ओली 'सर्वसम्मत'को चाहनामा रावलकाे अवरोध: सम्झाए ७० वर्षको उमेर हद र प्रतिस्पर्धा नगर्ने पूर्वघोषणा

लोकसंवाद टिप्पणी

ओली 'सर्वसम्मत'को चाहनामा रावलकाे अवरोध: सम्झाए ७० वर्षको उमेर हद र प्रतिस्पर्धा नगर्ने पूर्वघोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७८

नेकपा एमालेको १० औँ महाधिवेशन सुरु हुन अब केही दिन मात्रै बाँकी छ । एमालेको आगामी ५ वर्षका लागि नेतृत्व चयन हुने भएकाले यो महाधिवेशनमा सबैको ध्यान तानीरहेको छ । केपी शर्मा ओली फेरि पनि एमालेको अध्यक्ष बन्ने निश्चित जस्तै छ । ओलीलाई निर्विकल्प भन्दै सर्वसम्मत बनाउने कोसिस भइरहेका बेला आइतबार मात्रै उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । रावलको यो घोषणासँगै यदि उनी अन्तिम समयसम्म अडिग रहेको खण्डमा ओली अध्यक्ष भए पनि सर्वसम्मत हुनेछैनन् । 

यस पटक एमालेको महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा नै निकै रोमाञ्चक छ । अध्यक्ष ओलीलाई टक्कर दिने नेताहरू एमालेबाट बाहिरिएको अवस्थामा उनलाई अध्यक्ष बन्न रोक्ने शक्ति अन्य नेतामा छैन । महाधिवेशन प्रतिनिधिमा पनि ओली पक्षधरहरू अत्यधिक छन् । त्यसैले यति बेला एमालेमा ठुलो अलमल देखिन्छ । खासगरी पूर्वमाओवादी खेमाका नेता र १० बुँदेमार्फत एमालेमा बसेका नेताहरूमा ओलीको विरोध गर्दा केही पनि नपाइने र ओलीको समर्थन गरे पनि तत्काल विश्वास जित्न नसक्ने समस्या देखिन्छ । 

सोही कारण नै अध्यक्ष नभए पनि त्यसपछिका पदहरूमा दाबी रहे पनि कुनै नेताले आफ्नो दाबीबारे खुलेर बाहिर बताउन सकेका छैनन् । रावल अध्यक्षमा चुनाव लडेमा अध्यक्ष ओलीसँग पराजित हुने निश्चित छ । तर यसका बाबजुद पनि उनले ओलीको अपमान सहेर दिन्छन् र खाउँला भनेर बस्नुभन्दा ओलीविरुद्ध भिडेर जाने निर्णय लिएका छन् । 

ओलीको ‘रेस्पोन्स’ नपाएपछि भिड्ने मुड

भीम रावलले यस पटक पार्टीको वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने चाहना राखेका थिए । तर रावललाई पदाधिकारीभित्र कुनै पद नदिने ओलीको सोचाई बुझेपछि उनी अध्यक्षमा नै लड्ने तयारीमा जुटेका हुन् । अध्यक्षमा ओली भए पनि त्यसपछिका सबै पदमा आकाङ्क्षीहरू धेरै भएका कारण व्यवस्थापनमा चुनौती छ । ओली समूहभित्रै वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा प्रतिस्पर्धामा छन् ।

यीमध्ये एक जना वरिष्ठ उपाध्यक्ष भए अन्य २ जना उपाध्यक्ष हुने सम्भावना छ । त्यस्तो भएमा थप २ उपाध्यक्षका लागि युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, लेखराज भट्ट, पृथ्वी सुब्बा गुरुङसहितका नेताहरूको पनि दाबी रहेका कारण रावल उपाध्यक्षमा अट्ने सम्भावना कम नै थियो । रावलले ओलीपछिको वरीयताको वरिष्ठ उपाध्यक्षका लागि अध्यक्ष ओली र अन्य नेताहरूसँग सल्लाह गर्न खोजेका थिए । तर कसैबाट पनि उनले सकारात्मक उत्तर पाउन सकेनन् । त्यसो त ओली रावलसँग उति धेरै सकारात्मक छैनन् ।

