नेपालमा कम्युनिस्ट पार्टीले पार गरेका प्रमुख मोडहरू र दक्षिणपन्थी संशोधनवादी धार

नेपालमा कम्युनिस्ट पार्टीले पार गरेका प्रमुख मोडहरू र दक्षिणपन्थी संशोधनवादी धार

हस्तबहादुर के.सी.  |  दृष्टिकोण  |  मंसिर ९, २०७८

नेपाल कम्यनिस्ट पार्टीको ६९ वर्ष लामो इतिहास अनेकौ बाङ्गा टिङ्गा मोडहरुको बीचबाट विकसित हुँदै अगाडि बढिरहेको छ । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा र आन्दोलनको अवस्थालाई मूल आधार बनाउँदै नेपाल कम्यनिस्ट पार्टीले पार गर्दै आएका विविध मोडहरुको बेग्लाबेग्लै रुपमा अध्ययन, विश्लेषण र समीक्षा आवश्यक देखिन्छ ।

पार्टी स्थापनाको मोड : (२००६ – २००८)

इतिहासका पाना पल्टाएर हेर्दा के पाइन्छ भने विश्वका विभिन्न देशहरुमा भएका पुँजीवादी जनवादी क्रान्ति, सोभियत रुसमा सम्पन्न महान् अक्टुबर समाजवादी क्रान्ति, महान चिनियाँ नयाँ जनवादी क्रान्ति, भारतको तेलंगना सशस्त्र सङ्घर्ष तथा भारतकै अंग्रेज साम्राज्यवादविरोधी राष्ट्रिय मुक्ति आन्दोलनको प्रभाव र आप्mनै देश नेपालमा राणा शासन विरोधी आन्दोलनको पृष्ठभूमिमा नेपालमा माक्र्सवादको प्रवेश भएको थियो । यसै प्रक्रियामा अर्थात ५ अप्रिल १९४९ मा पुष्पलालद्वारा नेपाली भाषामा अनुदित विश्वप्रसिद्ध कम्यनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भयो । यस प्रक्रियाले नेकपाको स्थापनाका लागि कोसेढुङ्गाको काम गर्‍यो ।

त्यसै प्रसंग र पृष्ठभूमिमा लेनिनको जन्मजयन्तीको अवसर पारेर भारतको पश्चिम बंगालको कलकत्तामा २००६ साल वैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) दिन क.पुष्पलाल श्रेष्ठ, क.निरञ्जन गोविन्द वैद्य, क. नारायण विलास जोशी र क. नरबहादुर कर्मचार्यद्वारा नेपाल कम्यनिस्ट पार्टीको स्थापना भयो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिव क.पुष्पलाललाई बनाइयो । नेपाल कम्यनिस्ट पार्टीको स्थापना हुनु एउटा युगान्तकारी घटना थियो । किनकि त्यतिबेला नेपालमा स्थानीय र राष्ट्रिय स्तरका विभिन्न रंगका राजनीतिक दलहरु गठन त भइसकेका थिए ।

तर पनि कुनै पनि राजनीतिक दलसँग एक वा अर्को रुपमा आंशिक लक्ष्यहरु भएतापनि नेपाली समाजलाई राजनीतिक आर्थिक र सांस्कृतिक रुपले कसरी क्रान्तिकारी ढंगले रुपान्तरित गर्ने भन्ने स्पष्ट लक्ष्य थिएन । नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण र उत्पीडनमा परेका थिए । त्यसका विरुद्ध सङ्घर्ष गर्दै आएका थिए र उनीहरु त्यसबाट मुक्ति पाउन चाहन्थे । जनता र राष्ट्रका यी चाहनाहरुलाई अभिव्यक्ति दिने कुनै राजनीतिक दल मुलुकमा थिएन । २००५ सालमा गठन भएको नेपाली कांग्रेसले पनि शासक वर्ग र अन्तर्राष्ट्रिय पुँजीवादसँग सम्झौता गर्ने, घुडा टेक्ने र जनताका हितहरुलाई लत्याइदिने लक्ष्य देखाउन थालेको थियो ।

