जीवनका लागि योग: के हुन् ज्ञान, भक्ति, कर्म र क्रिया योग ?

जीवनका लागि योग: के हुन् ज्ञान, भक्ति, कर्म र क्रिया योग ?

न्युज कारखाना  |  जीवनदर्शन  |  कार्तिक २१, २०७८

यतिखेर तपाईं आफ्नो शरीर, आफ्नो मन र आफ्ना भावनाहरूलाई मात्र अनुभव गर्न सकिरहनुभएको छ । तपाईंलाई केही हदसम्म यिनका बारेमा थाहा छ ।अनि, तपाईं यो अनुमान लगाउन सक्नुहुन्छ कि यी कुराहरू जुन तरिकाले काम गरिरहेका छन्, त्यसो हुनका लागि पक्कै पनि ऊर्जाले काम गरिरहेको हुनुपर्छ । ऊर्जा नहुने हो भने यी सबैथोक हुन सक्दैनन् । तपाईंहरूमध्ये केहीले ऊर्जालाई अनुभव गर्नुभएको पनि हुन सक्छ । अरूहरूले यो सजिलै अड्कल लगाउन सक्छन् कि शरीर, मन र भावनाहरूले काम गर्नका लागि त्यसका पछाडि ऊर्जा हुनै पर्छ । उदाहरणका लागि, माइकबाट बोल्दा आवाज ठूलो हुन्छ । यदि तपाईंलाई माइकका बारेमा केही थाहा छैन भने पनि तपाईं यो अड्कल गर्न सक्नुहुन्छ कि यसलाई कुनै चिजले चलाइरहेको छ ।

४ वटा पक्षहरूका निम्ति योगका ४ वटा मार्गहरू

शरीर, मन, भावना र ऊर्जा नै तपाईंको जीवनका वास्तविक पक्षहरू हुन् । तपाईं आफूमाथि जे जति गर्न चाहनुहुन्छ, ती यिनै ४ स्तरहरूमा गरिनुपर्छ । तपाईं जे जति गर्न चाहनुहन्छ, तपाईं तिनलाई आफ्नो शरीर, आफ्नो मन, आफ्ना भावनाहरू र आफ्नो ऊर्जाको सहायताले मात्र गर्न सक्नुहुन्छ । यदि तपाईंले आफ्नो बुद्धिको प्रयोग गरी परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने त्यसलाई ज्ञान-योग भनिन्छ । यदि तपाईंले आफ्ना भावनाहरूको प्रयोग गरी परम् प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने हामी त्यसलाई भक्ति-योग भन्छौँ । यदि तपाईंले आफ्नो शरीरको प्रयोग गरेर वा कुनै शारीरिक काम गरेर परम् प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने हामी त्यसलाई कर्म-योग भन्छौँ । यदि तपाईंले आफ्नो भित्री ऊर्जालाई रूपान्तरित गरेर परम् प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने त्यसलाई क्रिया-योग भनिन्छ ।

केवल यिनै ४ तरिकाहरू छन्ः कर्म, ज्ञान, भक्ति वा क्रिया अर्थात् शरीर, मन, भावना वा ऊर्जाको प्रयोग गरेर नै कहीँ कतै पुग्न सकिन्छ । 'होइन, होइन, म त आस्थाको मार्गमा छु । मैले अरू केही पनि गर्नुपर्दैन ।' त्यस्तो कुनै कुरा हुँदैन । किनकि, कोही पनि केवल दिमाग, केवल हृदय, केवल हातहरू वा केवल ऊर्जाहरू हुँदैनन् । यीमध्ये कुनचाहिँ रोजूँ भन्ने कुनै विकल्प हुँदैन, किनभने तपाईं यी सबैथोकको मिश्रित रूप हो । तपाईं यी ४ वटै पक्षलाई सही अनुपातमा प्रयोग गर्न सक्नुहुन्छ । कुरा यत्ति हो कि एउटा व्यक्तिमा दिमाग प्रबल हुन सक्छ, अर्को व्यक्तिमा उसको हृदय प्रबल हुन सक्छ, जबकि अर्कोमा हातहरू प्रबल हुन सक्छन् ।

