विश्वका १०० मध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनका मात्र

विश्वका १०० मध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनका मात्र

एजेन्सी  |  विदेश  |  मंसिर ७, २०७८

विश्वका १०० वटा प्रदूषित शहरमध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुको गुणस्तर मापन गर्ने निकाय आईक्यू एयरले सो जानाकारी दिएको हो ।

आईक्यू  एयरका अनुसार सन् २०२० मा विश्वका १०० शहरमध्ये ४६ प्रदूषित शहर भारतका थिए । त्यस्तै, चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा ४, इन्डोनेसियामा र थाइल्याण्डमा  एक-एकवटा प्रदूषित शहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् ।

आईक्यूका अनुसार गाजियावाद भारतको सबैभन्दा प्रदूषित शहर हो । त्यस्तै, चीनको शहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित शहर हुन् । लाहोर विश्वकै प्रदूषित शहरको सूचीमा समेत पर्छ । 

सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात् औसत वायु गुणस्तर ११०.२ थियो ।

आईक्यू एयरका अनुसार चीन र भारत विश्वमै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश हुन् । तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ । 

भारतको नयाँ दिल्लीमा  प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ । 

नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ कणहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डभन्दा ३४ गुणा बढी छ । हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय शहर थप प्रदूषित बन्ने गरेका छन् ।