डा. ज्ञानु पाण्डे : रगतमा साहित्य, मस्तिष्कमा प्राध्यापन अनि चेतनामा सहअस्तित्व वाेध
मंसिर ४, २०७८

साहित्य उहाँको नशानशामा छ । उहाँकी हजुरआमा पनि कविता लेख्नुहुन्थ्यो । ज्योतिषीको भविष्यवाणीका कारण उहाँका हजुरबाले भने पढ्ने अवसर पाउनुभएन । तर, उहाँको त्यो पढाइप्रतिको अनुराग भने उहाँले छोरा तथा नातिनातिनामा पोख्नुभयो । 

साहित्यकार पोषण पाण्डे उहाँका बुबा । यी सबै वातावरण र परिवेशले उहाँलाई साहित्यकार बनाएको हो । करिब आधा दर्जन कृति प्रकाशन गर्नुभएकी पाण्डेलाई पत्रकारिता अनि प्राध्यापनको समेत राम्रो अनुभव छ । 

केही फरक गरौँ भन्ने सोचले उहाँलाई समालोचनामा धकेल्यो । यसका लागि प्राध्यापक हुनलाई आवश्यक पर्ने अनुसन्धानमूलक लेख-रचना पनि उहाँको सहायक तथा बाध्यता दुवै हो ।

विशेषगरी लैंगिक विभेदका बारे आवाज बुलन्द गर्ने उहाँ एकपक्षीय अधिकारले समानता नल्याउने हुनाले समानताको दिशामा जानुपर्ने मान्यता राख्नुहुन्छ ।
                                                    ०००
उहाँको समयमा छोरी पाउने आमालाई हेलाहाेचाे गरिन्थ्याे । बोक्सी भन्नेदेखि घरबाट निकाल्नेसम्मको समय थियो । तर, उहाँको परिवारमा याे विभेद थिएन । उहाँकाे जन्ममा त अचम्म पाे भयो । अर्थात् ठीक विपरीत । उत्सव पो भयो उहाँको जन्ममा । 

उहाँ चौथो सन्तान, त्यो पनि छोरी । उहाँलाई घरमा नभएर अन्त लगेर जन्माउने योजना बनेको रहेछ । त्यसको कारण उहाँलाई छोरा ठनिएको रहेछ । तर, उहाँका पिताजीले मनाही गरेपछि उहाँको घरमै जन्म गराइएको रहेछ । उहाँको जन्म भयो । जन्मपछि घरमा उत्सव नै भयो । आखिर छोरी जन्मँदा पनि त्यो समयमा उत्सव ! उहाँ सम्झिनुहुन्छ ।

यो २०१८ सालको कुरा हो । 

त्यसको कारण रहेछ- चौथो सन्तानको रूपमा छोरा जन्मियो भने उहाँको हजुरबालाई पिर्छ । उहाँको असामयिक निधन हुन्छ भनेर ज्योतिषीले भनेको रहेछ । त्यस कारण छोरीको जन्मको रूपमा पनि उहाँको जन्मोत्सव उत्सव भएको रहेछ ।  
                                                      ०००
जन्म जन्मोत्सवको रूपमा रहेको उहाँको बालापन र हुर्काइ, बढाइ पनि अत्यन्त रमाइलो र सुखद रह्यो । 

उहाँका हजुरबालाई सानैमा बित्छ भनेका कारण पढाइएको रहेनछ । त्यस कारण उहाँको हजुरबाले आफूले पढ्न नपाएको त्यो तृष्णा छोरा र नातिनातिनामा देख्नुभयो । उहाँको परिवारमा पनि बिनाभेदभाव पढाइ भयो । त्यस बेला छोरालाई पढाएर छोरीलाई नपढाउने चलन थियो । 

उहाँ लगत्तै भाई जन्मिएकाले उहाँको साथी भनेको भाइ तथा भाइका साथीहरू भए । त्यस कारण उहाँका साथी केटी भन्दा पनि केटाहरू धेरै थिए । 

