बालिका शिक्षा: तालिबानको जन्जिर तोड्ने एन्गेला गय्युर !

बालिका शिक्षा:  तालिबानको जन्जिर तोड्ने  एन्गेला गय्युर !

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २१, २०७८

१५ अगस्ट, २०२१ मा तालिबानले अफगानिस्तानमाथि दोस्रो पटक नियन्त्रण कायम गरेपछि उनीहरुले महिला तथा युवतीहरुलाई घरभित्रै बस्न निर्देशन दिए । छात्राहरुलाई विद्यालय जान रोक लगाए । महिला शिक्षालाई ध्यान दिँदै अफगानिस्तानभन्दा बाहिर रहेकी अफगान मूलकी एक महिला एन्गेला गय्युरले केही गर्ने सोच बनाइन् ।

अब उनको अनलाइन स्कुलमा एक हजारभन्दा बढी छात्रा र चार सयभन्दा बढी स्वयमसेवक शिक्षक छन् । अफगानिस्तान सन् १९९२ मा गृहयुद्धको चरम अवस्थामा रहँदा एन्गेला ८ वर्षकी थिइन् । देशको पश्चिमी शहर हेरातमा बस्ने उनको परिवार शरण लिनका लागि इरान पुगेको थियो । 

त्यसपछिका पाँच वर्ष उनी विद्यालय जान पाइनन् । परिवारको अस्थायी भिसाका कारण उनी विद्यालय जान योग्य थिइनन् । एन्गेला यतिबेला बेलायतको ब्राइटनमा बस्दै आएकी छन् । समुद्रतिर खुलेको आफ्नो घरको झ्यालबाट बाहिर हेर्दै उनी भन्छिन्, ‘त्यसबेला अफगानिस्तानबाट भागेर इरान गएका धेरै बच्चाहरु स्कुल जान पाउँदैन थिए । किनकि उनीहरुसँग विद्यालय भर्नाका लागि आवश्यक कागजात थिएन ।’

इरान पुगेको पाँच वर्षपछि उनका बाबुले आवश्यक कागजात बनाए र उनलाई विद्यालय भर्ना गरिदिए । १३ वर्षको उमेरमा नै उनलाई शिक्षा निकै महत्त्वपूर्ण छ भन्ने महसुस भयो । उनलाई जीवनमा केही गर्नुपर्छ भन्ने त्यसबेला नै लागेको थियो । स्कुलबाट फर्किएपछि उनी हरेक दिन १४ जना अफगानी बालिकाहरुलाई पढाउँथिन् । यी बालिकाहरु उनीजस्तै विद्यालय जना पाएका थिएनन् । 

इरानमा एन्गेलाका बाबु एक बगैँचाका माली थिए र बगैँचाको हेरचाह गर्दथे । उनी बालिकाहरुलाई बगैँचामै पढाउँथिन् । उनी विद्यालयमा पढ्न, लेख्न, बोल्न, जे सिक्थिन्, त्यो फर्किएर अन्य बालिकाहरुलाई सिकाउथिन् । 

सन् १९९६ मा अफगानिस्तानको सत्तामा पुगेको तालिबान केही वर्षपछि सत्ताबाट हट्यो र उनी अफगानिस्तान फर्किइन् र माध्यमिक तहको शिक्षिकाका लागि परीक्षा पास गरिन् । पछि उनी नेदरल्यान्ड गइन् र पछि बेलायत पुगिन् । 

संसारभर रहेका अफगानी मुलका मानिसजस्तै उनले पनि हैरानी र आशंकाका साथ अफगानिस्तानको बदलिदो घटनाक्रमलाई देखिन् । 

नसरिन अहिले एक भोलेन्टियर शिक्षिकाको सहयोगमा टर्कीस भाषा सिकिरहेकी छन् । आफू एक दिन इस्तानबुल जान चाहेको उनी बताउँछिन् । यो अनलाइन पढाइले उनको सपनालाई पुनः ब्युझाइदिएको छ ।

२० वर्ष चलेको युद्धपछि अमेरिकाले आफ्ना सैनिक फिर्ता लग्यो । अमेरिकी सैनिक पूर्ण रुपमा फर्किन नपाउँदै अफगानिस्तानमाथि तालिबानले कब्जा गर्‍यो । पछिल्ला २० वर्षमा अफगानिस्तानमा महिला शिक्षाका क्षेत्रमा जुन सकारात्मक उपलब्धि हासिल भएको थियो, त्यसमाथि यतिबेला फेरि संकट खडा भएको छ । 

तालिबानले महिलालाई कामगर्न र महिला शिक्षामाथिको रोक अस्थायी भएको र सबै कार्यस्थल र पढ्ने स्थानमा उनीहरुको सुरक्षा सुनिश्चित गर्ने बताएको छ । 

तर एन्गेला आफैंले पाँच वर्षसम्म स्कुल जान नपाएजस्तै अब धेरै छात्राहरुले पुनः स्कुल जान पाउँदैनन् भन्नेमा प्रष्ट छिन् । तालिबानले अफगानिस्तानमाथि नियन्त्रणको तीन महिनापछि पनि छात्रालाई स्कुल र काममा जान लगाएको प्रतिबन्ध हटाउने कुनै संकेत देखाएका छैनन् । यस्तो अवस्थामा एन्गेलालाई केही गर्नुपर्छ भन्ने लाग्यो ।

