एमाले चुनावी महाधिवेशन: १५ सदस्यीय पदाधिकारीमा ‘एसम्यान’ हरूलाई मात्र ल्याउने कसरत !

लोकसंवाद टिप्पणी

एमाले चुनावी महाधिवेशन: १५ सदस्यीय पदाधिकारीमा ‘एसम्यान’ हरूलाई मात्र ल्याउने कसरत !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २३, २०७८

नेकपा एमालेले आगामी मंसिर १०–१२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दैछ । गत असोजको १५–१७ मा विधान महाधिवेशन गरिसकेको एमालेको यो महाधिवेशनबाट अब नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यसैले एमालेको महाधिवेशन उद्घाटनलगत्तै नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ । विधान महाधिवेशनले पारित गरेको नयाँ व्यवस्था अनुसार १०औं महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जनाको पदाधिकारी निर्वाचित गर्नेछ । यसैगरी केन्द्रीय समिति २२५ सदस्यीय र १५ सदस्यीय अनुशासन आयोग तथा लेखा आयोग समेत निर्वाचित गर्नेछ । 

एमालेभित्रको उतारचढाब

नेकपा एमालेले नवौं महाविधेशनपछि १०औं महाधिवेशनसम्म आईपुग्दा धेरै उतारचढाव आएका छन् । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । एमाले र माओवादीको एकताबाट विशाल जनमत तथा नेता कार्यकर्तासहितको कम्युनिस्ट पार्टी बनेपनि त्यसले दीर्घजीवन पाउन सकेन ।

नेकपाभित्रको आन्तरिक विवादकाबीच २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेको भन्दै गरेको रिटको सुनुवाइ गर्दै कट्टेलको पार्टीलाई आधिकारिकता दिएर केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरिदियो । कट्टेलले आधिकारिकता माग्दै दायर गरेको रिटमा सर्वोच्चले एक कदम अघि बढेर नेकपालाई अर्को नाम लिएर आउन आदेश दिनुपर्नेमा खारेजीको फैसला गरेपछि एमाले र माओवादी केन्द्र पुनः अलग बाटोमा लागेका छन् ।

नेकपा विभाजनपछि लामो विवादपछि एमाले पनि गत भदौ ९ गते औपचारिक रुपमा विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । एमालेको विभाजनमा पहिलो पुस्ताका नेतामध्ये माधवकुमार नेपाल र झलनाथ खनाल तथा उनीहरुपछिका बेदुराम भुसाल र मुकुन्द न्यौपाने एकीकृत समाजवादीमा सामेल भएका छन् । तर तेस्रो पुस्तादेखि कार्यकर्तास्तरसम्म एमालेको विभाजनको असर देखिएको छ।

अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चित छ भने दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पुनः सोही पदमा दोहोरिने छैनन् । रमाइलो कुरा के छ भने यसपटक महाधिवेशनबाट अघिल्लो पटकजस्तो २ वटा प्यानलसहित मैदानमा उत्रिने सम्भावना एकदमै कम छ । किनकि एमालेभित्रको आन्तरिक समीकरण हेर्दा ओली पक्षधरको बाहुल्यता रहेका कारण ओली या उनको टिमका कुनै उम्मेदवारविरुद्ध खडा हुन अन्य नेताहरुलाई सहज छैन ।

एमाले विभाजनको खास असर देख्न आगामी निर्वाचन नै कुर्नुपर्ने भएपनि तत्कालका लागि भने संघीय सरकारसहिचत चार वटा प्रदेशमा एमालेले सरकारको नेतृत्व गुमाएको छ । यसैबाट पनि एमाले विभाजनको गम्भीर असरलाई सहज अकल गर्न थालिएकाे छ । 

एमालेभित्रको आन्तरिक विवादमा माधवकुमार नेपाललाई धेरै नेताले साथ दिए । दोस्रो पुस्ताका नेतामध्ये युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्तसहितका नेताको साथ माधवकुमार नेपाललाई थियो ।