उहाँ वटुदेखि असनसम्म भाइ तथा साथीहरूसँग पांग्रा गुडाउँदै आउनुहुन्थ्यो । गुच्चाको ह्वाक्रयाङ खेल्ने, बाघचाल खेल्ने, ब्याडमिन्टन खेल्ने आदि गरेर बित्यो उहाँको बाल्यकाल । 
बाहुनको घर भएको हुनाले बिहे नभएका छोरीले पकाएको कसैले खाँदैनथ्यो । त्यसैले भान्सामा पनि काम गर्नुपरेन । अनि अरू काम गर्ने पनि मान्छे थिए । 

त्यस हिसाबले केही नगरी रमाइलोसँग बित्यो उहाँको बाल्यकाल । स्कुल गयो, आयो । पढ्दा बुबाआमा खुसी हुने । त्यसैले पनि जोड पढाइमै रह्यो उहाँको । 
                                                        ०००
५ वर्ष पुगेपछि सरस्वती पूजाको दिन विधिपूर्वक घरमा मान्छे बोलाएर कपुरी क लेखेर अक्षरारम्भ गर्ने उहाँहरूको प्रचलन रहेछ । त्यो काम हजुरबाले गर्नुहुँदो रहेछ ।

हजुरबाले पढ्न नपाएका कारण पनि उहाँको इच्छापूर्तिको माध्यम छोरा तथा नातिनातिनालाई बनाएजस्तो देखिन्थ्यो त्यस हिसाबले ।

त्यस बेलाको समाजमा छोरीहरूलाई स्कुल राखेर पढाउने प्रचलन नभएकाले उहाँका हजुरबाले आफ्ना छोरीहरूलाई घरमै शिक्षक राखेर पढाउनुभएको रहेछ । 

उहाँकी हजुरआमा पनि कविता लेख्ने तथा कविताको किताब पनि निस्किएको हुनाले होला, उहाँहरूलाई भने त्यस समयमा पनि पढ्नका लागि संघर्ष गर्नुपरेन ।
                                                         ०००
कपुरी क घरमै लेखे पनि उहाँको प्रारम्भिक औपचारिक शिक्षा भने नवआदर्श स्कुल बसन्तपुरबाट सुरु भएको हो । 

कक्षा ३ देखि भने बस्नका लागि डेस्क-बेञ्च थिए । त्यसभन्दा अघि सुकुलमा बस्नुपर्थ्य‍ो । त्यस कारण पनि उहाँहरूलाई ३ कक्षामा जान हतार हुँदो रहेछ । 
कक्षामा त्यस बेला झण्डै ३०-३२ जना हुन्थे । छात्रा भने ७-८ जना । 

उहाँका फुपूहरूले पनि ७ कक्षासम्म पढ्नुभएको रहेछ । हजुरआमाले पढेका कारण छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने रहेछ ।

जन्मेदेखि मृत्यु पर्यन्त विभिन्न नाम र सम्बन्धबाट सँगै जेलिएर रहेको नारी र पुरुषको सम्बन्धमा एउटाको मात्र विषय सम्बोधन गर्दा कहिले पनि समस्या समाधान नहुने उहाँको बुझाइ छ । त्यस कारण पनि उहाँ साझा समस्या तथा समतामाथि जोड दिइरहनुभएको छ । 

छोराहरूलाई स्कुलमा १ कक्षामा भर्ना गरेपछि यता घरमा छोरीहरूलाई पनि मास्टर राखेर त्यही १ कक्षाको किताब पढाइँदो रहेछ । कक्षा ७ सम्म यसै गरी अघि बढ्यो उहाँका फुपूहरूको पढाइ । 
                                                                          ०००
कक्षा ८ देखि भने उहाँको पढाइ कान्ति ईश्वरी स्कुलमा भयो । कान्ति ईश्वरी छात्राहरूको मात्र स्कुल थियो । स्कुल भव्य एवं व्यवस्थित थियो । 

सरहरूसँग डर त लाग्थ्यो तर सम्मान पनि त्यत्तिकै हुन्थ्यो । सरहरूले पनि गाली गरे पनि साह्रै माया गर्ने । डर मिसिएको माया । त्यो बेग्लै किसिमको हुन्थ्यो । 

उहाँ त्यस्तो उम्दा अनि लद्दु दुवै खालको विद्यार्थी होइन । सामान्य विद्यार्थी । उहाँको बसाइ पनि बीचतिरको बेञ्चमा हुन्थ्यो, पढाइ जस्तै । 

