भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सर्‍यो, कोरम नपुगेपछि बैठक स्थगित

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सर्‍यो, कोरम नपुगेपछि बैठक स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ५, २०७८

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज बिहान ११ बजे बैठक बोलाएको थियो । तर, सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो ।

बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक स्थगित गरेर सुनुवाइ १७ मंसिरलाई सारिएको उनले बताए ।

१५ सदस्यीय समितिमा ४ जना मन्त्री हुँदा ११ जना बाँकी छन् । ११ मध्ये बहुमत पुग्न ६ जना आवश्यक रहेकामा ५ जना मात्र उपस्थित भएका थिए । एमालेबाट सुरेन्द्र पाण्डे, नीरुदेवी पाल, माओवादी केन्द्रबाट अमृता थापा, देव गुरुङ र लोसपाबाट सभापति कर्ण उपस्थित थिए । अन्य सदस्यहरू पार्टीको महाधिवेशन चलिरहेकाले आउन नसकेको बताइएको छ ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नेपाली राजदूतमा सिफारिस गरेको छ । प्रस्तावित राजदूतहरू सुनुवाइका लागि तयारी गरेर बैठकमा आएका थिए ।