ए डिभिजन लिग : विभागीय डर्बी बराबरीमा सकियो

ए डिभिजन लिग : विभागीय डर्बी बराबरीमा सकियो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ६, २०७८

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेका छन् । लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले ३ अंक लिने मौका गुमाएको छ ।

३ पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औँ मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रि किक पाएको थियो । तामाङले ५१औँ मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रि किकमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले हेडरमार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएका थिए । 

त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले पेनाल्टी एरियाको ठिक अगाडिबाट सुन्दर बराबरी गोल फर्काएका थिए । पुलिसविरुद्ध १-० ले पछि परेसँगै पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको आर्मीले गोलपछि पनि लगातार गोलका लागि प्रयास गरेको थियो ।

सुरुवातमा ठूला मौका सिर्जना हुन नसके पनि १०औँ मिनेटमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार टार्गेटमा थिएन । १४औँ मिनेटमा जर्ज प्रिन्स गरेको सुन्दर क्रसमा आर्मीका कप्तान भरत खवासले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । जर्ज प्रिन्सले बायाँतर्फबाट दिएको डेलिभरलाई कप्तान भरतले कन्भर्ट गर्न नसक्दा आर्मीले अग्रता लिने मौका गुमाएको थियो ।

सुरुवाती २९ मिनेटसम्म आर्मीविरुद्व दबाबमा परेको पुलिसका लागि १८औँ मिनेटमा सुमन लामाले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो । पुलिसका अन्जन राईले २२औँ मिनेटमा आर्मीका मिडफिल्डर सन्तोष तामाङमाथि खराब फाउल गर्दै फ्रि किक दिएका थिए । तर, जर्ज प्रिन्सले १८ यार्ड बक्स ठिक अगाडिबाट गरेको फितलो प्रहारले पुलिसको डिफेन्सिभ वालसमेत पार गर्न सकेन ।

आर्मीका सेसेहाङ आङ्देम्बेले ४३औँ मिनेटमा करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए । २०७६ सालमा भएको लिगको अन्तिम संस्करणमा आर्मीले पुलिसविरुद्ध ४-२ को रोमाञ्चक जीत निकालेको थियो । त्यो नाटकीय खेलको ७६औँ मिनेटसम्म २-१ गोलको नतिजामा पछाडि परेको आर्मीले निर्धारित समयको बाँकी १३ मिनेटमा ३ गोल ठोकेको थियो ।

यद्यपि, यसपालि भने कम आँकेको पुलिसविरुद्ध आर्मीले ३ अंक जोड्न सकेन । पुलिसले भने उपाधि दाबेदार मानिएको आर्मीसँग १ अंक खोसेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका मिडफिल्डर सेसेहाङ आङदेम्बे भए । शुक्रबारदेखि सुरु भएको लिगको जारी संस्करणमा यो तेस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्बलले गोलरहित बराबरी खेलेका थिए ।

यस्तै, शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १-१ गोलको बराबरी खेलेका थिए । शनिबारको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि ३-० को फराकिलो नतिजामा पराजित गरेका थियो । आइतबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफविरुद्ध ३-२ तथा दोस्रो खेलमा मनाङ-मर्स्याङ्दी क्लबले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जीत निकालेको थियो ।

पहिलो चरणको अन्तिम खेलमा सोमबार साविक विजेता मच्छिन्द्र क्बलले न्युरोड टिम (एनआरटी)सँग खेल्नेछ । दशरथ रंगशालामै ४ः ४५ बजे सुरु हुने खेलाबाट मच्छिन्द्रले उपाधि रक्षा अभियान सुरु गर्नेछ ।