खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय

खुल्यो नेपालकै  पहिलो विज्ञान संग्रहालय

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

काठमाडाैं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् ।

संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए ।  मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए ।

एउटा स्वचालित यन्त्र अर्थात् रोबोट जसलाई फूलमाया नाम दिइएको छ । शनिबार मध्याह्न फूलमायाले अतिथिको नाम उच्चारण गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित आमन्त्रित स्टेजमा उक्लिए । मानिसले चलाएका कार्यक्रममा मात्रै सहभागी भएका मन्त्री र अतिथिलाई रोबोटले अंग्रेजीबाट स्वागत, धन्यवाद र पालैपालो मन्तव्यका लागि बोलायो । रोबोटको सम्बोधनले मन्त्री पोखरेल मक्ख देखिन्थे । घरिघरि अतिथिहरू नै झुक्किन्थे । हलमा रहेकाहरूको ध्यान रोबोटले तानेको थियोे । पूरै कार्यक्रम रोबोटले सञ्चालन गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।