प्रधानन्यायाधीश जबराका ३ मुख्य बिचौलियाः ‘घुस’ उठाउन पर्दाभित्रबाट परिचालित पात्रहरूको कुण्डली

लोकसंवाद विशेष

प्रधानन्यायाधीश जबराका ३ मुख्य बिचौलियाः ‘घुस’ उठाउन पर्दाभित्रबाट परिचालित पात्रहरूको कुण्डली

माधव बस्नेत  |  समाचार  |  मंसिर ५, २०७८

ओखलढुंगाका किसान क्षेत्री २०७३ सालमा ७ लाख रुपैयाँ ठगी काण्डमा मुछिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर ठगी मुद्दा चलायो । उनीविरुद्धको मुद्दा यतिबेला अदालतमा बिचाराधीन छ । क्षेत्रीकै शब्दमा मुद्दाबाट सफाइ पाउन उनले आफूलाई अभियोग लागेको भन्दा बढी खर्च गरिसके तर मुद्दा किनारा लागिसकेको छैन । 

क्यासिनोभित्र जुवा खेल्न रकम चलाइदिएर एवं मिटर ब्याजमा पैसा लगाएर ‘धनाढ्य’ बनेका बलराम सापकोटासँग क्षेत्रीको भेट भयो, जो अपराध धन्दामा ‘बले’का नामले परिचित छन् । संगत बाक्लिँदै जाँदा बलेले क्षेत्रीलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभुशम्शेरसँग आफ्नो गहिरो हिमचिम रहेको र ‘सेटिङ’मा मुद्दा जिताउन सकिने लोभ देखाए ।

क्षेत्रीले बलेको आयको पछिल्लो स्रोत मुद्दामा सेटिङ हो भन्ने जानकारी पनि पाए । अपराधबाट आर्जित रकमले बलेले झापामा मेची क्राउन होटलसमेत खोलेका छन् ।

ठगी मुद्दाको गलपासो खेपिरहेका क्षेत्रीलार्ई केही महिनाअघि बलेले दरबारमार्गमा पुर्‍याएर प्रभुशम्शेरसँग भेट गराए । क्षेत्रीका अनुसार कुराकानीका क्रममा उनलाई प्रभुशम्शेरले मुद्दा जिताउन सकिने तर त्यसका लागि एक करोड रुपैयाँ दिनुपर्ने शर्त राखे । ‘प्रभुशम्शेरको कुरा सुनेर म त ट्वाँ परेँ । त्यही ढलौँला जस्तो भयो’, उनी भन्छन्, ‘परिबन्दमा परेर ममाथि ७ लाखको ठगी मुद्दा लगाइएको थियो । मुद्दा लड्दा त्यसभन्दा बढी खर्च भइसक्यो । प्रधानन्यायाधीशका भाइ प्रभुशम्शेरले मुद्दा जिताउन एक करोड माग गरेपछि न्यायालय कति भ्रष्ट रहेछ भनेर छक्क परिरहेको छु ।’

कानुन व्यवसायीहरूका अनुसार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभुशम्शेर पछिल्लो समय न्यायालयका सबैभन्दा ठूला बिचौलिया हुन् । उनले हाताहाती आर्थिक उपार्जनका काममा त ‘सेटिङ’ गरिरहेका छन् नै, राजनीतिक ‘सेटिङ’ पनि उत्तिकै मिलाउने गरेका छन् ताकि त्यसबाट पनि अन्त्यमा आर्थिक लाभ नै लिन सकियोस् । जस्तो कि प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको तेस्रो दिन तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट गरेका थिए । गोप्य रूपमा भएको उक्त भेटको चाँजो उनै प्रभु शम्शेरले मिलाएको स्रोतको भनाइ छ ।

यी २ प्रतिनिधि घटनाले खुलाउँछन्, प्रभुशम्शेर कुन तहका बिचौलिया हुन् भनेर । जन्मथलो काठमाडौं कालिकास्थान नै भए पनि चोलेन्द्रशम्शेर जबराहरू पुख्र्यौली सम्पति त्यति धेरै भएका परिवार होइनन् । तर, अहिले उनीहरूको सम्पत्ति देख्ने/जान्नेहरू जिब्रो टोक्छन् । दाजुमार्फत हुने फैसलामा सेटिङ मिलाएबापत प्रभुशम्शेर अर्बपति भएका छन् यसबेला । जबराले गर्ने अपवादबाहेकका फैसलामा आर्थिक चलखेल हुने गरेको ‘ओपन सेक्रेट’ भइसकेको छ ।

