'अनुमतिमै पाइलटले जहाजलाई नेपालगंज अवतरण गराएका हुन्' (विज्ञप्तिसहित)

'अनुमतिमै पाइलटले जहाजलाई नेपालगंज अवतरण गराएका हुन्' (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर ८, २०७८

नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगंज अवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकूलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाई काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगंज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो । 

निगमले जारी गरेको विज्ञप्ति :

मिति : २०७८ मंसिर ८ गते

काठमाडौं – रुकुम नेपालगंज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण ।

मिति २०७४ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं-रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौँ । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५.१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकूलताका कारण काठमाडौं-रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपराह्न २ः१५ बजेको लागि पुनः संंचालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक/परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो ।

तर, उडान रद्द भएर घर फर्किएका यात्रुहरूलगायत सबै जना आइपुगेर उडान भर्न लाग्दा अपराह्न २ः ५८ भएको थियो । काठमाडौ-रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजेदेखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगंज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगंजसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।

 हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगंज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनु भन्दा नेपालगंजसम्म पुर्‍याएर स्कुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो । पुनश्चः निगमले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रलाई मध्यनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडानसमेत संचालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्यूनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरूप उक्त निर्णय लिनुपरेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौँ ।

अर्चना खड्का
संयोजक : मिडिया सेल