२४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा

२४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

लहान । सिरहा नगरपालिका–२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस–९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका हुन्।

नापी, मालपोतका अधिकारीलाई मिलाएर सरकारी जग्गा निजी बनाउने रामदयाल हाल जिल्ला अदालत सिरहाको आदेशमा पुर्पक्षका लागि सिरहा कारागारमा छन्। अदालतले महतोका छोेरासहित आरोपित अन्य पाँचलाई पक्राउ पर्न वारेन्ट जारी गरेको छ।

त्यस्तै बेलहा–९ स्थित एक बिघा १७ कठ्ठा साढे १२ धुर सरकारी जग्गा निजी बनाएर पटकपटक गरी पाँच पटक बेचेको पाइएको छ। सो जग्गा सिरहाकी महालक्ष्मी कर्णको नामबाट पटकपटक बिक्री भएको देखिन्छ। सो सरकारी जग्गा आफ्नो नाममा पार्ने महालक्ष्मीसहित नामसारी गर्ने मालपोत कार्यालय सिरहाका अधिकृतहरूमाथि समेत अख्तियारले अनुसन्धान सुरु गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।