'कांग्रेसको शाख जोगाउन पनि गठबन्धन जरुरी'

'कांग्रेसको शाख जोगाउन पनि गठबन्धन जरुरी'

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २४, २०७८

गृहमन्त्री बालकृष्ण खाणले ५ दलीय गठबन्धनबिना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन ५ दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् । नेपाल महिला संघ रूपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन, पार्टीको भविष्य सुरक्षित गर्न पनि गठबन्धन निर्वाचनसम्मै कायम गरिनुपर्छ', उनले भने । आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका बेला गृहमन्त्री खाणको यस्तो भनाइ आएको हो । उनी पार्टीमा प्रधानमन्त्री देउवा निकट मानिन्छन् । 

आगामी तीनै तहका निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहे मात्र कांग्रेस सुरक्षित हुने उनको भनाइ छ । ‘कांग्रेसले पहिले गुमेको शाख फिर्ता ल्याउन पनि गठबन्धन गरेर आफू सुरक्षित हुने हिसाबले चुनावमा जानुपर्छ, नभए निर्वाचन लड्न कठिन हुनेछ', उनले भने । 

गृहमन्त्री खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । ‘कांग्रेसलाई सबल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्छ’, उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्र आमनिर्वाचन पनि सफल हुने उनको भनाइ छ । 

स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्र गरेको उदाहरण दिँदै गृहमन्त्री खाणले ५ दलीय गठबन्धन बचाउँदै चुनावसम्म लैजानुपर्ने र कांग्रेसलाई सबल, सक्षम, जिम्मेवार र बलियो पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताए ।