शुभ मुकारुङ : ‘रेडियो मोह'ले बनेका गीतकार, जसले गरिरहेका छन् समग्र गीतकारहरूको नेतृत्व
कार्तिक २७, २०७८

रेडियो नेपालबाट आफ्नो नाम बजाउने रहरले उहाँलाई निकै धेरै सतायो । ऊबेला रेडियोका नाममा एउटै मात्र थियो- रेडियो नेपाल, सरकारी । निजी वा सामुदायिक एफएमहरू त विक्रमको २०५० को मध्यतिरदेखि मात्र त हुन् आएका ।

देशभर सुनिने माध्यम उही रेडियो नेपाल नै थियो । साहित्यिकदेखि सांगीतिक खुराकसम्म रेडियो नेपालबाटै सुनिन्थ्यो ।

रेडियो नेपालमा कुनै गीत बज्नु वा आफ्ना रचना प्रसारण हुनु लेखक, सर्जक, गायक, संगीतकारका लागि अत्यन्त ठूलो प्राप्ति र उपलब्धि ठानिन्थ्यो ।

अझ नेपालका पहाडी गाउँ, कुना कन्दरामा त रेडियो नेपाल हलो जोत्नेदेखि घाँस काट्नेसम्म वा बाख्र चराउनेदेखि भात पकाउनेसम्मका लागि एक मात्र महत्त्वपूर्ण साथी थियो ।

त्यो बेलाको रेडियोको सम्झना अनि रेडियोमा गीत बजाउने चाहना उहाँमा पछिसम्म पनि रह्यो । र, त्यसमा उहाँ सफल पनि हुनुभयो ।

उहाँ अर्थात् गीतकार शुभ मुकारुङ । मुकारुङ गीत लेखनमै निरन्तर लागिरहँदा आज देशभरका सबै गीतकारको साझा संस्था गीतकार संघ नेपालको नेतृत्वमा हुनुहुन्छ ।

गीतको मामिलामा असाध्यै ‘चुजी’ हुनुहुन्छ शुभ । अलिक राम्रो गरौँ, ढिलो गरौँ पनि भन्ने । 

यस कारण उहाँका गीत अन्य गीतकारको संख्याका हिसाबले थोरै लाग्छ । तर, झण्डै २०० गीतलाई थोरै भन्न पनि मिल्दैन । 

हाल उहाँ गीतकार संघ नेपालका अध्यक्ष हुनुहुन्छ । करिब एक वर्ष पुग्न लागेको उहाँको कार्यकालमा ठोस के भयो भन्ने प्रश्न उठाउँदा रोयल्टीसम्बन्धी धेरै काम भएको बताउनुहुन्छ उहाँको कार्यकालमा । 

उहाँले पत्रकारिता पनि गर्नुभयो । वैदेशिक रोजगारमा पनि जानुभयो । हगङ्कङ्को आईडी किन्न खोजिदिँदा पनि स्वीकार गर्नुभएन उहाँले । 

कुनै कुराले पनि उहाँको मन भरिएन । जसरी भए पनि रेडियोबाट आफ्नो नाम बज्नुपर्छ भन्ने एक सूत्रीय मिसनले अरू कुरामा केही तल-माथि भए पनि उहाँको आफ्नो उद्देश्य भने उहाँले पूरा गरेरै छाड्नु भयो । 

परिवारिक अवस्था 

उहाँका बुबा ब्रिटिस लाहुरे । ९ वर्ष ब्रिटिस सेनामा काम गरेपछि पेन्सन नहुँदै उहाँले राजीनामा दिएर नेपाल फर्कनुभयो । 

उहाँको हजुरबुबा गाउँका डबल तालुकदार । उहाँको परिवार पनि ठूलो । ९ भाइ छोरा अनि ६ बहिनी छोरी । 

मुद्दा मामिलादेखि खेती अनि पशुपालनसम्म हेर्नुपर्ने । आर्थिक हिसाबमा मध्यम परिवार । 

जेठो छोरा अलिक फुरमासे । अरू छोराहरू त्यति भरपर्दा नभएका कारण उहाँका बुबाले जागिर राजीनामा दिएर आउनुभएको रहेछ । 