स्कुलमा अतिरिक्त क्रियाकलापहरू हुन्थे । उहाँलाई भने ब्याडमिन्टन खेल्न साह्रै मनपर्ने हुनाले ब्याडमिन्टमा भाग लिनुहुन्थ्यो । 

उहाँले २०३२ सालमा एसएलसी दिनुभयो । कति जनाले जाँच दिएका थिए अनि कति पास तथा फेल भए, उहाँलाई हेक्का छैन । 
                                                        ०००
उहाँ सेकेण्ड डिभिजनमा पास हुनुभयो । त्यस बेला सेकेण्ड डिभिजन भनेपछि भनी साध्य भएन । उहाँको मन एकदम होलीमा आकाशमा फालेको अबीर जस्तै उडेको थियो । 

तर, विडम्बना के भयो भने, उहाँ र दिदीले सँगै एसएलसी दिनुभएको । दिदी भने फेल हुनुभयो । त्यसले गर्दा उहाँले खुलेर उत्सव मनाउन पनि पाउनुभएन । 

उहाँ त्यसलाई खोसिएर आएको खुसी ठान्नुहुन्छ । उन्मुक्त भएर खुसी हुन पनि नपाएको । आफूले नगरेको दण्डको सजाय जस्तो लाग्छ उहाँलाई । 

पढ्ने अनि मिहिनेत गर्ने कुरामा दिदी उहाँभन्दा पनि मिहिनेती हो । घरमा पढाउन आउने कमल दाइले पनि उहाँलाई 'बरु दिदी त नआए पनि पढ्न त पढ्छे, मिहिनेत गर्छे' भन्नुहुन्थ्यो । 
उहाँ भने खासै मिहिनेत नगर्ने । यसो एकछिन पढ्यो, सम्झ्यो, सकियो । यस्तो थियो उहाँको पढाइ । 

उहाँकी ठूली दिदी एसएलसी पास हुँदा हजुरबाले घरमा सबैलाई बोलाएर एउटा उत्सव जस्तै मनाउनुभएको थियो । तर, उहाँको पालामा त्यस्तो भएन । 

यसो सम्झ्यो, 'के गर्नु, अब दिदी फेल भएकी छ' भन्ने लाग्थ्यो उहाँलाई । दिदी रोएकी हुनाले दिदीको माया पनि लाग्थ्यो । मनको एक किसिमको अनौठो अवस्थाको बारे उहाँलाई अहिले पनि सम्झना छ ।       ०००

एसएलसीपछि उहाँले पद्मकन्या क्याम्पसमा पढ्नुभयो । त्यस समयमा सेकेण्ड डिभिजनमा एसएलसी पास भए पनि उहाँले साइन्स पढ्ने अथवा डाक्टर बन्ने भन्ने केही सोच्नुभएन । कारण- उहाँलाई यस विषयमा थाहा नै रहेनछ । एसएलसी पास भएपछि क्याम्पस पढ्ने भन्ने मात्र थाहा रहेछ । उहाँले राजनीतिशास्त्र, अर्थशास्त्र र नेपाली लिएर पढ्नु भयो १५ दिन । 

त्यसपछि अच्युतरमण अधिकारी सरले उहाँका बुबालाई 'छोरीलाई कहाँ राजनीतिशास्त्र पढाउनु कविज्यू ?' भनेको उहाँले कोठामा सुनिरहनुभएको थियो । तर, राजनीतिशास्त्र के हो अनि साहित्य के हो भन्ने नै थाहा थिएन उहाँलाई । राजनीतिशास्त्र १५ दिन पढिसकेपछि मात्र उहाँले त्यसको साटो नेपाली पढ्नुभएको रहेछ । 

अहिले भने उहाँलाई ठिकै लाग्छ किनकि आखिर अर्को विषय पढेर साहित्यमा आउनु भन्दा साहित्यमा नै आउनु रहेछ भने पढेरै आएको राम्रो ।
                                                        ०००
पद्मकन्या क्याम्पसमा पढ्दा एक दिन उहाँ जाँच दिएर घर जाँदै हुनुहुन्थ्यो । वीर अस्पताल पुगेपछि उहाँको टोलको एउटा केटोले 'प्रश्नपत्र निकाल्' भन्यो । उहाँले खुरुक्क निकालेर दिनु पनि भयो । 'केके लेखिस् ?' भनेपछि लेखेको पनि खुरुखुरु बताउनुभयो । 

