बाह्रबिसे सबस्टेसन ठेकेदारलाई काम सुधार्न विद्युत् प्राधिकरणको अल्टिमेटम

बाह्रबिसे सबस्टेसन ठेकेदारलाई काम सुधार्न विद्युत् प्राधिकरणको अल्टिमेटम

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १६, २०७८

नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । 

सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको छ । 

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी-काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ ।

एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ । 

‘करिब २ वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन । ४ महिना हेर्छौं त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसारको कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै कार्यकारी निर्देशक घिसिङले भने । 

ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकाले ४ महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकाले अहिले काममा केही प्रगति देखिएको छ । 

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहनेछन् । 

बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे ४ किलोमिटर सडक जीर्ण रहेकाले निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामग्री ढुवानीका लागि समस्या छ । बाग्मती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ । 

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । 

यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसे हुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी-काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती-बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । 

यो लाइन बनाउन पनि बाह्रबिसे सबस्टेसनको ठेकेदारले नै जिम्मा पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी केईसी इन्टरनेसनल छनोट गरेको थियो ।  

बाह्रबिसे-लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ । भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।