‘अपरिचित अनुहार’भित्रका अनुहारहरूमा एक दृष्टि

‘अपरिचित अनुहार’भित्रका अनुहारहरूमा एक दृष्टि

रूपक अलङ्कार  |  साहित्य  |  मंसिर ४, २०७८

केही समय अगाडि शिखा बुक्सबाट प्रकाशन भएर बजारमा आएको ‘अपरिचित अनुहार’ नामक कथासंग्रहको चर्चा अहिले पनि उत्तिकै भइरहेको छ । शीर्षक अपरिचित भए पनि कृतिले परिचित छवि बनाएको छ । संगृहीत कथाहरूले मूलतः परंपरागत मर्यादामा रहेर नवीन स्वाद पस्केका छन् ।

कथाकार महेश पौड्यालले आफूलाई गुरुप्रसाद मैनालीकै धार मनपरेको र त्यसैगरी जीवनका यथार्थलाई नरमशैलीमा प्रस्तुत गर्न सजिलो लाग्ने कुरा आफ्ना अवधारणामा व्यक्त गर्दै आउनुभएको छ । त्यस कारण भानुभक्तका कवितामा प्रगतिवाद खोजेर जग हँसाए जसरी पौड्यालका कथामा प्रयोगवाद खोजेर जग हँसाउनुहुन्न भन्ने मलाई लागेको छ ।

त्यसो भन्दैमा महेश पौड्यालका कथा परंपराको पुनरावृत्ति हुन् भन्न खोजिएको होइन । वर्तमानमा समाजले, व्यक्तिले तथा प्रकृतिले भोगिरहेको अनेकौँ संकटहरूप्रतिको असहमति हो । जीवन र जगत्को बहुआयामिकता अपरिचित अनुहारमा टाँसिएको छ ।

कथाकार पौड्याल आफैँ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आफैँमा ‘सुपर स्टोर’ हुनुहुन्छ । पेसामा मात्र अल्झिने हो भने उहाँका लागि प्राध्यापन काफी छ । तर, उहाँ एक ठाउँमा जम्ने पोखरी होइन, दौडिरहने पहाडी खोला हो । कथा, कविता, समालोचना, अनुवाद, सम्पादन, समीक्षा, विमोचन, कार्यक्रम व्यवस्थापन जस्ता कामले उहाँलाई अनवरत घेरेका हुन्छन् । नयाँ पुस्तालाई लेखनमा उत्प्रेरित गर्ने अभिभारा कसैले नअह्राए पनि उहाँले बोक्नुभएकै छ । त्यसैले रानोलाई मौरीले घेरेजस्तै युवाहरू उहाँको अघिपछि घुमिरहेका हुन्छन् ।

यति हुँदाहुँदै पनि हामीले कहिलेकाहीँ उहाँलाई भेट्न पाउँछौँ । उहाँको शालीनता, सरलता र मिलनसारिता बखान गरेर पार पाउन मुस्किल छ । उहाँ स्पष्टवक्ता हुनुहुन्छ तर विनम्र पनि । यस्तो विरोधाभाषी गुण सबैमा पाइँदैन । साहित्यमा स्वदेश, विदेशसबैतिर उहाँको उत्तिकै सघन उपस्थिति छ । नेपाल र भारत त उहाँका लागि बारीबाट खेतमा ओर्लिएजस्तो हो । 

अत्यन्त व्यस्तताका बाबजुद पनि जनसम्पर्कमा रहिरहन सक्ने र आफ्नो उपस्थितिलाई वर्चस्वपूर्ण बनाउन सक्ने उहाँको व्यक्तित्व लोभलाग्दो छ । तर, यहाँको विषय व्यक्तिप्रशंसा नभएर कृतित्व चर्चा भएकाले सद्य प्रकाशित कथासंग्रह ‘अपरिचित अनुहार’सँग परिचित हुनतिर लागौँ ।

‘अपरिचित अनुहार’ कथासंग्रह हो । साहित्य समाजको दर्पण हो भन्ने मान्यताका आधारमा साहित्यकै एउटा विधा भएकाले कथालाई समाजकै दर्पण मान्न सकिन्छ । समाजकै समीक्षात्मक वा आलोचनात्मक प्रतिक्रिया मान्न सकिन्छ । ‘अपरिचित अनुहार’भित्र समेटएका कथाले पनि समाजकै सकारात्मक आलोचना गरेका छन् ।

यस क्रममा कथाकारको कल्पनाशीलता र संवेदनशीलताको सूक्ष्म प्रभावले कथा आद्र्रित छन् । कुनै पनि विषयमाथि हल्का टिप्पणी नगरेर विषयको अन्तःतत्त्व पहिचान गरेपछि मात्र आफ्नो राय प्रकट गर्ने कथाकारको व्यक्तिगत प्रवृत्ति यस संग्रहमा पनि प्रतिबिम्बित भएको छ । कथाहरूमा उदार हृदय, फराकिलो छाती, साहचर्य र सहअस्तित्वको मूल मर्मलाई अझ फैलिने अवसर दिइएको छ । 