प्रधानन्यायाधीश जबरा मुद्दाबाट कसरी आर्थिक लाभ लिन्थे भन्ने बुझ्न एकछिन विगततिर फर्कौं । जबरा १३ माघ २०६२ मा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ गर्ने विशेष अदालतको सदस्यमा पदस्थापन भएका थिए । उनी त्यस जिम्मेवारीमा २०६५ भदौ अन्तिम सातासम्म रहे । त्यस बेला विशेष अदालतको अध्यक्षको जिम्मेवारीमा भूपध्वज अधिकारी र अर्का सदस्य कोमलनाथ शर्मा थिए ।

त्यस समयमा विशेष अदालतका परेका ३६ वटा भ्रष्टाचारका मुद्दामा उनीहरूले ३५ वटामा सफाइ दिए । जबराहरूले गर्ने हेलचेक्र्याइँको हद कतिसम्म थियो भने भ्रष्टाचारका मुद्दामा विषयवस्तुमा प्रवेशसमेत नगरी हदम्यादको कारण देखाउँदै सफाइ दिएका थिए ।

जबरा ७ असोज २०६५ मा तत्कालीन पुनरावेदन अदालत दिपालयको न्यायाधीशमा हाजिर भएका थिए । उनी विशेष अदालतबाट सरुवा भएर दिपायलमा हाजिर भएको एक महिना बित्न नपाउँदै २४ कात्तिक २०६५ मा उनकी श्रीमती रेजी क्षेत्री जबराले काठमाडौं- ३० ठमेलमा २ वटा घडेरी र त्यसमा बनाएका घर २ करोड ४० लाख रुपैयाँमा खरिद गरिन्, जुन घरलाई यस बेला रेजीले ४० करोड रुपैयाँमा बेच्ने तयारी गरिरहेकी छन् ।

खुट्याउन कठिन छैन, भ्रष्टाचार मुद्दामा सफाइ दिएबापत ‘श्रीमान्’ जबराले आर्जन गरेको रकमबाट श्रीमतीले उक्त घर जग्गा खरिद गरेकी थिइन् । स्रोतका अनुसार प्रभुशम्शेरले दाजु सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीश हुँदा मात्र होइन, विशेष अदालतको सदस्य हुँदासमेत घुसमा ‘सेटिङ र बार्गेनिङ’ गर्ने गरेका थिए । पछिल्लो समय त्यसमा बढोत्तरी भएको मात्र हो ।

‘चोलेन्द्रशम्शेर जबरा र राजनीतिक नेताहरूको सम्बन्ध मजबुत बनाइदिने, सुरक्षा दिने काम पनि बिचौलियाले नै गरिरहेका छन्’, अधिवक्ता अर्याल भन्छन्, ‘अहिलेको अर्थ-राजनीतिक व्यवस्थाले नै बिचौलिया जन्माइरहेको छ । त्यसैको उपज चोलेन्द्रले बिचौलिया परिचालित गरेका र उनीहरूबाट घेरिएका हुन् ।’

‘सर्वोच्च अदालतमा सूचना प्रविधि जडान तथा यान्त्रीकरणका प्रयासमा छोटो समयमा निकै राम्रा काम भए । यो यान्त्रीकरण सम्बन्धमा हामीलाई जानकारी गराउने मुख्य व्यक्ति दीपक तिमिल्सिना हुनुहुन्थ्यो । उहाँकै प्राविधिक ज्ञान र सक्रियतामा सर्वोच्च अदालतमा लिगल इन्फर्मेसन सेन्टर, डाटा सेन्टर सर्भर, डिजास्टर रिकभरी सिस्टम, लोकल एरिया नेटवर्किङ, इन्टरनेट सेवाको स्थापना, अदालतका न्यायाधीश एवं कर्मचारीलाई कम्प्युटर र सूचना प्रविधिसम्बन्धी ज्ञान दिन संभव भएको थियो । ... न्यायपालिकामा सूचना प्रविधिको जग हाली मैले भनेकै समयभित्र उल्लिखित काम सम्पन्न गर्ने कार्यमा दीपक तिमिल्सिनाले निकै मिहिनेत गर्नुभएको थियो ।’ (रायमाझी मीनबहादुर, ‘न्यायपालिकामा चार दशकः मेरा सम्झना’, प्रकाशक: सांग्रिला पुस्तक प्रा.लि., संस्करण: पहिलो २०७७ असोज, पृष्ठ ३४९-५०) 

