प्रा.डा. सुधा त्रिपाठी: एमएमा टप, नेपाली विभागको प्राध्यापनदेखि प्रमुख र रेक्टरमा पहिलो महिला

प्रा.डा. सुधा त्रिपाठी: एमएमा टप, नेपाली विभागको प्राध्यापनदेखि प्रमुख र रेक्टरमा पहिलो महिला

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कार्तिक २०, २०७८

महिलाका रूपमा सुधा त्रिपाठी सधैँ अगाडि रहनुभयो- चाहे त्यो प्राध्यापनको क्षेत्रमा होस् वा साहित्यको क्षेत्रमा । पुरुषहरूबाट हुने हरेक चुनौती उहाँले जहिले पनि सामना गर्दै आफूलाई अब्बल सावित गरिरहनुभयो । 

महिलाहरूले समालोचना जस्तो बौद्धिक क्षेत्रमा काम गर्न सक्दैनन् भन्ने आरोपलाई चिर्न उहाँले समालोचनाका आधा दर्जन त पुस्तक नै प्रकाशित गर्नुभएको छ । उहाँले नाटक पनि लेख्नुभएको छ । त्यस अगाडि महिलाहरूले नाटक लेख्न सक्दैनन् भन्ने एक किसिमको धारणा थियो । त्यसलाई पनि चिर्ने महिलामा पर्नुहुन्छ उहाँ  ।  

अर्को, महिलाहरू निबन्धमा त्यति कलम चलाउन सक्दैनन् भन्ने मान्यतालाई पनि उहाँले आधा दर्जन निबन्धका किताब प्रकाशन गरेर राम्रै उदाहरण दिनुभएको छ । 

त्रिभुवन विश्वविद्यालयमा पनि विभागीय प्रमुखदेखि रेक्टरसम्म हुनुभयो उहाँ । त्यहाँको नेपाली विभागमा उहाँ २५ वर्षसम्म एक्लो महिलाको रूपमा रहनुभएको थियो । 

रेक्टर रहँदा उहाँको गाडी जलाइयो । उहाँलाई ज्यान मार्ने, हात-खुट्टा भाँच्नेसम्मका धम्की आए । तर, यी सबै चुनौतीलाई उहाँले सहर्ष स्वीकारेर आफ्नो जिम्मेवारी सहज ढंगले पूरा गरेर आफूलाई सबल र सक्षम महिलाका रूपमा प्रस्तुत गर्नुभएको छ । 

पारिवारिक अवस्था

उहाँका बुबा जगन्नाथ त्रिपाठी पनि प्राध्यापन गर्नुहुन्थ्यो, पद्मकन्या क्याम्पसमा । आमा भने सामान्य साक्षर मात्र ।  बुबाको प्राध्यापन र दुःख गराइले चल्थ्यो परिवार । त्यस हिसाबले मुस्किल मुस्किलै थियो । जेनतेन चल्थ्यो । 

यस अर्थमा मध्यम भन्न पनि गाह्रो र निम्नमध्यम पनि भन्न नसकिने किसिमको आर्थिक अवस्था थियो उहाँको बुबाको ।उहाँको बुबाको दोलखामा पनि सानो घर र केही जमिन त थियो तर त्यसले खासै केही टर्दैनथ्यो । 

७ जना छोराछोरीलाई पढाउन पनि ग्राहै थियो । बुबाले २-३ ठाउँमा पढाएर यी सबै खर्च जुटाउनुहुन्थ्यो । छोराछोरी सबैलाई शिक्षाचाहिँ दिने तर सम्पत्ति नदिने भन्ने उहाँका बुबाको एक प्रकारको मान्यता नै थियो ।

उहाँको हजुरबाले बुबालाई पण्डित्याइँ पढाउनुभयो । तर, बुबालाई त्यो चित्त बुझेन र बुबा भागेर २१ वर्षको उमेरमा औपचारिक शिक्षा हासिल गर्नुभएको हो । 

बुबाको शिक्षा सबैजसो दार्जिलिङमा भयो । उहाँले बनारस हिन्दु विश्वविद्यालयबाट आचार्य पूरा गर्नुभयो अनि नेपाल आएर प्राइभेटमा  एमएसमेत नेपाली विषयमा  गर्नुभएको हो ।

