थाहा छ रोचक तथ्य ?: तपाईं आफ्नी प्रियतमालाई पनि नयाँ देखिरहनुभएको छैन !
कार्तिक २६, २०७८

केही दिन पहिला एक मित्रसँग भेट भयो । एउटा संस्थामा १२ वर्षको अवधिसम्म जागिर खाएर उनले मुक्ति लिएका रहेछन् ।

मलाई अचम्म लाग्छ-  यति लामो अवधिसम्म एकै ठाउँमा कसरी समय बिताउन सकिन्छ ? संन्यासी हुनुभन्दा पहिला मैले ८-१० वटा जागिर गरेँ, कुनै पनि एक ठाउँमा २ वर्षभन्दा बढी बसेको सम्झना छैन ।

मेरो मस्तिष्कमा अथवा जन्मकुण्डलीमा सायद चन्द्रमाको प्रभाव होला । ज्योतिष शास्त्र भन्छ, ‘चन्द्रमाले चञ्चल बताउँछ ।’ ज्योतिषमा विश्वास भएको भए म मोतीको औँठी लगाएर उपाय खोज्थेँ तर यस जीवनयात्रामा मैले सधैँ क्षणजीवी भएर बाँच्ने प्रयास गरेँ । मेरालागि भविष्य कहिले पनि थिएन, आज पनि छैन । भोलिको चिन्ता भए पो त्यसको उपचार अथवा त्यसलाई समृद्ध बनाउने उपाय खोज्नतिर लाग्थेँ ! दिनभरको पनि फिक्री नगरी म सधैँ अहिलेकै क्षणमा आकण्ठ निमग्न रहेँ, चाहे त्यो क्षण जुनसुकै भाव र भंगिमाले परिपूर्ण किन नहोस् ।

ज्योतिषबारे एउटा रमाइलो कथा छ । धेरै पाठकले त्यो कथा श्रवण गरेका भए पनि आधुनिक युगका तमाम पाठकको संज्ञानबाट यो कथा हराएको हुन सक्छ ।

मौका उपस्थित भएको छ,, ‘क्याच’ गर्न मन लागिहाल्यो ।

ज्योतिष विषयक कथा यस्तो छ:

नारदमुनिले ज्योतिष विद्याका प्रकाण्ड भृगुजीसँग यस विषयमा ज्ञान आर्जन गरेर आफ्नो अहंकारलाई टुप्पीमै पुर्‍याउनुभयो । उहाँ त्रिकालदर्शी भइसक्नुभएको थियो । एक दिन उहाँ शिवजीलाई भेट्न कैलाश पुग्नुभयो, 'नारायण ! नारायण !!' भन्दै  ।

भगवान शिव शंकरले उहाँलाई स्वागत गर्नुभयो ।

माता पार्वतीलाई नदेखेपछि नारदजीले सोध्नुभयो, 'प्रभु, माता पार्वती देखिनुहुन्न, उहाँ कहाँ जानुभयो ?'

शिवजीले व्यंग्य गर्दै भन्नुभयो, 'नारदजी, तपाईं त ज्योतिष विद्याका धुरन्धर विद्वान्, त्रिकालदर्शी हुनुभएको छ ! मसँग के सोध्नुहुन्छ ? आफैँ पत्ता लगाउनुहोस् । आखिर तपाईंको विद्याको पनि त पुष्टि हुनुपर्‍यो ।'

नारदजीले आँखा चिम्लिँदै आफ्नो विद्याको बलले भन्नुभयो, ‘प्रभु, माता अहिले स्नानघरमा स्नान गर्दै हुनुहुन्छ, उहाँको तनमा अहिले कुनै पनि लुगा छैन ।’

माता पार्वती आएपछि शिवजीले सारा वृत्तान्त भन्नुभयो । नारदको विद्धता र विद्याबारे पार्वतीसँग बधाइचढाइ वर्णन गर्नुभयो । सारा प्रकरण सुनेर माता पार्वतीले नारदले आफूलाई निर्वस्त्र देखेको थाहा पाई क्रोधित हुँदै श्राप दिनुभयो, 'आज उपरान्त कुनै पनि ज्योतिषीका दृष्टि र कथन शुद्ध हुनेछैनन्, ती दोषयुक्त हुनेछन् । मेरो श्राप ज्योतिषीहरूका लागि हो, ज्योतिष विद्या भने आफ्नो गरिमाले परिपूर्ण रहनेछ ।'

कस्तो फसाद ! ज्योतिष विद्या भने निष्कलंक एवं पापरहित तर यस विद्याका धारक विद्वान् भने श्रापित, त्यो पनि आदिशक्ति माता पार्वतीबाट ।

माता पार्वतीकै श्राप लागेका समस्त ज्योतिषी महानुभावहरूलाई अत्यन्त श्रद्धाका साथ म टाढैबाट नमस्कार भाव राख्छु ।

तपाईं र म अथवा जुनसुकै प्राणी ब्रह्माण्डको जुनसुकै धरामा (क्षमा गर्नुहोला- धरा भन्नेबित्तिकै अधिकारवादीहरूले यो संज्ञा हाम्रो पृथ्वीका लागि मात्र हो, ब्रह्माण्डका अन्य धरातललाई यो प्रयोग गर्न पाइँदैन, यस्ताले धरालाई धरातल सम्झिनुहोला) जुनसुकै बेला पनि ४६५ मिटर प्रति सेकेन्ड अथवा २९.७८ किलोमिटर प्रतिमिनेट अथवा भनौँ, एक घन्टामा एक हजार ६७४ किलोमिटर यात्रा गरिरहेका हुन्छौँ । पृथ्वीलाई आफ्नो अक्षको एक पटक परिक्रमा गर्न २३ घन्टा ५६ मिनेट ४.१ सेकेन्ड लाग्छ । यही नै हाम्रो एक दिन हो । हेरौँ त कति किलोमिटर घुम्छ, पृथ्वीले एक फन्को पूरा गर्दा ?

२३ घन्टा = २३×१,२७४ किलोमिटर = ३८,५०२.० किलोमिटर
५६ मिनेट = ५६×२९.७८ किलोमिटर =१५६२.४ किलोमिटर
४.१ सेकेन्ड =४.१×४६५ मिटर =१.९०६ किलोमिटर 
                            जम्मा ४००६६.३ किलोमिटर

यो नै पृथ्वीको परिधि हो ।

पृथ्वीले एक दिनमा ४००६६.३ किलोमिटर यात्रा गर्छ । हामीले पनि पृथ्वीसँगै एक दिनमा यति यात्रा गरिरहेका हुन्छौँ । जस्तो कि तपाईंलाई थाहा छ- पृथ्वी पूर्ण गोलो होइन, यसको आकारचाहिँ जिओड (geoid ) छ ।  पृथ्वीको मध्यको डायमिटर १२ हजार ७४२ किलोमिटर छ । इक्वेटर डायामिटर १२ हजार ७५६ किलोमिटर, रपोलर डायमिटर १२ हजार ७१२ छ । यस कारण वैज्ञानिकले यसको औसत परिधि ४० हजार ७५ किलोमिटर मानेका छन् ।

मलाई थाहा छैन, मैले न्यायसंगत ढंगले लेख्न सकेँ कि सकिनँ । तपाईंहरूले भन्न खोजेको आशय ग्रहण गर्नुभयो कि भएन । ग्रहण गर्नेहरूको बुद्धि प्रज्ञालाई नमन । ग्रहण गर्न नसक्नेहरूसँग क्षमायाचना कि मैले उनीहरूले बुझ्ने शब्द र शैली जानिनँ ।

तपाईंले यान चढेर पृथ्वीको एक पटक परिक्रमा पूरा गर्दा ४० हजार ७५ किलोमिटर यात्रा गर्नुपर्छ । स्मरण रहोस्, पृथ्वीमा सर्वाधिक दूरीमा रहेका कुनै २ विन्दुको अधिकतम दूरी भने २० हजार ३७.५ किलोमिटरभन्दा बढी हुन सक्दैन । २० हजार ३७.५ किलोमिटरसम्म तपाईं आफूले छाडेको शहरभन्दा टाढा गइरहनुहुन्छ तर यसपछिको यात्रामा तपाईं आफ्नो शहरतिर आइरहनुहुन्छ । पृथ्वीमा २० हजार ३७.५ किलोमिटरभन्दा टाढा पुग्नु संभव छैन ।

अब २० हजार ३७.५ किलोमिटरभन्दा टाढा पुग्ने रहर छ भने अर्को नजिकको गन्तव्य चन्द्रमा हो । चन्द्रमा पृथ्वीबाट औसत ३ लाख ८४ हजार ४०० किलोमिटर टाढा छ । मानवताको इतिहासमा जम्मा १२ जनाले चन्द्रमामा टेक्ने सौभाग्य पाएका छन् । के चन्द्रमा सधैँँ पृथ्वीदेखि निश्चित दूरीमा रहिरहन्छ ? यसको जबाफ- यो दूरी सधैँ एकनास रहँदैन भन्ने हुन्छ । चन्द्रमा र पृथ्वीको दूरी प्रत्येक सेकेन्डमा परिवर्तन भइरहन्छ ।