यसलाई सही अनुपातमा मिश्रण गरियो भने मात्र यसले तपाईंका लागि उत्तम ढंगले काम गर्छ । एउटा व्यक्तिका लागि जुन मिश्रणले काम गर्छ, त्यसले तपाईंका लागि राम्रोसँग काम नगर्न सक्छ । यसै कारण, अध्यात्मिक मार्गमा जीवित गुरु हुनु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, किनकि गुरुले तपाईंका लागि सही अनुपातमा मिश्रण बनाउँछन् अन्यथा त्यसले सही ढंगले काम गर्दैन ।

४ वटै मार्गहरूको मिश्रण

योगमा एउटा सुन्दर कथा छ । एक दिन ४ जना व्यक्तिहरू जंगलमा हिँडिरहेका थिए । पहिलो ज्ञान–योगी थियो, दोस्रो भक्त–योगी, तेस्रो कर्म–योगी अनि चौथो क्रिया–योगी थियो ।

साधारणतया यी ४ व्यक्तिहरू कहिल्यै सँगसँगै रहन सक्दैनन् । ज्ञान-योगी अरू सबैथरिका योगलाई पूरै तिरस्कारको नजरले हेर्छ । ऊ बुद्धिको प्रयोग गरेर योगमा पुग्न चाहन्छ । अनि, सामान्यतया एउटा बुद्धिजीविले अरू सबैलाई तुच्छ दृष्टिले हेर्ने गर्छ, विशेषगरी ती भक्तालु किसिमका मानिसहरूलाई, जो जतिबेला पनि माथितर्फ हेर्दै भगवान्‌को नाम जपिरहन्छन् । उसको नजरमा ती सबै मूर्खहरूको जमात हो ।

तर, भक्त-योगी सोच्छ कि- ज्ञान, कर्म र क्रिया- यी सबै मार्गहरू समयको नास मात्र हुन् । ऊ ती सबैप्रति दया गर्छ, जो यति सरल कुरा बुझ्न सक्दैनन्: जब भगवान् नै यहाँ छन् भने हामीले गर्नुपर्ने भनेको उनको हात समातेर पूरै भरोसा गरी अघि बढ्ने हो । उसलाई दिमाग घुमाउने दर्शनहरू र हड्डी बङ्ग्याउने योग फजुल लाग्छ । भक्तका लागि भगवान् यहीँ छन्, किनकि भगवान सर्वत्र छन् ।

कर्म-योगी काम गर्नुपर्छ भन्ने सोच्छ । उसलाई अरू सबै योगीहरू आफ्नै मनगढन्ते दर्शनमा अल्झिएका अल्छीहरू हुन् भन्ने लाग्छ ।

तर, क्रिया-योगी अहंकार र तिरस्कारले पूरै भरिएको हुन्छ । ऊ सबैप्रति खिस्याएर हाँस्छ । के अरूहरूलाई यति पनि थाहा छैन कि अस्तित्व एउटा ऊर्जा मात्र हो ? ऊ यो सोच्छ कि चाहे हामी भगवान्‌को कामना गरौँ वा अरू जुनसुकै चिजको, हामीले आफ्नो ऊर्जालाई रूपान्तरण नगरुन्जेल केही पनि हुन सक्दैन । कसैगरी पनि रूपान्तरण संभव हुँदैन ।

साधारणतया यी ४ व्यक्तिहरू मिल्नै सक्दैनन् । तर, संयोगवश त्यस दिन उनीहरू एकैसाथ जंगलमा हिँडिरहेका थिए । अकस्मात् आँधीबेहरी आयो र त्यसले उग्र रूप लिँदै गयो । मुसलधारे वर्षा हुन थाल्यो । निथ्रुक्कै भिजेका चारै योगीहरू हतासमा जोगिने ठाउँको खोजीमा दौडिन थाले ।

भक्ति योगीले भन्यो, 'त्यहाँ एउटा प्राचीन मन्दिर छ । त्यतै जाऔँ ।' (भक्त भएकाले ऊ मन्दिरहरूको भौगोलिक स्थितिबारे राम्रोसँग परिचित थियो ।)

उनीहरू त्यतैतिर दौडिए । उनीहरू प्राचीन मन्दिर भएको स्थानमा आइपुगे । मन्दिरका सबै भित्ताहरू निकै अगाडि भत्किसकेका थिए । छत र ५ वटा खम्बा मात्र बचेका थिए । उनीहरू हुत्तिँदै मन्दिरभित्र पसे- भगवान्‌प्रतिको प्रेमले होइन, मुसलधारे वर्षा छल्नका लागि मात्र ।

