पूर्वप्रधानमन्त्री ओलीको गृहनगरमा डेढ अर्बको भ्यु टावर अलपत्र, सुकुम्बासी चिन्तामा

पूर्वप्रधानमन्त्री ओलीको गृहनगरमा डेढ अर्बको भ्यु टावर अलपत्र, सुकुम्बासी चिन्तामा

न्युज कारखाना  |  पर्यटन  |  कार्तिक २२, २०७८

झापाको दमक- ३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यस कारण पनि दमकको भ्यु टावर राष्ट्रिय चर्चाको विषय बन्यो ।

कोरोना महामारीका कारण जारी पहिलो लकडाउनमा झापाका सबै आयोजना काम ठप्प हुँदासमेत दमकको भ्यु टावर निर्माण रोकिएन । लकडाउनमा पनि काम नरोकिएको आयोजनाको काम भने सम्झौता गरिएको मितिमा नसकिने निश्चित भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद २ महिना मात्र बाँकी रहँदा भ्यु टावर निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरले जनाएको छ । १०० मिटर अग्लो १८ तले भ्यु टावर निर्माणको म्याद २७ पुस २०७८ सम्म मात्र छ । तर, काम भने ५० प्रतिशत मात्र सकिएको सघन शहरी तथा भवन निर्माण कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । भ्यु टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साईराम जेभीले २७ असार २०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कोरोनाकालमा धमाधम काम गरे पनि कोरोनाकै कारण भ्यु टावरको काम समयमा नसकिएको खतिवडा बताउँछन् । ‘कोरोना महामारीका कारण भ्यु टावर निर्माणको काम समयमै सकिएन । अहिले सातौँ तलाको निर्माण भइरहेको छ', उनले भने,  ‘विभागले म्याद थप्ने हो । एक वर्षजति थपिएला कि ! कोरोनाका कारण निर्माणमा समस्या आएको हो । एक वर्ष थपिनु उचित नै हुन्छ ।’ कोरोनाकालमा काम भए पनि त्यसले गति लिन नसकेको उती बताउँछन् । ‘कोरोनाले लकडाउन भएको समयमा काम त भयो तर मजदुर नपाउने, भनेको बेलामा निर्माण सामग्री नपाउने समस्याका कारण कामले गति लिन सकेन', उनी भन्छन्, ‘यद्यपि, अहिले धमाधम काम भइरहेको छ ।’

सघन शहरी तथा भवन निर्माण कार्यालयले महामारीको समयमा मजदुरको अभाव भएको बताए पनि भ्यु टावर निर्माणस्थल छेउकै सुकुम्बासी भने आफ्नै आँगनमा भ्यु टावर निर्माण हुँदा पनि रोजगारी नपाएको गुनासो गर्छन् । बाहिरका मान्छे ल्याएर काम गराएर आफूहरूलाई रोजगारी पनि नदिएको सुकुम्बासीको गुनासो छ । ‘घरै छेउमा यति ठूलो भ्यु टावर बन्दै छ । तर, हामी काम खोज्न बाहिर जानुपर्‍यो’, उनी भन्छन्, ‘लकडाउनमा पनि घरमै बस्यौँ तर भ्यु टावरमा हामीलाई काम दिइएन । यस्तो पनि कहीँ हुन्छ ?’

घर छेउमा पर्यटक ल्याउनका लागि १०० मिटर अग्लो भ्यु टावर निर्माण हुँदै छ । तर, सुकुम्बासीको मन खुसी छैन । सुकुम्बासीलाई त्यहाँबाट उठ्नुपर्ने हो कि भन्ने चिन्ता छ । ‘यहाँ त होमस्टे बन्छ रे ! कतिले त यहाँबाट तिमीहरू हट्नुपर्छ पनि भन्दै छन्', सुकुम्बासी भीमकुमारी बिक भन्छिन्,  ‘हामी त ऐलानीमा बसेको । अलिअलि माटो त भ्यु टावरमा गयो । आँगनमा भ्यु टावर बनेर के गर्नु हामीलाई हटायो भने त समस्या हुन्छ । कहाँ गएर बस्नु ? त्यस कारण हामी खुसी छैनौँ ।’