आकारका दृष्टिले हेर्दा कथासंग्रह मझौला छ भने त्यसभित्रका कथा मझौलाभन्दा पनि साना छन् । १५३ पेजको किताबमा १८ वटा कथा समेटिएका छन् । कथाहरू लघु आकारका भए पनि ‘यति कुराचाहिँ कथाकारले भन्न बाँकी राखेछन्’ जस्तो लाग्दैन । सबै कथाले पूर्णत्व वहन गरेका छन् । मैदानी नदी समानको भाषा, सरल प्रस्तुति र मनमोहक अभिव्यक्तिले कथाहरू हृदयग्राही बनेका छन् । 

कथा के लेख्ने भन्दा पनि कसको कथा लेख्ने भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ अहिलेको समयमा । अरूको ध्यान नपुगेका विषयलाई अन्तरकुन्तरबाट निकालेर कलात्मक लेप लगाउनु नै दक्ष कथाकारको खुबी हो भन्ने तथ्य बुझेको कथाकार कथा खोज्नका लागि सीमान्त प्रदेशमा पुग्छ । खासमा महेश पौड्याल पनि त्यही कोटिका कथाकार हुनुहुन्छ । उहाँले चयन गर्नुभएको कथाको विषय पनि त्यस्तै छ । 

‘बार्दलीको एउटा अनुहार’ कथासंग्रहको पहिलो कथा हो । यसको मञ्चमा गाडीका चालक र सहचालक उभिएका छन् । चालकमा नजानिँदो गरी खलनायकीपन देखिन्छ भने पछि चालक भएको सहचालकमा सत्चरित्रता देखिन्छ । शारीरिक अशक्तता भएका व्यक्तिप्रति समाजको रवैया कस्तो हुन सक्छ भन्ने कुरा यसमा देखिन्छ । मनको शुद्धता यसमा परीक्षित भएको छ । कारुणिकताको पृष्ठभूमिमा लेखको आदर्शवादी सोच प्रतिबिम्बन भएको छ ।

दोस्रो कथा ‘मृगनयनी’मा पात्रको नाम र गुणमा विपर्यास देखाइएको छ । यसमा पनि पहिलो कथा जस्तै शारीरिक अशक्तता अर्थात् दृष्टिविहीन पात्रको उपस्थितिबाट कारुणिकता प्रकट गरिएको छ । 

‘उपहार’ कथाले शहरिया परिवेशमा मानिसको टोल एउटै भए पनि, घर आमनेसामने भए नि, छत जोडिए पनि मन नजोडिएकाले जीवनयापन नीरस र यान्त्रिक भएको कुरालाई दर्शाएको छ । भीडमा एक्लै हुनुपर्दाको आमछट्पटी यस कथाको विषय बनेको हो । 

कथा लेख्ने चक्करमा लेखकले आममानिसलाई कसरी भुल्दै गएको छ भन्ने जिज्ञासाको समाधान ‘आवाजहरू’ कथा हो । व्यावहारिक तिकडमबाजीमा मानिस यसरी हराएको छ कि उसले मासिहरूको वास्तविक आवाज सुन्नै सकेको छैन । समयको यस्तै जाँतोमा पिसिएको कथाकार पनि अलमलमा परेको छ । वास्तवमा यो कथा लेखकहरूप्रति व्यंग्य हो ।  स्वत्व गुमाएर सुविधासहितको पराधीनतामा बाँच्न कति कठिन हुन्छ भन्ने कुरा ‘अभिमन्यु’ कथाले बोलेको छ । 

समग्र कथासंग्रह नै मानवीय संवेदनालाई एकान्तको गहिरो गुफामा बसेर अवलोकन गर्न सफल देखिन्छ । मनमा मायाको समुद्र हुँदाहुँदै पनि बाहिरी कुरूपताले मानिसको जीवन बगर बन्न सक्छ । पैसा र सुखको परिभाषा कहिल्यै पनि सँगै खोज्न सकिँदैन ।

‘अन्तस्करणको स्वतन्त्रता यो तर छ अहा अनमोल !’ भन्ने देवकोटाको भनाइ यहाँ अविस्मरणीय बन्न पुग्छ । पैसाका पछाडि सुख खोज्न दौडिने आधुनिक मानिसलाई पटक पटक जिस्क्याइरहन्छ मन्दाकिनीको भेल । ‘दुई मृत्यु’ कथामा सुखलाई चिनेको मान्छे मृत्युमा उत्सव देख्छ । कथाकार अध्यात्मको शरणमा पुग्छन्- दुःखको भारी बिसाउन । आखिर मानिस भौतिकताको भुमरीमा भन्दा आत्माको मानसरोवरमा हाँस बनेर डुबुल्की लगाउन चाहन्छ । कथाकार त आख्याता मात्र न हो ! 

