भरतपुर सबस्टेसनको मर्मत सकियो, २ वटै ट्रान्सफर्मर संचालनमा

भरतपुर सबस्टेसनको मर्मत सकियो, २ वटै ट्रान्सफर्मर संचालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २२, २०७८

चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका २ वटै पावर ट्रान्सफर्मरहरू संचालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरहरू पूर्ण रूपमा संचालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । 

सबस्टेसनमा रहेका २ वटा ट्रान्सफर्महरूमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । प्राधिकरणले बिग्रिएका ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारदेखि घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो । 

कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझदेखि संचालनमा ल्याइएको हो । 

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए । सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि ३ वटा फिडर निकालिसकिएको छ । 

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।