जसले गर्दा मुलुकमा एउटा सशक्त र प्रभावकारी क्रान्तिकारी पार्टी निर्माण गर्नु आवश्यक थियो । यही आवश्यकतालाई पूरा गर्ने उद्देश्यका साथ नेपाल कम्यनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनादेखि नै नेपाल कम्यनिस्ट पार्टीले न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद राखेको थियो । यो नै सही थियो ।

एकीकृत पार्टी मोड (दक्षिणपन्थी संशोधनवादी धाराको विकास सहित) (२००८–२०१९)

यस ६९ वर्षको लामो इतिहासमा नेपाली कम्यनिस्ट आन्दोलनले विभिन्न मोडहरु पार गर्दै यहाँसम्म आइपुगेको छ । जो २००६ सालमा नेकपाको स्थापना भयो । यो २००८ सालको वरिपरिको अवधिलाई माथि पनि उल्लेख गरिएको छ, त्यस अवधि पार्टी स्थापना र नयाँ व्यवस्थापनकै अवधिको रुपमा लिन सकिन्छ । यहाँ २००८ साल देखिको वैशाखसम्मको अवधिलाई नेपाली कम्यनिस्ट आन्दोलनको इतिहासमा दोस्रो मोडको रुमपा लिन सकिन्छ । यो मोडमा पार्टीका तीनवटा महाधिवेशनहरु सम्पन्न भएका छन् । र तेस्रो महाधिवेशनसम्म आउँदा दोस्रो मोड समाप्त हुन्छ ।

२००८ साल असोज ११–१६ मा भारतको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा अन्तरसम्बन्धित जनताको जनवाद, जातीय आत्मनिर्णयको अधिकार, जोत्नेको नारा, राष्ट्रिय अर्थतन्त्र, जनवादी संस्कृति, राष्ट्रिय जनतान्त्रिक संयुत्त मोर्चा लगायत कमरेड पुष्पलालद्वारा प्रस्तुत राजनीतिक कार्यदिशा पारित गरियो । यो समग्र कार्यनीतिक कार्यदिशा तत्कालीन अवस्थामा नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति वस्तुवादी अर्थात् माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा आधारित थियो र पार्टीले सही लाइन पकडेको थियो । त्यस सम्मेलनले त्रिपक्षीय राष्ट्रघाती दिल्ली सम्झौताको विरोध ग¥यो र अधुरो ‘क्रान्ति’ पूरा गर्ने कार्यनीति तय भयो । २००८ सालमा नै के.आई.सिंह विद्रोह भयो । यस विद्रोहमा नेकपाको संलग्नता रहेको आरोप लगाउँदै तत्कालीन नेपाली कांग्रेसको मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्यनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो र पाँच वर्षसम्म नेपाल कम्यनिस्ट पार्टी भूमिगत रह्यो ।

२०१० साल माघ १३–१७ मा पाटनको ग्वाहालमा भूमिगत रुपमा नेपाल कम्यनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गर्‍यो । त्यस महाधिवेशनले कुनै नयाँपन ल्याउन सकेन र पार्टीको दोस्रो महाधिवेशन काठमाडौंमा खुल्ला वातावरणमा २०१४ साल जेठमा सम्पन्न भयो । त्यस महाधिवेशनले जनवादी कार्यक्रमको रणनीति र गणतन्त्र तथा संविधानसभा चुनावको कार्यनीति पारित गर्‍यो । दोस्रो महाधिवेशनको विडम्बना के रह्यो भने गणतन्त्र विरोधी डा.केशरजंग रायमाझीलाई पार्टीको महासचिव निर्वाचित गर्‍यो ।

जनयुद्धको प्रक्रियामा छापामार, जनमिलिशिया हुँदै २०५८ साल मंसिर ८ गते चीनमा माओत्सेतुङको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमै सबैभन्दा विशाल जनमुक्ति सेना नेपालमा निर्माण गरियो । र जनयुद्धकै प्रक्रियामा देशका समस्त ग्रामीण क्षेत्रमा नयाँ जनसत्ता र जनअदालतको निर्माण र परिचालन भएका थिए । जनसरकारहरु समेत निर्माण गरेर समानान्तर सरकार समेत संचालन गरिएको थियो ।

२००७ सालमा घोषित संविधानसभाको निर्वाचन राजा र कांग्रेसका कारणले गरिएन । राजालाई यथावतै काममै राखी नाम मात्रको संसद स्वीकार गरियो । २०१५ सालमा संसदको निर्वाचन सम्पन्न भयो । त्यसमा नेपाली कांग्रेसले अत्याधिक बहुमत ल्यायो । नेपाल कम्यनिस्ट पार्टीले चार स्थान मात्र प्राप्त गर्‍यो ।

२०१७ सालदेखि पछि पार्टीले अनेकौं सङ्घर्षहरु चलायो । यस सन्दर्भमा त्रिपक्षीय दिल्ली सम्झौताको विरोध बारा, पर्सा, रौतहट लगायत पूर्वी तराईका विभिन्न जिल्लाहरुमा जमिन्दार वर्गका विरुद्ध सशक्त किसान आन्दोलन, भारतसँग गरिएका कोशी गण्डकी सम्झौताको विरोध र संविधानसभाको निर्वाचनका लागि उठाएको आवाज लगायतका सङ्घर्षहरु त्यस अवधिका उल्लेखनीय रहेका छन् ।

२००७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा फौजीकाण्ड घटाएर बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरंकुशतन्त्र चलाउन थालेपछि भारतको दरभंगामा २०१७ फागुनमा १ महिनासम्म पार्टीको प्लेनम बस्यो । सो प्लेनम सर्वसत्तासम्पन्न संसदको स्थापना, विघटित संसदको पुनःस्थापना र संविधानसभा जस्ता तीन कार्यनीतिक प्रस्ताव प्रस्तुत गरिए र दोस्रो प्रस्तावमा रहेको विघटित संसदको पुनःस्थापना नामक प्रस्ताव पारित भयो ।

पार्टीको तेस्रो महाधिवेशन ०१९ साल वैशाख ४–१५ भारतको बनारसमा सम्पन्न भयो । यसमा पार्टीले पहिलेदेखि निर्णय गर्दै आएको जनताको जनवादी कार्यक्रमको साटो राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित गर्‍यो । कार्यनीतिक रुपमा सर्वशक्तिसम्पन्न सार्वभौम संसद स्थापना अंगीकार गरी किटान भयो । त्यस महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिवमा निर्वाचित गर्‍यो । राजावादी भासमा फस्न पुगेका डा.केशरजंग रायमाझीलाई अनुशासनको कारबाही गरी पार्टीबाट निकालियो । तर उनले राजावादी गुट खडा गरे । स्पष्ट रुपमा के देखिन्छ भने २००६ सालदेखि २०१९ सम्म आउँदा कम्यनिस्ट पार्टीमा दुईलाइन सङ्घर्ष तीव्र बन्यो । यो सङ्घर्षमा मुख्यतः पहिले महाधिवेशनदेखि तेस्रो महाधिवेशनसम्म निकै चर्केर गयो ।

