यो हो विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान
मंसिर ७, २०७८

बेलायतको रोल्स रोयस कम्पनीले विश्वमै  सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविष्कार गरेको दाबी गरेको छ । स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स रोयसले दाबी गरेको हो । विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको भनाइ छ । एक साताअघि कम्पनीले विमानको परीक्षण उडान सम्पन्न गरेको थियो ।

३ किलोमिटर उड्दा विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको कम्पनीले जनाएको छ ।

२०२ सेकन्डमा ३ हजार मिटरको उचाइमा पुगेर स्पिरिट अफ इनोभेसनले सबैभन्दा चाँडै सो उचाइमा पुग्ने रकेर्ड बनाएको बताइएको छ ।

विमान आविष्कार एउटा आश्चर्यजनक उपलब्धि भएको कम्पनीका निर्देशक फिल ओडेलले बताएका छन् ।

यसअघि सन् २०१७ मो जिमन्स विमान कम्पनीले निर्माण गरेको एक्स्ट्रा ३३० एरोब्याटिक विमान ४१० किलोमिटर प्रतिघण्टाको गतिमा उडेको थियो । रोल्स रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्सन ब्याट्री प्याक’ प्रभावकारी भएको दाबी गरेको छ ।

बेलायतको एरोस्पेस टेक्नोलोजी इन्स्टिच्युटले विमान निर्माणका लागि ५० प्रतिशत रकम अनुदान दिएको थियो ।