जन्म र बाल्यकाल

सुधा त्रिपाठीको जन्म २०१५ सालमा दार्जिलिङमा भएको हो । बुबा पढाइका लागि दार्जिलिङ गएका बखत उहाँको उतै जन्म भएको हो । 

उहाँ जेठी छोरी । उहाँकी एउटी बहिनी तथा ५ भाइ । उहाँ ४ वर्ष दार्जिलिङमा बस्नुभयो अनि २ वर्ष मामाघर सिन्धुपाल्चोकमा बस्नुभयो । ६ वर्षजति दोलखामा बसेर काठमाडौँ आउनुभएको हो । 

उहाँले २ कक्षादेखि ७ कक्षासम्म दोलखामा नै पढ्नुभयो ।  सिन्काहरू सारेर खेल्ने, गट्टा खेल्ने, कबड्डी खेल्ने, बाघचाल खेल्ने गरेर बित्यो उहाँको बाल्यकाल । खासमा त्यसबेला खेल्ने अरू चिज नै हुँदैनथे । 

उहाँका बुबा भने आफैँ शिक्षित र पढाउनुपर्छ भन्ने मान्यताका भएको हुनाले उहाँहरू चाँडैदेखि स्कुल जानुभयो । तर, उहाँका साथीहरू भने गाउँमा एक लगनी काम सकेर मात्र स्कुल हाल्ने भन्ने मान्यताले गर्दा ढिला स्कुल जान्थे । 

त्यसैले उहाँका साथीहरू उहाँभन्दा कम्तीमा ४-५ वर्ष जेठा हुन्थे । उहाँ त्यसबखत साह्रै सानी । बोल्न जान्ने तर त्यसबाहेक अरू प्रतिक्रिया केही पनि नजनाउने । लाटो जस्तै । तर, लाटो भन्न पनि नमिल्ने । 

६, ७ र ८ कक्षासम्म उहाँलाई साथीहरूले साह्रै हेपे । यी ३ वर्ष उहाँका रोएरै बिते । 

उहाँलाई साथीहरूको हेपाइको प्रतिक्रिया पढेरै दिनुपर्छ भनेर बाबुआमाले बारम्बार भन्नुहुन्थ्यो । र, उहाँलाई पनि साथीहरूलाई जबाफ दिने एक मात्र माध्यम भनेको पढाइ हो भन्ने लागेर पढेको पढ्यै गर्नुहुन्थ्यो । 

नभन्दै उहाँले सबै साथीहरूलाई पढाइले नै जबाफ दिनुभयो । ती साथीहरू कोही पनि माथि आएनन् । तिनको नाम उहाँले कतै पनि सुन्नुभएको छैन । 

प्रारम्भिक शिक्षा

उहाँले सग्ला अक्षर फुटाएको भने घरमै हो । आमाले पढाउनुहुन्थ्यो घरमा । दार्जिलिङमा हुँदा पनि स्कुल त जानुभयो तर मकैका दाना मिलाएर खेल्नेबाहेक केही पढ्नुभएन । 

एक कक्षा मामाघर काभ्रेपलान्चोकको बिर्ता देउरालीमा पढ्नुभयो । २ कक्षादेखि ८ कक्षासम्म भने दोलखाको काली नाग निमाविमा पढ्नुभयो । त्यस बेला बस्नलाई डेस्क बेन्च हुँदैनथे । आफूले घरबाट चकटी, पिरा बोकेर जानुपर्थ्यो । 

उहाँको कक्षामा ७-८ जना हुन्थे । त्यसमध्ये २ जना भने छात्रा । अर्को एक जना गाउँकै साहुकी छोरी । 

महिला नै भए पनि अरू सरह लागेर ती साहुकी छोरीले पनि उहाँलाई हेप्ने गर्थिन् । त्यसैका कारण उहाँ ५ कक्षासम्म लगातार प्रथम भएको मान्छे प्रथम हुन सक्नुभएन । 

उहाँलाई सबैभन्दा हेप्ने ओमबहादुर हुनुहुन्थ्यो । पछि मदिराका कारण उहाँको देहान्त भयो । उहाँले एउटा संस्मरणमा आफूलाई त्यस बेला 'सबैभन्दा हेप्ने ओमबहादुर त मरिसक्यो, अब म किन जानु सुनखानी ?' भनेर लेख्नुभएको छ । 

