चावाचा दरबार कसको ?

चावाचा दरबार कसको ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

सुनसरी । बराहक्षेत्र नगरपालिकाको जलकन्या सामुदायिक वनभित्र करिब २ सय बिघामा फैलिएको चावाचा क्षेत्रमा एउटा दरबारको भग्नावशेष छ  । कसको होला यो दरबार ? पुग्ने जोकसैलाई कौतूहल लाग्छ  ।

सरोकारवाला निकाय भने बेखबर छन् । पकाएको इँटा, आकार मिलेका ढुंगा, पुराना तामा पैसा, विशाल आँप बगैंचा, ढुंगे पर्खाल, शिव मूर्ति र प्रस्तरको ओख्ली देखिन्छन् । थुप्रै पुरातात्त्विक सामग्री चोरी–तस्करी भइसके । यो संरचना कहिले, कसको शासनकालमा बनेको हो, कहीँकतै उल्लेख छैन । स्थानीय बूढापाका भग्नावशेष हिन्दुपति राजा र उनकी रानी दोशयन्तीको भएको किंवदन्ती सुनाउँछन् । यो क्षेत्र कोसी किनारको बराहक्षेत्र मन्दिरबाट झन्डै २ किमि पूर्वमा पर्छ । पर्यटकीय स्थल चतराबाट करिब १ किमि उत्तर । 

भग्नावशेष आसपासको खहरेलाई स्थानीय रानी खोला भन्छन् । खोलाकिनारको सानो खेतलाई रानीखेत र चावाचाको डाँडामा रहेको अर्को भग्नावशेषलाई ‘लालकोट’ भनिन्छ । लालकोटमा प्रशासनिक अड्डा वा कोष भण्डार रहेको अनुमान गरिएको छ । लालकोट क्षेत्रमा अहिले पनि जमिन खोतल्दा पुराना पैसा, माटोको भाँडा र प्राचीन इँटाका टुक्रा फेला पर्ने गरेका छन् । कान्तिपुर दैनिकले यो समाचार प्रकाशित गरेको छ ।