कवि मदन भण्डारीका कविताको युगीन सन्देश

कवि मदन भण्डारीका कविताको युगीन सन्देश

डा. देवी नेपाल  |  साहित्य  |  मंसिर ४, २०७८

मदन भण्डारीलाई धेरैले एक जना राजनीतिक नेताका रूपमा मात्र चिनेका छन् । उनी राजनीतिमा लाग्नुभन्दा अगाडिदेखि नै प्रखर कविका रूपमा परिचित थिए भन्ने कुरा धेरैलाई थाहा छैन । जीवनको पछिल्लो चरणमा पूर्ण रूपमा राजनीतिमा सक्रिय भए पनि वि.सं. २०२५ सालदेखि २०३३ सालसम्म उनको प्रमुख चिनारी साहित्यकार नै थियो । त्यस समयमा लेखिएका कविता, गीत तथा अन्य सामग्रीहरू मदन भण्डारी: सङ्कलित रचना (भाग ४, २०६७) र मदन भण्डारीका कविता र गीतहरू (किताब र सिडी दुवै २०६९) दुइटा कृतिमा प्रकाशित छन् । 

ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा वि.सं. २००९ आषाढ १४ गते पिता देवीप्रसाद र माता चन्द्रकला भण्डारीका माइला सुपुत्रका रूपमा जन्मिएका मोतीराज भण्डारी नेपाली राजनीतिक इतिहासका शीर्षपुरुष मदन भण्डारी हुन् । ६ वर्षकै उमेरमा चण्डीका श्लोकहरू कण्ठस्थ सुनाएर परिवारका सदस्य तथा गुरुवर्गलाई छक्क पार्ने कुशाग्र बुद्धिका धनी भण्डारीमा वरडाँडा पाठशालामा लघुकौमुदी पढ्दादेखि नै शक्तिशाली प्रतिभाको वीज रोपिइसकेको थियो ।

बालसुबोधिनी संस्कृत पाठशालामा कक्षा ६ बाट अध्ययन सुरु गरी २०२४ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि वृन्दावनतिर उच्चशिक्षा अध्ययनार्थ लागेका प्रतिभाशाली छात्र मदन भण्डारीले वाराणसेय संस्कृत महाविद्यालयबाट साहित्यमा प्रथम श्रेणीमा शास्त्री र आचार्यसम्मको पनि अध्ययन पूरा गरे । जीवनका अनगिन्ती उकाला र ओरालाहरू पार गर्दै वि.सं. २०५० जेठ ३ गतेको रहस्यमय दासढुङ्गा दुर्घटनामा भौतिक शरीरलाई समाप्त गर्न पुगेका कवि भण्डारीले छन्दकवितालेखनको प्रारम्भ छात्रजीवनबाट नै गरेका हुन् । 

ताप्लेजुङजस्तो विकट जिल्लाका ढुङ्गा र माटोसँग बाल्यकालदेखि नै पौँठेजोरी खेल्दै र लघुकौमुदीका ‘अइउण् ऋलृक्’सँग जिस्काजिस्की गर्दै हुर्किएका हुनाले उनलाई छन्दका तगण र मगणसँग रगडिन कुनै गाह्रो परेन । बनारसमा बस्दा संस्कृत सम्भाषणमा स्वर्णपदकलगायत विभिन्न साहित्यिक कार्यक्रमहरूमा पुरस्कार तथा सम्मान पाएका मदन भण्डारीले २०२७ सालमा नै तीन पाइलो नामक गीतसङ्ग्रह लेखेको चर्चा पाइन्छ तर त्यो हाल अप्राप्य छ । २०२५ देखि २०३३ सालसम्म विशुद्ध राजनीतिक कार्यक्रममा उनको उपस्थिति अति कम मात्र हुन्थ्यो ।

त्यस समयमा उनले प्रगतिशील साहित्य लेखनमा मात्र आफूलाई केन्द्रित गरेका थिए । यस समयमा वैचारिक झुकाव कम्युनिस्ट आन्दोलनतिर भए पनि कार्यगत सक्रियता साहित्यतिर थियो । सन् १९७२/७३ मा उनी बनारसबाट प्रकाशन हुने छात्रप्रभा पत्रिकाका प्रधान सम्पादक थिए । त्यस समयमा भण्डारी उक्त पत्रिकाको सम्पादकीय पनि कवितामा नै लेख्थे ।

