इच्छा-तृष्णा-अहंकार चेतनामा लागेका तुवाँलो, विशुद्ध चेतनाभन्दा पारि

इच्छा-तृष्णा-अहंकार चेतनामा लागेका तुवाँलो, विशुद्ध चेतनाभन्दा पारि

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर ३, २०७८

स्पष्टीकरण- बुद्धको जीवनमा यस्तो घटना प्रकरण भएको थियो कि थिएन, मलाई थाहा छैन । आफ्नै ‘रिस्क’मा पढ्नु होला ।

ऋषिले कुटीमा प्रवेश गर्दै माइक तेस्र्याउँदै सोधे- ‘ल भन्नुहोस्, तपाईंले बुद्धत्व प्राप्त गरेपछि के पाउनुभयो ? जनता जान्न चाहन्छन्- बुद्धत्व उपलब्ध हुँदा केके पाइन्छ ? साफसाफ, एकएक गरेर यस राष्ट्रिय प्रसारणमा भनिदिनुहोस् कि तपाईंले के पाउनुभयो ? देश र दुनियाँका दर्शक तपाईंको मुखबाट सुन्न व्याकुल छन्, प्रतीक्षारत छन् ।’

‘ख्वै, मैले केही पाएको जस्तो त लाग्दैन मलाई ।’

‘मेरो यति लामो प्रश्नमा यति सानो जबाफले पुग्दैन बुद्धजी ! तपाईंले कुरा लुकाउन पाउनुहुन्न । आफूले पाएको कुरा तपाईंले राष्ट्रिय प्रसारणमा भन्नै पर्छ । नबिर्सनुहोस्, तपाईंलाई, यस अन्तर्वार्तालाई लाखौँ जनताले प्रत्यक्ष हेरिरहेका छन् ।’

‘मैले केही लुकाएको छैन, मैले लुकाउनुपर्ने कुनै कारण छैन’, बुद्धले सौम्य स्वरले जबाफ फर्काए ।

‘धमलाको हमला’मा तपाईं केही पनि लुकाउन कहाँ पाउनुहुन्छ ! आज म हाम्रा दर्शकलाई तपाईंले बुद्ध हुँदा पाएको कुरा तपाईंकै मुखबाट सुनाई छाड्छु । हेर्नुहोस्, तपाईं त्यत्रो साम्राज्य छाडेर जंगल जानुभयो । वर्षौं वर्ष कठोर तप गर्नुभयो । अनेकका कष्ट सहेर तपाईंले बुद्धत्व आर्जन गर्नुभयो । र, बुद्धत्व पाएपछि तपाईं आफ्नो राजधानी फर्किएर राजा बन्नुभएन । पक्कै तपाईंले राज्य, साम्राज्यभन्दा ठूलो कुरा पाउनुभयो । आज म त्यही कुरा तपाईंको मुखबाट हाम्रा दर्शकलाई सुनाउन चाहन्छु- आखिर तपाईंले यस्तो के कुरा पाउनुभयो, जसका सामु तपाईंका लागि श्रीपेच पनि फिक्का साबित भयो । भन्नुहोस्, आखिर तपाईंले त्यस्तो के पाउनुभयो ?’

‘त्यो रात मैले केही पनि पाइनँ, उल्टै मैले आफूसँग रहेका धेरै कुरा गुमाएँ ।’

ऋषि हाँस्दै अनि चिच्याउँदै ‘जोक नगर्नुहोस् बुद्धजी, तपाईंसँग गुमाउनलाई थियो नै के ? तपाईं यसरी राष्ट्रिय प्रसारणमा झूठो बोल्न पाउनुहुन्न । मैले तपाईंको सम्पूर्ण बायोडाटा खोज तलाश गरेको छु । मध्यरात्रिमा सुटुक्क दरबार छाडेर गएको होइन तपाईं ? र, दरबार छाडेर गएको वर्षौं पछि तपाईं बुद्ध भएको होइन ! जे जति दरबार छाड्दा लैजानुभएको थियो भने पनि त्यो उहिल्यै समाप्त भइसक्नुपर्ने होइन ? तपाईंसँग त्यो बुद्धत्व प्राप्ति गरेको रात्रिमा थियो नै के ? जे तपाईं भन्नुहुन्छ मैले गुमाए ? तपाईंले बुद्धत्व प्राप्ति गरेको रात्रि तपाईंका छेउछाउ कोही उपस्थित भएको कुनै प्रमाण छैन ।  चोर, डाँका लागेको पनि कुनै उल्लेख छैन । अनि, तपाईंसँग भएको केही थोक पनि तपाईं कसरी गुमाउन सक्नुहुन्छ ? तपाईंसँग केही थियो भने पनि रात्रिको अँध्यारोमा त्यहीँ कतै खसेको हुनुपर्छ । अँध्यारोमा नभेटे पनि बिहानको उज्यालो हुँदा तपाईंले टिप्नुभयो होला ?’

