जबजका १४ विशेषता: साम्यवादको परिकल्पना कुन जुगमा वा कति जन्ममा ?

जबजका १४ विशेषता: साम्यवादको परिकल्पना कुन जुगमा वा कति जन्ममा ?

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  कार्तिक १६, २०७८

जनताको बहुदलीय जनवादमा मूलभूत रूपमा १४ वटा कुरा छन् । दस्तावेजको बुँदा ४ मा यी विशेषतालाई ‘यस कार्यक्रमका थप विशेषताहरू’ भनेर उल्लेख गरिएको छ । यसमा उल्लेख भएका जबजका १४ वटा विशेषता यस प्रकार छन् ।

१. संविधानको सर्वोच्चता २. बहुलवादी खुला समाज ३. शक्ति पृथकीकरणको सिद्धान्त ४. मानवअधिकारको रक्षा ५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली ६. आवधिक निर्वाचन ७. बहुमतको सरकार र अल्पमतको विपक्ष ८. कानुनको शासन ९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण १०. विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग ११. क्षतिपूर्ति १२. विदेश नीति १३. नेतृत्व र अधिनायकत्व १४. जनताको बहुदलीय जनवाद ।

यसअन्तर्गत बुँदा ४.१ मा ‘संविधानको सर्वोच्चता’बारे उल्लेख छ । यस बुँदामा भनिएको छ- ‘संविधान देशको मूल कानुन हो र देशका सम्पूर्ण राजनीतिक-आर्थिक क्रियाकलापहरू र वर्गहरूको भूमिका एवं अन्तरसम्बन्धहरूको व्याख्या गर्ने दस्तावेज हो । कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टीविशेष संविधानभन्दा माथि रहन सक्दैन । सबैको निम्ति संविधान समान रूपले अनुल्लङ्घनीय हुनुपर्छ ।’

यसैमा थपिएको छ- ‘संशोधन गर्न सकिने निश्चित प्रावधानहरू संविधानमा रहन्छन् र त्यो लचिलो हुनुपर्छ । तर, जबसम्म त्यसमा संशोधन भएको हुँदैन, त्यसलाई कसैले पनि उल्लङ्घन गर्न पाउँदैन । सम्पूर्ण जनताको निश्चित अधिकार र कर्तव्यको परिभाषा गर्ने दस्तावेज भएकाले कुनै पनि एउटा पक्षबाट त्यसमाथि थिचोमिचो हुनुहुँदैन । त्यस कारण हामीले एउटा महत्त्वपूर्ण तत्त्वका रूपमा संविधानको सर्वोच्चता सामेल गरेका छौँ ।’

अनुच्छेद जबजका ‘१४ विशेषता’भित्रबाटै लिइएको हो । ‘समाजवादी देशहरूमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अतिकेन्द्रीकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन, हानि भयो ।’ अर्थात् कम्युनिज्म एक प्रकारको तानाशाही वा निरङ्कुश शासन व्यवस्था हो र यस्तो व्यवस्थामा पार्टी नेतृत्वको तानाशाही वा निरङ्कुशता कायम रहन्छ, जसले गर्दा मुलुकको सम्पूर्ण शक्ति कम्युनिस्ट शासकका हातमा केन्द्रित हुन्छ ।

यही बुँदालाई नै हेर्दा पनि झस्का पर्छ कम्युनिस्ट भन्न रुचाउनेहरूलाई । कारण, पुँजीवाद, साम्राज्यवाद, विस्तारवाद आदिआदिको घोर विरोधी कम्युनिस्ट पार्टीले आफ्नो मार्गदर्शनको विशेषतामै लेखेको छ कि मुलुकको संविधान नै सर्वोपरि हो र यसको उल्लङ्घन हुनुहुँदैन । अर्थात् २०४७ सालमा जारी नेपाल अधिराज्यको संविधानलाई एमालेले पूर्ण रूपमा पालना गर्नेछ यो मार्गदर्शन अथवा जबजअनुसार । तर, विरोधाभाष सँगसँगै छ- यही संविधान जारी गर्ने समयमा यही एमालेले ‘आलोचनात्मक समर्थन’ गरेको थियो । आलोचनात्मक समर्थन भन्नु पूर्ण समर्थन होइन, पूर्ण पालनाका लागि तयार रहनु होइन । तर, २०४९ सालसम्म वा संविधान जारी भएको दुई वर्षभित्र एमाले त्यही आलोचनात्मक समर्थन गरेको संविधानसँग पूर्ण सहमत भइसकेको थियो ।