२००८ सालमा सम्पन्न पहिले ऐतिहासिक सम्मेलनबाट पारित कयौं मान्यताहरुमाथि संशोधन गरिएका थिए । २०१२ सालमा २००८ देखि सरकारद्वारा लगाइदै आएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा गम्भीर बहस चल्यो । पार्टीलाई वैधानिक बनाउने नाममा राजाको वैधानिक नायकत्व र समाजवादमा शान्तिपूर्ण संक्रमणको नीति अंगीकार गरियो । यो खुश्चोभी नवसंशोधनवादको प्रवेश थियो नेकपाभित्र । २०१३ वैशाख ३ गते तत्कालीन महासचिव मनमोहन अधिकारीद्वारा राजाको वैधानिक परिधिभित्र रही शान्तिपूर्ण तरिकाले समाजवादको स्थापना गर्न सकिनेमा आफ्नो प्रतिबद्धता प्रकट गर्दै त्यसैलाई आफ्नो नीति घोषित गर्ने बचनबद्धताका साथ सरकारलाई पत्र पठाइयो र प्रेस विज्ञप्ति पनि प्रकाशित गरियो ।

सरकारको विज्ञप्तिमा भनिएको थियो : नेपाल कम्यनिस्ट पार्टीले आफूमाथि लागेको प्रतिबन्ध हटोस् भन्ने अपिल सरकारसँग गरेको र प्रतिनिधिहरु पठाई आफ्नो नीति स्पष्ट गरेकोले आजदेखि कम्यनिस्ट पार्टीमाथि सरकारको प्रतिबन्ध हटाइएको छ । आफ्नो नीति स्पष्ट गर्दै पार्टीले भनेको छ कि समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्यनिस्ट पार्टी विश्वास गर्दछ । कम्यनिस्ट पार्टीले यो स्पष्ट गर्दछ कि राजको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधिनमा रही आएको समाजवादी सिद्धान्तको प्रचार गर्ने छ ।

यो वक्तव्यसहित २०१३ वैशाख ४ गते सरकारले २००८ माघ १० गतेदेखि लगाउँदै आएको प्रतिबन्ध ५ वर्षपछि हटायो । २०१३ वैशाख ३ गते पार्टीमाथिको प्रतिबन्ध हटाउनका लागि राजाको प्रधानता (नायकत्व) स्वीकार र शान्तिपूर्ण संक्रमणको बाटोबाट समाजवाद निर्माण गर्ने पत्र सरकारलाई पठाएको दिनदेखि नेपाल कम्यनिस्ट पार्टीलाई विधिवत रुपमा दक्षिणपन्थी संशोधनवादमा प्रवेश गराइएको थियो । नेपाली कम्यनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाइएको यो घटना इतिहासमा अत्यन्तै विवादास्पद विषयमा रहेको पाइन्छ । पार्टीभित्र दक्षिणपन्थी सुधारवादी विचारको प्रवेश यहिबाट सुरु भएको थियो ।

पार्टीमाथिको प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको प्रथम बैठकमा पोलिट्ब्युरोले राजाको सम्बन्धमा आप्mनो नीति स्पष्ट पार्दै लिखित रुपमा दिइएको वक्तव्यको तीव्र आलोचना गरी बहुमतद्वारा त्यसलाई अस्वीकार गरेको थियो । दोस्रो महाधिवेशनमा गणतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी धाराका बीचमा भीषण दुईलाइन सङ्घर्ष देखा पर्‍यो । तेस्रो महाधिवेशनसम्म आउँदा पार्टीले जनवादी कार्यक्रमलाई परित्याग गरी राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम र तदनुसारको संसदवादी कार्यनीति पारित गरेर पार्टीलाई विसर्जनको दिलमा पुर्‍याएको थियो ।

पार्टी टुट फुट र विभाजनको मोड (२०१९ – २०४६)