उहाँका बुबा बाबुभक्त । बाबुले भनेको केही कुरा पनि ननाघ्ने भएका कारण पनि उहाँ जागिर छाडेर फर्कनुभएको रहेछ । 

विदेश बसेर आएका बुबा सामाजिक काममा पनि संलग्न हुने हुनाले उहाँ राजनीतितर्फ पनि लाग्नुभयो । र, जिल्ला विकास सभापतिसमेत हुनुभयो । 

बुबा राष्ट्रिय पञ्चायत सदस्यमा पनि उठ्नुभएको थियो । थोरै भोटले मात्र हार्नुभयो । 

भोजपुरमा शिक्षाको विकासमा उहाँको बुबाको योगदान धेरै छ । 

जन्म र बाल्यकाल

शुभको जन्म २०२८ सालमा भोजपुरको तत्कालीन अन्नपूर्ण गाउँ पञ्चायत तथा हालको ट्याम्केमैयुम नगरपालिकामा भएको हो । 

उहाँको बाल्यकाल सामान्य गाउँमा हुने किसिमको रह्यो । घाँस काट्ने, गोठाला जाने, भकारो सोहोर्ने । डण्डी-बियो तथा भलिबलसम्म उहाँले खेल्न पाउनुभयो । 

उहाँका २ जना आमा । उहाँकी आमाका ४ जना छोरा र २ जना छोरी । उहाँ भने कान्छो । अर्कीे आमापट्टि भने ५ जना छोरा । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा गाउँको अन्नपूर्ण माविबाट सुरु भएको हो । 

त्यस बेला उहाँको स्कुलमा अहिलेको जस्तो आधुनिक डेस्क-बेञ्च नभए पनि बस्नलाई बेञ्च थियो । कक्षामा झण्डै २५-३० जना हुन्थे । छात्राहरूको सहभागिता झण्डै १०-१२ को हाराहारीमा हुन्थ्यो । 

त्यस बेला अन्नपूर्ण मावि अन्य गाउँको पनि केन्द्र जस्तै भएको हुनाले अरू गाउँबाट पनि विद्यार्थीहरू आउँथे । 

एक पटक सायद पिसकोरका एक जना शिक्षकमार्फत एक हजार डलर स्कुललाई सहयोग आएको बेलामा नयाँ भवन बनाउनका लागि श्रमदान गरेको पनि सम्झनामा छ उहाँसँग । 

उहाँको कक्षा एकदेखि १० सम्मको पढाइ सबै अन्नपूर्ण माविमा नै भयो । 

प्रत्येक शुक्रबार स्कुलमा विभिन्न सदनबीच हाजिरी जबाफदेखि खेलकुद प्रतियोगिता हुन्थे । तर, उहाँ भने पढाइमा जस्तै यस्ता काममा पनि मध्यम । 

खेल्न त मन लाग्ने तर आफैँ अगाडि सरेर खेल्छु भन्न नसक्ने अनि कसैले कर गरेमा चाहिँ खेल्ने उहाँको स्वभाव थियो । 

पत्रकारमा पनि सम्पादक भनेको टाई लगाएको एकदम गजबको अनि भयंकर जान्ने मान्छे हुन्छ भन्ने एक प्रकारको छवि उहाँको मस्तिष्कमा बसेको थियो । तर, यात्रुलाई देखेपछि ‘सम्पादक भनेको त अतिसाधारण पो रहेछ’ भन्ने लाग्यो उहाँलाई । उहाँलाई थोरै घमण्ड पनि चढिहाल्यो- ‘यसलाई केही नआउँदो रहेछ त्यही भएर मसँग पो सिक्छु भन्छ ।’

८ कक्षादेखि भने विद्यार्थी ७०-८० जनासम्म हुन्थे एउटा कक्षामा । विद्यार्र्थी धेरै हुने कारणले कोठा नबारिएका लामा लामा टहरा बनेका थिए । 

तर, एसएलसी दिने बेलामा भने ४०-५० जनासम्म हुन्थे । उहाँले २०४५ सालमा एसएलसी दिनुभएको हो । पास हुनेमा ३० जनाजति थिए । 

तर, उहाँ भने पास हुनुभएन । उहाँले त्यसपछि २ वर्ष त जाँच नै दिनुभएन । २०४९ सालमा भने नियमित जाँच दिएर उहाँ पास हुनुभयो । 

