरिएको छ ।

हिमवत्खण्डको प्राकृतिक, सांस्कृतिक, भाषिक, साहित्यिक र दार्शनिक तथा कलात्मक जगको उठान, विमर्श र भावी कार्यदिशाको लागि चन्द्रागिरि घोषणापत्र पनि समेटिएको यो ग्रन्थमा स्मारिकाले वहन गर्ने मात्रात्मक र गुणात्मक अभिलक्षणहरूलाई प्रस्तुत गरिएको छ ।

यसले नेपालका नेपालीलगायत भाषा, कला, साहित्य र संस्कृतिको संवर्द्धन र विस्तारका साथै राज्यसितको यसको सम्बन्धमाथि पनि सकारात्मक प्रभव पार्ने र ऐतिहासिक कार्यक्रमको साक्षीको रूपमा अध्ययन, अनुसन्धान र बहसका निम्ति महत्त्वपूर्ण प्राज्ञिक, बौद्धिक सामग्रीको रूपमा रहने सम्भावनालाई पनि स्थापित गरेको छ ।