बहुभाषिक सङ्गीत उत्सवमा रम्यो प्रदेश नम्बर एक

बहुभाषिक सङ्गीत उत्सवमा रम्यो प्रदेश नम्बर एक

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २९, २०७६

सुनसरी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठान नेपालद्वारा प्रदेश नम्बर एक स्तरीय बहुभाषिक सङ्गीत उत्सव सुनसरी जिल्लाको  इटहरीमा सम्पन्न भएको छ । 

उत्सवको शुभारम्भ गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उत्सवले मातृभाषा, सङ्गीत र संस्कृतिको उत्थान, संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको जानकारी दिनुभयो । मुख्यमन्त्री शेरधन राईका अनुसार – भाषा नेपाली जातिको मौलिक पहिचान भएको र आफ्नो भाषा, संस्कार र संस्कृतिलाई बचाउन सकिए मात्र भने मानिस हुनुको सार्थकता रहन्छ । देश समृद्धिको यात्रामा अगाडि बढेको तर साहित्य, कला र संस्कृतिको समृद्धिबिना त्यो समृद्धि अधुरो रहने पक्का छ । राईको थप भनाई थियो ‘यसै कुरालाई मनन गरी प्रदेश सरकारले बृहत् साहित्य, कला र संस्कृति सम्मेलन आयोजना गर्नुका साथै एउटा महा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने योजना बनाएको छौँ ।’

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव  श्याम तमोटले  प्रतिष्ठानका योजना, कार्यक्रम र गतिविधिमाथि प्रकाश पार्दै नेपाली जाति विविध संस्कृतिले सम्पन्न भएता पनि आर्थिक कारणले पछि पर्नुपरेको दुखेसो राख्नु भएको थियो ।  

सङ्गीत विभाग प्रमुख एवम् उत्सव संयोजक अशोक राईले राष्ट्रभित्रका सबै सङ्गीत राष्ट्रिय सङ्गीत भएकोले तिनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बहुभाषिक सङ्गीत उत्सवको आयोजनाको आवश्यकता रहेको प्रष्टीकरण दिनुभएको थियो । 

२०७५ साल वैशाख २७ गते शुक्रबार सुरु भई २८ गते शनिवार सम्पन्न उत्सवको पहिलो दिन आयोजित बहुभाषिक सङ्गीत  सम्बन्धी विचार गोष्ठीमा संस्कृतिविद् डा. भक्त राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा. राईले मौलिक सङ्गीतले मात्रै नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सकिने गर्दै ‘बहुभाषिक सङ्गीतलाई आयआर्जनसँग जोड्न सकियो भने मात्रै बहुभाषिक सङ्गीत सँगसँगै राष्ट्र पनि समृद्ध बन्ने छ ।’ 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बू, सङ्गीत–नाट्यकी प्राज्ञ सभा सदस्य एवम् गायिका सत्य कला राई, सांस्कृतिक संस्थानका सदस्य प्रेमनाथ अधिकारी, सङ्गीत साधनाका अध्यक्ष राम धामी, महासचिव राजु केसी, सङ्गीतकार सङ्घ नेपालका महासचिव पारस मुकारुङ लगायतले कार्यक्रममा बहुभाषिक सङ्गीतको महत्त्वमाथि आ–आफ्ना बिचारहरू प्रस्तुत गर्नुभएको थियो । 

उत्सवमा प्रदेश नम्बर तीनबाट शेर्पा र प्रदेश एकका विभिन्न जिल्लाबाट बान्तवा, उराव, मुस्लिम, आठपहरिया राई, थारू, मगर, लिम्बू, चाम्लिङ, दुमी, राजवंशी, धिमाल, लिम्बू, शेर्पा, बान्तवा, सुनुवार, खस लगायतका १९ भाषाका गीत–सङ्गीत समेत  प्रस्तुत गरिएको थियो ।