प्रवासमा रहँदा कवि भण्डारी विभिन्न छद्मनामबाट कविता सिर्जना गर्थे । उक्त समयमा बनारसदेखि लिएर सिलाङसम्मका नेपाली पत्रिकाहरूमा उनका कविता तथा अन्य रचनाहरू प्रकाशित  भएका थिए । उनको कविता लेखनको प्रारम्भका केही सन्दर्भहरू निकै रोचक छन् । शास्त्रीय छन्दमा सरस र सुमधुर कविता लेख्ने भण्डारी २०२६/०२७ सालतिर केही राजनीतिक विषयवस्तु सोध्नका लागि बनारसमा मोहन चापागाईँसँग गएका थिए रे ! तर चापागाईँले ‘यस्ता दारी नै नपलाएका ठिटाले राजनीति सिक्ने हो ?’ भनेपछि घर फर्केर उनले 'नेता हुन्थेँ म पनि कि कतै दारि हो उम्र उम्र' भन्ने मन्दाक्रान्ता छन्दमा व्यङ्ग्यात्मक कविता रचना गरेछन् । यसबाट उनको लेखनमा आशुकवित्व र व्यङ्ग्यचेतना दुवै प्रखर थिए भन्ने प्रमाणित हुन्छ ।  

सन् १९७३/३/११ का दिन कवि युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनारसमा एउटा भव्य कविता प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा समस्यापूर्ति र पद्यसाहित्य दुवै विधामा मदन भण्डारी प्रथम भएका थिए । दामोदर भारद्वाज, मोदनाथ प्रश्रित र योगेश्वर भट्टराई रहेको निर्णायक मण्डलले उनका ‘मित्र पो चिन्नुपर्छ’ कवितालाई समस्यापूर्तिमा र ‘लौ उत्र सङ्घर्षमा’ कवितालाई पद्यसाहित्यमा गरी दुवै कवितालाई प्रथम घोषित गरेको थियो ।

उक्त दुवै कविता तत्कालीन छात्रप्रभा पत्रिकामा प्रकाशित भएका थिए । त्यसै समयमा वाराणसीको पसिना प्रकाशनबाट कवि भण्डारीको ‘भर्तीवाले पोइलाई चिठी’ कविता प्रकाशित भएपछि उनलाई साथीहरूले ‘बाटुलीका बा’ भनी सम्बोधन गर्न थाले । कहिलेकाहीँ ‘हलीदाइ’ उपनामले पनि कविता लेख्ने कवि भण्डारीको २०३२ सालमा सुस्केरा पत्रिकामा ‘गोरु फुकाऊ हली हो’ शीर्षकको कविता प्रकाशित भएपछि भने उनले ‘हलीदाइ’का नामले व्यापक चर्चा पाए । त्यतिबेला पुष्पलालले समेत मदनलाई ‘हलीदाइ’ अथवा ‘युवाकवि’ भनेर चिन्ने गरेका र त्यही नामले बोलाउने गरेका थिए ।

मदन भण्डारी कवि मात्र नभएर कुशल सम्पादक पनि थिए । उनका सम्पादकीय पनि कवितामा छन् । फुटकर कविता र गीतहरूमा त आलङ्कारिक अभिव्यक्ति हुने नै भए उनका भाषणमा पनि प्रखर कवित्व अभिव्यक्त भएको पाइन्छ । उनी आफू हुर्केको समाज, बाँचेको युग र आफूले भोगेका हरेक घटना र परिघटनाहरूलाई वर्गीय दृष्टिले हेर्छन् र आलङ्कारिक रूपमा प्रस्तुत गर्छन् । यही कारणले गर्दा उनको हरेक अभिव्यक्तिमा मिठासपूर्ण भाषिक विन्यास फेला पर्दछ भने कथ्यमा व्यञ्जनात्मक भावविन्यास पाइन्छ । 