काठमाडौं यात्रा

उहाँ २०४५ सालमा पहिलो पटक काठमाडौं आउनुभएको हो । धरानसम्म हिँड्दै अनि धरानबाट रात्रि बस चढेर काठमाडौं । 

काठमाडौंको रत्नपार्कमा झरेको जस्तो लाग्छ उहाँलाई । यकिन भने भएन । काठमाडौं त्यस्तो विघ्न केके न जस्तो भने लागेन उहाँलाई किनकि यसअघि नै उहाँले धरान, विराटनगर जस्ता ठूला शहरमा गाडीलगायत अन्य कुरा देखिसक्नुभएको थियो । 

तर, काठमाडौंको जाडोमा बिहान चप्पल लगाएर हिँड्दा खुट्टा ठिहिर्‍याएको भने उहाँले अहिले पनि बिर्सनुभएको छैन । 

उहाँलाई काठमाडौंले तानेको भनेकै रेडियो नेपालले हो । उहाँमा जसरी भए पनि आफ्नो नाम रेडियो नेपालबाट बज्नुपर्छ भन्ने एक किसिमको ‘भुत’ सवार थियो । 

काठमाडौंमा थुप्रै आफन्त भएका हुनाले बस्ने, खाने खास समस्या थिएन । तर, त्यो भने केही महिना अनि केही दिनका लागि मात्र । 

लामो बस्नका लागि पढाइ वा अन्य केही वहाना चाहिन्थ्यो । त्यस कारण पनि उहाँले बीचमा पढाइ छाडे पनि पछि त्यसलाई निरन्तरता दिएर एसएलसी पास गर्नुभएको रहेछ । त्यसपछि भने ढुक्कैले क्याम्पस पढ्ने भनेर काठमाडौं बस्न पाइन्थ्यो । 

क्याम्पस काठमाडौं बस्ने राम्रो वहाना थियो । उहाँले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता लिएर पढ्नुभएको हो । तर, उहाँले आईए भने पास गर्नुभएन । 
कारण, पढाइ उहाँको प्राथमिकतामा कहिल्यै परेन । रेडियोबाट नाम बजाउने उहाँको एउटै मात्र ध्येय थियो । 

पत्रकारिता
 
उहाँले नियमित पत्रकारिता पनि गर्नुभयो केही समय । विमर्श, विमोचनलगायतका थुप्रै पत्रिकामा उहाँले रिपोर्टिङ पनि गर्नुभयो । 

हालका राप्रपाका नेता राजेन्द्र लिङ्देन उहाँका दाजुका साथी । एक दिन घट्टेकुलोमा भेटेर ‘के गर्दै छौ ?’ भनेर उहाँलाई सोध्नुभयो । 

उहाँले पत्रकारिता पढेको भनेपछि रूपरेखा साप्ताहिकको अफिसमा गएर सम्पादक कुमार यात्रुलाई भेट भन्नुभयो । 

खसी बजारको एउटा घरमा एक तला उक्लेर रूपरेखाको अफिसमा गएको जस्तो लाग्छ उहाँलाई । सायद त्यस दिन पत्रिका निस्किएको जस्तो लाग्छ । 

एक जना मान्छे पत्रिका पट्याइरहेका थिए । अर्का भने घोप्टिएर पढ्दै थिए । पढ्ने मान्छेले त्यति वास्ता गरेनन् । 

उहाँले ‘कुमार यात्रु भनेको को हो ? मलाई राजेन्द्र दाइले पठाउनुभएको, काम पनि गर्ने अनि अलिअलि पैसा पनि हुन्छ भनेर’ फरर भन्नुभयो । पत्रकारिता पढेको कुरा छुटाउने कुरै भएन । 

अघि पढिरहने मान्छेले ‘मै हो कुमार यात्रु’ भन्नुभयो । उहाँले अगाडि बसाएर ‘अब तपाईं पढेर आएको मान्छे, हामी परेर आएको । तपाईंले जानेको मलाई सिकाउनुहोस्, मैले जानेको तपाईंलाई सिकाउँछु’ भन्नुभयो । 

पत्रकारमा पनि सम्पादक भनेको टाई लगाएको एकदम गजबको अनि भयंकर जान्ने मान्छे हुन्छ भन्ने एक प्रकारको छवि उहाँको मस्तिष्कमा बसेको थियो ।