‘मैले सर्वोच्च अदालतको ‘डिजिटाइजेसन’ र अदालती कामकारबाहीलाई आईटीमा अभ्यस्त बनाउने काम गरेँ । म आईटीविज्ञ वा जानकार केही पनि थिइनँ । धेरै कुरा आईटी प्रोफेसनल दीपक तिमल्सेनाबाट सिँके । उनी मभन्दा झण्डै आधा कम उमेरका । तर, सूचना प्रविधिमा बेग्लै दखल थियो । म अन्योलमा परेको देखेर उनी भन्थे- ‘लगातार गरेपछि टेक्नोलोजी सहज हुन्छ, हामीले यसलाई ‘वान क्लिक अवे’मा लैजानुपर्छ । लागेर गरौँ, गर्न सकिन्छ । यो असाध्यै केही पनि छैन ।’ सर्वोच्चलाई प्रविधिमैत्री बनाउने र ‘डिजिटलाइज्ड’ गर्ने मेरो अवधारणालाई सार्थक दीपकले पारिदिए ।’ (तिमल्सेना डा. रामकृष्ण, ‘अदालतभित्र, अदालतबाहिर’, प्रकाशक: घोस्ट राइटिङ नेपाल, प्रथम संस्करण: २०७५, पृष्ठः २६५)

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी र पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेना (विद्यावारिधि)बाट यतिको प्रशंसा पाएका दीपक तिमल्सेना पछिल्ला दिनमा पनि न्यायालय प्रमुखका लागि सेटिङ मिलाइदिने उपल्लो बिचौलिया हुन् । त्यसैको परिणाम उनी झण्डै मन्त्री भए ।

जानकारका अनुसार सुरुमा प्रधानन्यायाधीश जबराले उनै तिमल्सेनालाई मन्त्रीमा सिफारिस गरेका थिए । तर, सत्ता गठबन्धनमा आवद्ध शीर्ष ‘सिण्डिकेट’ले राजनीतिक कलेवर नभएका तिमल्सेनालाई मन्त्री बनाउन नसकिने सुझाएपछि मात्र जबराले जेठु गजेन्द्र हमालको नाम प्रस्ताव गरेका थिए । यसैबाट पनि अनुमान गर्न सकिन्छ, तिमल्सेनाले जबराका लागि कति सेटिङ मिलाएका होलान् ? 

‘अदालतमा क्रान्ति गर्न घातक नजिरको सुरुवात, राणाभन्दा बढी खतरा भावी प्रधानन्यायाधीशमाथि’

भनिन्छ, अदालत क्रान्ति गर्ने ठाउँ होइन । बन्द, बहिस्कार र हडताल गर्ने थलो त झनै होइन । तर, यहाँ जे नहुनु थियो, त्यही भइरहेको छ ।

बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि तथानाम आरोप लगाइएका छन् । तिनै आरोपलाई लिएर राणाले तत्काल पद छाड्नुपर्ने माग उठाइएको छ । यही माग लिएर नेपाल बार एसोसिएसनभन्दा एक कदम अगाडि बढेर न्यायाधीशहरू समूह बनाएर राणालाई दबाब दिइरहेका छन् । आरोपकर्ताहरूले आरोपका पछाडि कुनै तथ्य वा प्रमाण देखाउन सकेका छैनन् । मनोगत, अमूर्त र होलसेलमा आरोप लगाएर त्यसैलाई फैसला सरह भट्याउँदै राणामाथि जोरजुलुम गरिएको छ ।’

पत्रकारको आवरणमा रहेका नारायणप्रसाद दाहालले वर्णनमिडियाडटकममा गत ३ मंसिरमा लेखेको टिप्पणी हो यो । त्यसको भोलिपल्ट अर्थात् हिजो ४ मंसिरमा दाहालले अर्को टिप्पणी लेखे, ‘अब न्याय नै गोलाबाट दिने कि श्रीमान् ? प्रधानन्यायाधीशले पेसी तोक्न नपाउने, प्रधानन्यायाधीशले फुल कोर्ट बोलाउने तर बस्न नपाउने, उनैले सही गर्नुपर्ने तर बोल्न नपाउने । यो कस्तो प्रणाली स्थापित गरिँदै ?’