मदन भण्डारीका कविताहरूको सैद्धान्तिक विश्लेषण गर्नु यस लेखको उद्देश्य होइन । आजलाई भने उनले लेखेका युगीन महत्त्व राख्ने कवितांशहरूलाई विषय, प्रसङ्ग र सन्दर्भसमेतको जानकारी दिएर पाठकसामु पुर्‍याउने लक्ष्य राखिएको छ । 

१. कवि मदन भण्डारीले ‘छात्रप्रभा’को सम्पादकीयमा सिर्जनाको काम कपोलकल्पना, अनावश्यक भावुकता, पलायन, कुण्ठा र विकृत मानसिकतालाई पोख्ने होइन, सामाजिक जागरण ल्याउने हो भन्ने मान्यताको स्थापना यसरी गरेका छन्-  

जाऊ ‘छात्रप्रभा’ लिएर बम यो टङ्कारिई पड्किद्यौ
निर्धा झोपडिका किसान जनका उत्साहका साथ हौ 
यो पञ्चायति राजको कपटको घुम्टो उदाङ्ग्याइद्यौ 
नेपाली दिलभित्रको मुलुकमा यै चेतना ल्याइद्यौ ।
 
२. ‘मित्र पो चिन्नुपर्छ’ कवितामा मदन भण्डारीले वास्तविक शत्रु को हुन् र मित्र को हुन् ? भन्ने बारेमा यसरी स्पष्ट पारेका छन्-
   

   गर्छन् क्रान्ती धनिकहरूले भन्दछौ भ्रान्ति छोड
    बोल्दा दोग्ला पदसमुहले व्यर्थ नाता नतोड ।
    काले, हर्के गरिबहरूमा क्रान्तिशक्ती अडिन्छ 
    खोज्छौ माथि तल झुपडीका मित्र पो चिन्नुपर्छ ।

३. सोही कवितामा मदनले युवावर्गको जोस, जाँगर र समर्पणलाई यसरी सम्बोधन गरेका छन्-
   

ताराजस्ता युवकहरु यी क्रान्तिकै नाम लिन्छन्
  पर्दाखेरी समय महँगा मूल्यको ज्यान दिन्छन् 
  हाम्रा पाखा वन र पहराबाट पीयूष झर्छ
  हास्ने खेल्ने गफहरु गरी मित्र पो चिन्नुपर्छ ।

४. ‘लौ उत्र सङ्घर्षमा’ कवितामा मदनले त्यतिबेला नै (२०३० सालतिर) स्वतन्त्रता र नागरिक अधिकारका बाधक राजा हुन् भन्ने निष्कर्ष निकालेर राजा र राजसंस्थाका विरुद्धमा   

    जनतालाई उत्रिन यसरी आह्वान गरेका थिए- 
    ए राजा ! ल तँलाइ बल्ल मजले जानेँ दलाहा र’छस् 
    छाती फोरि गरीबका रगतले बाँच्ने चुसाहा र’छस् 
    पैसे मित्र लँगौटियार तँसँगै तेरा भरौटे सब 
    के बाच्लान् र ! किसान हौँ, बल भए लौ उत्र सङ्घर्षमा ।

५. सोही कवितामा मदनले वास्तविक क्रान्ति के हो ? भन्ने बारेमा यसरी स्पष्ट पारेका छन्-
  

   क्रान्ती भोजभतेर हैन किन हो, सामन्त निम्त्याउँछौ ?
    सच्चा मित्र किसानलाइ अझ के बेथाह लत्याउँछौ । 
    क्रान्तीका प्रियबन्धु हो, महलमा के आश चिच्याउँछौ ? 
    हामी साथ जमात छौँ निडर भै लो उत्र सङ्घर्षमा ।।

६. ‘भर्तीवाले पोइलाई चिठी’ कवितामा भण्डारीले वर्गीय समाजको चित्रण यसरी गरेका छन्-