 तर, यात्रुलाई देखेपछि ‘सम्पादक भनेको त अतिसाधारण पो रहेछ’ भन्ने लाग्यो उहाँलाई । उहाँलाई थोरै घमण्ड पनि चढिहाल्यो- ‘यसलाई केही नआउँदो रहेछ त्यही भएर मसँग पो सिक्छु भन्छ ।’

तर, समय क्रममा परिपक्व भएपछि भने उहाँलाई त्यो कुरा सम्झिँदा पनि लाज लाग्यो । कुमार यात्रुप्रति झन् श्रद्धा बढायो । उहाँले त्यस बेला हौसला दिनुभएको रहेछ भन्ने पछि मात्र थाहा पाउनुभयो शुभले । 

शुभको फोटो पत्रकारितामा पनि रुचि थियो । उहाँका फोटो फिचर थुप्रै पत्रिकामा छापिएका छन् । तर, रेडियोको धूनले नछाडेकाले उहाँले फोटो वा पत्रकारिता केहीलाई पनि निरन्तरता दिनुभएन । 

सांगीतिक क्षेत्रमा प्रवेश

उहाँको संगीत क्षेत्रमा आधिकारिक प्रवेश भने २०४७ सालमा भयो । उहाँको लोकगीत रेकर्ड भएर त्यस बेला रेडियो नेपालको आञ्चलिक सुस्केरा भन्ने कार्यक्रममा बजेको थियो । 

आधुनिक गीत भने गायक शम्भु राईको श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो । उक्त गीतका संगीतकार भने शान्तिराम राई हुनुहुन्थ्यो । 

खासमा उहाँलाई संगीतकार हुने कि गीतकार भन्नेमै अलमल थियो । रेडियोबाट नाम बज्नुपर्छ भने मात्र हुटहुटी थियो उहाँमा त्यस बेलासम्म । 

उहाँ त्यस बेला दाजु/भाउजूसँग बस्नुहुन्थ्यो । त्यो बेला हङ्कङ् आईडीको किनबेच पनि निकै चलेको थियो । उहाँलाई हङ्कङ् पठाउन आईडी किन्ने योजना रहेछ दाजु/भाउजूको तर उहाँले मान्नुभएन । 

२०५२ सालसम्म आइपुग्दा उहाँका धेरै गीत रेकर्ड भइसकेका थिए । उहाँ अब एल्बम निकाल्नुपर्‍यो भनेर कस्सिनुभयो । त्यस बेला सोलो एल्बम निकाल्नु भनेको ठूलै कुरा मानिन्थ्यो । 

उहाँले एल्बम निकाल्नका लागि चाहिने ४० हजार रुपैयाँ दिदीसँग माग्नुभयो । दिदी ब्रुनाईमा हुनुहुन्थ्यो । उहाँले पठाइदिनुभयो । एल्बम पनि निस्कियो । 

तर, अब अलमलमै ७-८ वर्ष बित्यो । उहाँलाई त्यस बेला पढाइको महत्त्व थाहा भयो । तर, अब ढिलो भयो भन्ने लाग्यो उहाँलाई । 

पढाइलाई निरन्तरता दिएर अन्य कामलाई सँगै लैजानुपर्ने रहेछ भन्ने कुराको उहाँलाई ज्ञान भयो । यो कुरा उहाँलाई अरूले पनि सम्झाएनन् । 

शुभलाई कुनै पनि कुरोलाई निरन्तरता नदिएकामा भने अहिले केही पछुतो लाग्छ । पढ्नमा उहाँभन्दा लद्दुले पनि निरन्तरता दिएर डिग्री हासिल गरेका छन् । 

उहाँलाई एल्बम निकालेपछि भयंकर नाम हुन्छ भन्ने लागेको थियो, त्यो पनि भएन । दाम पनि हुन्छ भन्ने लागेको थियो एल्बम बेचेर, त्यो पनि भएन । 

त्यही बेला साथीहरूले विदेश जानुपर्छ भनेपछि शुभ दुबई जानुभयो । कमाइ राम्रै थियो । तर, उहाँलाई भने त्यो पनि चित्त बुझेन । विदेशमा पनि दुःख नै गनुपर्ने रहेछ भन्ने लागेपछि फर्केर आउनुभयो । 