'तँ त मेरो साली हो' भनेर उसले भन्यो । उहाँकी दिदी र फुपूका छोरीलाई त्यो केटोले एकोहोरो मनपराउँदो रहेछ । त्यस अर्थमा उसले साली भनेको रहेछ । मैले किन दिएको होला त्यसलाई प्रश्नपत्र अनि किन केही नबोलेको होला भन्ने अहिले उहाँलाई लाग्छ ।

उहाँले बीएसम्म पद्मकन्या क्याम्पसमा नै पढ्नुभयो । त्यसपछि भने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा । उहाँहरू साझा बस चढेर जानुहुन्थ्यो कीर्तिपुर । 

बस एकदमै भीड हुन्थ्यो । ७५ पैसा तिरेजस्तो लाग्छ उहाँलाई साझा बसमा । विद्यार्थीको चाप राम्रै थियो त्रिविमा । धेरै चाप भने अर्थशास्त्रमा थियो । नेपालीमा कमै थियो । त्यस बेला ७-८ जना छात्रा थिए होलान् एमए पढ्ने उहाँसँग भन्ने सम्झनुहुन्छ । 
                                                         ०००
उहाँले एमएको थेसिस वानिरा गिरीमाथि लेख्नुभएको हो । त्यस बेला उहाँका गुरु हुनुहुन्थ्यो प्रा.डा. वासुदेव त्रिपाठी । त्रिपाठी सर एकदमै व्यस्त भएकाले हेर्न नै भ्याउनुहुन्नथ्यो । तर, उहाँले भने बुबालाई भनेर भए पनि त्रिपाठी सरलाई नै गुरु थाप्नुभयो । र, त्रिपाठी सरले सिकाएका कारण अनुसन्धानमा लाग्न मद्दत पुगेको पनि उहाँको ठम्याइ छ । 

विद्यार्थीको शुद्धाशुद्धि हेर्नका लागि त्यस बेला त्रिपाठी सरले चेतनाथ गौतम सरलाई अह्राउनुभएको थियो । चेतनाथ सरले उहाँलाई पहिले पनि पद्मकन्यामा पढाउनुभएको हो । 

पछि चेतनाथ सरले 'ल तिमी एकदम राम्रो लेख्दी रहिछ्यौ । अब पढाउनु आउनुपर्छ' भन्नुभयो । तर, उहाँले 'मलाई पढाउन पनि मन लाग्दैन, पढाउने मान्छे पनि मनपर्दैन' भनेर चेतनाथ सरलाई भनेको उहाँ आज पनि सम्झनुहुन्छ । किन त्यस बेला त्यस्तो भनियो होला भन्ने पनि लाग्छ उहाँलाई । 
                                                            ०००
उहाँले एमए पास गरेको १५ दिनपछि बुबालाई 'अब जागिर नखाए म भात पनि खान्नँ' भनेर जिद्दी गर्न थाल्नुभयो । अनि उहाँका बुबाले त्यस बेलाका अर्थमन्त्री यादवप्रसाद पन्त (जो उहाँको बुबाको मामाको छोरा हुनुहुन्थ्यो)लाई 'छोरीले भात नै खान्नँ भन्न थाली, अब जागिर ख्वाउनुपर्‍यो यादव दाजु' भन्नुभयो । 

पन्तले 'भोलि निवेदन लिएर राष्ट्रिय बीमा संस्थानमा जानू' भनेपछि उहाँ निवेदन लिएर बीमा संस्थान जानुभयो । महाप्रबन्धकका निजी सहायक गोविन्द दाइलाई निवेदन छाडेर आएपछि उहाँको जागिर भयो, भोलिपल्टदेखि नै- सहायक प्रबन्धकका रूपमा । 

