आजै कुकुर तिहार पनि मनाइँदै

आजै कुकुर तिहार पनि मनाइँदै

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १७, २०७८

यमपञ्चकको दोस्रो दिन अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । आजै त्रयोदशी र चतुर्दशी परेकाले कुकुर तिहार पनि मनाइँदै छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी रहेको छ । ९ बजेर २२ मिनेटसम्म काग पूजा र त्यपछि कुकुर पूजा गर्नुपर्नेछ । 

कात्तिक कृष्ण चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन नजिकैको नदी वा पोखरीमा गएर स्नान, तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर बत्ती बालेर बगाउने गरिन्छ । यसो गर्दा मृत्युपछि नरकको यात्रा गर्नु नपर्ने धार्मिक विश्वास छ ।

कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाई पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।

कुकुर आज्ञापालक जनावर हो । घरको रेखदेखदेखि भेडा-बाख्रा र घरपालुवा जनावरको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुवा जनावरको रूपमा समेत कुकुर रहेको छ । 

प्राकृतिक प्रकोप जस्तै: भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् ।कुुकुरको महत्त्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ । 

तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ ।