'महासचिवमा पनि निर्विवाद छ-शंकर पोखरेल, म पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै छु'

'महासचिवमा पनि निर्विवाद छ-शंकर पोखरेल, म पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै छु'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  मंसिर ०८, २०७८

विजया धिताल नेपालको कम्युनिस्ट आन्दोलनमा ३ दशकदेखि सक्रिय हुनुहुन्छ । विद्यालय तहदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेकपा एमालेका विभिन्न संगठनहरूमा रही सफल भूमिका निर्वाह गर्नुभएको छ उहाँले ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा बाँके-२ बाट कांग्रेसका सुशील कोइरालासँग प्रतिस्पर्धा गर्नुभएकी धिताल एमालेकी जुझारु नेतृ हुनुहुन्छ । उहाँसँग एमालेको १०औँ महाधिवेशनका सन्दर्भमा लोकसंवाद डटकमले गरेको कुराकानी प्रस्तुत छ ।

नेकपा एमालेको १०औँ महाधिवेशनबाट के अपेक्षा गर्नुभएको छ ?

-  नेकपा एमाले देशकै पुरानो पार्टी हो । पटक पटक जनताले विश्वास गरेको पार्टी पनि हो एमाले । एमाले मुलुकका लागि अर्थपूर्ण र महत्त्वपूर्ण अभिभावक पार्टी पनि हो । यसको महाधिवेशनबारे आमचासो निकै बढेको देखिन्छ ।

म स्वयं यही पार्टीकी कार्यकर्ता भएकाले मेरा पनि निकै धेरै अपेक्षा छन् पार्टीप्रतिका । यति बेला अस्थिर र गतिहीन जस्तो बनेको नेपाली राजनीतिलाई गति दिन र स्थिरता दिन एमालेको भूमिका महत्त्वपूर्ण हुन्छ नै । राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गर्ने सवालमा पनि एमालेको उपस्थिति र गतिविधि अर्थपूर्ण हुनेछ । यस कारण यो महाधिवेशनसँग हाम्रा अपेक्षा धेरै छन् । नयाँ नेतृत्वले कसरी पार्टीलाई अगाडि लैजाला ? कोको नेतृत्वमा आउलान् ? पार्टीभित्रका नेताहरूको व्यवस्थापन कसरी होला ? जस्ता विषय पनि महत्त्वपूर्ण छन् । र, यी सबै काममा यो महाधिवेशन सफल हुनेछ भन्ने अपेक्षा छ ।

पार्टी नेतृत्व र कार्यकर्ता पंक्ति सर्वसम्मत नेतृत्वको रटान लगाइरहेको छ तर नेताहरू भने प्रतिस्पर्धातिर होमिएका देखिन्छ । के एमाले नेतृत्व तपाईंहरूले चाहेजस्तो सर्वसम्मत नै हुन सक्ला ?

- हाम्रो समग्र प्रयास सर्वसम्मति र सहमति अनि एकताबद्ध एमाले हो । लोकतान्त्रिक प्रक्रिया पनि भएकाले चुनावमा आकांक्षीहरूबीच प्रतिस्पर्धा पनि अस्वाभाविक होइन । तर, हाम्रा नेताहरू सबै नेतृत्वका लागि सक्षम र योग्य हुनुहुन्छ अनि समझदार पनि ।

यस कारण सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने कुरामा हामी अशावादी छौँ । यदि प्रतिस्पर्धा नै भए पनि सौहार्द र लोकतान्त्रिक तवरले सक्षम नेतृत्वकै लागि हुनेछ । यसमा अन्यथा लिनुपर्ने देखिँदैन ।

विधान महाधिवेशनले अध्यक्ष केपी ओलीको सांगठनिक र राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास गर्नुको संकेत के ओलीको विकल्प नेतृत्वमा छैन भन्ने हो ?

- कुनै पनि संगठनमा, संस्थामा वा पार्टीमा नेतृत्वको विकल्प नै हुँदैन, छैन भन्ने हुँदैन । केपी ओलीको विकल्प पनि नभएको होइन । तर, विकल्प नै केका लागि र किन ? भन्ने प्रश्न महत्त्वपूर्ण हो ।

यसबीचमा केपी ओलीले मुलुकको अखण्डता, एकता, पार्टीको जीवन रक्षा, राष्ट्रिय राजनीतिमा प्रभावका सवालमा देखाउनुभएको अडान, बुद्धिमता, सदासयता आदिका कारण अबको एमालेको नेतृत्वमा ओली नै उपयुक्त हुनुहुन्छ भन्ने आमबुझाइ छ । मेरो बुझाइ पनि यही नै हो ।

र, जहाँसम्म उहाँले प्रस्तुत गर्नुभएको सांगठनिक र राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास भएको कुरा छ, त्यसको प्रस्ट संकेत पनि यही हो कि ओलीको नेतृत्व अझै एमालेका लागि जरुरी छ र यो हुन्छ पनि ।

आफ्नै नेतृत्वको प्रस्ट बुहमतको सरकार र पार्टी एकतालाई पनि त ओलीले जोगाउन सक्नुभएन नि ! अनि, कसरी पुनः पार्टी नेतृत्व गरेर एकताबद्ध बनाएर लैजान सक्नुहोला र ?

- हामी सबैले प्रस्ट देखेका हौँ, कसरी नेकपा विभाजित भयो, कसरी एमाले चोइटियो भनेर । अध्यक्ष ओलीले गर्नुभएका हरसंभव प्रयासलाई चोइटिएर जानेहरूले बेवास्ता गर्दै गएका होइनन् र ? के एक हातले मात्र ताली बज्छ ? असन्तुष्ट भनिएकाहरूले पनि मिल्न सक्ने ठाउँ खोज्ने र गम्भीर बहस, छलफल गरेर निचोडमा पुग्न ध्यान दिनु र त्यहीअनुसार व्यवहार गर्नुपर्दैन ?

यी सबै देखिएका कुरा हुन् । यसबारे धेरै भनिरहनै पर्दैन । पार्टी चोइटिनुको सामान्य दोष नेतृत्वका हिसाबले केपी ओलीमा आउला तर धेरै दोष चोइटिनेकै छ ।

अध्यक्षका लागि त केपी ओलीकै समर्थन गर्नुभयो, महासचिवमा चाहिँ को आइदिए हुन्थ्यो भन्ने लाग्छ ?

- महासचिवमा पनि निर्विवाद छ- शंकर पोखरेल । युवा जोशका, तीब्र वैचारिक र तार्किक व्यक्तित्व, मुख्यमन्त्री र संघीय मन्त्रीको समेत अनुभव लिइसकेका, योजना निर्माण र कार्यान्वयनमा पोख्त पोखरेलले पक्कै पनि महासचिवको जिम्मेवारी पाएमा पार्टी र मुलुकको दिशालाई नयाँ बाटो दिन सक्नुहुनेछ ।

अनि, तपाई आफूचाहिँ अरूलाई नेता बनाउने मात्र कि आफूले पनि केही सोच्नुभएको छ ?

- म विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएँ । ३० वर्ष निरन्तर एमालेकै कार्यकर्ताका रूपमा पार्टीका विभिन्न संगठन र तहमा क्रियाशील छु । अझै लामो समय राजनीतिमै सक्रिय हुनु छ । यसर्थ मैले आफैँले पनि अब नेतृत्वका निम्ति सोच्नुपर्ने बेला आएको महसुस गरेकी छु ।

हामीकहाँ संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको आरक्षणको प्रावधान राख्यो । तर, उक्त प्रावधानको कार्यान्वयन उति गतिलो देखिएन । महिलाप्रतिको समाजको र पार्टीहरूकै दृष्टिकोण पनि संविधानले व्यवस्था गरेअनुसारको भएन । आरक्षणका नाममा आरक्षण, उपस्थितिका लागि उपस्थिति जस्तो मात्र भयो महिलाको हरेक क्षेत्रमा ।

यस कारण अब पहिला राजनीतिक पार्टीहरूमै प्रभावकारी पदहरूमा, नेतृत्वमा र महत्त्वपूर्ण जिम्मेवारीमा महिलाहरू आउनुपर्छ भन्ने हामीले बुझेका छौँ । म यसकै निम्ति यस पटकको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै छु । मलाई विश्वास छ, मलाई आमप्रतिनिधिहरूले विश्वास गर्नुहुनेछ ।