दाङको बबईमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

दाङको बबईमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २२, २०७८

सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परी सल्यान कालीमाटी गाउँपालिका- ३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन् ।

बबई गाउँपालिका- ३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै प्रहरी घटनास्थलमा पुगेको महतराले बताए ।  घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाइएको उनले जानकारी दिए । दुर्घटनाको कारण भने खुलेको छैन ।