प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा दाजु गुरुङको ‘लाई–सी’ सार्वजनिक

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा दाजु गुरुङको ‘लाई–सी’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ६, २०७८

 काठमाडौँ । हङकङलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका सङ्खुवासभा, खाँदवारिका दाजु गुरुङ 'उपेन्द्रबहादुर कोरङ्गी' ‘लाई–सी’ नामक दोस्रो कथा कृति लिएर आएका छन् ।

कथाकार गुरुङको उक्त कथा कृति ‘लाई–सी’ शनिवार बत्तीसपुतलीस्थित होटेल तपसमा सभ्यता अनुसन्धान केन्द्रद्वारा आयोजित समारोहमा साहित्यकार तथा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक गरे ।

कथाकार गुरुङको ‘लाई–सी’ कथा कृति सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघि गुरुङको पहिलो कथा कृति ‘टाँकीका फूलहरू’ले आफूलाई अत्यन्त ठुलो प्रभाव पारेको उल्लेख गर्दै दोस्रो कृतिका रूपमा आएको ‘लाई–सी’ कथा कृतिले थप मोहित तुल्याएको बताए । उनले भने– 'दाजुको पहिलो कथा कृति 'टाँकीका फूलहरू' पढेपछिमात्रै ‘लाई–सी’ पढ्दा यसभित्रका कथाहरूको स्वाद आउँछ भन्ने मलाई लाग्छ ।' 

कथाकार गुरुङ फेदीबाट उठेको र आफ्नै मिहिनेतले यो ठाउँमा पुगेको बताउँदै उनका कथामा फेदीका मानिसका कथा समेटिएको विचार व्यक्त गरे । उनले ‘लाई–सी’ कथा कृति ‘टाँकीका फूलहरू’बाट पराग सेचन भई जन्मिएको बताए ।

वरिष्ठ समालोचक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राध्यापक केशव सुवेदीले कथाकार गुरुङको डायास्पोरिक कथा कृति ‘लाई–सी’ भित्रका कथाहरू स्तरीय, जीवन्त र उत्कृष्ट रहेको तथा जति पढ्यो उति पढिरहूँ झैँ लाग्ने बताए । उनले भने– “मैले अहिलेसम्म पढेका कथा कृतिमध्ये साँच्चै नै यस कृतिभित्रका कथाहरू बेजोड छन् । उत्कृष्ट छन् ।'
समालोचक ज्ञानु अधिकारीले ‘लाई–सी’ नाम सुन्ने बित्तिकै आफूमा उत्सुकता जागेको र पढ्दै जाँदा कथाहरू अत्यन्त सूक्ष्म र गहन पाएको बताइन् । उनले भनिन्– 'कथामा मानिसका जीवनका मसिनाभन्दा मसिना कुराहरूलाई समेत  सरल तर गम्भीर ढङ्गले प्रस्तुत गरिएका छन् । कथाहरू पढ्दै जाँदा कतै डायरी पढेजस्तो, कतै संस्मरण पढेजस्तो लाग्छ । कथाहरूमा कथाकारले हङकङको जीवन र परिवेशलाई सजीव किसिमले उतारेका छन् ।'

आख्यानकार बिना थिङले कथाकार दाजुले कथा लेखनको परम्परागत मान्यतालाई भत्काएको  बताइन् । ‘लाई–सी’मा वैदेशिक रुपमा पलायन भएपछिको मानवीय कठिनाइ, प्रेम र आरोह अवरोहका साथै मानवीय संवेदना मुखरित भएको उनको कथन थियो । उनले प्रायः कथामा कथाकारले पुरुष पात्रलाई आदर्श पुरुषको रूपमा मात्रै उभ्याएको हुँदा कथाकारले आत्म समीक्षा गर्नुपर्ने विचार व्यक्त गरिन् ।

डा. नवराज खतिवडाले ‘लाई–सी’भित्रका कथाहरूका बारेमा पावर प्वाइन्टका माध्यमबाट समीक्षा गरेका थिए । यसै गरी कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका निमित्त उपकुलपति प्रा।डा। इन्द्रबहादुर कार्की, मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डे र सशस्त्र प्रहरी बल नेपालका पूर्व आइजिपी दुर्जकुमार राईले कथाकार दाजु गुरुङलाई बधाई तथा शुभकामना दिएका थिए । कथाकार दाजु गुरुङले आफ्नो कथा लेखनका बारेमा बताएका थिए ।  

सभ्यता अनुसन्धान केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम गीतकार टीका चाम्लिङले सहजीकरण गरेका थिए ।