एकीकृत समाजवादी सिन्धुपाल्चोकमा नवराज पौडेलको अध्यक्षतामा १५१ सदस्य जिल्ला कमिटी

एकीकृत समाजवादी सिन्धुपाल्चोकमा नवराज पौडेलको अध्यक्षतामा १५१ सदस्य जिल्ला कमिटी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ५, २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको जिल्ला कमिटी बिस्तार तथा शपथ ग्रहण भएको छ । सदरमुकाम बाह्रबिसेमा भएको एक कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष साबित्रा भुसालले शपथ गराएकी हुन् । 

जिल्ला कमिटी बिस्तार कार्यक्रमलाई सम्बोधन गर्ने नेता भुसालले भनिन्, ‘एमाले अध्यक्ष केपी ओली मार्क्सवादी लेनिनवादी सिद्धान्त विपरीत गएकाले विद्रोह गरी नेकपा एकीकृत समाजवादी बनाउन परेको हो ।’ उनले भनिन्, ‘ओलीमा विकास भएको व्यक्तिवादी चरित्रका कारण हामीले विद्रोह गरेका हौँ ।’ 

कार्यक्रमको प्रमुख अतिथि रहेकी भुसालले भेलालाई सम्बोधन गर्दे भनिन्, ‘कम्युनिस्ट पार्टीका नाममा पार्टीको घोषणापत्र विपरित ओली हिँडदा आजको परिणाम आएको हो । कम्युनिस्ट पार्टीको अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनले आरोप लगाइन् । जनताका जनजीविकामा ध्यान दिनका सट्टा हँस्यौली र ठट्यौली भन्दै ओलीले सरकारी सम्पत्तिको सकाएको उनले बताइन् । 

भेलाले नवराज पौडेलको अध्यक्षतामा १५१ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्ष रामजी थापा, सचिव विनोद खनाल, सहसचिव ढिपी थापा, अनिता लामा, कुमार थकाली चयन गर्‍यो । 
भेलालाई पार्टी केन्द्रीय सदस्य नमिचा भट्टराई, सोम सापकोटा, गम्भिरलाल श्रेष्ठ, सिंह बहादुर बिक, भागवती नेपाल लगायतले सम्बोधन गरेका थिए । सोही भेलामा विभिन्न पार्टी परित्याग गरी २५ जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नवप्रवेशलाई प्रमुख अतिथि भुसालले अबिर लगाएर स्वागत गरिन ।