उहाँ महिलाका रूपमा ४ पदमा प्रथम रहनुभयो । पहिलो, नेपाली विभागकाे प्रध्यापन हुँदै  विभागीय प्रमुख, अर्को भनेको रेक्टर अनि एमएतर्फ प्रथम । रेक्टरको काँधमा स्ववियु चुनाव गराउने जिम्मेवारी हुँदो रहेछ । त्यसैले उहाँले त्रिविमा आएर सबैले हामी आधिकारिक भन्ने चुनौतीलाई चिर्न पनि चुनाव गराउन खोज्नुभएको रहेछ । 

उहाँलाई आफूलाई हेप्ने ओमबहादुरलाई पढेर देखाउने धोको रहेछ । तर, पढिसक्दा ओमबहादुर नै मरेपछि उहाँले त्यस्तो लेख्नुभएको रहेछ । 

उहाँले ९ र १० कक्षा भने सानो गौ चरणको महेन्द्र भवन माविमा पढ्नुभएको हो । उहाँले २०३२ सालमा एसएलसी दिनुभयो । उहाँको ब्याचमा त्यस बेला ३०-३५ जना हुन्थे । 

२६ जना पास भएका थिए एसएलसी । उहाँको भने तृतीय श्रेणी आयो । त्यस बेला द्वितीय श्रेणीका लागि ४०५ नम्बर चाहिन्थ्यो । उहाँको ४०० नम्बर मात्र आयो । ५ नम्बर पुगेन द्वितीय श्रेणीका लागि ।

उच्चशिक्षा

एसएलसीपछि उहाँ पद्मकन्या कलेजमा पढ्न थाल्नुभयो । उहाँ कलेजमा पढ्दा अतिरिक्त क्रियाकलापमा भाग लिन थाल्नुभयो । 

हुनत उहाँ स्कुलमा छँदा पनि यस्ता क्रियाकलापमा सहभागी हुनुहुन्थ्यो । साथीभाइले पनि उहाँलाई 'तेरो नेपाली राम्रो छ, लेखिराख्' भनेर उत्प्रेरणा दिइरहन्थे । 

एसएलसीमा ५ नम्बर नपुगेर दोस्रो श्रेणी नआएको कुराले उहाँलाई पढ्न झन् उत्प्रेरित बनायो । अब सर्टिफिकेट लेभलमा राम्रो नम्बर ल्याउनुपर्छ भनेर उहाँ अझ मिहिनेत गर्न लाग्नुभयो । 

तर, सर्टिफिकेटमा पनि त्यस्तै भयो । उहाँको थोरै नम्बर नपुगेर प्रथम श्रेणी आएन । डिप्लोमामा पनि त्यस्तै भयो । त्यस्तै थोरै नम्बरले फेरि प्रथम श्रेणी आएन । 

उहाँ २०४० सालमा भने त्रिभुवन विश्वविद्यालयमा एमएको नेपालीमा सर्वोत्कृष्ट हुनुभयो । त्यस बेलासम्म कोही पनि महिला सर्वोत्कृष्ट भएका थिएनन् । 

उहाँलाई दोलखामा पढ्दा केटाहरूले दिएको दुःखको परिणाम बल्ल प्राप्त भयो जस्तो लाग्यो । 

प्राध्यापन

उहाँले थेसिस नै नबुझाई अब पढाउने अवसर प्राप्त भयो । उहाँका बुबाले धेरैतिर पढाउनुहुन्थ्यो । त्यसमध्येको एक डिल्लीबजारको कन्या क्याम्पस थियो । बुबाले त्यहाँ छाड्न खोज्नुभएको थियो । 

छोरी पढाउन तयार भएको हुनाले उहाँ पढाउन जानुभयो  । उहाँले एउटा सेसनको एउटा क्लास लिनुभयो । त्यसपछि भने उहाँ थेसिस तयार गर्न लाग्नुभयो । 

उहाँले थेसिसमा पनि छात्रवृत्ति प्राप्त गर्नुभएको थियो । त्यसो हुनाले उहाँलाई हास्यव्यङ्ग्य र गुणराज उपाध्यायको जीवनीमध्ये २ वटामा एउटा रोज्ने अवसर थियो । 

उहाँले गुणराज उपाध्यायको जीवनी रोज्नुभयो । त्यस बेलासम्म कम्प्युटर आइसकेको थिएन । टाइपराइटरमा टाइप गर्नुपर्थ्यो । उहाँ दिनभरि बागबजारमा टाइप गराउन जानुहुन्थ्यो । त्यस बेला पद्मकन्या कलेजमा एक पिरियड खाली भएको रहेछ । 