   यता खाली म यौटी छु कलिला बालबच्चाको 
    खुबै बेहाल भो सारा यहाँ बाँचिन्न जस्तो भो । 
    तुषाराले कठ्याङ्ग्य्रायो भुँडी भोको उदङ्ग्यायो 
    धनीका कामले मेरो रगत, मासु सबै खायो ।।

७. ‘गोरु फुकाऊ हली हो’ कवितामा भण्डारीले हाम्रो असमान सामाजिक संरचनाको चित्रण गरी यसरी क्रान्तिको आह्वान गरेका छन्-

    है हलिदाइ ! गोरु फुकाई जोताराले बाँधेर ल्याऊ सामन्ती साँढेलाई ।।
    उसका भने हाकोडाको गर्छन् महलदेखि  
    कमारी भै काम गर्छन् हाम्रा चेलीबेटी ।
    भोको पेट रोएको छ बाँझो डाँडा फोर्दा 
    हाडमासु दुखेको छ झोरा आवाद गर्दा ।।
        +    +    +
    जोत्ने, खन्ने हामी सधैँ सधैँ जिउँदा मर्दा 
    हाम्रो रगत आर्जनमा सामन्तको बिर्ता ।
        +    +    +
    सामन्तको छाला काढी नारा बनाउनु छ 
    बेला भयो गोरु फुकाऊ देश बनाउनु छ ।
        
८. ‘नियत नबाङ्गिएकाहरू’ शीर्षकको कवितामा कवि मदनले राजनीतिक निष्ठाको परिचय यसरी दिएका छन्-

    छलकपटरहित
    निडर
    र नियत नबाङ्गिएकाहरू
    अनिवार्य रूपमा
   विजयको शिखरमा पुगी छाड्छन् ।

९. ‘किसान दाइ’ गीतमा भण्डारीले किसानलाई सम्बोधन गर्दै वर्गीय ममता यसरी देखाएका छन्-

    ए किसान दाइ !
    के युवक भाइ ! 
   आज सामन्ती कहाँ जान्छ ? गरिबको गाउँ ।
   के खान्छ ? कुखुरीको माउ ।
  पिटिदेऊ न, गै भन्छ किसानदाइ ।

१०. ‘नेपाली नारीलाई’ गीतमा भण्डारीले नेपाली नारीको अवस्थाको चित्रण गरी जागरणका लागि यसरी आह्वान गरेका छन्-

 गएर भन्देऊ न, ती हाम्रा दिदी र बैनीलाई
  साह्रै नै थिचोमिचो छ नेपाली नारीलाई ।
   +    +    +
  अब भने नारी तिमी नबस है निहुरेर
  सबै नारी उठ है कम्मर कसेर ।
 साह्रै नै थिचोमिचो छ नेपाली नारीलाई ।

११. ‘सहिदको रगत’ बोलको गीतमा भण्डारीले रत्नकुमार बान्तवाप्रति श्रद्धा प्रकट गर्दै तत्कालीन राज्यव्यवस्थासँग यसरी आक्रोश पोखेका छन्-

सहिदको रगत सुक्दैन त्यसै वीरेको हुकुमले
क्रान्तिको गति रुक्तैन कहिल्यै हत्या र दमनले ।

इलामको माटोमा झुल्केको सूर्य बादलले छोपिन्न
रत्नको बाटो पछ्याउँछौँ हामी बाधाले रोकिन्न
बाधाका शिर कुल्चेर हिँड्छन् अजेय सन्तानले
क्रान्तिको गति रुक्तैन कहिल्यै हत्या र दमनले ।

मदन भण्डारी कविभन्दा बढी नेता हुन् तापनि उनको कवि व्यक्तित्व र नेता व्यक्तित्व पछिसम्म पनि सँगसँगै अगाडि बढेको देखिन्छ । साहित्यिक अभिव्यक्ति, प्रतीकात्मक प्रस्तुतीकरण, कवितात्मक औपदेशिकता र सूक्तिमय प्रवाहशीलता उनका भाषणका विशेषता भएकाले भण्डारीका भाषणमा जताततै कविता पाइन्छन् । भाषण गर्न मञ्चमा उभिएका जननेता भण्डारीलाई जनकवि भण्डारीले जहाँ पनि पछ्याइरहेको हुन्छ ।