उल्लेख भइसक्यो, दाहाल आवरणमा पत्रकार हुन् । तर, जानकारहरू के दाबी गर्छन् भने, त्यो उनको देखाउने दाँत मात्र हो । उनको असलियत धन्दा न्यायालयमा ठूल्ठूला ‘सेटिङ’ मिलाउनु हो । पछिल्लो समयमा दाहालले प्रधानन्यायाधीश जबरासँग मिलेर त्यस्ता सेटिङ मिलाइरहेका छन् । कतिसम्म भने, लोकसंवादडटकमले सम्पर्क गरेका ३ जना कानुन व्यवसायीहरूले दाहाल आफ्नो पनि बिचौलिया भएको बताएका छन् ।

जबरासँग दाहालको घनिष्ठता पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले गाँसिदिएका थिए । दाहाल कसरी जबराका पक्षमा सेटिङ मिलाउने न्यायलयको बिचौलिया बन्न पुगे त ? एकछिन त्यो तथ्य चित्र नियालौँ ।

दाहाललाई न्यायालयमा बिचौलियाका रूपमा उभ्याउने कार्यको श्रीगणेश पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले गरेका हुन् । शर्मा तत्कालीन पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश थिए । उनी आवरणमा ठूला धर्मभिरु देखिन्थे । एक दिन शर्मा हलेसी महादेवको आराधना गर्न खोटाङ पुगेका थिए । आराधना सकेर राती भजन-कीर्तन गर्ने क्रममा शर्मा र दाहालको चिनापर्ची भयो । त्यो चिनापर्ची छिट्टै घनिष्ठतामा बदलियो ।

यसपछि शर्माले दाहाललाई विराटनगर नै बोलाएर पूजापाठमा सहभागी गराए । मुख्य न्यायाधीशसँग दाहालको घनिष्ठता देखेपछि मुद्दासँग सरोकार राख्नेहरूको भीड उनीसँग लाग्न थाल्यो । अनि, दाहालले मुख्य न्यायाधीश शर्माको सम्पर्क-सेतुका हैसियतमा बिचौलियाको काम अघि बढाए । मुख्य न्यायाधीश शर्मा र बिचौलिया दाहालको सेटिङले फैसलामा गडबडी भएको प्रस्टै देखिन थाल्यो । यसपछि विराटनगरस्थित नेपाल बार एसोसिएसनले खुला रूपमै विरोध जनायो । 

बारले विरोध जनाएपछि शर्मा र दाहालले उपाय निकाले, पत्रकारको आवरण खडा गर्ने । स्रोतका अनुसार मुख्य न्यायाधीश शर्माकै सल्लाहमा दाहालले ‘वर्णन’ साप्ताहिक दर्ता गरेर सम्पादक भए । अनि, सूचना तथा प्रसारण विभागको परिचयपत्र बनाए । यो साप्ताहिक केही अंक प्रकाशन पनि भयो, जसलाई यस बेला दाहालले अनलाइन पोर्टलमा रूपान्तरण गरेका छन् ।

शर्मा विराटनगरबाट तत्कालीन पुनरावेदन अदालत बुटवलको मुख्य न्यायाधीशमा सरुवा भए । उनले दाहाललाई त्यहीँ लगे ।  बुटवलपछि महेन्द्रनगर र पोखराको मुख्य न्यायाधीश हुँदा पनि शर्माले बिचौलिया दाहाललाई तत्तत् स्थानमै लगेर ‘सेटिङ’को जिम्मेवारी सुम्पिएका एक जना वरिष्ठ अधिवक्ता बताउँछन् ।

शर्मा सर्वोच्च अदालतको न्यायाधीश बनेपछि दाहाल पनि सँगै राम शाह पथमा छिरे । २०७० चैतमा शर्मालाई कायममुकायम प्रधानन्यायाधीशको काकताली जुर्‍यो । न्यायालयभित्र एकदमै सक्षम कहलिएका प्रकाश वस्ती, जो प्रधानन्यायाधीशको रोलक्रममा थिए, तर्कराज भट्टलगायतलाई घर जान बाध्य पारेर प्रधानन्यायाधीश शर्माले २०७१ वैशाखमा गोपाल पराजुली, दीपककुमार जोशी, चोलेन्द्रशम्शेर जबरा जस्ता विवादास्पद पात्रहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरे । यो ‘सेटिङ’सँगै अदालतलाई बिचौलियाको अखडा बनाउने क्रम ह्वात्तै बढ्यो । 