यही आशय पुनरुक्ति हुन्छ- ‘डबल पेन्सन’ कथामा तर फरक परिवेश र फरक स्वादमा ।

सम्पत्ति थुपार्ने वा कृत्रिम सुविधा र सम्पन्नताको मोहले मानिसलाई कसरी एकल्याउँछ ? र, मानिस कति छिटै जीवनको सौन्दर्य सुखबाट पलायन हुन्छ भन्ने कुराको फेहरिस्त हो, ‘डबल पेन्सन ।’ व्यावहारिकता र अव्यावहारिकता, सामाजिकता र असामाजिकता, चारित्रिक जटिलता र सरलता अनि तिनको प्रतिफलन उपलब्धि कथामा पाउन सकिन्छ । 


राजनीतिको उन्मादमा विवेक गुमाएकाहरू अहिले मुख लुकाएर हिँडेका छन् । हिजो मन्दिर भत्काएर क्रान्ति गर्नेहरू यति बेला मूर्ति बनाएर भोट जोगाइराखेका छन् । कथित क्रान्तिकारी छवि धमिलिएला भन्ने डरले तिनलाई निद्रा लागेको छैन । तर, पारिवारिक जीवनमा आगलागी भए पनि धर्मकै पानी छ्यापेर भए पनि निभाउनै पर्ने भन्ने निष्कर्षमा पुगेका राजनीतिक नेताको नग्नता ‘मन्दिर’ कथामा आएको छ । नेताको चरित्रभन्दा भन्दा पनि मानिसको आवश्यकता मन्दिर हो, अध्यात्म हो,  जीवनको एकाकीपनको ओखती भगवद्भक्ति हो भन्ने निष्कर्षमा कथाकार पुग्नुभएको छ । 

‘ओरालो’ र ‘चौतारीको भेट’ दुवै कथाले गाउँको चिन्ता गरेका छन् । आरालोमा गाउँ हराएको छ भने चौतारीको भेटमा गाउँ भेटिएको छ । शहरमा निस्सासिने वातावरण छ भने गाउँमा हिमशैलको मधुरो, मिठो, चिसो चुम्बन छ । ‘राहत’मा स्वदेशमै एक किसिमले शरणार्थी बनेको कथा छ भने ‘त्यसपछि निदाइन् बैनी’मा शरणार्थीको झन् गहिरो घाउ छ । दुवै कथाले मुटु चिथोर्छन् ।

स्वैर काल्पनिक लाग्ने ‘अपरिचित अनुहार’ कथामा सन्तान गुमाएर मानसिक पक्षघात भएको बाबुको घोर वेदना प्रवाहित छ, जसमा जस्तोसुकै पाषाण पाठक पनि द्रवित बन्छ ।

संग्रहको अन्तिम कथा ‘बूढो रूख र जुरेली’ अबको साहित्यले मागेको कथा हो । मानिसका कथा त हामीले निकै पढ्यौँ । मानिसबाट प्रताडित मानिसको कथा लेखेरै आजसम्मको साहित्य ‘हिट’ भएको छ । तर, मानवीय प्रताडनाका कारण प्रकृतिले बेहोरेको दुःख झन् गहिरो छ । यो दुःखको विस्फोटन अत्यन्त भयावह हुने संभावना पनि छ । एउटा संवेदनशील लेखक मानवताप्रति जति जिम्मेवार हुन्छ, प्रकृति र वातावरणप्रति पनि उत्तिकै आद्र्रचित्त हुन्छ भन्ने कुरा ‘बूढो रूख र जुरेली’मा समाहित भएको छ । 

महेश पौड्यालले भूमिकामा प्रयोगशील लेखक बन्न नसकेकामा पछुतो मानेजस्तो गर्नुभएको छ र म यस्तै लेखक हुँ कसैले भनेर हुन्छ र ? भनेर अहंकार पनि देखाउनुभएको छ । प्रयोगवादी लेखकहरूको बिजोग पनि हामीले देखेका छौँ । प्रयोगशीलता नवीनताको प्रयत्न अवश्य पनि हो तर सर्वस्व होइन । सर्वस्व त सिर्जनाले पाठकको चित्त चोर्‍यो कि चोरेन भन्ने कुरामा रहन्छ । मुटुमा भक्कानो फुटायो कि फुटाएन भन्ने कुरामा रहन्छ । फेरि प्रयोगशीलता भन्ने कुरा लेखकको रहरमा मात्र हुँदैन, साधनामा धेरै र प्रतिभामा अलिक थोरै भए पनि हुनै पर्छ । त्यस कारणले महेश पौड्याल आफ्नो मार्गमा सफल  हुनुहुन्छ ।