बदलिँदो कृषि कर्म, प्रविधिमुखी सामाजिक परिवेश र बदलिँदो वर्तमान

फर्कलान् र ती दिनहरू

बदलिँदो कृषि कर्म, प्रविधिमुखी सामाजिक परिवेश र बदलिँदो वर्तमान

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  मंसिर ४, २०७८

अतीत कति प्यारो हुन्छ ? पक्कै स्मरणीय र प्यारो हुन्छ । सबै अतीतका घटनाहरू मिठा नहुन सक्छन् तर त्यसलाई न बिर्सन सकिन्छ, न त फेरि पर्काएर वर्तमानमा ल्याउन सकिन्छ ।

समय हो, आफ्नो गतिमा बगेकै हुन्छ । समयलाई काल पनि त भन्छन् । जुन बेलामा हामीले अंग्रेजी व्याकरण अलिअलि पढ्न सुरु गरेका थियौँ, त्यस बेलामा टेन्स पढ्नुपथ्र्यो । टेन्स भनेको काल भने । त्यहाँ त समयका बारेमा, भूत काल, वर्तमान काल र भविष्यत् कालका बारेमा पो सिकाइँदो रहेछ ! अर्थात् समय नै काल पो रहेछ !

पछि भारतीय टेलिभिजन दूरदर्शनले जब ‘महाभारत’ सिरियल सुरु गरेको थियो, त्यस बेलामा ‘म काल हुँ’ भनेर समय बोल्दै हुन्थ्यो । आखिर हो पो रहेछ, समय नै काल हो अनि काल नै समय हो । अतीत पनि समयको त्यो कालखण्ड हो, जुन समय न त अब देखिन्छ तर त्यसको प्रमाण हामी आफैँ हौँ, म आफैँ हुँ र तपाईं आफैँ हो । एकपल्ट कल्पना गरौँ त्यो बेलाको, जुन बेला हाम्रा जिजुबाजे पनि जन्मनुभएको थिएन । त्यो बेला पनि थियो र अबको ५० हजार वर्षपछि पनि समय रहनेछ । जुन बेला यो ब्रह्माण्डको सृष्टि भएको थिएन, समय थियो । भोलि हजारौँ वर्षपछि फेरि प्रलय होला, त्यसको साक्षी पनि त त्यही समय नै होला । प्राणी कोही नरहला तर त्यसको प्रत्यक्ष प्रमाण कालसँगै रहला ।

अतीत त्यही काल हो, जुन कुरा हामीले बिर्सिए पनि ऊसँग उसको प्राकृतिक स्मरणमा सधैँ ताजा रहन्छ । समय आफैँ न भूत काल हुन्छ, न त वर्तमान हुन्छ वा न त भविष्यकाल नै हुन्छ । ऊ त काल हो, सधैँ काल मात्र हुन्छ । तर, हाम्रो जीवनमा काल विभाजित, खण्डखण्डमा बाँडिएर सम्झनाको तरेलीमा रहेको हुन्छ, मस्तिष्कको एउटा कुनोमा कतै लुकेर बस्ने हुँदोरहेछ । बिस्तारै बिस्तारै मात्र स्मरणमा आउँछ ।

जब सम्झना आउन थाल्छ नि, ह्वारह्वार आउन थाल्छ- बर्खाको खहरे जस्तै असमेल तरिकाले । हाम्रो गाउँमा बाह्रबिसे, बेलबोटे खोल्सा थिए, पानी पर्न थाल्यो कि बाढी आउने । अहिले विकासको क्रममा बाह्रबिसे खोल्सो पुरेछन्, खोल्साकै माझमा सामुदायिक भवन बनेछ र ती खोल्साहरू नै सार्वजनिक बाटोमा बदलिएछन् र घरघरमा गाडी पुग्ने पूर्वाधार भएछन् ।

खेतमा धान खेती छँदै छ । अर्को कुरो, दाइँ हुन छाडेछ । हुनत दाइँको मतलब हो- धान र पराल छुट्याउने र पराललाई बस्तुले खानलायक बनाउन गोरुले घुमीघुमी मोल्ने । पराल माड्ने । मियो गाड्ने, माल दाम्लामा आवश्यक गोरुहरूलाई बाँध्ने र पराल नहुन्जेलसम्म घुमाइरहने ।

हाम्रै बारी खेत र पुरानो खेतको बीचबाट पहाडी लोकमार्ग खनिएछ । मूल कुलो थियो- सेनवंशी र मल्लवंशीहरूको इतिहास सम्झाउने, त्यो पनि विकासको जाँतोमा पिसिएछ । मलाई मेरो अतीत र मेरो आँखा अगाडिको वर्तमानका बीचमा सामन्जस्य ल्याउन अहिले पनि केही बेर अलमल पर्छ । तर, सबैभन्दा महत्त्वपूर्ण समय भनेको वर्तमान समय हो भन्ने पनि हामीले नै आविष्कार गरेका हौँ नि !
 
