भारतसँगको सिमानामा चीनले तैनाथ गर्‍यो क्रुज मिसाइल जडित बमबर्षक हतियार

भारतसँगको सिमानामा चीनले तैनाथ गर्‍यो क्रुज मिसाइल जडित बमबर्षक हतियार

एजेन्सी  |  विदेश  |  मंसिर ५, २०७८

चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनाव बढिरहेका बेला चीनको हवाई फौजले २ देशलाई छुट्याउने लाइन अफ कन्ट्रोलमा एच- ६के बम्बर तैनाथ गरेको हो । एच- ६के बम्बर पहाडहरूमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ संचार माध्यमहरूले सार्वजनिक गरेका छन् ।

चीनले यसअघि बम्बरहरूलाई सान्सी प्रान्तमा राखेकाामा पछिल्लो समय भारतसँगको विवाद बढेसँगै सिन्जियाङ नजिकको कासगरमा तैनाथ गरेकाे छ । तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थिएटर कमान्ड पर्छ ।

एच- ६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले अत्याधुनिक हतियार तैनाथ गरेको हो ।

विदेशमन्त्री जयशंकरले यसअघि २ देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रूपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए । गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा ४ जना चिनियाँ सेना पनि मारिएका थिए ।

सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्बीरमा चीनले भारत र भुटानको सीमा नजिकै १०० वर्ग किलोमिटर क्षेत्रमा नयाँ घरहरू बनाएको देखिएको थियो । सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमनेसामने भएको क्षेत्र दोक्लाम नजिक पर्छ ।