कतै प्रचलित तथा कतै स्वनिर्मित लोकविम्बहरूको प्रयोग गरेर वक्ता भण्डारी आफ्नो कविव्यक्तित्व पोखिरहेका भेटिन्छन् । मदनका सम्पूर्ण भाषणहरूभित्र प्रवेश गरेर खोज्न थाल्ने हो भने सयौँ कवितात्मक अभिव्यक्तिहरू पाइन्छन् । तिनले राजनीतिक नेतृत्वलाई निष्ठा, इमानदारिता, सच्चरित्र, त्याग र बलिदानको पाठ राम्ररी सिकाएका छन् । तीमध्येका केही अंशहरूलाई यहाँ प्रस्तुत गरिएको छ । 

१. राजनीतिक नेतृत्वमा आवश्यक चातुर्यका बारेमा मदनले यसरी सचेत गराएका छन्-

    अब टाङमाथि टाङ गरेर 
    हातमाथि हात गरेर 
    हामी यदि आरामको निद्रा सुत्छौँ भने 
    हामी राति नै सखाप हुनेछौँ ।

२. कवि मदनले प्रजातन्त्र प्राप्तिको इतिहासलाई सम्झाउँदै अतीतलाई नबिर्सने सल्लाह यसरी दिएका छन-

    सुतेको सिंहको होइन
    मान्छेको रगत खाएर 
    मातेको सिंहलाई जगरमा समातेर
    सडकमा पछार्दा
    यो प्रजातन्त्र आएको हो । 
    
३. यसरी नै मदनले सङ्घर्षको जन्म कसरी हुन्छ ? भन्ने बारेमा यस्तो आलङ्कारिक अभिव्यक्ति दिएका छन्- 

     निराशा विरोधमा 
    बदलिन सक्छ, 
     विरोध सङ्घर्षका रूपमा 
     प्रकट हुन सक्छ । 
    
४. देश सङ्कटमा परेका बेलामा नेता नेताका बिचमा हुने लडाइँलाई मदनले अत्यन्त कठोर रूपमा मूल्याङ्कन गरेका छन् । पहिले घर बलियो नबनाई व्यक्तिगत स्वार्थका लागि गरिने लडाइँले घर (देश) लाई नै ध्वस्त बनाउने दूरदर्शी सन्देश मदनले यसरी दिएका छन्- 

     यस बिचमा 
    केही यस्तो खालको जीर्णोद्धारको 
    काम गर्न सकियोस् 
    अलिकति खम्बाहरू थप्न सकियोस्,
    टेकाहरू हाल्न सकियोस् 
    केही कब्जाहरू, किलाहरू,
    काँटीहरू थप्न सकियोस् 
    र घरलाई अलिकति बलियो बनाउन सकियोस् 
    त्यसपछि त्यो बलियो तलामा उभिएर 
    दुईओटा पहलमानले कुस्ती गरौँला । 

५. राजनीति गर्ने वा देश चलाउने लक्ष्य बोकेर हिँडेका व्यक्तिहरूका लागि जनताभन्दा ठुलो भगवान् अर्को हुँदैन भन्ने जनप्रेमी भावनाको अभिव्यक्ति कवि भण्डारीले यसरी दिएका छन्-
    हाम्रा भगवान् भनेका
   नबोल्ने पशुपतिनाथ होइनन्,
   हाम्रा भगवान् भनेका
  कुनै नबोल्ने ढुङ्गाका देवता होइनन्,
  हाम्रा भगवान् भनेका त
   जीवित जनताहरू हुन् ।

६. सहनशीलता, धैर्य र मिलनसारिता नेतृत्वका लागि सबैभन्दा ठुलो सम्पत्ति हो । गल्ती नगर्नेहरूले कहिल्यै रिसाउनु पर्दैन । जब नेता रिसाउन थाल्छ तब उसले केही गल्ती गरेको छ भन्ने बुझ्नुपर्छ भन्ने जस्ता अत्यन्त महत्त्वपूर्ण विचारको प्रस्तुति मदनले यसरी गरेका छन्-
एउटा मान्छे,