‘तपाईंले ठीक भन्नुभयो मसँग भौतिक रूपमा गुमाउनलाई केही पनि थिएन ।’

‘सुन्नुभयो दर्शकवृन्द ! बुद्धले स्वयं भन्नुभयो, उहाँसँग गुमाउनलाई केही पनि थिएन । यही त मेरो प्रश्न हो, जब उहाँसँग गुमाउनलाई केही पनि थिएन तब उहाँको कुरा कसरी पत्याउने कि बुद्धत्व पाउँदा उहाँले केही गुमाउनुभयो ? उहाँको भनाइको तारतम्य मिलेन । के पाउनुभयो भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ- मैले केही पाइनँ, पाउनुको सट्टा केही गुमाए र अब भन्दै हुनुहुन्छ- मसँग गुमाउनुलाई केही थिएन । कुराको तारतम्य मिलेन बुद्धजीको । केही बेरको ब्रेकपछि उहाँसँगको कुराकानी जारी रहन्छ ।  एसियाका प्रकाश भनिने बुद्धसँगको अन्तर्वार्ता छाडेर कतै  नजानू होला ।’

‘ब्रेक पछि पुनः सबै दर्शकको स्वागत गर्दै म ऋषि कार्यक्रमलाई अघि बढाउँछु । हाँ त बुद्धजी, भन्नुहोस्, केही नभएको व्यक्तिले केही कसरी गुमाउन सक्छ ?’

‘मैले यो पाउने र गुमाउने जुन सारा प्रक्रिया हुन्छ,  पाउने जुन तृष्णा हुन्छ, तृष्णा फलीभूत हुँदा जुन हर्ष हुन्छ, पाएको वस्तुसँग जुन प्रगाढ मोह हुन्छ, मोहको फलस्वरूप जुन लोभ हुन्छ, लोभजन्य भय हुन्छ, गुम्ने गुमाउने कारणले जुन पकड-आशक्ति हुन्छ, पकड-आशक्ति छिन्नभिन्न हुँदा जुन क्रोध-नैराश्य-दुःख हुन्छ,  इच्छा-आकांक्षाको जुन संसार हुन्छ, त्यो संसार नै गुमाएँ ।’

‘यो त तपाईं कुराको सैद्धान्तिकीकरण गर्दै हुनुहुन्छ । ‘फिलोसफी’ र सिद्धान्त होइन, तपाईंले ठोस रूपमा वस्तुगत कुरा गर्नुपर्‍यो । तपाईं त दुःखबाट विचलित भई दरबार, श्रीमती छाडेर भागेको व्यक्ति होइन र ?’

‘जबसम्म तपाईंसँग के गर्नुपर्छ भन्ने जिज्ञासा-तृष्णा बाँकी  रहन्छ, तबसम्म यस्तै अन्त्यहीन तार्किक विश्लेषण-विवेचन चलिरहन्छ । प्रयास गर्नु पनि मनको खेल, प्रयास छाड्नलाई गरिने प्रयास पनि मनको खेल । म प्रयासरहित हुने मार्गमा छु भन्नु पनि मनको खेल ।’

‘भागेर पनि मैले ती सबै मनमा बोकी नै रहेको थिएँ । मनमा बोकिरहेका सबै कुरा मैले गुमाएँ । यसका साथै केही अन्य पाउने इच्छा गुमाएँ । पाउने-गुमाउने तृष्णा गुमाएँ ।’

‘हो, मैले तपाईंलाई त्यही सोधेको हुँ- तपाईंले त्यस्तो के पाउनुभयो, जे पाएर तपाईंले पाउने गुमाउने इच्छा-आकांक्षा-तृष्णाकै परित्याग गर्नुभयो ? त्यो के थियो, अमृत थियो ? कल्पवृक्ष थियो वा परमात्माको कुनै वरदान थियो ? के थियो त्यो ? हजारौँ वर्षदेखि मानव यही जान्न इच्छुक छ कि त्यस रात्रि बुद्धले त्यस्तो के पाए ?’

‘मैले केही पाएको होइन, न त केही पनि पाउने इच्छा गुमाएको हुँ ।’

‘इच्छा गुमाएपछि के हुन्छ ?’

‘यो जान्ने पनि इच्छा हुँदैन । यो जान्न खोज्नु पनि इच्छा नै हो ।’

‘के इच्छा गुमाएपछि तपाईं ती दुःखबाट, जुन दुःख देखेर दुखी भई राज्य छाडेर जानुभएको थियो, ती दुःखबाट मुक्त हुनुभयो ? ल, म आजै हवाईजहाज पाउने इच्छा छाड्छु । के यसो गर्दा म दुःखबाट मुक्त हुन्छु ? एउटा इच्छा समाप्त अथवा पूरा भएर पनि के इच्छाको अन्त्य हुन्छ ? हजारौँ अन्य इच्छा जन्मिन्छन्, होइन र ?’

‘म इच्छाबाट नै मुक्त भएँ । सुख पाउने इच्छाबाट मात्र होइन, दुःख मुक्तिको इच्छाबाट पनि मुक्त भएा । सुखरूपी राज्य वैभव अथवा जरा-मृत्युरूपी दुःख दुवै मेरा थिएनन् । म अनाहकमा तिनलाई आफ्नो ठानेर सुखी अथवा दुखी भइरहेको थिएँ । म इच्छारूपी संसार चक्रबाट पृथक् भए । त्यस रात्रिपछि मैले इच्छाको हुने प्रक्रियाको ‘सफ्टवेयर’ नै ‘क्र्यास’ भएको पाएँ ।’

‘के यो इच्छामुक्ति तपाईंले ध्यानबाट पाउनुभएको हो ? अथवा कुन कस्तो किसिमको साधना अथवा प्रयासबाट पाउनुभयो ?’

‘मेरो आफ्नो प्रयासले यो संभभव भएको होइन । कुनै ध्यान, कुनै साधना अथवा कुनै प्रयासले इच्छामुक्ति गराउँदैन । जुनसुकै ध्यान, साधना, प्रयासले उल्टै इच्छमुक्तिको मार्गमा बाधा दिइरहेका हुन्छन् । आफ्नो कुनै पनि प्रयास इच्छामुक्तिको मार्गमा बाधा मात्र हुन्छ । यहाँसम्म कि इच्छामुक्तिको चाहना र इच्छा पनि इच्छामुक्तिका लागि तनाव बनिदिन्छ ।’

‘के तपाईं इच्छामुक्तिको इच्छा एवं त्यसका लागि गरिने प्रयासको समर्थनमा पनि हुनुहुन्न ?’

‘इच्छा-प्रयास-तृष्णा-अहंकार-चेतना सबै घालमेल भएर संसार चक्र चलिरहन्छ । यसको बोध हुनासाथ यी सबै एउटै रूखका हाँगा भएको प्रतीत हुन्छ ।’

‘अर्थात् चेतना पनि अहंकार-इच्छा-तृष्णा नै हो ।’

‘हो । सामान्य प्राकृतिक अवस्थामा चेतना अहंकार-इच्छा-तृष्णाले परिवेष्ठित हुन्छ र प्राणी अहंकार-तृष्णा-इच्छालाई नै आफ्नो अस्तित्व भएको ठान्छ । यिनको सघन उपस्थितिले चेतनालाई बर्खाको बादलले आकाशलाई ढाके सरह ढाकिरहेको हुन्छ । तर, बोधले भान गराउँछ, इच्छा-तृष्णा-अहंकार चेतना होइनन् तर यी चेतनामा लागेका तुवाँलो हुन् । विशुद्ध चेतना यस बाक्लो तुवाँलोभन्दा पारि छ ।'