नेपाली कम्यनिस्ट आन्दोलनको चर्चा गर्ने क्रममा हामी के पाउँछौ भने २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनको आसपासदेखि २०४६ सालको जनआन्दोलनसम्मको अवधिलाई नेपाली कम्यनिस्ट आन्दोलनभित्र पार्टी टुटफुट र विभाजनको रुपमा लिइन्छ । तेस्रो महाधिवेशनपछि पार्टी केन्द्रीय समितिभित्र तीव्र विवाद चर्कदै गयो । अन्तर्राष्ट्रिय कम्यनिस्ट आन्दोलनमा रुसी र चिनियाँ कम्यनिस्ट पार्टीभित्र चर्कदै गएका विवादको असर नेपाली कम्यनिस्ट आन्दोलनभित्र पनि पर्‍यो । त्यसै प्रक्रियामा तुल्सीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मूलबाटो’ जस्ता दस्तावेजहरु खुल्ला रुपमा बाहिर आए ।

पार्टी केन्द्र नेतृत्वबिहीन र विचारबिहीन अवस्थामा पुग्यो । पार्टी अस्तव्यस्त र विभाजनको शिकार बन्न पुग्यो । र पार्टी फुटेर छरपस्त हुन पुग्यो । २०२८ सालको ऐतिहासिक झापा विद्रोहको प्रक्रियाबाट नेकपा मालेसमूह जन्मियो । त्यसले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्षको झण्डा उठायो र सशस्त्र सङ्घर्षको प्रक्रियामा अघि बढ्यो । त्यसको नीति एक एरिया एक यूनिट, एक स्क्वाड र एक एक्सनमा आधारित ‘वर्गशत्रु खतम गर’ लाइनमा आधारित थियो ।

चारु मजुम्दारको नेतृत्वमा भारतको नक्सलवाडीहरुको सोचबाट संचालित सशस्त्र किसान विद्रोहबाट प्रभावित चिन्तनमा निम्न पुँजीवादी यान्त्रिकता र वामपन्थी दुत्साहसवादका गम्भीर कमजोरीका बाबजुद झापा सशस्त्र कारबाही एक यस्तो ऐतिहासिक विद्रोह थियो, जसले जनआन्दोलनको संशोधनवादी धारा र राजाको सामन्ती सत्तामा समेत खैलावैला मच्चियो । सशस्त्र सङ्घर्षको प्रश्न कमसेकम कम्यनिस्ट आन्दोलनमा आम बहसको विषय बनेर गयो । पछि २०३५ सालमा पुगेर नेकपा (माले) बन्यो सीपी मैनालीलाई महासचिव बनाइयो ।

२०२८ सालमा मोहनविक्रम सिंहद्वारा न्युक्लियसको निर्माण भयो । न्यूक्लियस हुँदै २०३१ सालमा भारतको अयोध्यामा सम्पन्न चौथो महाधिवेशनको बीचबाट नेकपा (चौ.म) अगाडि बढ्यो । त्यस महाधिवेशनले ‘देशभक्त र जनतान्त्रिक’ शक्तिहरुको सरकारको कार्यनीति पारित गर्‍यो र मोहनविक्रम सिंहलाई महामन्त्री बनाइयो । यी तीनवटै समूहहरु चीनमा माओत्सेतुङको नेतृत्वमा संचालित महान् सर्वहारा साँस्कृतिक क्रान्तिलाई वैज्ञानिक ऊर्जा प्रदान गरेको थियो । सैद्धान्तिक तथा राजनीतिक रुपमा हेर्दा यी तीनवटै समूह माक्र्सवाद–लेनिनवाद र माओविचारधारा, नयाँ जनवादी कार्यक्रम तथा सशस्त्र सङ्घर्ष मान्ने समूह नै थिए । तर यी समूहबीच एकता हुन नसक्नुमा आन्दोलनभित्र विद्यमान अवसरवादी चिन्तनले काम गरेको थियो । 