जब उसका तर्कहरू सिद्धिन्छन्,
त्यसपछि ऊ रिसाउँछ,
एउटा मान्छे,
जब उसले गल्ती गरेको हुन्छ,
त्यसपछि ऊ रिसाउँछ ।

७. निर्वाचन लोकतन्त्रको गहना हो । यसलाई एउटा महाभारतको युद्धसँग तुलना गर्न सकिन्छ तर निर्वाचन लडाइँ, झगडा, कुण्ठा आदि पोख्ने अनि पैसाले विचार किन्ने माध्यम बन्दै गएको हुनाले यसलाई विचारको, योजनाको हतियार प्रयोग गर्ने ठाउँ बनाउनुपर्छ भन्ने दूरदर्शी सन्देश उनले यसरी दिएका छन्-

चुनाव एउटा ठुलो महाभारत हो भने
यो महाभारतमा,
त्यस्तो ब्रह्मास्त्र, पाशुपतास्त्र, इन्द्रास्त्र
अरू अनेकौँ आदि–इत्यादि
त्यस्ता अस्त्रास्त्रहरू प्रयोग नगरियोस्,
यसमा त विश्वासको अस्त्र प्रयोग गरियोस्,
आस्थाको अस्त्र प्रयोग गरियोस्,
रचनाको अस्त्र प्रयोग गरियोस्,
कार्यक्रम र नीतिहरूको अस्त्र प्रयोग गरियोस् ।

८. मदन भण्डारीले अत्यन्त तार्किक शैलीमा जनआवाजलाई तत्कालीन राजासम्म पु¥याउनका लागि यस्तो अभिव्यक्ति दिएका थिए—
मान–सम्मानलाई उपभोग गर्दै

किनारामा बसिबक्सियोस् महाराज !
हात नलम्काइबक्स्योस् !
आँखा नचम्काइबक्स्योस् !
आफ्ना शण्डमुशण्डहरूलाई
नचलाइबक्स्योस् !!
यदि शण्डमुशण्डहरूलाई नै चलाउने हो भने,
यदि शण्डमुशण्डहरूलाई नै अगाडि लिएर आउने हो भने
महाराजले पनि श्रीपेच उतारेर,
सिंहासनमा राखेर,
मैदानमा नेता भएर आउनुपर्‍यो
ताकि, प्रतिद्वन्द्विता गर्न सकियोस् ।

९. वर्तमानको कम्युनिस्ट आन्दोलन जनमुखी बन्न नसकेको, नेताहरू सुविधाभोगी बन्दै गएको र स्वार्थ, कुण्ठा एवम् स्वेच्छाचारिता बढ्दै गएको जनगुनासो आइरहेका बेलामा मदन भण्डारीले कम्युनिस्ट पार्टी कस्तो पार्टी हो र यसले कुन वर्गलाई हेर्नुपर्छ भन्ने बारेमा प्रस्तुत गरेका निम्नलिखित दुई अभिव्यक्तिहरूको विशेष महत्त्व देखिन्छ-
जसका कुर्कुच्चा फुटेका छन्,
जसको टोपीको घेरा मात्रै टाउकोमा छ,
जसका हातमा ठेला छन्,
जसको जिउमा मोबिल लागेको छ,
जो हिलो, गोबर र धुलोमा
निरन्तर काम गरिरहेछन्,
त्यस्ता श्रमजीवी, मिहिनेती, मजदुर, सर्वहारा किसानहरू, 
उत्पीडित मिहिनेती र श्रमजीवी जनताहरूको
पार्टी कम्युनिस्ट पार्टी हो ।

कम्युनिस्ट पार्टी,
महलका मैयाँहरूको पार्टी होइन,
कम्युनिस्ट पार्टी,
महलका राजकुमारहरूको पार्टी होइन,
यो अर्काले दिसा धोइदिने
त्यो मालिकको पार्टी होइन,
यो वास्तवमा त्यही खेतमा काम गर्ने किसानहरूको
कारखानामा काम गर्ने मजदुरहरूको
श्रमजीवी र दुःखजिलो गरी खाने जनसमुदायहरूको
त्यस्ता श्रमजीवी जनसमुदायहरूको पार्टी हो ।