मन्दिरको बीच भागमा देवताको मूर्ति थियो । उनीहरू त्यसतर्फ दौडिए । वर्षातले जताततैबाट चुट्न थाल्यो । अन्त जाने कुनै ठाउँ नभएकाले उनीहरू नजिक अनि अझ नजिक सर्दै गए । अन्ततः कुनै विकल्प बाँकी नभएपछि उनीहरू थचक्क बसे अनि मूर्तिलाई अंकमाल गरे ।

यी चारै जनाले त्यस मूर्तिलाई अंकमाल गर्नेबित्तिकै अचानक भगवान् प्रकट भए ।

ती सबैको दिमागमा एउटै प्रश्न उब्जियोः आखिर किन यतिखेर ? उनीहरूले आश्चर्यचकित भावमा सोधे, 'हामीले थुप्रै सूक्ष्म र रहस्मय दर्शनहरू खोज्यौँ, संभव भएसम्म साना-ठूला सबै तीर्थस्थलहरूमा पूजा आराधना गऱ्यौँ, निःस्वार्थ भावले मानिसहरूको सेवा गऱ्यौँ, शरीर नास गर्ने किसिमको कठोर तपस्या गऱ्यौँ, त्यसबेला त तपाईं कहिल्यै प्रकट हुनुभएन । अहिले हामी यो मुसलधारे वर्षा छल्नका लागि मात्र यहाँ के आएका थियौँ, तपाईंले आफ्नो दर्शन दिनुभयो । आखिर यसबेला किन ?'

भगवान् बोले, 'अन्ततः चारै जना मूर्खहरू एकसाथ आयौ !'

यदि यी सबै आयामहरू सँगसँगै हिँडेनन् भने, मनुष्य आफैँमा अस्तव्यस्त बन्छ । अहिले अधिकांश मानिसहरूको सन्दर्भमा हेर्ने हो भने यी आयामहरू छुट्टाछुट्टै दिशामा गइरहेका हुन्छन् । तपाईंको मन एउटा तरिकाले सोच्ने र महसुस गर्ने गरिरहेको छ, तपाईंको भौतिक शरीर अर्कोतिर हिँडिरहेको छ, तपाईंको ऊर्जा अर्कै बाटोतर्फ लागिरहेको छ । वास्तवमा, योग भनेको यिनै ३ आयामहरूलाई एउटा संगति वा लयमा ल्याउने विज्ञान हो ।

योग- परम् मिलन

तपाईंहरूमध्ये थुप्रैका लागि योग भनेको संभवतः कठिन आसनहरूमा बटारिनु भन्ने हुन सक्छ । तर, हामी त्यसलाई इङ्गित गरिरहेका छैनौँ । योग भनेको उत्तम तालमेल वा संगतिमा रहनु हो । । जब तपाईं योगमा रहनुहुन्छ, तपाईंको शरीर, मन, ऊर्जा अनि यो अस्तित्वबीच पूर्णत: तालमेल हुन्छ । जब तपाईंका शरीर र मन आरामपूर्ण स्थितिमा हुन्छन्, आनन्दको अवस्थामा रहन्छन्, तब तपाईं यस्ता थुप्रै रोगहरूबाट छुटकारा पाउन सक्नुहुन्छ, जसले निरन्तर कष्ट दिइरहन्छन् । उदाहरणका लागि: तपाईं लगातार टाउको दुखिरहेको अवस्थामा अफिस जानुभयो । टाउको दुख्नु कुनै ठूलो रोग होइन, यद्यपि, त्यो झनझनाहटले गर्दा तपाईंको कामप्रतिको उत्साह र सायद त्यस दिनको आफ्नो क्षमतामा ह्रास आउन सक्छ । तर, योगको अभ्यासले आफ्नो शरीर र मन दुवैलाई संभव भएसम्मको उच्चतम शिखरमा राख्न सकिन्छ ।