तर एमाले विभाजन नजिक पुग्दा समेत नेपालसँगै रहेका उनीहरु पार्टी विभाजनपछि २७ असारमा भएको १० बुँदे सहमतिको हवाला दिँदै एमालेमा नै बसे । तर उनीहरुको स्वर अहिले एमालेभित्र निकै सानो भएको छ भने पटक पटक १० बुँदे सहमति कार्यान्वयनका लागि दिएको दबाब केपी ओलीले बेवास्ता गरेका छन् भने यसरी एमालेमा नै रहेका १० भाई छिन्निभन्न भइदिंदा १० बुँदे यता न उताकाे अवस्थामा पुगेको छ ।  

ओली अनुकूल विधान र संगठन

गत असोजमा भएको एमालेको विधान महाधिवेशनले अध्यक्ष केपी ओलीलाई ७० वर्ष पुगेपनि पुनः पार्टी नेतृत्वमा रहन सहज हुँनेगरी विधान संशोधन गरेको छ । योसँगै अब एमालेको आगामी ५ वर्ष ओली नै अध्यक्ष रहने निश्चित जस्तै भएको छ । आगामी मंसिरमा हुने महाधिवेशनका लागि एमालेले आगामी बिहीबार १ हजार ९९९ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

यी नै प्रतिनिधिले आगामी पाँच नेतृत्व चयन गर्नेछन् । एमालेमा महाधिवेशनसँगै आगामी नेतृत्वका विषयमा चर्चा सुरु भएको छ । त्यसमा पनि १५ सदस्यीय पदाधिकारीमा को को पर्छन् र माओवादीबाट एमालेमा गएका रामबहादुर थापासहितका नेताहरु तथा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बसेका नेताहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने सर्वत्र चासोको विषय बनेको  छ । 

अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चित छ भने दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पुनः सोही पदमा दोहोरिने छैनन् । रमाइलो कुरा के छ भने यसपटक महाधिवेशनबाट अघिल्लो पटकजस्तो २ वटा प्यानलसहित मैदानमा उत्रिने सम्भावना एकदमै कम छ । किनकि एमालेभित्रको आन्तरिक समीकरण हेर्दा ओली पक्षधरको बाहुल्यता रहेका कारण ओली या उनको टिमका कुनै उम्मेदवारविरुद्ध खडा हुन अन्य नेताहरुलाई सहज छैन ।

त्यसैले यसपटक एमालेमा ओली र उनको टिमलाई काउन्टर दिने व्यक्तिहरु देखिएका छैनन् । माओवादीबाट एमालेमा गएका नेताहरु ओलीसँगै छन् भने माधवकुमार नेपालको साथ छाडेर एमालेमा बसेका नेताहरु कमजोर धरातका कारण ओलीविरुद्ध उभिने अवस्थामा देखिएका छैनन् । 

त्यसैले एमालेबाट माधवकुमार नेपालसहित ठूलो पंक्ति बाहिरिदा एमालेभित्र ओलीको एकलौटी बर्चश्व कायम हुन पुगेको छ । १० बुँदे सहमतिका आधारमा एमालेमै बसेका नेताहरुको आवाज पार्टीभित्र सुनिने अवस्था छैन । विगतमा ओलीको कडा आलोचना गर्ने भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका नेताहरु यतिबेला ओलीको निगाहामा पदाधिकारीमा पर्ने ध्याउन्नमा छन् । 

त्यसैले अब ओली समूहले जे निर्णय गर्छ र जुन पद दिन्छ, त्यही पदमा चुपचाप बस्नुपर्ने निरीह अवस्थामा उनीहरु पुगेका छन् । त्यसैले पनि यो महाविधेशन २२५ जना केन्द्रीय सदस्य चुन्नतिर बढी केन्द्रित हुने देखिएको छ । १५ सदस्यीय पदाधिकारीमा भने ओली अनुकूलका व्यक्तिहरु नै सेट हुने सम्भावना देखिन्छ । ओलीको कसरत विगतदेखि नै पार्टीभित्र आफ्नो ‘एसम्यान’ हरुको फर्मेसन तयार गर्नुमा केन्द्रित रहँदै आएको छ । विगतमा माधवकुमार नेपालसहितको ठूलो पंक्ति विरोधमा हुँदा समेत उनले ‘एसम्यान’हरुबाट पार्टी र सरकार चलाउने अभ्यास गरेका थिए । 

उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन् । तर अध्यक्ष ओलीले १० बुँदेमा नअल्झिने बताएपछि उनले सो सहमति कार्यान्वयनका लागि बनेको कार्यदलबाट समेत राजीनामा दिएका थिए । उनले असन्तुष्टिसहित राजीनामा दिएपनि अध्यक्ष ओलीले हल्का रुपमा नसकेर राजीनामा दिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

यसले एमालेभित्र रावलसहितका नेताहरु कति कमजोर अवस्थामा छन् भन्ने देखाउँछ । यद्यपि ओलीसँग असन्तुष्ट रहेपनि यी नेताहरु ओलीसँग असहमति राखेर अघि जान सक्ने अवस्थामा छैनन् । किनकि यतिबेला ओलीसँग ‘जोरी’ खोज्नु भनेको आगामी महाधिवेशनबाट औपचारिक रुपमै पार्टीको माथिल्लो जिम्मेवारीमा पुग्नबाट बञ्चित हुनु हो भन्ने उनीहरुले राम्रोसँग बुझेका छन् । माधवकुमार नेपालको साथ छाडेकामध्ये रावल र घनश्याम भुसाल कोही नेता पनि यतिबेला ओलीविरुद्ध बोल्न तयार छैनन् । त्यसैले रावल र भुसाल पनि ओलीसँग सहमत नभएपनि संयमित हुनुपर्ने अवस्थामा छन् ।  

यता माओवादी छाडेर एमालेमा बसेका नेताहरुमध्ये रामबहादुर थापा बादलले १५ सदस्यीय पदाधिकारीमा स्थान पाउनसक्ने सम्भावना छ । माओवादी छोडेर बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरु एमालेमा बसेका छन् । तर अहिलेको महाधिवेशनबाट बादल समूहमा रहेका पूर्वमाओवादी नेताहरु र माधवकुमार नेपाललाई छाडेर एमालेमा बसेका नेताहरुको ठूलो पंक्ति बाहिरिने संकेत देखिएको एमालेनिकट स्रोत बताउँछ । 

सहमतिमा नै यसपटक आफू अनुकूल नेतृत्वको टिम चयन गर्ने ओलीको तयारी छ । नवौं महाधिवेशनबाट अध्यक्ष र महासचिवसहित केही पदाधिकारी ओली समूहका रहेपछि बहुमत भने माधवकुमार नेपाल पक्षधर नेताहरुको थियो । त्यसैले ओली यसपटक माथिदेखि तलैसम्म आफू अनुकूल बनाउने दाउमा छन् । त्यसैले यतिबेला ओली र उनी निकटका नेताहरु आगामी महाधिवेशनका लागि टोली तयार बनाउने कार्यमा जुटिसकेका छन् । 

सोही अनुसार अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा रामबहादुर थापा बादल, सुवास नेम्वाङको चर्चा छ । त्यसैगरी भीम रावल र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष बन्ने चर्चा छ । तर रावलका विषयमा ओली समूहमा सहमति बन्छ या बन्दैन अहिल्यै भन्न सकिने अवस्था छैन । महासचिवमा भने विष्णु पौडेल आउनसक्ने चर्चा छ । घनश्याम भुसाल र शंकर पोखरेल उपमहासचिव, सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ र रघुवीर महासेठको चर्चा छ । यी मध्ये माधवकुमार नेपाल समूह छाडेका नेताहरु अझै घटाउने र ओलीनिकट अन्य नेताहरु थपिने सम्भावना समेत रहेको बताइन्छ । १५ सदस्यीय पदाधिकारीमा पूर्वमाओवादीका टोपबहादुर रायामाझी, प्रभु साह, मणि थापासहितका नेताहरु समेत नअटाउने देखिएको छ ।