बोधले चेतनालाई अहंकार-तृष्णा-इच्छाबाट पृथक् गराई विशुद्ध बोधयुक्त चेतनामा सम्प्रतिष्ठित गराउँछ । बोधयुक्त चेतना सबै खाले द्वैतबाट पृथक् अद्वैतभावले ओतप्रोत हुन्छ । समस्त विश्वसँग एकाकार हुन्छ । पदार्थ-ऊर्जा-चेतना, चेतना-ऊर्जापदार्थको संज्ञान हुन्छ । पदार्थ पनि मै, ऊर्जा पनि मै, चेतना पनि मै ।’

‘हेर्नुहोस् बुद्धजी, तपाईंका केही पनि कुरा मैले त बुझ्न सकिनँ । सायद कुनै दर्शक महानुभावले बुझ्नुभयो कि ! अब म अन्तर्वार्ताको अन्तिम चरणमा तपाईंसँग सानासाना केही प्रश्न सोध्छु, तपाईंले संक्षिप्त जबाफ दिनुहोला ।

‘संसार के हो ?’

‘चेतनाको पदार्थसम्मको यात्रा ।’

‘बुद्धत्व के हो ?’

‘पदार्थको चेतनामा पुनः प्रतिस्थापन/विलयीकरण ।’

‘ध्यान के हो ?’

‘मन र इन्द्रियको बाह्य प्रवाह अवरुद्ध गर्ने मानवीय साधन ।’

‘के ध्यानले सुख, शान्ति, समृद्धि र निरोगिता पाइन्छ ?’

सुख-दुःख, शान्ति-अशान्ति, समृद्धि-विपन्नता, रोगव्याधि-आरोग्य सबै मन र इन्द्रियका चपलता हुन् भन्ने जानकारी हुन सक्छ । ध्यान केही पाउनका लागि गरिने उपक्रम होइन, यो साधन हो, साध्य होइन ।’

‘बुद्धत्व प्राप्तिका लागि गर्नुपर्नेचाहिँ के हो ?’

‘केही पनि गर्नु नै त बुद्धत्वका लागि सबैभन्दा ठूलो बाधा हो ।’

‘के ध्यान पनि बुद्धत्वका लागि बाधा हो ?’

‘यदि ध्यान गर्नुको इच्छा-चाहना-उद्देश्य बुद्धत्वका लागि हो भने ध्यान नै सबैभन्दा ठूलो बाधा हो ।’

ऋषि झर्किंदै भने, ‘ख्वै, मैले त तपाईंले भनेका केही कुरा पनि बुझ्न सकिनँ । संसारमा चारैतिर ध्यानको यत्रो महिमा छ ।  विदेशीहरूले ध्यानका विभिन्न पद्धति बनाएर ध्यानको प्रचार प्रसार गरिरहेका छन् । तपाईंको विपश्यनामा ध्यानकै अनेक नयाँ प्रारूप तयार भएका छन् । तपाईं भने ध्यानलाई बाधा भन्नुहुन्छ । के तपाईं ध्यानको विरोधी हो ?’

‘म केहीको पक्ष-विपक्ष, समर्थन-विरोधमा छैन वत्स ! मेरो आशय यति नै हो कि ध्यानले बुद्धत्व पाइन्नँ । ध्यान मात्र किन, कुनै पनि प्रयास अथवा साधन अथवा उपायले बुद्धत्व पाइन्नँ । प्रयास गर्नेहरू प्रयासमै अल्झिन्छन् ।’

‘तपाईंले दरबार छाडेपछि त्यत्रो वर्ष प्रयास गर्नुभयो र प्रयासको फलस्वरूप बुद्धत्व पाउनुभयो । हामीलाई भने प्रयास नगर भन्नुहुन्छ ?’

‘मैले प्रयास गरेकै कारण त त्यत्रो वर्ष पर्खिनुपर्‍यो । जुन दिन प्रयास छाडेँ, यही दिन पाएँ । यो त मसँग सधैँदेखि रहेको थियो ।’

‘यो प्रयास गर्न कसरी छाड्नुभयो ? प्रयास गर्न छाड्नलाई के गर्नुपर्छ ?’