के थियो अतीतमा र त्यसको धेरै महत्त्व मानेका हौँ हामीले ? खासमा बालापन थियो र धेरैजसोको बालापनमा बा, आमाको माया र साथीहरूको निश्छल मायाको प्रतिध्वनिबाट आफूलाई हामीले आफूलाई मुक्त गर्न सकेका छैनौँ । भावनाप्रति मन बहकिन्छ । बहिकिन्छ किनभने त्यो बेला जब स्मरणमा आउँछ, ती क्षणहरू झल्झल्ती सामुन्नेमा आउँछन् । जबजब म आफ्नो जन्मस्थान पुग्छु कर्मस्थानबाट, त्यही पुरानो घर, त्यही गोठ, तिनै बस्तुभाउ, त्यही कुलो, त्यही खेत, त्यही बारी, त्यही खरबारी । दसैँमा घर आउँदा केही दिन बस्तुभाउ हेर्न वनमा गएको, बस्तुभाउ गणना गरिरहने मेरो बानी । किनभने हराउलान् भन्ने चिन्ता । भरे हराए वा टाढा कतै अर्काको बाली खान गए भने खोज्न जाँदा एकातिर भएका कतै जालान् भन्ने पिर, अर्को कतिबेर घरमा पुर्‍याउने र गाई दुहुने हो ? कुनै पहिले जालान्, कुनै बाली भएकातिर जालान् त कुनै वनमा नै रहलान् । गाई र बाख्राको फेरि हिँडाइ र स्वभावमा फरक हुने । बन्दीजोर खोला, जसलाई हामी स्थानीय लबजमा बन्जोर खोलो भन्थ्यौँ, भन्छौँ पनि । 

हाम्रो गाउँको कुलोका बारेमा मैले कुनै बेलामा लेखिसकेको हुँ । कुलाको पानीको वितरणका बारेमा, यस्तो पानी प्रवाहको गणना गरिएको हुन्थ्यो कि गाउँको पहिलो मुहानको खेतमा जस्तै पानी पुछारको खेतमा पनि एकै समयमा पुग्थ्यो । कोही भन्छन्, त्यसको निसाफ कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशले गरेका हुन् । कोही भन्छन्, सेनवंशी राजाले नै आफैँले वितरणको व्यवस्था गरेका हुन् । कोही भन्छन्, राम मन्दिरमा जम्मा भएका गोठाले राजाले गरेको न्याय थियो रे त्यो ।

जे भए पनि हाम्रो गाउँमा जखनथानदेखि गोल्माथानसम्म एउटै वितरण प्रणालीले सिँचाइको सुप्रबन्ध थियो । विकासको क्रममा मध्य पहाडी मूलबाटोको चौडाइसँगै त्यो कुलो पनि शहीद भयो । अब त्यो कुलोको अनुहार, रेखांकन र पानीको बहाव अतीतको अनन्त कालो खाल्डोमा कहीँ खोज्नुपर्छ अनि मात्र स्मृतिमा आउँछ र सपनीमा तरोताजा भएर देखिन्छ कुनै बेला । सपनाको त के टुंगो भयो र- कहिले के देखिन्छ, कहिले के देखिन्छ ।

अब जोत्नका लागि खासै गोरुको चलन छैन भन्दा पनि हुन्छ । हाते ट्याक्टरले जोत्ने काम सुरु भएको रहेछ । यसले एकातिर गाउँमा हलीको कमी थियो किनभने युवाहरू विदेसिएका छन्, गोरु पाल्नेहरू छैनन् । कुलाको पानी आएकै छ मूल कुलामा र बारी कुलामा । हाते हलो तेल हालेपछि दौडन्छ खेतका गरागरामा । कृषिमा क्रान्ति आयो तर खेत खण्डित भए- अंशबन्डाले र बिक्रीले ।

धान फल्ने खेतमा पक्का घर बन्न थाले । आनाको लाखौँमा घडेरी बिक्री हुन थाल्यो । खेतीमा भन्दा बिक्रीमा चासो बढ्न थालेको पाइन्छ । यसरी गाउँ शहरीकरण भएको छ ।

खेतमा धान खेती छँदै छ । अर्को कुरो, दाइँ हुन छाडेछ । हुनत दाइँको मतलब हो- धान र पराल छुट्याउने र पराललाई बस्तुले खानलायक बनाउन गोरुले घुमीघुमी मोल्ने । पराल माड्ने । मियो गाड्ने, माल दाम्लामा आवश्यक गोरुहरूलाई बाँध्ने र पराल नहुन्जेलसम्म घुमाइरहने ।

नसिद्धिने बेलासम्म परालको उरुङ् हुन्थ्यो मियो वरिपरि । गोरु घुमाउँदै, परालमा लडीबुडी गथ्र्यौं हामी । बालीको आधारमा कति धान चुट्ने, कति गोरु लगाउने, धान चुट्न सिद्धिएपछि साँझमा मात्र धान बत्ताउने र रासमा जम्मा गर्ने काम हुन्थ्यो । बिस्तारै पराल छिरोल्ने काम हुन्थ्यो । गुन्द्री बनाउनका लागि चुटेर सग्लै राखिन्थ्यो । बस्तुभाउलाई ख्वाउन पराल दाइँबाट तयार गरिन्थ्यो ।

हाम्रो दाइँमा अन्नपूर्णको पूजा गर्दै सिमेभुमे पुज्दै घरमा नयाँ धान भित्र्याउने काम हुन्थ्यो । अहिले त थ्रेसर मेसिनले धान र पराल छुट्याएर बताउनै नपर्ने गरी तयार गर्न थालेछ । चुट्ने मात्रको पनि सुकुल मात्र बनाउन थालेछन् । हाम्रो संस्कृतिमा मियो, दाइँ शब्द अब शब्दकोशमा मात्र पो रहने जस्तो भयो ।

क्रमशः