शर्मा हुँदै दाहालको हेलमेल विवादास्पद न्यायाधीश पराजुली, जोशी, जबरालगायतसँग पनि सर्‍यो । दुवै पक्षको स्वार्थ मिलेपछि बिचौलिया धन्दाको रजगज अझ फस्टाउने नै भयो ।  

२७ असार २०७५ मा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश जोशीकी छोरी प्रीता र अभयजंग थापाबीच दरबारमार्गस्थित होटल अन्नपूर्णमा स्वयंवर हुँदै थियो । सेटिङका अगुवा दाहाल पाहुनाहरूको स्वागतमा मात्र होइन, व्यवस्थापनमा समेत परिचालित थिए । न्यायाधीशहरू, प्रधानन्यायाधीशसँग दाहालको सम्बन्ध कतिसम्म प्रगाढ छ भन्ने एउटा सानो दृष्टान्त मात्र थियो त्यो घटना । यस बेलाका प्रधानन्यायाधीश जबरालगायत अरू थुप्रै न्यायाधीशहरूसँग दाहालको सम्बन्धको लगनगाँठो निकै कसिलो छ । त्यसैले नै उनी जबराको अघिल्लो पंक्तिको बिचौलियामा दरिएका हुन् ।

यद्यपि, दाहाल प्रधानन्यायाधीश जबरालगायत कुनै पनि न्यायाधीशहरूसँग अहिले आफ्नो राम्रो सम्बन्ध नभएको जिकिर गर्छन् । ‘अहिले मेरो कसैसँग राम्रो सम्बन्ध छैन । पहिले-पहिले दामोदरकोमा लगिदिएको हो । तर, मेरो केही राम्रो सम्बन्ध छैन । मेरो आफ्नै झगडा परिरहेको छ । के राम्रो सम्बन्ध हुनु ? पदमा नपुग्दा राम्रै हो’, दाहाल भन्छन्, ‘अहिले मैले खाली के जोड्न खोजेको हो भने, सडकबाट यसरी हटाउन मिल्दैन भन्ने मात्र मेरो कुरा हो । राम्रो थियो, राम्रो थिएन भन्दिनँ । तर, केही गरेन । अहिले मेरो फोन सम्पर्कै केही छैन नि !’

‘त्यसो भए तपाईं न्यायालयको ठूलो बिचौलिया हो भन्ने आरोप किन लागिरहेको छ त ?’

दाहालको जबाफ छ, ‘आरोप आए ठिकै छ नि ! के फरक पर्‍यो र ? दाउदसँग राम्रो छ भने पो सीआईबी (केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो)ले खोज्छ कि भनेर डराउनुपर्‍यो । प्रधानन्यायाधीशसँग राम्रो छ भने त डराउनुपर्ने के छ र ? मेरो साथी नै हो पहिला । बाबा (दामोदारप्रसाद)कोमा लगिदिएको हो । भेट्टाइदिएको हो । साथी हो । सहयोग गरेको हो । त्यसपछि मैले उसको एक रुपैयाँको चिया खाएको पनि छैन । क्वार्टरमा गएको पनि छैन । अब रिटायर्ड भएपछि आउँला । त्यसपछि फेरि भेटौँला भनेर बसिरहेको छु ।’

जानकारका भनाइमा रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश हुँदा दाहाललाई सर्वोच्च अदालतको प्रवेशमा रोक लगाएका थिए । सर्वोच्चको द्वारमा रहेका सुरक्षा पहरेदारलाई दाहालको तस्बीर र नाम नै दिएर उनलाई सर्वोच्च न्यायालय प्रवेशमा रोक लगाइएको थियो । २३ वैशाख २०६८ मा श्रेष्ठ निवृत्त भएसँगै दाहालका लागि पुनः सर्वोच्चका सबै ढोका खुलाइयो । १ चैत २०६९ मा खिलराज रेग्मी न्यायपालिकाबाट कार्यपालिकाको नेतृत्व गर्न गएपछि त दाहालका संरक्षक दामोदरप्रसाद शर्मा नै सर्वोच्च अदालतको सर्वेसर्वा भए । 