यसै बीचमा न नाम भयो, न दाम । यसले भने उहाँमा अलिक वितृष्णा पैदा गर्‍यो । अहिले यसो फर्केर हेर्दा दाजु/भाउजूले हङ्कङ्को आईडी किन्ने कुरा गर्दा नमान्नु र विदेशबाट फर्केर आउनुचाहिँ गलत निर्णय भयो कि भन्ने लाग्दो रहेछ । 

आखिर गीत त दुबई बसे पनि, हङ्कङ् बसे पनि, जहाँ बसे पनि लेख्न सकिने रहेछ भन्ने अहिले उहाँलाई लाग्दो रहेछ । 

विवाह

उहाँको विवाह २०६८ सालमा भयो । विवाह अलिक ढिलै भयो उहाँको । दाजुहरूको पनि अलिक ढिलो नै भएको हो विवाह । 

कुनै पनि कुराले केही नदिएपछि अब यसरी भएन, विवाह गर्नुपर्छ भनेर उहाँ कस्सिनुभएको रहेछ । 

विवाह, जन्म अनि मृत्युलाई भने उहाँ संयोग नै मान्नुहुन्छ । यी कुरा आफूले चाहेर नहुने रहेछ भन्ने उहाँको बुझाइ छ । 

अहिले उहाँका ८ वर्षका एउटा छोरा हुनुहुन्छ । 

प्रकाशन

उहाँको अहिलेसम्म एउटा गीतसंग्रह प्रकाशन भएको छ । रेकर्ड भएका उहाँका झण्डै ७०-८० वटा गीत छन् । अर्को पुस्तक प्रकाशनमा पनि लागिरहनुभएको छ । 

रेकर्ड भएका र प्रकाशन भएका गरी उहाँका झण्डै २०० गीत छन् हालसम्म । 

उहाँ अलिक ‘चुजी’ भएका कारण पनि गीत थोरै भएको बताउनुहुन्छ । 

‘मलमल खासा जुनकिरी’ भन्ने लोकगीत अनि ‘किन मैले तिमीले जस्तो पत्थर हुन नजानेको’, ‘फर्केर आउनू है’, ‘सायद यस्तै हुन्छ मायामा’ उहाँका चर्चित गीत हुन् । 

संघसंस्थामा संलग्नता

हाल उहाँ गीतकार संघका अध्यक्ष हुनुहुन्छ । अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ । उहाँ अध्यक्ष भएको आउने पुसमा एक वर्ष पुग्छ । 

आफ्नो कार्यकालमा रोयल्टीसम्बन्धी थुप्रै काम भएको शुभ बताउनुहुन्छ । 

केही अगाडि अरू थुप्रै संघसंस्थामा आवद्ध हुनुहुन्थ्यो उहाँ । उहाँको विचारमा संस्थामा मानिसहरू संस्थालाई केही गरौँ वा संस्थाले आफूलाई पनि केही गरोस् भनेर लागेका हुन्छन् । तर, आफू गीतकार भएका नाताले अन्य संघसंस्थामा नलागी गीतकारको हक हितमा नै लाग्ने उहाँको सोच रहेछ ।

उहाँले सरकारका तर्फबाट कुनै त्यस्तो उल्लेख्य पुरस्कार पाउनुभएको छैन । तर, निजी संघसंस्थाबाट भने प्राप्त भएका छन् । 

उहाँ आफू बिनाराशिको सम्मान तथा पुरस्कार ग्रहण नगर्ने पनि बताउनुहुन्छ । कमसेकम कार्यक्रममा गएर मञ्चमा बसेको लुगाको पनि त इज्जत गर्नुपर्‍यो भन्ने उहाँको मान्यता छ । 

‘सम्मान अनि पुरस्कार थापेपछि खादा र प्रमाणपत्र झुण्ड्याउँदै बसमा आउनु त भएन नि !’, उहाँको प्रस्ट भनाइ छ । 

कमसेकम पुरस्कार तथा सम्मान दिइसकेपछि संस्था र व्यक्ति दुवैको इज्जत जोगाउन पनि राशिसहितको हुनुपर्ने उहाँको मान्यता छ ।