यस अतिरिक्त पुष्पलाल समूहबाट अलग भएर मुक्तिमोर्चा, नेमकिपा, सर्वहारावादी श्रमिक सङ्गठन जस्ता उपसमूहहरु बनेका थिए । अर्कोतिर राजावादी रायमाझी समूह पनि कैयौ चिरामा विभाजित हुँदै गएको थियो । रुस पक्षधर तुल्सीलाल समूहले पनि आफ्नो नाममात्रको अस्तित्व कायम राखेको थियो । यसै प्रक्रियामा नेकपा (मार्कसवादी) समूह पनि बनेको थियो । यसरी विभाजन भएपछि २०३१ साल यता सशक्त समूहका रुपमा नेकपा संयुक्त (चौ.म.) र नेकपा (माले नै रहेका थिए । ९ सेप्टेम्बर १९७६ मा चीनमा माओत्सेतुङको निधन भयो । त्यस पश्चात अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्ने संशोधनवादको पहिचान गर्ने बारेमा नेकपा (संयुक्त चौम) र नेकपा (माले) बीच गम्भीर मत रहन गयो । नेकपा (संयुक्त चौम) ले २०२८ सालमा भारतको अयोध्यामा प्लेनम गरी चीनमा पुँजीवाद पुनःस्थापना भएको ठहर गर्‍यो र महान् सर्वहारा साँस्कृतिक क्रान्तिप्रति प्रतिबद्धता जनायो । तर नेकपा (माले) यो मान्यताको विरोधमा उत्रियो ।

२०४० सालपछि सुरुमा नेकपा चौथो महाधिवेशन अन्तरगतका नेकपा (मशाल), नेकपा (मसाल) र नेकपा (चौ.म) गरी तीन समूहमा विभाजित हुन पुगे । २०४० सालमा सम्पन्न सम्मेलनमा निर्मल लामासहितका केही नेताहरु पार्टीबाट निष्काशित भए । यो सम्मेलनबाट पार्टीको नाम नेकपा (मशाल) राखियो र चित्र बहादुर केसीलाई महासचिवमा निर्वाचित गरियो । निष्काशित पक्षबाट नेकपा (चौम) समुह बनाइयो र निर्मल लामालाई महासचिव बनाइयो । २०४१ सालमा नेकपा (मशाल) को पाँचौ महाधिवेशन सम्पन्न भयो । यसले क.मोहन वैद्य किरणलाई महामन्त्री निर्वाचित गर्‍यो । त्यसपश्चात पार्टीभित्र अन्तरसङ्घर्ष तीव्र बन्दै गयो । २०४२ सालमा पार्टी पुनः विभाजित भयो । अल्पमत पक्षले नेकपा (मसाल) समूह बनायो र त्यसको महामन्त्रीमा मोहन विक्रम सिंहलाई चयन गर्‍यो ।

२०१७ पुस १ गतेदेखि २०४६ सम्मको अवधि राजाको निरंकुशतन्त्रमा आधारित पञ्चायती शासनको कालरात्रीको अवधि थियो । यो अवधिमा सुरुमा नेपाली कांग्रेसले निरंकुशताविरुद्ध बन्दुक उठायो । नेकपा (माले) ले पनि (२०२८– २०३७) एक दशकसम्म सशस्त्र सङ्घर्ष चलायो । यो अवधिमा पुष्पलाल समूहद्वारा अर्घाखाचीको हर्रेबर्रेसहित रुकुम, प्यूठान, गल्मीलगायत देशका कतिपय भागमा किसान सङ्घर्ष चलाइयो । नेपालमा सुस्ता, महेशपुर क्षेत्रमा भएका भारतीय विस्तारवादी अतिक्रमण र उत्पीडनका विरुद्ध पनि सङ्घर्ष चले । २०३५, २०३६ सालको विद्यार्थी आन्दोलनको पनि महत्वपूर्ण रह्यो । त्यसले जनमत संग्रहमा पुर्‍यायो । तर राजतन्त्रले षडयन्त्रमुलक ढंगले पञ्चायतलाई जितायो । २०४२ सालको शिक्षक आन्दोलन र रामराजासिंहद्वारा घटाइएको बमकाण्ड पनि उल्लेखनीय रहेका छन् । अन्ततः ०४६ को राजतन्त्र विरुद्धको ऐतिहासिक जनआन्दोलन उल्लेखनीय रहेको छ ।