'योग'को शाब्दिक अर्थ 'मिलन' हो । तपाईं जब चैतन्यमा सबैथोकलाई एउटा ऊर्जाको रूपमा अनुभव गर्नुहुन्छ, तब तपाईं योगमा रहनुहुन्छ । आफूभित्र त्यो एकत्वलाई प्राप्त गर्नका लागि अनेक तरिकाहरू छन् । उदाहरणका लागि हठ–योग । हठ–योगमा तपाईं आफ्नो शरीरबाट सुरु गर्नुहुन्छ । शरीरको आफ्नै प्रवृत्ति हुन्छ, आफ्नै दम्भ हुन्छ, आफ्नै प्रकृति हुन्छ । तपाईंको मनबाहेक शरीरको पनि आफ्नै दम्भ हुन्छ ! मानौँ कि तपाईंले यो सोच बनाउनुभयो, 'भोलिदेखि म बिहानै ५ बजे उठेर हिँड्न जान्छु ।' तपाईं अलार्म लगाएर सुत्न जानुहुन्छ । भोलि बिहान अलार्म बज्छ । तपाईं उठ्न चाहनुहुन्छ तर तपाईंको शरीरले 'ह्या, चुप लागेर सुत्' भन्छ । यसको आफ्नै स्वभाव हुन्छ ।

त्यसैले हामी शरीरबाट सुरु गर्छाैँ । हठ–योग भनेको शरीरसँग काम गर्ने, शरीरलाई अनुशासित गर्ने, शुद्ध गर्ने अनि उच्चस्तरका ऊर्जाहरू ग्रहण गर्नका निम्ति शरीरलाई तयारी गर्ने माध्यम हो । हामी सबै मानव हौँ अनि यतिखेर हामी सबै जीवित छौँ, तैपनि हामी सबैले जीवनलाई त्यही गहिराइमा र त्यही प्रखर रूपमा अनुभव गरिरहेका हुँदैनौँ, किनकि हाम्रा प्राण ऊर्जाहरू उस्तै हुँदैनन् । भिन्नभिन्न मानिसहरूले जीवनलाई भिन्नाभिन्नै स्तरको तीव्रतामा अनुभव गर्छन् ।

उदाहरणका लागि, कसैले रूख देख्यो । रूख केवल रूख न हो । तर, अधिकांश मानिसहरूले देख्दा पनि देख्दैनन् । कसैले भने त्यही रूखलाई विस्तृत रूपमा देख्छ । कुनै चित्रकारले त्यसको एकएक पत्र देख्छन् । तर, कसैले भने रूख मात्र नभई रूखमा उपस्थित दिव्यता नै देखिरहेको हुन्छ । सबैको हेराइ एउटै हुँदैन, किनभने तपाईं जीवनलाई जति गहन र प्रखर रूपमा अनुभव गर्नुहुन्छ, त्यो पनि एउटै हुँदैन ।

४ वटै मार्गहरूको संयोजन अपरिहार्य

योगको समग्र प्रक्रिया भनेको यही हो: तपाईं जे जति जान्नुहुन्छ, त्यसबाट एउटा पाइला चालेर एकदमै अन्जान आयाममा जानु हो । योगको विज्ञान लगभग भौतिक विज्ञान जस्तै छ । जस्तै कि: यदि तपाईंले २ भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउनुभयो भने त्यसबाट पानी बन्छ । यदि महान् वैज्ञानिकले मिसाउने हो भने पनि त्यसबाट पानी निस्कन्छ, अनि यदि एक मुर्खले मिसाए भने पनि त्यसबाट पानी नै निस्कन्छ । त्यसैगरी योगमा समेत यही लागू हुन्छ- चाहे कुनै महान् योगीले गरून् वा कुनै अज्ञानी व्यक्तिले, यसले केही फरक पार्दैन । यदि उचित तरिकाले अभ्यास र साधना गर्ने हो भने यसको प्रतिफल स्पष्ट रूपमा देखिन्छ ।

योगमा केही पद्धतिहरू निर्धारित गरिएका छन् । सुरुमा तपाईं आफ्नो शरीरसँग काम गर्नुहुन्छ अनि श्वासमा काम गर्नुहुन्छ, अनि मनमा, त्यसपछि आफ्नो भित्री आयाममा काम गर्नुहुन्छ । यसरी थुप्रै चरणहरू बनाइएका छन् । वास्तवमा योगमा विभिन्न प्रकारहरू हुँदैनन् बरु यसका विभिन्न पक्षहरू वा आयामहरू हुन्छन् । खासमा भन्नुपर्दा, हामी ती सबैलाई एकैसाथ सम्बोधन गर्छौं । सबै पक्षहरूलाई अत्यन्तै सन्तुलित तरिकाले एकै पटक एउटा एकाइको रूपमा सम्बोधन गरिनु अपरिहार्य छ । अत: योग यी सबैको समजोड हो ।