विभागीय प्रमुख सुशीला भट्टले घरमै आएर उहाँलाई कक्षा लिन आग्रह गर्नुभयो । कक्षा लिएको एक महिना पनि नभई उहाँ कीर्तिपुर जाने हल्ला चलेको रहेछ । तर, उहाँलाई भने केही थाहा थिएन । 

एक दिन नेपालीकै शिक्षक ज्योति खड्का पाण्डेले 'तपाईँको चिठी आएको छ' भनेपछि उहाँले गएर हेर्नुभयो । नभन्दै चिठी कीर्तिपुरमा पढाउनलाई खटाएको सम्बन्धमा थियो । 

उहाँलाई ए हल्ला त साँच्चै रहेछ भन्ने लाग्यो । उहाँले करारमा पढाउँदै गर्दा एक जना शिक्षक पढाउनका लागि चिठी लिएर आउनुभएको रहेछ । 

त्यहाँका शिक्षकहरूले 'हामी यहाँ सुधालाई राख्छौँ' भनेर उहाँलाई फर्काइदिनुभएको रहेछ । उहाँलाई अहिले पनि हामी सुधालाई कहाँ जान दिन्छौँ भनेर भन्न थाल्नुभयो । 

'हामीले माया गरेर राखेको चेली' भन्नुहुन्थ्यो । नभन्दै माया पनि गर्नुभएको थियो । उहाँलाई निर्णय गर्न गाह्रो भयो । अनि उहाँले बुबासँग सल्लाह गर्नुभयो । बुबाले 'तँलाई माया गरेर, पत्याएर आदर गरेर गुरुहरूले कीर्तिपुर बोलाउनुभएको हो । त्यसैले गुरुहरूको अनादर गर्नुहुँदैन, तँ कीर्तिपुर जा' भनेपछि उहाँ कीर्तिपुर नै जानुभयो पढाउन । 

उहाँले २०४१ सालको सुरुमा थेसिस बुझाउनुभयो । माधव घिमिरे त्यस बेला उपकुलपति हुनुहुन्थ्यो । उहाँले समय दिन नसक्दा ४ महिना त्यसै गयो । टाइप गर्न ४ महिना, गुरुले हेर्न ४ महिना अनि भाइबाको रिजल्ट हुन ४ महिना गरेर एक वर्ष त्यसै गयो । 

उहाँले २०४२ सालमा मात्र प्रमाणपत्र पाउनुभयो । उहाँले कीर्तिपुरमा २५ वर्ष पढाउनुभयो । त्यस बेलासम्म सर्वोत्कृष्ट हुने न कोही महिला थिए, न त नेपाली विभागमा पढाउने कोही महिला नै आए । 

ओहो मिस पो !

उहाँ पहिलो दिन क्लास लिन कन्या क्याम्पसमा पुग्नुभयो । तर, त्यस दिन अफिस खोलेको रहेनछ । त्यसैले उहाँ विद्यार्थीसँगै एकछिन बस्नुभयो । 

विद्यार्थीले उहाँलाई 'नयाँ हो ?' भनेर सोधे । उहाँले 'हो' भन्नुभयो । अनि, साथी ठानेर धाप पनि मारे । विद्यार्थीहरूले 'त्रिपाठी सरलाई चिन्या' छ ?' भनेर सोधे । उहाँले बुबा नभनी 'अलिअलि चिनेको छ' भन्नुभयो । 

कक्षाको घण्टी लाग्यो । सबै विद्यार्थीसँगै उहाँ पनि कक्षामा जानुभयो । अरू सबै बस्न बेन्चतिर लागे । उहाँ भने पढाउन अगाडि उभिनुभयो । 

सबै विद्यार्थीहरू मुखामुख गर्न थाले । विद्यार्थीहरूले विद्यार्थी भन्ठानेको त मिस हुनुहुँदो रहेछ !