तर, उहाँलाई सहायक प्रबन्धक के हो भन्ने नै थाहा थिएन । उहाँको कोठामा ५ जना थिए । एक जना पाको उमेरका तुलसी दाइ भन्ने वरिष्ठ सहायक थिए भने अरू सहायकहरू । अरूहरूले बाहिर जानलाई तुलसी दाइलाई सोध्थे । उहाँ पनि तुलसी दाइलाई नै सोध्नुहुन्थ्यो । त्यसले तुलसी दाइलाई भने एकदमै अप्ठ्यारो हुने रहेछ ।

एक दिन एउटा सहायक कर्मचारीले 'तुलसी दाइ त तपाईँभन्दा सानो पदको हो । उहाँले तपाईँलाई सोध्ने हो' भनेपछि बल्ल उहाँले सहायक प्रबन्धक भनेको यस्तो रहेछ भनेर बुझ्नुभएको हो । 

उहाँले बीमा संस्थानमा २ महिना काम गर्नुभयो । त्यस बेला अन्य सरकारी कार्यालयमा अधिकृतको तलब ५०० रुपैयाँ थियो । तर, संस्थानमा भएको हुनाले बीमामा भने ९०० रुपैयाँ थियो । 

उहाँलाई पहिलो तलबले के गरेँ भन्ने त्यति हेक्का छैन । लगेर दराजमा राखेजस्तो लाग्छ उहाँलाई । खास उहाँमा सोख पनि थिएन । खर्च गर्ने ठाउँ पनि खासै थिएन । 
                                                       ०००
जागिर खाएको २ महिनापछि उहाँको विवाह भयो २०४२ सालमा । उहाँलाई पीएचडी गर्ने एकदमै धोको । बुबा त राजी नै हुनुहुन्थ्यो । तर, आमाले अब 'दुलहाको घरमा गएर पढ्' भनेपछि उहाँले विवाह गर्नुभएको हो । 

उहाँका अहिले २ जना छोराहरू हुनुहुन्छ । एक जना अमेरिकामा मास्टर पूरा गरेर काम गर्दै हुनुहुन्छ । अर्को छोरा भने पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बीई सकेर काम गर्दै हुनुहुन्छ । 
                                                          ०००
पद्मकन्या क्याम्पसमा प्राध्यापनरत देवी शर्माले बुबालाई 'अब छोरीलाई संस्थानमा जागिर ख्वाएर हुँदैन, पढाउन पठाइदिनुहोस्' भन्नुभयो । बुबा साहित्यकार भएका नाताले सबैसँग चिनजान थियो । 

त्यस बेला पद्मकन्या क्याम्पसमा २ जना सहायक लेक्चरर मागेको थियो । निवेदन ११ जनाको परेको थियो । उहाँ छनोट हुनुभयो । 

अन्तर्वार्ता कसरी दिने होला, कसरी पढाउने होला भनेर उहाँलाई एकदमै डर लागेको थियो । तर, एक जना अंग्रेजी पढाउने मिस अलिक भ्याङ्ल्याङ भुङलुङ परेर आएको देखेपछि उहाँमा पढाउने आँट आयो । पछि मिल्ने भइसकेपछि उहाँले ती मिसलाई 'तपाईँ त मेरो प्रेरणा हो' पनि भन्नुभयो । 

उहाँ २०४७ सालमा सरकारले सबैलाई स्वतः स्थायी गरेपछि स्थायी हुनुभएको हो । 
                                                             ०००
उहाँले २०२८ सालमा रेडियो नेपालको बाल कार्यक्रममा गएर पहिलो पटक ‘म सामाजको प्राणी हुँ’ भन्ने कविता वाचन गर्नुभएको थियो । 

रेडियोमा कहाँ बसेर मान्छे बोल्छ भन्ने भ्रम पनि त्यसै बेला टुटेको हो । पिंक कलरको फ्रक लगाएर बुबाको हात समातेर गएकी त्यो केटी अहिले पनि उहाँलाई याद आउँछ । र, कहिले काहीँ भेट्न पनि मन लाग्छ । 

घरमा पनि छोरीले रेडियोमा कविता भनेपछि केके न भयो । उहाँलाई पनि केके न भएको जस्तो भयो । तर, उहाँले जानेर साहित्यमा आएको वा रचना प्रकाशन भएको भने २०३७ सालमा हो । 