‘जबसम्म तपाईंसँग के गर्नुपर्छ भन्ने जिज्ञासा-तृष्णा बाँकी  रहन्छ, तबसम्म यस्तै अन्त्यहीन तार्किक विश्लेषण-विवेचन चलिरहन्छ । प्रयास गर्नु पनि मनको खेल, प्रयास छाड्नलाई गरिने प्रयास पनि मनको खेल । म प्रयासरहित हुने मार्गमा छु भन्नु पनि मनको खेल ।’

‘मनोपुब्बङ्ग्मा धम्मा, मनोसेट्ठा मनोमया अर्थात् मनलाई नबुझेसम्म सारा संसारलाई बुझे पनि उपलब्धि केही हुँदैन ।’

‘के ध्यानले मनलाई बुझ्न सकिँदैन ?’

‘मैले अघि नै भनेँ, ध्यान साधन हुन सक्छ, साध्य होइन । होस-बोध-जागरुकतायुक्त जुन पनि कृत्य परंपरागत रूपमा गरिने ध्यानको अपेक्षा श्रेष्ठ हुन् ।’

‘तपाईंको भनाइ होस-बोध-जागरुकता भएमा ध्यान गर्नु आवश्यक छैन ?’

‘होस-बोध-जागरुकतासहित मनको विश्लेषण गर्नु कुनै पनि कार्यभन्दा श्रेष्ठ हुन्छ ।’

‘त्यसो भए ध्यानको कुनै महत्त्व छैन ?’

‘मलाई थाहा भएन- तपाईं कुन ध्यानको कुरा गर्दै हुनुहुन्छ ? होस नै परम् ध्यान हो ।’

‘म विपश्यना, राजयोग, कुण्डिलिनी जागरण, क्रियायोगलगायत विभिन्न गुरुहरूले निर्देशित गरेको ध्यानको कुरा गर्दै छु । के यी ध्यान गर्नाले केही फाइदा हुँदैन ? म आफैँ १० दिने  विपश्यना ध्यान गर्न जाऊँ भन्नेबारे सोच्दै छु ।’

‘वत्स, तपाईंले नाम लिएका यी सबै ध्यान पद्धति होलान्, विधि होलान्, तरिका होलान् । ध्यान त विचाररहित मनको अवस्था हो । मनको विचाररहित अवस्था कुनै क्रियाले, कुनै पद्धतिको बारम्बार अनुसरण गरेर उपलब्ध हुनु संभव छैन ।’

‘विचाररहित अवस्था कसरी, के गरेर प्राप्त हुन्छ ?’  

‘तपाईंका सबै प्रश्नको मसँग एउटै जबाफ छ- होस-बोध-जागरुकता-विचाररहित मन ।’

‘तपाईंले सायद मेरो प्रश्न बुझ्नुभएन ! मेरो प्रश्न हो- यो होस र बोध पाउने कसरी अथवा के गरेर पाइन्छ यो ?’

‘तपाईंलाई संसारले कुन नामले बोलाउँछ ?’

‘ऋषि ।’

‘यो जबाफ तपाईंले विचार गरेर दिनुभयो वा होस अथवा बोधले ?’

‘आफ्नै नाम भन्न केको विचार गर्नुपर्‍यो ? होसले जबाफ दिएको हुँ ।’

‘होस त तपाईंसँग भएकै कुरा रहेछ । अनि, यो होस र बोध कसरी पाउने भन्ने प्रश्न नै वाहियात भएन र ऋषि महोदय ! आफूसँग भएकै कुरा पनि कोही खोजी हिँड्छ ? र, यदि खोजी हिँड्छ भने तपाईंको भाषामा त्यस्ता व्यक्तिलाई के भनिन्छ ?’

अचानक लोडसेडिङ भएर प्रत्यक्ष प्रसारणको क्रम रोकियो ।

(स्पष्टीकरण- यो भर्चुअल अन्तर्वार्ता निठल्ला चिन्तनको उपज हो । लेखक यसका लागि कसैसँग किञ्चित पनि क्षमाप्रार्थी छैन ।)