अनि उनी निःशब्द भइन्

अनि उनी निःशब्द भइन्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

काठमाडौं । त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । 

त्यसपछि के-के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक साउदी अरब पुगेको १६ महिना मात्रै भएको थियो । घरको खबर सुनेलगत्तै उनले आपतकालीन बिदा मागे र आफ्नै खर्चमा टिकट काटेर वैशाख दोस्रो साता काठमाडौं आइपुगे ।

घटना केही साता पुरानो थियो, घाउ भने आलै । शुक्रबार उनी श्रीमती, ७ वर्षकी छोरी र सानो छोरा लिएर सिनामंगलको एक अस्पताल जाँदै थिए । निन्याउरो अनुहार लगाइरहेकी छोरी संवाददातालाई देख्नेबित्तिकै आमाको छेउमा लुटपुटिइन् । छेवैको रेस्टुरेन्टमा आमाछोरीलाई अलि परै राखेर घटनाक्रमबारे जान्न खोज्दा उनले भने, 'श्रीमतीले छोरी बलात्कृत भएको खबर सुनाएपछि मेरो हंसले ठाउँ छोड्यो । मनै अडिएन, तत्कालै फर्किहालें ।' यो समाचार आजको कान्‍तिपुर दैनिकमा छ ।