कवि मदन भण्डारी सफल सर्जक मात्र होइन, कुशल अनुवादक पनि थिए । उनी आफूलाई मन परेका संस्कृतका कविताहरूलाई त्यही छन्दमा जस्ताको तस्तै नेपाली भाषामा अनुवाद पनि गर्ने गर्दथे । उनको अनुवादकलाको एउटा उदाहरण यस पद्यमा पाइन्छ-
भर्तृहरिद्वारा लिखित संस्कृत श्लोक
रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम्
भाष्वान्नुदिष्यति हसिष्यति पङ्कजश्री
इत्थं विचिन्तयति कोषगते द्विरेफे
हा ! हन्त ! हन्त ! नलिनी गजमुज्जहार ।
मदन भण्डारीले अनुवाद गरेको नेपाली श्लोक
रात्री बितेर रमणीय प्रभात होला
भाष्वान् उदाइ नलिनीदल खिल्न जाला
भन्थ्यो यही भ्रमर कोषमहाँ बसेर
हा ! हा ! लग्यो नलिनी त्यो गजले चुँडेर । 

यसरी सिर्जनामा होस्, भाषणमा होस् अथवा अनुवादमा होस् प्राञ्जल भाषाशैलीका माध्यमबाट सूक्तिमय अभिव्यक्ति दिन खप्पिस कवि मदन भण्डारीका कवितामा देश दुखेको हुन्छ, माटो रोएको हुन्छ, नेपाली जीवन आफ्नो अस्मिता खोजिरहेको हुन्छ, शोषित मुटु आक्रोशित बनेर पोखिएको हुन्छ र मानवले मानवीय मूल्यको माग गरिरहेको हुन्छ । छोटो साहित्यलेखनका अवधिमा पनि महत्त्वपूर्ण सिर्जना दिन सफल उनका रचनाहरू नेपाली साहित्यको प्रगतिवादी क्षेत्रका मात्र नभएर सिङ्गो नेपाली साहित्यजगत्कै अमूल्य निधि हुन् ।

उनका रचनाहरू एकातिर उनको साहित्यप्रतिको झुकाव र गहिरो अध्ययन एवं संवेदनशील मुटुका मूर्त चित्र हुन् भने अर्कातिर भण्डारीलाई केवल राजनीतिक छाताभित्रको हृदयशून्य नेता मात्र देख्नेहरूका लागि घत लाग्दो जवाफ पनि हुन् । अझै गहिरिने हो भने बिनाअध्ययन र बिनासिर्जना नेपाली जीवनपद्धतिको व्याख्या गर्न खोज्ने ‘च्याउनेता’हरूका लागि अप्रत्यक्ष व्यङ्ग्य पनि हुन् । 

निष्कर्षमा भन्नुपर्दा एउटै वाक्यमा सिङ्गो देश, सिङ्गो मानवजीवन र वर्तमानको समग्र चित्र उतार्न सक्ने कवि भण्डारी केवल राजनीतिक इतिहासका मात्र नभएर साहित्यिक इतिहासका पनि उल्लेख्य व्यक्तित्व हुन् । कवि भण्डारीका हराएका सामग्रीहरूको खोजी गर्नु, प्रकाशन गर्नु र पाठकसमक्ष पुर्‍याउनु आजको पहिलो कर्तव्य हो भने आफ्नो राजनीतिक आदर्शका रूपमा मदन भण्डारीलाई मान्ने राजनीतिक पार्टी, नेता र व्यक्तिहरूले उनले व्यक्त गरेका विचारहरूलाई गम्भीरताका साथ ग्रहण गर्नु र व्यवहारमा लागु गर्नु दोस्रो दायित्व हो । यति गर्न सके मदन भण्डारीको साहित्यिक र राजनीतिक दुवै व्यक्तित्वको एकै पटक सम्मान हुने कुरा निश्चित छ ।