त्यसमध्ये बाग्मती पुस्तक पसलका कृष्णप्रसाद काफ्लेकी छोरी सिर्जना काफ्ले थिइन् । उनी अलिक वाचाल थिइन् । उहाँलाई सबै सोधखोज गर्ने उनी नै थिइन् । 

त्यो एक पिरियड विद्यार्थीहरूलाई बिताउन साह्रै गाह्रो भयो । 'विद्यार्थी भन्ठानेको त ओहो मिस पो  रै'छ !' भन्न थाले ।

प्राध्यापन

उहाँले ३८ वर्ष प्राध्यापन गर्नुभयो । 

डिल्लीबजारको कन्या क्याम्पसमा विद्यार्थीले विद्यार्थी नै ठानेको अनुभवले उहाँले पद्मकन्या क्याम्पसमा भने पहिलेदेखि नै ड्रेस लगाउनुभयो । 

उहाँले पढाउँदा विद्यार्थीलाई कहिले पनि तँ, तिमी भन्नुभएन । कीर्तिपुरमा पढाउन गएपछि भने केही विद्यार्थीको विशेष आग्रहमा उहाँले तिमी भन्न आग्रह गरेपछि भने उहाँले तिमी भन्नुभयो । नत्र अरू कसैलाई कहिले पनि तँ, तिमी भन्नुभएन । 

उहाँले पहिले पहिले कीर्तिपुरमा पढाउन जाँदा विदेशी विद्यार्थीहरूलाई पढाउनुभयो । पहिले हप्ताको १२ वटासम्म कक्षा लिनुपर्थ्यो । पछि भने उहाँले विदेशी विद्यार्थीलाई पढाउन छाड्नुभयो । 

विवाह

उहाँको विवाह २०४६ सालमा भएको हो । विवाह मागी नै हो । चिनाजानीचाहिँ थियो । बुबाले हुन्छ भन्नुभयो भने हुन्छ नत्र हुँदैन भन्ने शर्त जस्तै थियो उहाँको । उहाँको श्रीमान् अङ्ग्रेजी ग्रामरका किताब लेख्ने चूडामणि गौतमका भान्जा । कुरा गर्नलाई चूडामणि गौतम र रोचक घिमिरे आउनुभएको थियो । 

यसअघि पनि धेरै कुरा आएका थिए विवाहका । तर, उहाँले पढाइ नसकी, जागिर नखाई नगर्ने भनेर टार्दै आउनुभएको थियो ।  तर, यस पटक भने बुबाले हुन्छ भने हुन्छ भन्नुभएको थियो । बुबाले उहाँलाई सोध्नुभयो । उहाँले हुन्छ भनेर फुत्त उठेर जानुभयो । किनकि त्यस बेला विवाहको कुरा गर्दा एकदमै लाज मान्ने समय थियो । 

उहाँका बुबाले 'ल अचम्म भो, आश्चर्य भो' भनेर गौतम र घिमिरेसँग धेरै पटक भन्नुभएको उहाँले सुनिरहनुभएको थियो ।उहाँका २ छोरी हुनुहुन्छ । जेठी छोरी भने एमबीए गरेर यतै काम गर्दै हुनुहुन्छ । कान्छी छोरी भने अमेरिकामा पीएचडी गर्दै हुनुहुन्छ । 

साहित्य यात्रा

उहाँ महेन्द्र भवन माविमा पढ्दा साथीहरूले तथा शिक्षकहरूले पनि 'तिम्रो नेपाली राम्रो छ, लेख' भनेपछि उहाँले पहिलो पटक कविता लेख्नुभएको हो । 

एसएलसी गरेर गाउँ गएर बसेपछि पनि कविताहरू लेख्नुभयो । 

पछि पद्मकन्या कलेजमा आएपछि भने लेख्ने र पुरस्कृत हुने क्रम थपियो । अनि, बाहिरी गोष्ठीमा पनि भाग लिने गर्न थाल्नुभयो । 

'नेपाली भाषा आजको परिप्रेक्ष्यमा' भन्ने निबन्ध उहाँले दाहाल यज्ञनिधिले लेख्न आग्रह गरेपछि लेखेर दिनुभयो । 

प्रसारण हुँदा भने उहाँ लुगा धुँदै हुनुहुन्थ्यो । बुबाले रेडियोमा बजेको सुनेपछि 'ल साहित्यकारज्यू, यहाँ साहित्य कार्यक्रममा आयो' भनेपछि उहाँ साबुन र लुगा त्यत्तिकै छाडेर हतारिएर सुन्न आउनुभयो । 

सुन्नु त भयो तर के सुनेको, के नसुनेको केही थाहा भएन । नाम भने उहाँको सुधा त्रिपाठी भन्छ । आवाज पनि आउँछ । कसले कहाँबाट पढेको ? एक प्रकारको सन्नाटा जस्तै भयो त्यो समयमा । 

