नेपाल प्रज्ञा–प्रतिष्ठान : ल्यायो ‘तस्बिरमा नेपाल’ !

नेपाल प्रज्ञा–प्रतिष्ठान : ल्यायो ‘तस्बिरमा नेपाल’ !

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ९, २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानले सिङ्गो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक कृति प्रकाशन गरेको छ ।  पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस पटक भने नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका र हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई एउटै कृतिमा समेटेर प्रकाशन गरेको छ । फोटो पत्रकार भरतबन्धु थापाले कतै स्थलगत रूपमा उपस्थित भएर त कतै हवाई साधनको प्रयोग गरी आफैँले खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्त्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्त्व राख्ने ५०० भन्दा बढी रङ्गीन तस्बिरहरू यस कृतिमा समेटिएका छन् ।

नेपालको प्रदेश नं. एकदेखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्यसामग्रीहरूलाई अलग अलग रूपमा प्रस्तुत गरिएको यो कृति फोटो पत्रकारिताका दृष्टिले त ऐतिहासिक छ नै आजसम्म प्रकाशित नेपाल चिनाउने सामग्रीहरूमध्येमा पनि सर्वाधिक उपयोगी देखिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल चिनाउने बृहत् ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने कुराको घोषणा दुई वर्षअगाडि नै गरेको थियो ।

नेपालका सातओटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, समाज, मूर्त/अमूर्त कला, साहित्य, धर्म, परम्परा, सभ्यता, ज्ञान–विज्ञान, अर्थतन्त्र, व्यवसाय/पेसा आदि पक्षको स्थलगत अवलोकनसहितको अध्ययन र अनुसन्धान गराई सम्बद्ध विद्वान्हरूबाट प्रदेशगत तहमा सातओटा आधिकारिक ग्रन्थ निर्माण गराउने, तिनको सारसङ्क्षेपका रूपमा ‘नेपाल दर्पण’ नामक आठौँ ग्रन्थ तयार गरी यी सबै ग्रन्थलाई सुरुमा नेपाली भाषामा प्रकाशन गर्ने र लगत्तै ती आठओटै ग्रन्थलाई अङ्ग्रेजी भाषामा अनुवाद गराई प्रकाशन गर्ने योजना र लक्ष्यसहित प्रज्ञा–प्रतिष्ठानले आवश्यक बजेटका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको तर कोभिड–१९ का कारण आवश्यक बजेट प्राप्त नभएपछि आफ्नै आन्तरिक बजेट व्यवस्थापन गरी प्रदेश नं. २ को परिचयात्मक ग्रन्थ लेखन कार्य सम्पन्न भएको तर अन्य प्रदेशको काम गर्न नसिएका कारण तस्बिरबाट मात्र भए पनि सिङ्गो नेपाल चिनाउने सामग्री प्रकाशन गर्ने योजना बनाइएको र यस कृतिबाट त्यस योजनाले पूर्णता पाएको जानकारी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले दिनुभएको छ ।

‘तस्बिरमा नेपाल’ कृतिमा तस्बिरैतस्बिरबाट नेपाललाई देखाइएको हुनाले यो सबै उमेरसमूहका लागि रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक रहेको र यसबाट चित्र हेरेर मनोरञ्जन गर्न चाहनेले पूर्ण मनोरञ्जन गर्न सक्ने, नेपालको विविधतापूर्ण परिवेशका बारेमा जान्न चाहनेले ज्ञान प्राप्त गर्ने र नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, पुरातात्त्विक विषयमा गहिरो अनुसन्धान गर्न चाहनेले पनि महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्न सक्ने कुराको जानकारी प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।

 एउटै कृतिमा र एकै ठाउँमा बसेर सिङ्गो देश हेर्न सकिने ३२० पृष्ठ र २०७० मूल्य रहेको एफोर साइजमा सम्पूर्ण रङ्गीन कलेवरमा छापिएको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिनेछ ।