आकांक्षी व्यवस्थापन सकसका बिचमा ओलीको रोजाइमा भने वरिष्ठमा थापा र महासचिवमा पोखरेल !

लोकसंवाद टिप्पणी

आकांक्षी व्यवस्थापन सकसका बिचमा ओलीको रोजाइमा भने वरिष्ठमा थापा र महासचिवमा पोखरेल !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ८, २०७८

आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्न एमालेको १०औँ महाधिवेशन यही साता चितवनमा सम्पन्न हुँदै छ । यसअघि नै विधान महाधिवेशन गरिसकेका कारण यस पटक एमालेको महाधिवेशनले नेतृत्व चयन मात्र गर्नेछ ।

जसमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जनाको पदाधिकारी चयन हुनेछन् । यस्तै १५ सदस्यीय अनुशासन आयोग र लेखा आयोग पनि बनाइनेछ ।

यस पटक एमालेको महाधिवेशनमा अघिल्लो महाधिवेशनमा जस्तो प्यानल निर्माण गरेर नेतृत्वका लागि निर्वाचन हुनेछैन ।  पार्टीलाई लामो समय नेतृत्व गरेका, पूर्व प्रधानमन्त्री र वरिष्ठ नेता समेत रहेका माधवकुमार नेपाल र झलनाथ खनाल एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएका छन् ।

आठौँ महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका केपी शर्मा ओलीले नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष बनेका थिए । यस पटक दुवै नेता एमालेमा नभएका कारण ओली अध्यक्षमा दोहोरिने निश्चित प्राय जस्तै छ । 

पदाधिकारीमा दर्जनौँ दाबेदार

एमालेको पदाधिकारीको टिम १५ जनाको हुनेछ । अध्यक्षमा केपी ओली निश्चित भए पनि त्यसपछिका अन्य पदमा भने आकांक्षी व्यवस्थापनमा ओलीलाई सकस परिरहेको  छ । ओली अध्यक्षमा नदोहोरिएको अवस्थामा अध्यक्ष बन्ने चाहाना राखेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षका दाबेदारका रुपमा रहेका छन् ।   उनी दुई पटक महासचिव भइसकेका छन् ।उपाध्यक्ष भीम रावल अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । सहमतिमा नै पदाधिकारी चयन भएमा रावललाई उपाध्यक्ष बनाउन ओली तयार हुने सम्भावना छ । 

  एमालेभित्रको लामो विवादमा माधवकुमार नेपाललाई साथ दिएका उनी एकीकृत समाजवादीमा नगए पनि एमालेभित्र १० बुँदे कार्यान्वयन हुनुपर्ने पक्षमा उभिँदै आएका छन् । एमालेमै बसे पनि उनी ओलीका कडा आलोचक रहेका कारण पनि उनलाई ओलीले फेरि पदाधिकारीमा राख्ने सम्भावना कम छ ।

आकांक्षीहरु बढ्दै गएपछि महाधिवेशनसम्ममा निर्वाचनमार्फत नै टुंगो लगाउनुपर्ने अवस्था देखिएको छ । सर्वसम्मतिका नाममा ओलीले आफूनिकटलाई व्यवस्थापन गरेमा अरु नेताहरू रुष्ट बन्ने, आफूलाई संकटमा साथ दिएका पूर्वमाओवादी नेताहरूदेखि १० बुँदेका नाममा एमालेमा बसेका नेताहरूलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने अवस्था छ । 

यसैगरी उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि वरिष्ठ उपाध्यक्षका दाबेदार हुन् ।  शाक्य ५ उपाध्यक्षमध्ये एक हुनसक्ने सम्भावना छ भने ज्ञवाली पनि आकांक्षी भए पनि उनलाई ओलीले उपाध्यक्ष बनाउने सम्भावना कम छ ।

यसैगरी माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापा पनि उपाध्यक्षका दाबेदार हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमालेको अन्तरसंघर्षमा पनि ओलीलाई साथ दिएका उनलाई ओलीले उपाध्यक्ष बनाउन सक्छन् । यसैगरी पूर्वसभामुख सुवास नेम्वाङ पनि उपाध्यक्षका दाबेदार हुन् । यसैगरी पृथ्वी सुब्बा गुरुङलाई पनि उपाध्यक्षको दाबेदारका रुपमा हेरिएको छ । 

यसैगरी महासचिवमा सबैभन्दा दाबेदार विष्णु पौडेल देखिए पनि शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि महासचिवका आकांक्षी हुन् । तत्कालीन नेकपामा समेत पौडेल महासचिव थिए। नेकपा र एमाले विभाजन रोक्न खास भूमि निर्वाह गर्न नसकेको भनी कडा आलोचना भइरहेको र नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेल भने यस पटक महासचिव बन्ने दौडमा मात्र ओली रोजाइमा समेत परेका छन् ।

पाण्डे भने अघिल्लो महाधिवेशनमा ईश्वर पोखरेलसँग पराजित भएका थिए । उनी विगतमा एमालेमा अध्यक्ष केपी ओलीको चर्को आलोचक भए पनि पछिल्लो समयमा मौन छन् । उनी पनि महासचिवको दाबेदार हुन् । तर उनलाई पनि ओलीको रोजाइमा शंकर पोखरेल  महासचिव  परेका कारण दाबी दाबीमा मात्र सीमित रहने निश्चित छ । 

उपमहासचिवमा भने वर्तमान उपमहासचिव घनश्याम भुसाल र प्रदीप ज्ञवालीमध्ये एक जना हुन सक्छन् । तर ओलीको रोजाइमा भने ज्ञवाली नै पर्ने सम्भावना पनि त्यतिकै छ । भुसालले अध्यक्षमै केपी ओलीसँग प्रतिस्पर्धा गर् नसक्ने सम्भावना रहेको पनि उनीनिकट नेताहरू बताउँछन् । विगतमा १० बुँदे सहमतिमार्फत एमालेमै रहेको भए पनि १० बुँदे पक्षधर नेताहरू नै तितरबितर भएका कारण यो समूहलाई पदाधिकारीमा स्थान बनाउन ओलीको आशीर्वादबिना सम्भावना कम देखिन्छ । 

उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा माओवादीबाट आएका र १० बुँदेमार्फत एमालेमा बसेका नेताहरूलाई समेट्नुपर्ने दबाब अध्यक्ष ओलीलाई छ । तर उनलाई लामो समयदेखि साथ दिँदै आएका नेताहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकाले दोहोरो दबाबमा ओली परेका छन् । त्यसैले अध्यक्षमा सर्वसम्मत भए पनि तलका पदमा नमिल्दा निर्वाचन हुने सम्भावना समेत देखिन्छ । 

यस पटक एमालेमा ७ जना सचिव हुनेछन् । तर, ७ जनाको कोटामा २ दर्जनभन्दा बढी दाबेदार छन् । हालका सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य तीनै जना १० बुँदे सहमतिसँगै एमालेमा बसेका र सचिवका बलिया दाबेदार हुन् । 

मंगलबार सम्पादकहरूसँग आफूले चाहेको वरिष्ठ उपाध्यक्ष र महासचिव सकेसम्म सर्वसम्मत हुने नत्र पनि अत्यधिक मत ल्याएर जित्ने दावी गरेसँगै वरिष्ठ उपाध्यक्षमा नेकपाको निरन्तरता भन्ने ओली दाबी अनुसार रामबहादुर थापा बादललाई र महासचिवमा शंकर पोखरेललाई सकेसम्म सर्वसम्मत गर्ने नत्र अत्यधिक महाधिवेशन प्रतिनिधिले मतदान गर्नुपर्ने उनेका तर्क रहँदै आएको छ ।

यसैगरी उपमहासचिव नपाए प्रदीप ज्ञवाली पनि सचिवमै दोहोरिने सम्भावना छ । माओवादीबाट आएका टोपबहादुर रायमाझी उपाध्यक्षमा बार्गेनिङ गरेर सचिवसम्म पाएमा बस्ने तयारीमा छन् । यस्तै सुदूरपश्चिममा भीम रावलका प्रतिस्पर्धी रहेका कारण लेखराज भट्टलाई उपाध्यक्ष, सचिव बनाउनुपर्ने दबाब ओलीलाई हुनेछ । शेरबहादुर तामाङ, किरण गुरुङ, खगराज अधिकारी, हिक्मत कार्की, राजेन्द्र गौतम, यामलाल कँडेल, कर्ण थापा पनि सचिवमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । रघुविर महासेठ, माओवादीबाट आएका मणि थापा र प्रभु साह पनि सचिवका दाबेदार हुन् । लालबाबु पण्डित, शेरधन राई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बास्कोटा, विष्णु रिमाललगायतले पनि सचिव बन्ने चाहाना राखिरहेका छन् । सचिवमा ओली निकट महेश बस्नेत र गोकुल बास्कोटाले पनि सचिवको भूमिका खोजी गरिरहेका छन् । 

महाधिवेशन नजिकिएसँगै पदाधिकारीका आकांक्षीहरु पनि धेरै देखिएका छन् । सर्वसम्मत गर्नका लागि दाबेदारहरूलाई चित्तबुझ्दो तरिकाले बुझाउनुपर्ने दबाब अध्यक्ष ओलीलाई हुनेछ । सचिवमा स्थान नपाएकालाई स्थायी कमिटीमा समेट्नुपर्नेछ । पोलिटब्युरो नभएका कारण स्थायी कमिटीमा पनि नअटेका नेताहरू भने केन्द्रीय सदस्य बन्नेछन् । आकांक्षीहरु बढ्दै गएपछि महाधिवेशनसम्ममा निर्वाचनमार्फत नै टुंगो लगाउनुपर्ने अवस्था देखिएको छ । सर्वसम्मतिका नाममा ओलीले आफूनिकटलाई व्यवस्थापन गरेमा अरु नेताहरू रुष्ट बन्ने, आफूलाई संकटमा साथ दिएका पूर्वमाओवादी नेताहरूदेखि १० बुँदेका नाममा एमालेमा बसेका नेताहरूलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।