प्रकाशन

उहाँको पहिलो प्रकाशन २०३४ सालमा 'विदीर्ण मातृ हृदय' भन्ने शीर्षकको कथा एउटा साप्ताहिक पत्रिकामा प्रकाशन भएको रहेछ । 

२०३४ सालमा नै रेडियोमा उहाँको निबन्ध प्रसारण भएको थियो । 

२०३५ सालमा ‘मेरा व्यथाहरूको गीत’ भन्ने प्रज्ञाप्रतिष्ठानको 'प्रज्ञा' पत्रिकामा उहाँको दोस्रो रचना कविता छापिएको थियो । 

उहाँको सम्पादन तथा लेखन गरी अहिलेसम्म १८ वटा पुस्तक प्रकाशन भएका छन् । ८ वटा पुस्तक प्रकाशनको तयारीमा छन् । 

उहाँका करिब ७ वटा समालोचनाका पुस्तक तथा त्यतिकै संख्यामा निबन्धका पुस्तक प्रकाशन भएका छन् । 

कवितासंग्रह भने अलिक पछि प्रकाशन भयो । प्रकाशनमा रहेका कृतिमा समालोचना तथा कविताका कृति छन् । 

संघसंस्थामा संलग्नता

उहाँ प्रगतिशील लेखक संघ (प्रलेस)मा निरन्तर २४ वर्ष आबद्ध रहनुभयो । परिषद् सदस्यदेखि उपाध्यक्षसम्म हुनुभयो उहाँ संघको । 

प्रलेसमा तथा गैरप्रलेसमा पनि जहिले पनि 'महिलाका तर्फबाट तपाईँ आउनुहोस्' भनेर उहाँलाई मात्र भनिन्थ्यो, अरू महिलालाई भने अवसर नै नदिने जसो गरी । 

प्रलेसमा तथा अन्य संस्थामा महिलालाई जहिले पनि कोषाध्यक्ष दिने प्रचलन थियो । 

उहाँले यसलाई तोड्नुपर्‍यो भनेर अरू सबै महिला तथा एक जना पुरुषलाई कोषाध्यक्षमा राखेर कमिटी नै गठन गर्नुभयो । 

उहाँहरूलाई नाम फिर्ता लिन आग्रह गरियो । उहाँहरूले नाम फिर्ता नलिएपछि रातभर बहस तथा छलफल भयो । अन्त्यमा ३ जना महिला समावेश गर्ने गरेर सहमति भयो । 

उहाँले प्राध्यापक संघमा कोषाध्यक्ष भन्ने पदलाई भने पहिले नै बाईबाई गर्नुभएको थियो । त्यसैले उहाँ कहिल्यै पनि कोषाध्यक्ष हुनुभएन । 

मान, सम्मान तथा पुरस्कार

उहाँका थुप्रै मान, सम्मान तथा पुरस्कार छन् । तर, उहाँलाई ती मान, सम्मान तथा पुरस्कारमा खासै चासो नभएका कारण उहाँले ती सबै एउटा कोठामा लगेर थन्क्याउनुभएको रहेछ । खासगरी साहित्यतर्फ पनि मान्छेको खुराफाती तथा चाकडी, चाप्लुसी अनि खुट्टा तान्ने प्रवृत्तिले उहाँलाई दिक्क बनाएको रहेछ ।त्यस कारण उहाँ अचेल सिर्जनायात्रालाई पनि थाँती राखेर आनन्दले बसिरहनुभएको छ ।महिलाका रूपमा प्रथम

उहाँ महिलाका रूपमा ४ पदमा प्रथम रहनुभयो । पहिलो, नेपाली विभागकाे प्रध्यापन हुँदै  विभागीय प्रमुख , अर्को भनेको रेक्टर अनि एमएतर्फ प्रथम ।

रेक्टरको काँधमा स्ववियु चुनाव गराउने जिम्मेवारी हुँदो रहेछ । त्यसैले उहाँले त्रिविमा आएर सबैले हामी आधिकारिक भन्ने चुनौतीलाई चिर्न पनि चुनाव गराउन खोज्नुभएको रहेछ । 

यसै प्रसंगलाई लिएर यूएन पार्क नजिकै उहाँ चढेको गाडीमा माओवादी विप्लव समूहले गरेको आगजनीसमेतकाे सामना गर्नुभएकाे छ  ।