रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्य, वर्षमा ४८ दिन पढ्न पाउँदैनन्

रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्य, वर्षमा ४८ दिन पढ्न पाउँदैनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

काठमाडौं । विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेको छ ।

हुम्लाको ताँजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । प्रायः कक्षा ६ देखि माथिका छात्राहरू महिनाको एकपटक रजस्वला हुन्छन् । प्राकृतिक रूपमा नै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरू विद्यालयमा नआउने गरेको विद्यालयका शिक्षकले बताएका छन् । सरकारले महिनावारी भएका छात्रालाई निःशुल्क प्याड बाँड्ने नीति लिए पनि हुम्लामा सरकारको सो नीतिले व्याहारिक रूप पाउन सकेको छैन । प्याडको अभाव भएकाले पनि विद्यालय आउन कठिन हुने गरेको छात्रा बताउँछन् ।

महिनावारीका कारण वर्षमा ४८ दिन छात्रा विद्यालय नआउने हुँदा उनीहरूको अध्ययनसमेत प्रभावित हुने गरेको छ । प्रधानाध्यापक गंगादत्त जोशीले आजभोलि पनि प्रायः छात्रा महिनावारी भएका बेला विद्यालय नआउने गरेको बताए । धर्मोदय माध्यमिक विद्यालयमा राम्रो शौचालय र पानीको व्यवस्था नहुँदा महिनावारी भएका छात्राहरू समस्यामा पर्ने गरेका छन् । याे समाचार आजको  राजधानी दैनिकमा छ ।