वाणिज्य बैंकबाट निस्कने 'उपहार' पत्रिकामा ‘उत्कण्ठा एक अपराध’ भन्ने कविता प्रकाशनबाट उहाँको औपचारिक साहित्यिक यात्राको थालनी भएको हो । 

उहाँका बुबा साहित्यकार पोषण पाण्डे । घरमा साहित्यिक वातावरण छँदै थियो । साहित्यकारको आउजाउ भइरहन्थ्यो । उहाँ फेरि बुबाकै वरिपरि झुम्मिरहनुहुन्थ्यो ।

उहाँलाई बुबाको किताब छरिएको अनि घोप्टिएर लेखेको एकदमै सम्झना छ । आमाले 'बुबालाई खान पठाइदे' भन्दा पनि बुबा नजानुभएको एकदम सम्झना छ ।

अनि बुबा खान गएपछि आफूले ती किताब अनि लेखेको हेर्ने र जाँच सकिएपछि ती किताबहरू आफ्नो कोठामा लगेर राख्ने तथा पल्टाएर राख्नेजस्ता बुबाको सिको गर्दागर्दै उहाँको किताब तथा साहित्यप्रतिको एक प्रकारको लगाव रह्यो । 

उहाँले प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन भएको निबन्धसंग्रहमा ‘अरूको लागि साहित्यकार पोषण पाण्डे मेरो लागि जीवन प्रेरणा पुञ्ज’ भन्ने निबन्ध पनि लेख्नुभएको छ । 

मधुपर्कको पोषण पाण्डे विशेषमा ‘जहाँ म छोरी मात्र बाँकी रहन्छु ' भन्ने सम्पादकलाई सम्बोधन गरेर एउटा लेख पनि लेख्नुभएको छ । अहिले उहाँलाई आफू जे छु, त्यो बुबाको परिकल्पनाको अभिव्यक्ति जस्तो लाग्छ । 
                                                          ००० 
उहाँको बुबाप्रतिको प्रेम तथा आसक्ति एकदमै धेरै थियो । एक पटक उहाँ एनडीएसको कार्यक्रममा घरबाट बाहिर जाँदा घरको न्यास्रो लाग्यो । कहिले बाहिर नगएको मान्छे ।अनि, उहाँले बुबालाई अलिक घुर्क्याउने हिसाबले 'मलाई त मर्स्याङ्दीको पुल देख्दा पनि कस्ताे कस्ताेे लाग्छ' भनेर साहित्यिक चिठी लेख्नुभयो । यसले गर्दा 'पढ्न पर्दैन, घर आइज' भन्नुहुन्छ होला भनेर ।

तर, बुबाले उल्टो सम्झाएको उहाँ सम्झनुहुन्छ ।

उहाँले जे जति उपलब्धि हासिल गर्नुभएको छ, त्यो बुबाको कारण प्राप्त भएको जस्तो लाग्छ उहाँलाई । आफ्नो पढाइ, प्राध्यापन, जागिर सबै सबैमा उहाँ बुबाको योगदान देख्नुहुन्छ ।

उहाँले पीएचडी भने ‘विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा अस्तित्ववाद’मा गर्नुभएको हो । त्यसको किताब पनि प्रकाशन भएको छ ।

उहाँलाई एमए पढ्दा अस्तित्ववाद एकदमै मनपर्ने विषय । यसमै पीएचडी गर्छु भन्ने लागेको थियो । पहिले नेपाली साहित्यमा अस्तित्ववाद भनेर पीएचडी गर्ने मन थियो उहाँलाई ।

