दाहाल दम्पतीको वैवाहिक वर्षगाँठ : व्यवसायी श्रेष्ठकाे घरमा भोज

दाहाल दम्पतीको वैवाहिक वर्षगाँठ : व्यवसायी श्रेष्ठकाे घरमा भोज

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ५०औं वैवाहिक वर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भव्य बंगलामा मनाए। सीतासँग वैवाहिक बन्धनमा बाँधिएको ५० वर्ष पुगेको उपलक्ष्यमा दाहालले बिहीबार भव्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए।

व्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन्। यति बेला एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। श्रेष्ठको सुनाकोठी (ललितपुर) स्थित १८ रोपनीमा फैलिएको निवास परिसरमा दाहालले ५०औं वैवाहिक वर्षगाँठ मनाइरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए। राज्यसँग मुद्दामामिला गरिरहेका र ठूलो परिमाणको कर बुझाउनुपर्ने व्यापारीसँग आफ्ना नेताको साँठगाँठ र भव्य भोजले आफूलाई ‘लज्जाबोध भएको’ नेकपाका केही नेताले नाम उल्लेख नगर्ने सर्तमा नागरिकलाई बताए। यो घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको ‘शून्य सहनशीलता’ लाई समेत जिस्क्याएको अनुभूति भएको ती नेताको बुझाइ छ।

व्यापारी श्रेष्ठसँग दाहालको सम्बन्ध अहिलेको मात्र होइन। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पनि दाहाल परिवारले श्रेष्ठकै उक्त घरमा आश्रय लिएको थियो। दाहाल दम्पतीको वैवाहिक वर्षगाँठ मनाउन श्रेष्ठ केही दिनअघिमात्रै विदेशबाट नेपाल आएको स्रोतले जानकारी दियो। ‘पूर्वप्रधानमन्त्री दाहालको ५०औं वैवाहिक वर्षगाँठ मनाउनकै लागि नेपाल आउनुपरेको हो,’ श्रेष्ठलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छिट्टै फिर्ता भइहाल्नुपर्ने छ।’ श्रेष्ठ पुँजीगत लाभकरबापतको रकम तत्काल तिर्नुनपर्नेगरी सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएपछि बेलारुस र साइप्रस जाने तयारीमा रहेको स्रोतले बतायो। नागरिक दैनिकमा यो खबर छ ।