यसको आशय लुकाउनुपर्दैन कि अब एमाले पुँजीवादी मार्गमा हिँड्न पूरापूर तयार भइसकेको थियो । ‘पुँजीवादी दलाल’, ‘साम्राज्यवादी’, ‘विस्तारवादी’ शब्दलाई नारामा सीमित गर्दै आफ्नो नयाँ लिक एमालेले बनाइसकेको थियो । किनभने, २०४७ सालको संविधान ‘कम्युनिस्ट’का लागि कुनै पनि हिसाबले उपयुक्त संविधान थिएन । आर्थिक उदारीकरण, शक्ति पृथकीकरण, मानवअधिकारको पूर्ण प्रत्याभूति, स्वतन्त्रताको अधिकारको पूर्ण प्रत्याभूति, बहुमत र अल्पमतको प्रावधान जस्ता विषय सच्चा कम्युनिस्टका निम्ति स्वीकार्य हुन सक्दैनन् । तर, एमालेले यी सबै प्रावधानलाई आफ्नो मार्गदर्शन जबजमार्फत स्वीकार गरिदिएको छ ।

भनेको छ- ‘क्रान्तिकारी सत्ता, जनताको सत्ता पनि विधानविहीन हुनुहुँदैन, विधानसम्मत् चल्नुपर्छ । कतिपय देशमा क्रान्तिकारी सत्तालाई संविधानभन्दा माथि राख्नाले भएका अराजकताको परिणाम हानिकारक भएको कुरा सर्वविदितै छ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्छ र संविधान सर्वोच्च हुनुपर्छ ।’ यही अन्तिम वाक्यले नै एमालेलाई ‘कम्युनिस्ट’बाट स्खलित बनाएको प्रस्ट्याउँछ, होइन र ?

यही बुँदाको ४.२ मा ‘बहुलवादी खुला समाज’को उल्लेख छ । यसमा भनिएको छ- ‘प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसङ्गत कुरा हो । त्यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरू पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन ।’

यस बुँदाको सुरुकै पङ्क्तिले ‘कम्युनिस्ट’ चरित्रलाई लोप्पा ख्वाइदिन्छ । ‘प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसङ्गत कुरा हो’ भनेर उल्लेख गरिनुले एमालेले पूर्ण वाक् स्वतन्त्रता, विचार र अभिव्यक्तिको पूर्ण अधिकारको वकालत गरेको देखिन्छ । ‘एक दलीय निरङ्कुशता’लाई नै ‘कम्युनिस्ट मार्ग’ ठान्ने भ्लादिमिर इलिच लेनिनको नाममा ‘एकीकृत माक्र्सवादी लेनिनवादी’ भनेर पार्टीमा फुर्का जोडेको एमालेले जब बहुलवाद, खुला समाज, विचार र अभिव्यक्तिमा पूर्ण स्वतन्त्रताको विषय नै आफ्नो ‘मार्गदर्शन’को विशेषता ठान्छ भने त्यहाँ ‘कम्युनिस्ट’ कसरी रहन्छ ? यो प्रश्न झनै पेचिलो छ एमालेका लागि ।

यसै बुँदामा थप उल्लेख छ- ‘प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूका बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्र रूपमा बोल्न दिनुपर्छ । मुलुकको संविधान र नियम, कानुनको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ । बाहिरी दुनियाँबाट अलगथलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन ।’

यो माथिको अनुच्छेद पढेपछि सयौँ पटक घोत्लिन बाध्य हुन्छ सामान्य राजनीति-सचेत मानिस कि यतिका ‘स्वतन्त्रता’, ‘अधिकार’ र ‘खुलापन’लाई स्वीकारिसकेपछि पनि एमालेले आफ्नो नाममा किन ‘कम्युनिस्ट’चाहिँ जोडिरहेको होला ? किन उसमा कम्युनिस्ट शब्दप्रति यतिविधि मोह रहेको होला ? र, लेनिनको नाम किन बदनाम (कम्युनिस्ट चरित्र हराउनु र लेनिनको नाम राख्नु बदनाम नै हो) गरिरहेको होला ?

