‘प्रधानन्यायाधीशको बहिर्गमनसमेतका माग राखी गरिएको आन्दोलनका कार्यक्रमप्रति असहमत छौँ’ (विज्ञप्तिसहित)

‘प्रधानन्यायाधीशको बहिर्गमनसमेतका माग राखी गरिएको आन्दोलनका कार्यक्रमप्रति असहमत छौँ’ (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विरुद्ध केही न्यायाधीश र कानुन व्यवसायीसमेत आन्दोलित बनिरहेका बेला कानुन व्यवसायीहरूको अर्को तप्का प्रधानन्यायाधीश राणाको बचाउमा देखिएको छ ।

‘कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियान’ नाम गरेको कानुन व्यवसायीहरूको समूहले आज एक विज्ञप्ति जारी गर्दै असंवैधानिक मार्गबाट प्रधानन्यायाधीशको बहिर्गमनसमेतका माग राखी गरिएको आन्दोलनका कार्यक्रमप्रति आफ्नो असहमति रहेकाले उल्लेख गरेको छ ।

अभियानले आन्दोलनको भद्र अवज्ञा गर्दै ९ सूत्रीय माग राखी २०७८/०७/१५ का दिन नेपाल बार समक्ष तथा ३ सूत्रीय माग राखी २०७८/०७/२३ का दिन प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाएको स्मरण पनि गराएको छ ।

यससँगै अभियानले कुनै पनि विवादको स्थायी समाधान वार्ता तथा संवादबाटै हुने विश्वास रहेको र आन्दोलनरत पक्षलाई पनि वार्ता र संवादबाट समाधान गर्न सुझाव दिएको उल्लेख गरेको छ ।

अभियानका संयोजक शिव अर्यालद्वारा जारी विज्ञप्तिमा अभियानले राखेका माग र वर्तमान परिस्थितिका बारे छलफल गर्न नेपाल बार एसोसिएसनले ७ मंसिरमा आफूहरूलाई बोलाएकामा त्यसको स्वागत पनि गरेको छ ।