महानगरमा ‘स्मार्ट’ वत्ती

महानगरमा ‘स्मार्ट’ वत्ती

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

काठमाडौं । यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो। 

सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत सुविधा हुने महानगरले जनाएको छ। चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। 

उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो। कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए।
 
प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ। काम सुरु भइसकेकाले केही समयमै सम्पन्न हुने महर्जनले बताए।

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले जनाएको छ। यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताए। उनले भने, “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ।” महानगरपालिकाले केही समय पहिले मात्रै कुपण्डोलबाट लगनखेलसम्मको सडकको बत्तीको मर्मत गरेको थियो। महानगरका कुनै पनि सडकमा बत्ती नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दो छ। रासस