यसमै आफ्नो ‘स्खलित अवधारणा’लाई पुष्टि गर्ने तुच्छ प्रयास गरिएको छ । भनिएको छ- ‘कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौँ ।’

यसले भन्न खोजेको पनि त प्रस्टै भएन र ? अन्तिमको अनुच्छेदले स्वीकार गरेको छ- ‘कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन ।’ यसो भन्नुको आशय हो- विश्वमा कम्युनिस्टहरू दिगो हुन सकेनन् । कम्युनिस्ट शासन व्यवस्था ओरालो यात्रामा गयो । कम्युनिज्म संसारबाटै विस्थापित हुन थाल्यो । यस कारण अब हामीले कम्युनिस्ट चरित्रको निरङ्कुशता, एक दलीय निर्दलीयता, तानाशाही पार्टी प्रणालीलाई त्याग्नुपर्छ ।

यसै कारण त प्रश्न उठेको हो- यदि विश्वमै कम्युनिस्ट चरित्रले वा कम्युनिस्ट शैलीले स्थिरता पाएन, रुचाइएन वा ‘परिणाम राम्रो भएन’ भने नेपालका पार्टीहरूले किन ‘कम्युनिस्ट’ फुर्को जोड्न र माक्र्स, लेनिन, माओको नाम बेच्न जरुरी थियो, छ ? 

बुँदा ४.३ ले ‘शक्ति पृथकीकरणको सिद्धान्त’अन्तर्गत भनेको छ- ‘समाजवादी देशहरूमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अतिकेन्द्रीकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन, हानि भयो । त्यसपछि व्यक्तिको हातमा हुने अतिकेन्द्रीकरणको आलोचना गर्दै विकेन्द्रित गर्ने प्रक्रिया सुरु भएको छ । तर, व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अतिकेन्द्रीकरण हुनुहुँदैन ।’

यो अनुच्छेद जबजका ‘१४ विशेषता’भित्रबाटै लिइएको हो । ‘समाजवादी देशहरूमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अतिकेन्द्रीकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन, हानि भयो ।’ अर्थात् कम्युनिज्म एक प्रकारको तानाशाही वा निरङ्कुश शासन व्यवस्था हो र यस्तो व्यवस्थामा पार्टी नेतृत्वको तानाशाही वा निरङ्कुशता कायम रहन्छ, जसले गर्दा मुलुकको सम्पूर्ण शक्ति कम्युनिस्ट शासकका हातमा केन्द्रित हुन्छ । यसो हुँदा देश र जनतालाई फाइदा होइन, हानि मात्र हुन्छ भन्ने कुरा यस दस्तावेजमा प्रस्ट स्वीकार गरिएको छ ।

यही कारण भनिएको छ- ‘व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अतिकेन्द्रीकरण हुनुहुँदैन ।’

यस पङ्क्तिले त अझ प्रस्ट पारिदिएको छ कि कुनै अमुक तानाशाह वा पार्टी नेतृत्वको मात्र होइन, अमुक राजनीतिक दल (संस्था)को हातमा पनि शक्ति केन्द्रीकरण हुनुहुँदैन । भनेपछि ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी’ पार्टीमा रहेका ‘कम्युनिस्ट’ र ‘माक्र्सवादी’/‘लेनिनवादी’ शब्दलाई झिकिदिए हुँदैन र ? एमालेले त ‘एउटा संस्थाको हातमा’ शक्ति अतिकेन्द्रीकृत हुनु नहुने भन्दै मार्गदर्शनमै अन्य दलहरूसँगको सहकार्यको समेत परिकल्पना गरेको रहेछ ।

राज्यका विभिन्न अधिकारहरूलाई प्रयोग गर्न केन्द्रमा पृथक् निकायहरू हुनुपर्ने, अझ राज्यको अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य र पार्टीबीचको भिन्नतालाई समाप्त गर्ने काम हुनु नहुने यस बुँदामा उल् लेख छ । ‘राज्य र पार्टीबीचको भिन्नता र अन्तरसम्बन्धलाई ठीक ढङ्गले सञ्चालन गरिनुपर्छ । यही अवधारणाबाट हामीले शक्ति पृथकीकरणको सिद्धान्तलाई आफ्नो कार्यक्रममा समावेश गरेका छौँ’, दस्तावेजमा भनिएको छ ।

यहाँ पनि प्रश्न नै उठ्छ- जब सत्तामा रहेको कम्युनिस्ट पार्टीले आफ्नो चरित्र र स्वभावअनुसारको शासनको स्वरूपलाई त्याग्छ, राज्यका अधिकारहरूलाई शक्ति पृथकीकरणका नाममा जाँच र सन्तुलनको साँचोमा जानाजान हालिदिन्छ भने त्यहाँ कम्युनिज्म कहाँ रहन्छ ? कम्युनिस्ट कहाँ रहन्छ ? र, साम्यवादको परिकल्पना कुन जुगमा वा कति जन्ममा साकार हुन्छ ?

क्रमश: