बिहे गरेको ८१ वर्षसम्म कहिल्यै रिसाएनन् सत्यमोहन

बिहे गरेको ८१ वर्षसम्म कहिल्यै रिसाएनन् सत्यमोहन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीसँगै भएको ८१ वर्ष भइसक्यो । जिन्दगीको सहयात्रा थाल्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। उमेरले शताब्दी टेक्दासम्म झगडा नहुनु सम्भव सुनिँदैन। तर, सत्य–राधाको वैवाहिक जीवन उदाहरणीय छ। उनीहरूले न कहिल्यै झगडा गरे न त सत्यमोहनले श्रीमतीसँग रिस देखाए।

राधा हिजोआज अलिक अस्वस्थ छिन्। खुट्टामा नसाको समस्या छ। यताउता हिँड्न साथी चाहिन्छ। घाम छिपिँदै गएपछि आँखाले काम गर्दैन। तर, सत्यमोहन ठमठम हिँडेर कार्यक्रममा जाने गरेका छन् । अनेकौं प्रश्नका उत्तर दिन भ्याउँछन्। सामान्य खानपिन गर्छन्। अध्ययन गर्छन्। तर, राधा पुरानो घरको छिंडीमुनि पल्टिएर श्रीमान्को दैनिकी नियाल्छिन्। जहाँ सयौं मानिस आउजाउ गर्छन्, जुन कुरा उनलाई नौलो लाग्दैन।

‘साहित्य भन्थे, सधैं पढाइ–लेखाइ मात्रै गरे’, राधा भन्छिन्, ‘घरमा खासै समय दिएनन्।’ सत्यमोहनले तीनपटक मदन पुरस्कारसहित गोर्खा दक्षिण बाहु पोल्टामा पार्न सके। थुप्रै संघसंस्थाले सम्मान गरे। त्यही भएर श्रीमान्को व्यस्ततामा आफूले गुनासो नगरेको उनी सुनाउँछिन्। यो समाचार अन्‍नपूर्ण पाेस्ट् दैनिकले छापेको छ ।