सुरुमा कांग्रेसले पञ्चायती व्यवस्थाको विरोधमा बन्दुक उठाए पनि त्यो प्रभावकारी रहेन । त्यो बेला नेकपा मालेले पनि बन्दुक उठायो । पछि त्यो संशोधनवादमा पतन हुन पुग्यो । ०४६ को संयुक्त जनआन्दोलनमा एकातिर काँग्रेस, माले, माक्र्सवादीसहितको वाममोर्चा र अर्कोतिर मशाल, नेकपा संयुक्त, शम्भुरामसहितको संयुक्त राष्ट्रिय जनआन्दोलन समिति बनेको थियो । ०४६ को जनआन्दोलन नेपालमा पञ्चायती शासनको मात्रै अन्त्य नभएर सहमतिमा धोकापूर्ण सम्झौताद्वारा २६ चैत्र २०४६ टुंगोमा पुर्‍याइयो र नेपाली जनतालाई ठूलो धोका दिइयो । निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भएर नाम मात्रको बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो ।

पुनः पार्टी एकीकरण प्रक्रियाको मोड (२०४७–२०५१)

नेपाली कम्यनिस्ट आन्दोलनले विभिन्न प्रक्रियाहरु पार गर्ने क्रममा २०४६ को ऐतिहासिक जनआन्दोलनपश्चात नेपाली कम्यनिस्ट आन्दोलनभित्र पार्टी एकीकरणको प्रक्रिया सुरु भयो । २०४७ मा मसाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमिक सङ्गठन मिति पार्टी एकता संयोजन समिति बन्यो र नेकपा एकताकेन्द्र बन्यो । ०४७ मंसिरमा एकता महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनबाट माक्र्सवाद लेनिनवाद माओवाद, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध सहितको विचारधारात्मक राजनीतिक फौजी कार्यदिशा पारित भयो । यसले संसदीय चुनावमा भाग लियो र मुलुकको तेस्रो दलको रुपमा स्थापित भयो । अर्कोतिर सङ्घर्षको तयारीमा पनि लाग्यो । त्यस महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्‍यो ।

अर्कोतिर ०४७ पौष २२ गते नेकपा माले र माक्र्सवादीबीच एकता भएर नेकपा एमाले बनाइयो । यसले ०४९ माघमा पाँचौ महाधिवेशन गर्‍यो र सो महाधिवेशनद्वारा जनताको बहुदलीय जनवाद नामक संशोधनवादी कार्यक्रम पारित गराइयो । त्यस महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र महासचिवमा मदन भण्डारीलाई निर्वाचित गर्‍यो । पछि तुल्सीलाल समूह पनि एमालेभित्रै समाविष्ट भयो । एमालेले परित्याग गरी बहुदलीय जनवादको पुँजीवादी सिद्धान्त, कार्यक्रम र नीति अंगालेर दक्षिणपन्थी संशोधनवादमा पतन हुन पुग्यो ।

क्रान्तिकारी छलाङको मोड (२०५१–२०६२)

यहाँनेर बुझ्नु पर्ने कुरा के हो भने २०४६ सालको बहुदलीय व्यवस्थाको पुनः स्थापना यता पनि राष्ट्रियताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका आधारभूत समस्याहरुको समाधान हुन सकेन । ती समस्याहरु झनै जटिल बन्दै गए । सरकारमा पुगेको नेपाली कांग्रेस पुरानै तरिकाले चल्न थाल्यो र राष्ट्रव्यापी रुपमा कांग्रेसले सर्वसत्तावाद चलाउन थाल्यो । तत्कालीन सरकारले शान्तिपूर्ण जनआन्दोलनमाथि दमन गर्दै लग्यो र काठमाडौंमा समेत जनतालाई गोलीले भुट्न थाल्यो । रोल्पामा भीषण दमन चलाउँदै रोमियो, अप्रेशनसमेत चलाएर निहत्था जनतालाई गोलीले भुट्न थाल्यो । देशमा दमन, उत्पीडन र क्रान्तिकारीहरुलाई मास्ने प्रक्रिया पराकाष्ठामा पुर्‍याउन थाल्यो र देशमा श्वेत आतंक भित्र्याउन थाल्यो ।