पीएचडीको विषय पनि उहाँलाई बुबाले नै छानिदिनुभएको । 'पीएचडी गर्' भनेर कराउने पनि बुबा नै हो । तर, दुर्भाग्य, उहाँले पीएचडी गरेको भने बुबाले देख्न पाउनुभएन । त्यो भने उहाँलाई एकदमै दुखद् लाग्छ । 
                                                          ०००
महेन्द्र विद्याभूषण, सेनध्वज-नन्दकुमारी विद्वतवृत्ति, विनय रावल पुरस्कार, जगर्ता घले साहित्यिक पुरस्कार, नरेन्द्र चापागाईँ स्मृति सम्मान, बीपी अध्ययन सम्मान, अक्षरमार्ग सम्मान, डा. हर्षबहादुर बुढा मगर सम्मान, दीप-गोविन्द स्मृति सम्मान आदि उहाँले प्राप्त गर्नुभएका केही सम्मान तथा पुरस्कार हुन् ।                  
                                                           ०००
उहाँले अस्तित्ववादको अध्ययन नगरेसम्म उहाँले बीपीलाई त्यसरी चिन्नुभएकै थिएन । अक्षरको माध्यमबाट उहाँले बीपीलाई चिन्नुभयो ।

उहाँका रचना २०३६ सालदेखि प्रकाशन हुन थालेका हुन् । ‘विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा अस्तित्ववाद’ उहाँको पहिलो प्रकाशित कृति हो ।

समालोचनामा भने २०४६ सालदेखि लाग्नुभएको हो । पढाउने हुनाले कृति प्रकाशन अथवा सिर्जना भन्दा पनि समालोचनामा धेरै लाग्नुपर्ने हुनाले कृति प्रकाशनमा त्यति लाग्न नपाएकामा उहाँलाई अलिक दुःख पनि लागेको छ ।

‘वानिरा गिरीको निर्बन्ध उपन्यास: एक अध्ययन’बाट उहाँ समालोचनाको क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

प्राध्यापक हुनका लागि अनुसन्धानात्मक लेख तथा कृतिहरू जरुरी छ । त्यस कारण पनि समालोचनामा लाग्नुपरेको हो उहाँलाई ।

वानिरा गिरीमाथिको थेसिस लेखेर धेरैले पीएचडी गरे । साहित्यकार पनि बने । वानिरा गिरीले नेपाली साहित्यलाई कति योगदान पुर्‍याउनुभएको छ त्यो सबैलाई थाहा छ । 
तर, समालोचनात्मक आलेखहरू नभएका कारण उहाँ प्राध्यापक हुन सक्नुभएन । ध्रुवचन्द्र गौतमको स्थिति पनि त्यही रह्यो ।

‘नेपाली उपन्यासमा लैंगिकता’ भन्ने उहाँको अर्को कृति हो । ‘विकीर्ण अनुशीलन’ उहाँको अर्को पुस्तक हो । नेपाली नारी कथाकारहरू भन्ने अर्को पुस्तक पनि छ उहाँको ।

उहाँले हिमालय टाइम्समा श्रमजीवी पत्रकार भएर पनि ५ वर्ष काम गर्नुभयो । उहाँले स्तम्भकारका रूपमा कान्तिपुरमा झण्डै १० वर्ष काम गर्नुभयो । 
                                                      ०००
उहाँले पद्मावती सिंहको संयोजकत्वमा रहेको 'गुञ्जन' नामक संस्थाको संस्थापक सदस्य, ७ वर्ष संचारिका समूहको उपाध्यक्षको रूपमा पनि काम गर्नुभयो ।

लैगिंक समानताको पक्षमा काम गर्दै गर्दा उहाँको परिचय नारीवादीका रूपमा पनि देखिने गरेको छ । तर, उहाँ आफूलाई नारीवादी भन्दा समानतावादी वा समतावादी भन्न रुचाउनुहुन्छ ।

नारीको समस्यामाथि काम गर्दै गर्दा पुरुषको समस्या आफसेआफ उजागर हुन्छ र पुरुषले नारीमाथि गर्ने हिंसामा पनि कारण खोतल्दै जाँदा समाजले पुरुषमाथि थोपरेको अनावश्यक बोझ कारणको रूपमा देखापर्ने उहाँको ठम्याइ छ ।

जन्मेदेखि मृत्यु पर्यन्त विभिन्न नाम र सम्बन्धबाट सँगै जेलिएर रहेको नारी र पुरुषको सम्बन्धमा एउटाको मात्र विषय सम्बोधन गर्दा कहिले पनि समस्या समाधान नहुने उहाँको बुझाइ छ । त्यस कारण पनि उहाँ साझा समस्या तथा समतामाथि जोड दिइरहनुभएको छ ।