स्वेच्छाचारी र निरंकुश पथमा असफल ओली : असहिष्णु र भ्रमपूर्ण अभिव्यक्तिको शरणमा !

लोकसंवाद टिप्पणी

स्वेच्छाचारी र निरंकुश पथमा असफल ओली : असहिष्णु र भ्रमपूर्ण अभिव्यक्तिको शरणमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २२, २०७८

हिट्लरका सूचना मन्त्री गोयबल्स झुट कुरा फैलाउन संसारभरमै चर्चित मानिनछन् । उनले झुट कुरा पनि सयौँ पटक भनेर सही साबित गर्न खोज्थे र जनतामा ठुलो भ्रम सिर्जना हुने गर्दथ्यो । यसैसँग मिल्दोजुल्दो दाबी गर्न र गोयबल्स शैली अपनाउन एमाले अध्यक्ष केपी शर्मा ओली पनि माहिर मानिन थालेका छन् । 

 उनका यस्तै झुटा दाबीहरूलाई एमाले कार्यकर्ताहरू पनि जनतासम्म फैलाउन तम्तयार देखिन थालेका छन् । ओलीले आइतबार एक कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबारे यस्तै दाबी प्रस्तुत गरे ।जुन सरासर झुट थियो । 

जसको भट्टराईले तत्कालै प्रतिवाद गरे । एमालेको कर्णाली प्रदेश कमिटीको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले ‘फल्स कन्ससनेस’ अर्थात् भ्रमपूर्ण चेतनाका विषयमा निकै लामो चर्चा गरे । उनले आफ्नो सरकार र एमालेविरुद्ध पनि भ्रमपूर्ण प्रचार भएको भन्दै ‘सोसल मिडिया वार’ मा उत्रिन कार्यकर्तालाई निर्देशन नै दिन पुगे । 

तर ओली आफैँले पूर्व प्रधानमन्त्री भट्टराईका बारेमा दिएको अभिव्यक्ति नै ओलीमाथि भ्रमपूर्ण प्रचार गरेको आरोप लाग्ने विषय बन्न पुगेको छ । ओलीले जनयुद्ध कालमा भट्टराईकी छोरी मानुषीले बेलायतमा पढेको कसरी पढिन् भन्दै प्रश्न उठाएका थिए । 

ओलीले भने, ‘बाबुरामका छोराछोरी बेलायतमा पढ्थे । हामी बेलायत जाने भिसा पाउँदैन थियौँ । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला, के जादु होला त्यसमा ? एक जना भूमिगत क्रान्तिकारी नेताका छोराछोरी.... बाबुको नाम त चाहिन्छ, बाबुको नागरिकता चाहिन्छ, पासपोर्ट बनाउन अनेक चिज चाहिन्छ । कुन पासपोर्टबाट जानु भएको थियो ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताउनुहोस् त !

तपाईँको छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४ लाखदेखि ५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ? मैले यसो सम्झाइदिएको मात्र.....।’

त्यस लगत्तै भट्टराईलाई उडन्ते र तथ्यहीन कुरा नगर्न भनेका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

ओलीले बाबुराम भट्टराईमाथि यो आरोप लगाउनुअघि फल्स कन्ससनेस अर्थात् भ्रमपूर्ण चेतनाबारे निकै लामो व्याख्या गरेका थिए । त्यसको केही मिनेटमा नै उनी आफैँ भ्रमपूर्ण चेतनाको सिकार रहेको तथ्य बाहिरिने अभिव्यक्ति दिए । 

ओली सत्तामा रहँदा अधिनायकवादी, स्वेच्छाचारी र निरंकुशका रुपमा प्रस्तुत भए । तर संसदीय शासन व्यवस्थामा संसद्को अंक गणितले सत्ता निर्धारण हुने भएकाले संसद्को गणित उनको विपरीत बन्यो र सत्ताबाट बाहिरिन बाध्य भए । अहिलेसम्म उनी त्यो आक्रोश सार्वजनिक रुपमा पोखिरहेको छन् ।

‘सामाजिक प्रबन्धका लागि राज्य व्यवस्था बनेको हुन्छ । तर कहिले कहिले सामाजिक सुप्रबन्धका नाममा समाजलाई अगाडि जान नदिन र यथास्थितिमा राख्न, आफ्ना हितहरूको सुरक्षा गर्न शासकहरूले दुई प्रकारका प्रबन्ध गरेका हुन्छन् । एउटा, राज्यको प्रबन्ध गरेका हुन्छन् । कम्प्युटरमा हार्डवेयर भनेजस्तै सेना, प्रहरी, अदालत, जेलमार्फत शासन गर्छ, सत्ता टिकाउँछ र आफ्ना हितहरूको रक्षा गर्छ’, उनले भनेका थिए, ‘अर्को, 'एउटा कन्ससनेस'को एउटा पाटो हुन्छ ।

त्यो भ्रमपूर्ण चेतना विस्तार गर्छ र योजनाबद्ध ढंगले राज्यले गलत विचार/चेतनाका लागि विशेष पण्डितहरु तयार गरेको हुन्छ । त्यो आजको समयमा अत्यन्त सशक्त ढंगले टेलिभिजन, रेडियो, आइटीका सेन्टरहरू, सामाजिक सञ्जाल जस्ता अनेक माध्यमहरुबाट एउटा 'फल्स कन्ससनेस', मान्छेलाई सचेत छु भन्ने लाग्छ ।

