१४ मंसिरमा कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

१४ मंसिरमा कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ । 

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए । 

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्री भएको १४औँ दिनमा उनले नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए । 

शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।नेकपा (माओवादी केन्द्र), नेपाल कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादी ४ मन्त्री, एकीकृत समाजवादीले ३ मन्त्रालय माग गरिरहेको छ । 

मुख्यमन्त्री शाहीले कांग्रेसलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय आफूसँगै राख्न खोजेका छन् भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारणले ४ मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार ४ मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।