चन्द्रमाले पृथ्वीको परिक्रमा दीर्घवृत्तमा गर्छ । यस कारण कहिले यो पृथ्वीको नजिक त कहिले टाढा हुने गर्छ । निकटतमको स्थितिमा यो ३ लाख ५६ हजार ४०० किलोमिटरसम्म वर र अधिकतम ४ लाख ६ हजार ७०० किलोमिटर परसम्म पुग्ने गर्छ ।

हेरौँ त, हिजो चन्द्रमा र पृथ्वीको दूरी कति थियो ? ११ नोभेम्बर २०२१ का दिन बिहान ८ बजेर ५ मिनेट जाँदा चन्द्रमा आफ्नो परिक्रमा पथमा पृथ्वीदेखि ३ लाख ७६ हजार ८९० किलोमिटर टाढा रहेको थियो । नोभेम्बर महिनाकै ६ तारीखमा बिहान ४ बजेर २ मिनेटमा चन्द्रमा र पृथ्वीको दूरी ३ लाख ५८ हजार ८४४ किलोमिटर (यस महिनाको सर्वाधिक नजिक) रहेको थियो ।

अहिले चन्द्रमा र पृथ्वीको दूरी बढ्ने क्रममा छ । प्रत्येक दिन यो दूरी बढ्दै जान्छ । आउँदो पूर्णिमाका दिन १९ नोभेम्बरमा यो दूरी बढेर झण्डै ४ लाख ४ हजार ५०० किलोमिटर पुग्छ । २१ नोभेम्बरका दिन बिहान ७ बजेर ५७ मिनेटमा दूरी बढेर यस महिनाको सर्वाधिक ४ लाख ६ हजार २७९ किलोमिटर हुन पुग्छ । यसपश्चात् घट्ने क्रममा दूरी घट्दै ४ डिसेम्बरका दिन दिउँसो ३ बजेर ४८ मिनेटमा दूरी ३ लाख ५६ हजार ७९४ किलोमिटरमा आइपुग्छ ।

चन्द्रमाको पृथ्वीको वरिपरि परिक्रमा गर्ने गति १.०२२ किलोमिटर प्रतिसेकेन्ड हो । यस गतिले परिक्रमा गर्दै प्रत्येक २७ दिन ७ घन्टा ४३ मिनेट ११.५ सेकेन्डमा (२७.३२१६६१ दिन) चन्द्रमाले पृथ्वीको एक परिक्रमा पूरा गर्छ ।

प्रत्येक महिना चन्द्रमा एक पटक पृथ्वीको नजिक र एक पटक सर्वाधिक टाढा हुने गर्छ । खगोलीय भाषामा चन्द्रमा पृथ्वीको नजिक हुने स्थितिलाई ‘पेरोगी मुन’ तथा टाढाको स्थितिलाई ‘अपोगी मुन’ भनिन्छ ।

सन् २०२१ मा चन्द्रमा र पृथ्वी सबैभन्दा नजिक आउने दिन आउँदो ४ डिसेम्बरका दिन हुनेछ । त्यस दिनमा यी दुवैबीचको दूरी ३ लाख ५६ हजार ७९४ किलोमिटर हुनेछ ।

यसैगरी सन् २०२१ मा यी दुवैबीचको सर्वाधिक दूरी १२ मेका दिन बिहान ३ बजेर ३८  मिनेट जाँदा रहेको थियो । यस समय दुवैबीचको दूरी ४ लाख ६ हजार ५१२ किलोमिटर पुग्न गएको थियो ।

११ नोभेम्बरको चन्द्रमा कति पुरानो देख्छौँ हामी ?

विज्ञानले चन्द्रमाको सरदर दूरी ३ लाख ८४ हजार ४०० किलोमिटर निर्धारित गरेको छ, जुन ११ नोभेम्बरका दिन बिहान ८ बजेर ५० मिनेट जाँदा ३ लाख ७७ हजार ५५ किलोमिटर पुगेको थियो । यस दूरीमा रहेको चन्द्रमालाई हामी वर्तमानमा नभएर भूतकालमा हेरिरहेका हुन्छौँ । कुनै पनि वस्तुमा प्रकाश परेर त्यसबाट परावर्तन भई हाम्रो आँखामा पुगेपछि मात्र हामी त्यस वस्तुलाई हेर्न समर्थ हुन्छौँ । जस्तो कि तपाईंलाई थाहा छ प्रकाशको गति २ लाख ९९ हजार ७९२.४५८ किलोमिटर प्रति सेकेन्ड हो ।