यी घटनाक्रमहरुले क्रान्तिकारीहरुलाई नयाँ ढंगले अगाडि बढ्नै पर्ने र सोच्नै पर्ने आवश्यकता पैदा भयो । तर सशस्त्र जनयुद्ध गर्ने विषयमा भने नेकपा (एकताकेन्द्र) भित्र मतभेद भयो र २०५१ जेठमा सम्पन्न नेकपा (एकताकेन्द्र) को राष्ट्रिय पार्टीभित्र विभाजन पैदा भयो । पार्टीभित्रका संशोधनवादी बाहिरिए र यता क्रान्तिकारी सशस्त्र जनयुद्धको विचार राख्नेहरुको नेकपा (माओवादी) को गठन गर्न पुगे भने पार्टीबाट अलग्गिएकाहरु नेकपा (एकताकेन्द्र) नै बनाए र संसदीय राजनीतिमा सामेल भए ।

२०५१ चैतमा सम्पन्न नेकपा (एकताकेन्द्र) को तेस्रो विस्तारित बैठकमा एकताकेन्द्र हटाई माओवादी राखियो र नेकपा (माओवादी) को निर्माण भयो । त्यस विस्तारित बैठकले महामन्त्री प्रचण्डद्वारा प्रस्तुत दस्तावेज पारित भयो । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीमादी प्रहरी चौकी र गोरखामा कृषि विकास बैंकमाथि एकै साथ सशस्त्र फौजी आक्रमण गरी प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध महान् जनयुद्धको थालनी भयो । त्यस महान् जनयुद्धको उद्देश्य नेपालमा सर्वहारावर्गको नेतृत्वमा जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्नु रहेको थियो ।

दशवर्षसम्म संचालित त्यो महान् जनयुद्धले सिंगो देश र विश्वलाई झकझकाएको थियो । त्यस जनयुद्धको प्रक्रियामा छापामार, जनमिलिशिया हुँदै २०५८ साल मंसिर ८ गते चीनमा माओत्सेतुङको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमै सबैभन्दा विशाल जनमुक्ति सेना नेपालमा निर्माण गरियो । र जनयुद्धकै प्रक्रियामा देशका समस्त ग्रामीण क्षेत्रमा नयाँ जनसत्ता र जनअदालतको निर्माण र परिचालन भएका थिए । जनसरकारहरु समेत निर्माण गरेर समानान्तर सरकार समेत संचालन गरिएको थियो ।

त्यस प्रक्रियामा नेपाली जनता र जनमुक्ति सेनाहरुले त्याग, बलिदानका अपूर्व कीर्तिमान प्रस्तुत गरेका थिए । जनयुद्धकै क्रममा माक्र्सवाद र लेनिनवाद माओवादको रक्षा, प्रयोग रविकास भएको थियो । तर आज दश वर्षे जनयुद्धको मुख्य नेतृत्व एमालेमा विलय भएर प्रतिक्रियावादी सत्तामा सामेल हुन पुगेको छ । आज नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवादी धारा र क्रान्तिकारी धारामा विभाजित भएर अगाडि बढिरहेको छ । दक्षिणपन्थी संशोधनवादी प्रतिक्रियावादी सत्तामा पुगेको छ भने क्रान्तिकारी धाराले नेपाली नयाँ जनवादी क्रान्ति गरिरहेका छन् ।

(मार्क्सवादी लेखक केसीको हालै प्रकाशित मार्क्सवाद विकासको इतिहास पुस्तकबाट)