तर सचेत हुन पाएको हुँदैन, सचेत हुन दिइँदैन, आफ्नो हित, समुदायको हित कसरी हुन्छ भन्नेबाट अलग राख्छ, ता कि विद्रोह नहोस्, आन्दोलन नहोस्, परिवर्तन नहोस्, समाजलाई यथास्थितिमा आफ्ना हितहरू अगाडि बढाउन सकोस् ।’ 

ओली सत्ताबाट बाहिर रहँदा यस्ता व्याख्या गर्न निकै माहिर रुपमा प्रस्तुत हुँदै आएका छन् । पहिलो पटक प्रधानमन्त्री बनेर सत्ताबाट बाहिरिएपछि उनले सत्ता कसरी निरंकुश र स्वेच्छाचारी बन्छ भनेर निकै लामो अन्तर्वार्ता नै दिएका ए । तर उनी जब २०७४ मा प्रधानमन्त्री भएर सिंहदरबार छिरे, तब उनले निरंकुश शासनका लागि सबै उपाय विधि अपनाए ।

ओलीले आफू सत्तामा रहँदा जन निर्वाचित प्रतिनिधिसभालाई दुई दुई पटक भंग गरे भने नेकपा र एमालेको विभाजन हुनुमा ओलीको निरंकुश र स्वेच्छाचारी क्रियाकलाप प्रमुख कारक बन्न पुग्यो । तर ओली र उनका कार्यकर्ताहरू त्यसलाई स्वीकार गर्दैनन् । ओलीले सत्तामा रहँदा संवैधानिक निकायदेखि राज्यका हरेक संयन्त्रमा ओली सत्ताको लाचार छायाँ बन्न पुगे वा पुर्‍याइए ।

उनी सत्ता चलाउन मात्रै होइन, नेपालको कम्युनिस्ट पार्टीको इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी बनेको नेकपा र एमालेलाई पनि एक ढिक्का बनाइराख्न असफल सावित भए । उनी आफ्नो असफलता छोप्न अहिले पनि अन्य नेताहरूमाथि निरन्तर हिलो छ्याप्ने प्रयत्न गरिरहेका छन् । उनले सभामुखदेखि सत्तारुढ पार्टीका नेताहरूमाथि निरन्तर अशोभनीय, अराजनीतिक र तल्लो स्तरका गालीगलौजपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । सोही क्रममा उनले आइतबार पूर्व प्रधानमन्त्री भट्टराईमाथि भ्रमपूर्ण टिप्पणी गरेका हुन् । 

ओलीमा किन यस्तो आक्रोश ?

केपी ओली केही राम्रा कार्यको थालनीका बाबजुद पनि उनको कार्यकालमा असफल र आलोचित बन्न पुग्यो । जब शासक र नेताहरूमा आफू विरुद्ध जनमत बनिरहेको अनुभूति गर्छन्, तब उनीहरू त्यसबाट बच्ने उपायको खोजीमा लाग्छन् । ओली पनि आफ्नो घट्दो लोकप्रियता, पार्टी विभाजन, प्रतिनिधिसभा विघटनबाट उत्पन्न भएको समस्याका कारण रक्षात्मक अवस्थामा पुगेका छन् । त्यसैले उनी निरन्तर अन्य नेताहरूमा भ्रमपूर्ण अभिव्यक्तिको शरण लिँदै आफू महान् भनेको देखाउन खोजिरहेका छन् । 

ओली सत्तामा रहँदा अधिनायकवादी, स्वेच्छाचारी र निरंकुशका रुपमा प्रस्तुत भए । तर संसदीय शासन व्यवस्थामा संसद्को अंक गणितले सत्ता निर्धारण हुने भएकाले संसद्को गणित उनको विपरीत बन्यो र सत्ताबाट बाहिरिन बाध्य भए । अहिलेसम्म उनी त्यो आक्रोश सार्वजनिक रुपमा पोखिरहेको छन् ।

दम्भ, शक्तिको भोक र त्रासका कारण ओली यतिबेला असहिष्णु देखिएका छन् । उनी २०७४ को निर्वाचनको परिणामसँगै आफू सधैँका लागि सत्तामा पुगेको हुँ भनेजस्तो गरी दम्भ देखाउन थालेका थिए । दम्भकै कारण उनले संसदीय शासन प्रणालीमा सत्ता आफ्नो बहुमत हुँदासम्म मात्रै हो भन्ने सत्यलाई समेत स्वीकार गर्न सकिरहेका छैनन्। 

आफू नै सर्वेसर्वा ठान्ने प्रवृत्ति हाबी भएपछि मान्छेमा आफ्ना कुरा मात्रै तार्किक र सही लाग्ने र अरूका कुरा तर्क र तथ्यहीन देख्ने समस्या उत्पन्न हुन्छ । ओलीमा अहिले यही समस्या छ । त्यसैले उनी पूर्वप्रधानमन्त्रीहरु, समकालीन नेता तथा न्यायाधीसहरुमाथि समेत हल्का र दुराशयपूर्ण टिप्पणी गरिरहेका छन् । 

ओलीले सत्तामा रहँदा सांसदलाई आफू अनुकूल नहुँदा स्वेच्छाचारी रुपमा विघटन गरिदिए र जनताका समस्याहरू उठान गर्ने संसद्को घाँटी निमोठे । प्रतिनिधिसभा पुनर्स्थापनापछि एमालेले निरन्तर संसद् अवरोध गरेर सांसदलाई नै असफल देखाउने कोसिस गरिरहेको छ । एमालेको निरन्तरको घृणा र अपहेलनको राजनीतिले आम मानिसमा भने व्यवस्थाप्रति नै वितृष्णा पैदा गरिरहेको छ ।