पृथ्वी-चन्द्रमाको दूरी- ३ लाख ७७ हजार ५५ किलोमिटर
प्रकाशले एक सेकेन्डमा हिँड्ने दूरी- २ लाख ९९ हजार ७९२.४५८ किलोमिटर
बाँकी दूरी- ७७ हजार २६२.५४२ किलोमिटर

एक सेकेन्डको १/१० भागलाई एक डेसिसेकेन्ड भनिन्छ ।

प्रकाशलाई बाँकी रहेको दूरी ७७ हजार २६२.५४२ किलोमिटर पार गर्न भन्डै २.५७ डेसिसेकेन्ड समय लाग्छ ।

भनौँ, ११ नोभेम्बरका दिन चन्द्रमाबाट हामी पृथ्वीमा रहेका मानिसको आँखासम्म प्रकाश आइपुग्न १.२५७ सेकेन्ड समय लाग्यो । यस दिन हामी चन्द्रमालाई १.२५७ सेकेन्ड पुरानो हेरिरहेका छौँ । अझै रोचक कुरा के छ भने, आँखामा वस्तुबाट परावर्तित भएर आएको प्रकाशरूपी प्रतिबिम्बलाई आँखाले मस्तिष्कमा पठाउनुपर्छ । यस प्रक्रियामा पनि केही ‘नेनो सेकेन्ड’ समय लाग्छ ।

'वर्तमान त गफ मात्र रहेछ, न हामी वर्तमानको कुनै वस्तु देख्छौँ, न वर्तमानको केही सुन्छौँ वा न त वर्तमानको विचार नै गरिरहेका हुन्छौँ ।'

चन्द्र-सूर्य-बुध-मंगल-शनिलगायतका खगोलीय पिण्डलाई हामी पुराना हेरिरहेका हुन्छौँ । सूर्यलाई हामी ८ मिनेट २० सेकेन्ड पछि नजर गरिरहेका हुन्छौँ, बुधलाई ५ मिनेट ५ सेकेन्ड, मंगललाई १२ मिनेट ३० सेकेन्ड र शनिलाई ७० मिनेट ५१ सेकेन्ड तथा सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह बरुणलाई २३२ मिनेट अर्थात् ४ घन्टा २ मिनेट पुरानो हेरिरहेका हुन्छौँ ।

तपाईंलाई के लाग्छ, तपाई आफ्नी प्रेयसीलाई वर्तमानमा हेर्न सक्नुहुन्छ ? वैज्ञानिकको जबाफ सायद तपाईंलाई पत्याउन गाह्रो पर्ला तर वास्तविकता त यही हो । तपाईं एक मिटर पर रहेकी आफ्नी प्रेयसीलाई पनि पुरानै देख्नुहुन्छ ।

तपाईंकी प्रियसीको अनुहारबाट ‘रिफ्लेक्ट’ भएर आएको प्रकाशको किरणले उनको प्रतिबिम्ब तपाईंको आँखामा बनाउने हो अनि मात्र तपाईंले उनको मुहार हेर्न पाउनुहुन्छ ।

प्रकाशले एक सेकेन्डमा हिँड्ने दूरी २ लाख ९९ हजार ७९२.४५८ किलोमिटर हो । यसलाई मिटरमा परिणत गरेर हेरौँ ।

२,९९,७९२×१००० = २९,९७,९२,४५८ मिटर/सेकेण्ड

एक मिटर दूरी तय गर्न प्रकाशलाई लाग्ने समय = एक सेकेन्ड/२९,९७,९२,४५८ = .०००००००००३ सेकेन्ड

एक सेकेन्डको एक अर्बौं भागलाई एक ‘नेनो सेकेन्ड’ भनिन्छ । एक मिटर पर रहेकी तपाईंकी प्रियसीलाई नजर गर्न ३ ‘नेनो सेकेन्ड’ समय लाग्छ । उनलाई सधैं तपाईं ३ ‘नेनो सेकेन्ड’ पुरानो हेर्नुहुन्छ ।

तपाईं र म कहिले पनि कसैलाई वर्तमानमा हेर्न सक्दैनौँ ।

हामी जसलाई समय भन्छौँ, व्यावहारिक जगत्‌मा सेकेण्ड-मिनेट-घण्टा-दिन-महिना-वर्षको हिसाबमा समयलाई समायोजित गर्छौं । यो आखिर हो के ?

