आज ४० जिल्लामा कांग्रेस अधिवेशन, सबैमा गुटगत प्रतिस्पर्धा

आज ४० जिल्लामा कांग्रेस अधिवेशन, सबैमा गुटगत प्रतिस्पर्धा

न्युज कारखाना  |  समाचार  |  मंसिर १०, २०७८

देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ ।

एमालेको महाधिवेशन उद्घाटनकै दिन नेपाली कांग्रेसले ४० वटाभन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दै छ । धेरै जिल्लामा आज मनोनयन दर्ता र भोलि चुनाव हुँदै छ । चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ ।

कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्वसमेत छनोट भइसकेको छ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले २ वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० वटाभन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए । हालसम्म ३१ जिल्लामा अधिवेशन सम्पन्न भएकामा १६ जिल्लामा सभापति शेरबहादुर देउवा र १४ जिल्लामा नेता रामचन्द्र पौडेल पक्षले जीत हात पारेको छ । आज हुन गइरहेका अधिकांश जिल्लामा पनि संस्थापन र इतर समूह प्यानल बनाएर चुनाव लडिरहेका छन् । ललितपुर, कैलालीलगायतका जिल्लामा भने संस्थापन समूहकै २ प्यानल देखिएका छन् ।

काठमाडौंमा कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीको २ प्यानल, ललितपुरमा रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठका ३ प्यानल चुनावी मैदानमा देखिएका छन् । प्रदेश २ का जिल्लामा भने उपसभापति विमलेन्द्र निधि, सभापति देउवा र नेता पौडेलको प्यानल बन्ने देखिएको छ ।

कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, २ जना उपसभापति २ जना सचिव र २ जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ । कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने प्रावधान छ ।

सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने २ जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् तर पहिलो पटक नै २ जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ ।