सीमित स्थानमा असीमित उम्मेदवार : सम्भव छ र एमालेमा प्यानल विहीन गुटबन्दी अन्त्यको मोडल ?

लोकसंवाद टिप्पणी

सीमित स्थानमा असीमित उम्मेदवार : सम्भव छ र  एमालेमा प्यानल विहीन गुटबन्दी अन्त्यको मोडल ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १०, २०७८

नेकपा एमालेले यसवर्षको महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न रोक लगाएको छ । महाधिवेशनमा बन्ने प्यानल लामो समय जाने र नेताहरुबीच टकराबको अवस्था हुँदा सिंगो पार्टी नै दुई धारमा विभाजित बन्ने अवस्थाका कारण एमालेले प्यानल बनाएर लड्न नपाउने व्यवस्था गरेको हो ।

एमालेको महाधिवेशन शुक्रबार (आज) बाट चितवनमा सुरु हुँदैछ । जसमा नेताहरुले प्यानल नबनाइ उम्मेदवारी दिने तयारी गरेका छन् । अघिल्लो महाधिवेशनमा केपी शर्मा ओली र माधवकुमार नेपाल प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । त्यसबेला ओलीको प्यानलमा रहेको सबै नेताले अहिलेसम्म उनलाई साथ दिइरहेका छन् भने नेपालको प्यानलमा रहेका नेताहरुले पनि केही समयअघिसम्म उनलाई साथ दिए पनि एमाले विभाजनको अवस्थामा उनीहरु एमालेमा नै बसे । जसले पछिल्लो समयसम्म पनि एमालेमा विवाद कायमै छ । 

ओलीलाई रावलको चुनौती

यसपटकको महाधिवेशनमा उपाध्यक्ष भीम रावलले अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । केही दिनअघि पत्रकार सम्मेलन गरेर नै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिनसकेपनि उनी दोहोरिने करिब निश्चित छ । त्यसैले अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

प्यानल बनाउन नपाइने भएका कारण रावलले एक्लै उम्मेदवारी घोषणा गरेका हुन् । एमाले विभाजनपछि पनि विभिन्न समूहहरु क्रियाशील नै छन् । एमालेमा सबैभन्दा ठूलो गुट अध्यक्ष केपी ओलीको छ । एमालेमा नवौ महाधिवेशनबाट अध्यक्ष बनेका ओलीले लामो समयदेखि एउटा गुटको नेतृत्व गर्दै आएका थिए । ओलीको गुटभित्र पनि केही नेताहरुको उपगुट समेत क्रियाशील छन् ।

यसपटक ओलीलाई आफ्नै गुटका आकांक्षी व्यवस्थापनमा समस्या देखिएको छ । लामो समय एमालेमा रहेर निर्णयमा असहमति राख्नेहरुको पनि ठूलो जमात छ । पदाधिकारीदेखि स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्म धेरैले उम्मेदवारी घोषणा गरेका छन् । यसले एकातिर प्यानल सिस्टम अन्त्य हुँदा साना साना समूहहरु झनै आफ्नो शक्ति सञ्चयतिर लाग्ने अवस्था बनिरहेकाे छ ।  

यतिबेला १० बुँदे सहमतिबाट आएका केही नेताहरु ओलीको पछि लागेका छन् भने रावलसहितका केही नेताको अलग समूह छ । पूर्वमाओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलको नेतृत्वमा अर्को गुट पनि क्रियाशील छ । तर एमालेले गुट अन्त्यका लागि प्यानल बनाउन रोक लगाएको छ ।

गुटबन्दी रोक्न भन्दै पार्टीको दशौं महाधिवेशनका लागि अधिकांश प्रतिनिधिहरू सर्वसम्मत चयन गरिएको थियो । तर केही स्थानमा भने चुनावी प्रक्रियाबाटै प्रतिनिधि चयन भएका थिए । प्यानल प्रतिस्पर्धा नहुँदा गुटबन्दी कम भए पनि निर्मूल भने नहुने एमालेकै नेताहरु बताउँछन् । 

एमालेमा प्याानल प्रतिस्पर्धा

एमालेमा प्यानल प्रतिस्पर्धाको इतिहास निकै लामो छ । कहिले अल्पमत र बहुमत समूह र कहिले नौलो जनवाद र जनताको बहुदलीय जनवाद पक्षका समूह एमालेमा सक्रिय थिए । महाकाली सन्धिको पक्ष र विपक्षमा सुरु भएको मतभेद पार्टी विभाजनसम्म नै पुग्यो । २०५९ सालको सातौं महाधिवेशनबाट माधवकुमार नेपाल सर्वसम्मत महासचिव बनेपनि ओली निकट नेताहरुले नेपाललाई पटक पटक चुनौती दिँदै आएका थिए । बुटवलमा भएको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी शर्मा ओली प्रतिस्पर्धा गरेका थिए । त्यो क्रम नवौं महाधिवेशनमा पनि रह्यो । 

नवौ महाधिवेशनमा केपी ओली र माधवकुमार नेपाल प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा केपी ओली विजयी भए भने अन्य पदाधिकारीमा दुवै समूहका नेताहरु विजयी भए । 

सीमित स्थानमा असीमित उम्मेदवार

एमालेको विधानअनुसार १५ जनाको पदाधिकारी हुनेछ । जसमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, एक महासचिव र उपमहासचिव तथा ७ जना सचिव रहने व्यवस्था छ । अध्यक्षमा ओली र रावलको दाबी छ भने बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलको दाबेदारी छ । अष्टलक्ष्मी शाक्य पनि वरिष्ठ उपाध्यक्षको दाबेदार छिन् । युवराज ज्ञवाली अनुशासन आयोगको अध्यक्ष बन्ने सम्भावना पनि छ । एमालेमा प्यानल नबन्दा सहमतिमा नेतृत्व चयन गर्ने कसरत भइरहेको छ । तर केही नेताहरुलाई 'सेटलमेन्ट' नगर्दा पदाधिकारीमा नै कही पदमा निर्वाचनको सम्भावना छ ।

अध्यक्ष ओलीले आफूनिकट केही पदमा सहमति गरेर अन्य पदमा चुनावमा प्रतिस्पर्धा गराउने तयारी समेत गरेका छन् । यसो गर्दा ओलीलाई आकांक्षी व्यवस्थापनमा कम सकस हुनेछ । पार्टी विधानले एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी रहन बन्देज लगाएको छ । सोही कारण यसअघि २ कार्यकाल एउटै पदमा बिताएका नेतालाई पनि फरक जिम्मेवारी दिनुपर्नेछ । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी रहेको छ ।

अघिल्लो महाधिवेशनमा उपमहासचिव जितेका पौडेल पराजित भएका पोखरेल मध्ये एक जना महासचिव बनेमा अर्को जना उपाध्यक्ष बन्ने सम्भावना पनि छ । यसपटक ओलीलाई आफ्नै गुटका आकांक्षी व्यवस्थापनमा समस्या देखिएको छ । लामो समय एमालेमा रहेर निर्णयमा असहमति राख्नेहरुको पनि ठूलो जमात छ । पदाधिकारीदेखि स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्म धेरैले उम्मेदवारी घोषणा गरेका छन् । यसले एकातिर प्यानल सिस्टम अन्त्य हुँदा साना साना समूहहरु झनै आफ्नो शक्ति सञ्चयतिर लाग्ने अवस्था बनिरहेकाे छ ।  

ओली निकटको अलग्गै तयारी

नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा यसपटक ओलीलाई विगतदेखि नै साथ दिएका नेताहरुले जित्ने सम्भावना बढी छ । आगामी केन्द्रीय कमिटीको खाका तयार नभए पनि केही नेताले ओलीको संकेत पर्खिरहेका छन् । यही क्रममा ओली निकट नेताहरु एक अर्काविरुद्ध उम्मेदवार नबन्ने तयारीमा छन् । एमालेमा यतिबेला संस्थापन पक्षधर, १० बुँदे सहमतिका पक्षधर र पूर्वमाओवादीका नेताहरुको अलग समूह छ । यी समूहलाई पनि महाधिवेशनबाट मिलाएर जानुपर्ने बाध्यता छ । ओली माधव नेपाल समूह छोडेर एमालेमा बसेका १० बुँदे पक्षधर नेताहरुमध्ये भिम रावल र घनश्याम भुसाललाई पदाधिकारी बनाउने सोचमा ओली छैनन् । 

अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा निरन्तरता पाउदा युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने  तयारी छ । अर्का नेता सुरेन्द्र पाण्डेले महासचिव दाबी गरेका छन् । तर पदाधिकारीमा मनाउने ओलीको तयारी छ । योगेश भट्टराई र गोकर्ण विष्ट सचिव हुँदा विष्णु पौडेल र शंकर पोखरेलको चर्चा महासचिवमा छ । 

प्रदीप ज्ञवालीलाई उपमहासचिव बनाउने ओलीको तयारी देखिन्छ । यद्यपि ओलीनिकट नेताहरु एक अर्काविरुछ लड्ने घोषणाले ओली गुटलाई झनै मलजल गर्ने सम्भावना पनि त्यतिकै  छ ।