तपाईंहरूले आआफ्ना धर्मशास्त्रमा अथवा विज्ञानका ठेलीहरूमा यसबारे जेसुकै पढेको भए पनि कृपया यो सबलाई कुनै एउटा कुनामा थन्क्याएर मसँग कल्पनाको यात्रामा निस्कने साहस गर्नुहोस् ।

कल्पना गर्नुहोस् कि सूर्यमा हडताल भयो । एक साताका लागि सूर्यमा हुने प्रक्रिया रोकिएर सूर्य प्रकाश उत्पादन नहुने भयो । सौर्यमण्डलमा अन्य सबै कुरा यथावत् छन्, मात्र सूर्यबाट प्रकाशको आपूर्ति रोकियो ।

अर्को पनि कल्पना गर्नुहोस्, तपाईंहरूले मेरा लेख पढेर प्रतिक्रिया व्यक्त नगरेकाले दिक्क मानी पृथ्वीले अक्षमा घुम्ने आफ्नो प्रवृत्ति स्थगित गरिन् । कल्पना गर्न भने नछाड्नु होला- पृथ्वीले अक्षको गतिमा बिराम लगाए पनि आफ्ना अन्य सबै गतिविधि यथावत् राखेकी छन् र पृथ्वीमा जीवनको प्रक्रिया चुस्त दुरुस्त रूपले सटीक संचालन भइरहेको छ ।

दुवै काल्पनिक स्थितिमा अन्य सबै कुरा यथावत् रहने मानेर समयबारे मात्र विवेचना गरौँ ।

सूर्य प्रकाशको अनुपस्थितिले तपाईंका घरमा मानवीय प्रयासले सामान्य उज्यालो भए पनि समस्त पृथ्वीमा अँध्यारो छाएको छ । पृथ्वीमा रहेका सबै घडीले टिकटिक अथवा पिकपिक गर्दै गति गरी नै रहेका छन् । एक बजेको देखायो घडीले, ८ बजेको देखायो, १२ पनि बजायो घडीले । एवं रीतले पुनः पुनः १-४-७-९-१२ बजेको देखायो घडीले ।

सूर्य प्रकाश नभएकाले पृथ्वीमा अब जे छ, त्यो रात मात्र छ, दिन अर्थात् सूर्य प्रकाश भन्ने विलुप्त भयो । अब घडीले देखाएको कुन १२ मध्याह्न हो, कुन १२ मध्यराति ! कसरी थाहा हुने ? के सूर्य प्रकाशको अभावमा समयको बोध रहन्छ ? घडीले त एकदेखि १२ सम्म बजाउँछ । पुनः एकदेखि १२ बजाउँछ तर दिन भन्ने कुरा हुँदैन । जसलाई तपाईं सधैँ बगिरहने, समय कहिले पनि न रोकिने समय भनी बुझ्नुहुन्छ, त्यो भने सूर्य प्रकाशको अभावमा घटित हुँदैन ।

दोस्रो स्थिति पृथ्वीले अक्षमा घुम्न छाडेको स्थिति पनि मजेदार पो हुन्छ त ! अब पृथ्वीको एक भागमा दिन र एक भागमा रात्रि हुन्छ । आधी भाग उज्यालो, आधी भाग घोर अँध्यारो । दिन भएको ठाउँमा अँध्यारोको अभावले र रात भएको ठाउँमा प्रकाशको अभावले समयको राम नाम सत्य गरी दिन्छ । घडी दुवै ठाउँमा चली नै रहेका हुन्छन् तर चलेर के गर्नु ? प्रकृतिमा हुने अँध्यारो-उज्यालोको क्रीडा नै रोकिँदा पलपल बदलिइरहने समयको बोध नै हुँदैन ।

मलाई थाहा छैन, मैले न्यायसंगत ढंगले लेख्न सकेँ कि सकिनँ । तपाईंहरूले भन्न खोजेको आशय ग्रहण गर्नुभयो कि भएन । ग्रहण गर्नेहरूको बुद्धि प्रज्ञालाई नमन । ग्रहण गर्न नसक्नेहरूसँग क्षमायाचना कि मैले उनीहरूले बुझ्ने शब्द र शैली जानिनँ ।

उपरोक्त वर्णित दुवै स्थितिको आशय यति मात्र हो- यदि पृथ्वीमा सूर्य प्रकाशबाट निरन्तर हुने परिवर्तन (सूर्यका वरिपरि घुम्ने कारणले) नहुने हो भने तपाईं-हामी कसैले पनि समयको बोध गर्न सक्ने थिएनौँ ।

के तपाईंलाई लाग्दैन कि समय फगत प्रकाश र गतिको खेल हो ? 


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।