यही बेला दाहाल शर्माको बिचौलिया भएर तत्कालीन न्यायाधीश प्रकाश वस्तीकहाँ पुगेका थिए । त्यस बेला वस्ती घर जाने वा न्यायालयमै बस्ने भन्ने दोबाटोमा उभ्याइएका थिए । एक न्यायाधीशसहित दाहाल त्यस बेला आफूकहाँ आएर प्रधानन्यायाधीश बन्ने हो भने बाबा (दामोदरप्रसाद शर्मा)लाई पैसा बुझाउनुपर्ने शर्त राखेका गत वर्षको कात्तिकमा राष्ट्रिय मानवअधिकार आयोगको कार्यकक्षमा वस्तीले यस प्रतिनिधिलाई बताएका थिए ।

‘बिचौलियाहरूबाट यस्तो प्रस्ताव सुनेपछि मैले ठाडै अस्वीकार गरेर उनीहरूलाई पठाएको थिएँ’, वस्तीको भनाइ थियो, ‘न्यायालयमा दाहाल र उनी जस्ता बिचौलिया थुप्रै छन् । त्यसैले नै न्यायालय दयनीय अवस्थामा पुगेको हो ।’

न्यायालयलाई नजिकबाट अध्ययन गरिरहेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसचिव एवं तत्कालीन पुनरावेदन अदालतका पूर्वरजिष्ट्रार वरिष्ठ अधिवक्ता शंकरकुमार श्रेष्ठ (विद्यावारिधि) न्यायाधीश र कानुन व्यवसायीहरूले स्वतन्त्र बौद्धिक हैसियत गुमाएकाले बिचौलियाहरू बढेका बताउँछन् । ‘न्यायाधीश र कानुन व्यवसायीहरूले निष्ठा गुमाएपछि छिद्रबाट बिचौलिया छिरेका हुन्’, श्रेष्ठ भन्छन्, ‘आफ्नो तालाचाबी बलियो बाँध्नू, अरूलाई दोष नदिनू भन्ने उखान जस्तै न्यायाधीश र कानुन व्यवसायीहरू निष्ठामा बसेका भए बिचौलियाहरूले रजगज गर्न पाउने थिएनन् । न्यायाधीश र कानुन व्यवसायीहरूकै कारण बिचौलिया राज बढेको हो ।’

वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल न्यायाधीशहरू न्यायाधीशको कर्म र मर्मबाट गिरेर ‘न्याय इस्’ भएकाले बिचौलियाहरू हावी भएका बताउँछन् । ‘अहिले धेरैजसो न्यायाधीश न्यायाधीशको निष्ठामा छैनन् । निष्ठाबाट गिरेर न्याय इस् भएका छन् । त्यसैले उनीहरूलाई बिचौलियाले फनफनी घुमाइरहेका छन्’, अर्यालको कथन छ, ‘अहिले न्यायालयमा चोलेन्द्रशम्शेर कम्पनी एण्ड प्रवृत्ति न्याय इस् हुन् । त्यसैले उनी निश्चित बिचौलियाबाट चलेका छन् ।’

अधिवक्ता ओमप्रकाश अर्यालका शब्दमा न्यायाधीश, नेता र व्यापारीबीचको सम्बन्ध, एकअर्काको आवश्यकता र अन्तरनिर्भरताले बिचौलिया जन्माउँछ । बिचौलियाको सम्बन्ध त्रिकोणात्मक हुन्छ । खाली न्यायाधीश र झगडिया मात्र हुँदैन । बिचौलियाहरूले नेताहरूसँग पनि उत्तिकै प्रगाढ सम्बन्ध बनाइरहेका हुन्छन् । उनीहरू सबैको वर्गीय स्वार्थ मिल्छ । 

‘चोलेन्द्रशम्शेर जबरा र राजनीतिक नेताहरूको सम्बन्ध मजबुत बनाइदिने, सुरक्षा दिने काम पनि बिचौलियाले नै गरिरहेका छन्’, अधिवक्ता अर्याल भन्छन्, ‘अहिलेको अर्थ-राजनीतिक व्यवस्थाले नै बिचौलिया जन्माइरहेको छ । त्यसैको उपज चोलेन्द्रले बिचौलिया परिचालित गरेका र उनीहरूबाट घेरिएका हुन् ।’