एन्गेलाले अनलाइन हेरात स्कुलको स्थापना गरिन् । यो अफगानिस्तानका बालिका र महिलालाई अनलाइन पढाउने प्लेटफर्म हो । उनले इन्स्टाग्राममा पोस्ट गर्दै अनुभवी शिक्षकसँग सहयोग गर्न अपील गरेकी थिइन् । 

उनको पहिलो पोस्टपछि अहिलेसम्म चार सय भोलेन्टियर उनसँग जोडिएका छन् । टेलिग्राम, स्काइप र अन्य प्लेटफर्मका माध्यमबाट १७० अलग अलग अनलाइन कक्षा लिन्छन् । यसमा गणितदेखि संगीतसम्म पढाइन्छ । एन्गेलासँग जोडिएका अधिकांश शिक्षक इरानका छन् । जसले दुई देखि आठ घन्टासम्म पढाउँछन् । 

एन्गेला भन्छिन्, ‘मलाई लाग्छ, यो स्कुल अनुभवको नतिजा हो । हाम्रो मकसद कलमले नै बन्दुकको स्थान लिनेछ ।’ एन्गेलाको स्कुलका स्वयमसेवक शिक्षकले करिब एक हजार छात्रा तथा युवतीहरुलाई पढाउँछन् । काबुलमा बस्ने १३ वर्षकी नसरिन र उनकी चार दिदीबहिनी पनि छन् । तालिबान सत्तामा आएपछि ७ वर्षभन्दा बढीका बालिकाहरुलाई विद्यालय जान रोक लगाएपछि उनीहरुको पढाइ छुटेको थियो ।

यी सबै दिदीबहिनी घरमा नै बसेर पढाइलाई जारी राख्ने हरसम्भव कोशिस गरिरहेका छन् । तर दुई ठूला दिदीहरुका लागि यो निकै कठिन भएको छ । किनकि उनीहरु विश्वविद्यालयमा इन्जिनियरिङको पढाई गरिरहेका थिए । नसरिनले एक साक्षात्कारमा भनिन्, ‘मेरा सबै सपना बर्बाद भए । यदि स्कुल खुल्यो भने पनि अवस्था पहिलेको जस्तो हुनेछैन । म पाइलट बन्न चाहन्थेँ, तर अब यो कहिल्यै हुनेछैन । किनकि तालिबानले महिलालाई पाइलट बन्न  दिनेछैनन् ।’ 

तर अब एन्गेलाको अनलाइन स्कुल बालिकाहरुको आशाको केन्द्र बनेको छ ।  

नसरिन अहिले एक भोलेन्टियर शिक्षिकाको सहयोगमा टर्कीस भाषा सिकिरहेकी छन् । आफू एक दिन इस्तानबुल जान चाहेको उनी बताउँछिन् । यो अनलाइन पढाइले उनको सपनालाई पुनः ब्युझाइदिएको छ । पछिल्लो समयमा अफगानिस्तानको उत्तरी क्षेत्रबाट केही सकारात्मक खबर आइरहेको छ । त्यहाँका ३४ मध्ये पाँच प्रान्तमा बालिकाहरुलाई माध्यमिक स्कुलसम्म जान दिइएको छ । 

निजी विश्वविद्यालयमा पढ्ने छात्राहरुलाई पनि पढ्न जान दिन थालिएको छ । तर अहिलेसम्म सरकारी विश्वविद्यायमा पढ्नेले कक्षाकोठामा जान पाएका छैनन् । तर काबुलकी नसरिन र उनकी बहिनीहरु र उनीहरुजस्ता लाखौं अफगान छात्राका लागि अझै स्कुल पूर्ण रुपमा बन्द रहेका छन् । नसरिनकी आमा शिक्षिका हुन् र उनीजस्तै महिलालाई काममा जान दिइएको छैन । तालिबानले उनीजस्तै शिक्षिकाले कहिलेबाट विद्यालयमा पढाउन जान पाउँछन् भनेर केही बताएका छैनन् ।  

संयुक्त राष्ट्रसंघा अनुसार काबुलमा सबै शिक्षकमध्ये ७० प्रतिशत महिला छन् । यस्तो अवस्थामा पुरुषका लागि विद्यालय खुले पनि उनीहरुलाई पढाउनेहरुको कमी नै हुनेछ । तालिबान सत्तामा आउनुभन्दा अघि नै पनि अफगानिस्तानमा शिक्षा क्षेत्रमा निकै पछि थियो । शिक्षा मन्त्रालयका अनुुसार सन् २०१९ मा अफगानिस्तानमा १५ वर्षभन्दा माथिका एक तिहाई मानिसहरु अनपढ थिए । अब धेरै बालिकाहरु आफ्नो घरमा नै बन्द छन् । यस्तो अवस्थामा अफगानिस्तानमा शिक्षाको आंकडा थप खराब हुने आशंका गरिएको छ । –बीबीसी