अध्यक्ष ओली र १० बुँदे पक्षधर १० नेतासँग छलफल गर्न खोजेका थिए । पार्टीको उपाध्यक्ष भइसकेका रावलले पार्टीमा आफू सुहाउँदो जिम्मेवारी खोजेका थिए । तर, ओली समूहभित्रै नेता व्यवस्थामा समस्या उत्पन्न भएको छ । त्यसैले रावलसँग ओलीले भेट गरेनन् । त्यसैले उनले उम्मेदवारी घोषणा गरे । 

१० बुँदे सहमतिका आधारमा एमालेमा रहेका अन्य नेताहरू पनि रावलको साथमा नरहेका कारण रावल सो समूहमा पनि एक्लिएका छन् । १० बुँदेका आधारमा एमालेका बसेका रावलसहित घनश्याम भुसाल ओलीसँग केही कडा देखिएका छन् । तर भुसालले अझै पनि कुन पदमा उम्मेदवारी दिने भन्नेबारे मुख खोलेका छैनन् । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्तसहितका नेताहरू ओलीको पक्षमा उभिएका छन् भने अष्ट लक्ष्मी शाक्य र भुसाल मौन देखिन्छन् ।

रावललाई विगतदेखि नै माधवकुमार नेपाल र सुदूरपश्चिमले बलियो साथ दिँदै आएको थियो । तर एमालेको विभाजनसँगै सुदूरपश्चिममा रावल कमजोर छन् भने माधवकुमार नेपाल अब एमालेमा उनको साथमा छैनन् । त्यति मात्रै होइन उनीसँगै एमालेमा बसेका १० बुँदे पक्षधर नेताहरू समेत साथमा देखिएनन् । सोही कारण उनले अध्यक्षमा मात्रै उम्मेदवारी घोषणा गरे । त्यसो त एमालेमा यस पटक भने प्यानल खडा गरेर चुनावी मैदानमा जान पाइने छैन । त्यसैले पनि रावलका लागि यो एकल प्रतिस्पर्धा हुनेछ । 

२३ कातिकमा गृह जिल्ला अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै रावलले आफू अध्यक्षमा उठ्ने बताएका थिए । त्यसपछि उनी एक साताभन्दा बढी मौन बसे । जुन समयमा उनले अध्यक्ष ओली र १० बुँदे पक्षधर १० नेतासँग छलफल गर्न खोजेका थिए । पार्टीको उपाध्यक्ष भइसकेका रावलले पार्टीमा आफू सुहाउँदो जिम्मेवारी खोजेका थिए । तर, ओली समूहभित्रै नेता व्यवस्थामा समस्या उत्पन्न भएको छ । त्यसैले रावलसँग ओलीले भेट गरेनन् । त्यसैले उनले उम्मेदवारी घोषणा गरे । 

अध्यक्षमा सन्देशपूर्ण दाबी

रावलले ओलीको कार्यक्षमता जनताले देखिसकेको भन्दै अब अध्यक्षका लागि आफूलाई सहयोग गर्न पनि ओलीलाई आग्रह गरेका छन् । रावलले अध्यक्ष ओलीले पुनः नेतृत्वका लागि नलड्ने घोषणा गरेको पनि स्मरण गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

यस क्रममा उहाँले देश र जनताको लागि गर्न नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् । 'उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु ।’ 

उनले पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहे पनि पार्टी कार्यालयमा सो अवसर पाएनन् । महासचिव ईश्वर पोखरेलले महाधिवेशनको व्यस्तताका कारण सबै कक्षहरू खाली नभएको भन्दै उम्मेदवारी घोषण पार्टी कार्यालयबाट गर्न नपाएको गुनासो गरे । 

तत्कालीन एमालेको माधवकुमार नेपाल समूहमा शक्तिशाली नेताका रुपमा रहेका रावल एमालेको विभाजनसँगै कमजोर बनेका छन् । यद्यपि उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर अध्यक्षमा ओली सर्वसम्मत नरहेको सन्देश भने दिएका छन् ।