नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार

नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ३०, २०७८

नेपाल र कतार महिला क्रिकेट टोलीबीचको ३ टी- २० शृंखला आजबाट सुरु भएको छ । ३ मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघि सुरु भएको हाे ।

नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले ब्याटिङ गरेको छ । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी- २० विश्वकपअन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग ३ टी- २० शृंखला खेल्न लागेको हो । आईसीसीको छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानीय क्लबसँग ३ मैत्रीपूर्ण शृंखला खेलेको थियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी- २० विश्वकपका लागि नेपालसहित ६ वटा मुलुकले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ वटा देश सहभागी छन् ।

नेपालले पहिलो खेल ६ मंसिरमा हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली 
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।